मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७८ बैशाख २६ आइतबार ०८:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एसइई र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा

Read Time : > 2 मिनेट
२०७८ बैशाख २६ आइतबार ०८:०६:००

महामारीमा परीक्षा के हुने भन्ने निर्णय नहुँदा विद्यार्थी र अभिभावक अन्योलमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षाको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । तर, महामारीमा परीक्षामा के हुने भन्ने अझै अन्योल छ । १३ जेठदेखि एसइई र २६ जेठदेखि कक्षा १२ को परीक्षा तय भएको छ । एसइईको प्रश्नपत्र छापिएर कतिपय प्रदेशको प्याकिङसमेत भइसकेको छ । एसइईका लागि सबै जिल्लाबाट दुई हजार १५ परीक्षा केन्द्र सिफारिस भएका छन् । 

अहिले मानिसको जीवन बचाउनुपर्ने वेला छ : डा. चन्द्रमणि पौडेल अध्यक्ष राष्ट्रिय परीक्षा बोर्ड

परीक्षा केन्द्र जिल्लाबाट सिफारिस भएर आएर प्रश्नपत्र छपाइ गरी केही प्रदेशको प्याकिङसमेत भइसकेको छ । तत्काल प्रश्नपत्र ढुवानी गराउने अवस्था छैन, अहिले मानिसको जीवन बचाउनुपर्ने वेला छ । त्यसैले परीक्षाका विषयमा छिट्टै निर्णय गर्छौँ ।

महामारीका कारण अहिले शैक्षिक संस्था बन्द मात्र छैनन्, अधिकांश जिल्लामा निषेधाज्ञासमेत छ । महामारीका कारण परीक्षा के हुने हो भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थी सरकारको निर्णयको पर्खाइमा छन् ।

शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेलले अहिलेको अवस्थामा भौतिक उपस्थितिमा परीक्षा लिन सम्भव नभएकाले वैकल्पिक विषयमा सरकारले छिट्टै निर्णय गर्नुपर्ने बताए । ‘विद्यार्थीको परीक्षा धेरै किसिमले लिन सकिन्छ । आवश्यकताअनुसार ऐन र कार्यविधि संशोधन गरेर परिस्थिति अनुकूल बनाउन सकिन्छ,’ उनले भने, ‘अवस्था तत्काल सामान्य हुने देखिँदैन । त्यसैले अघिल्लो वर्षको एसइईजस्तै शिक्षकले मूल्यांकनको व्यवस्था गर्नुपर्छ । मापदण्ड राम्रो बनाएमा आन्तरिक मूल्यांकन पनि विश्वसनीय बनाउन सकिन्छ । धेरै उपल्लो ग्रेड छ भने शिक्षकले कारण खुलाउनुपर्ने व्यवस्था गर्न सकिन्छ ।’

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ०७७ को एसइई परीक्षाका लागि करिब पाँच लाख १५ हजार विद्यार्थीले आवेदन भरेका छन् । कक्षा १२ को यकिन विवरण नआए पनि करिब साढे चार लाखको हाराहारीमा हुने आकलन छ । नेरिक एकेडेमीका प्रिन्सिपल मन खत्रीले सरकारले औपचारिक निर्णय नगरेका कारण अहिले पनि एसइईका विद्यार्थीलाई समेत अनलाइन कक्षा लिइरहेको बताए । ‘एसइई हुन्छ कि हुँदैन भनेर विद्यार्थीले सोधिरहेका हुन्छन् । सरकारले एउटा निर्णय गरेमा अन्योल हट्थ्यो,’ उनले भने । सरोकारवालाले पनि शिक्षा मन्त्रालयलाई आकस्मिक योजना बनाएर अघि बढ्न सुझाब दिएका छन् । अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विकल्पसहितको आकस्मिक योजना बनाएर शिक्षा मन्त्रालय अघि बढ्नुपर्ने बताए । अघिल्लो वर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको सुझाब छ । 

‘अहिले एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्छ । पछि एसइई अरू कक्षाको जस्तै गरी मूल्यांकन गर्ने र कक्षा १२ का विद्यार्थीलाई घरमै प्रश्न पठाएर उत्तर लेख्न लगाएर मूल्यांकनको व्यवस्था गर्नु उचित हुन्छ,’ उनले भने । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले वेलैमा सूचना दिएर अन्योल हटाउने बताए । ‘परीक्षा केन्द्र जिल्लाबाट सिफारिस भएर आएर प्रश्नपत्र छपाइ गरी केही प्रदेशको प्याकिङसमेत भइसकेको छ,’ उनले भने, ‘तत्काल प्रश्नपत्र ढुवानी गराउने अवस्था छैन, अहिले मानिसको जीवन बचाउनुपर्ने वेला छ । त्यसैले परीक्षाका विषयमा छिट्टै निर्णय गर्छौँ ।’ 

काठमाडौं महानगरपालिकाले कक्षा आठको परीक्षा ३ जेठबाट लिने तय गरेको थियो । यो परीक्षा पनि अहिलेसम्म स्थगित गरिएको छैन । कोरोना संक्रमणकै कारण अघिल्लो वर्ष पनि एसइई परीक्षा सुरु हुने अघिल्लो दिन स्थगित भएको थियो । प्रश्नपत्र छपाइ भएर परीक्षा केन्द्रनजिकैको प्रहरी चौकीसम्म पुगेका थिए । राष्ट्रिय परीक्षा बोर्डले ०७६ को एसइईका प्रश्नपत्र नष्ट गर्न निर्देशन दिएको थियो । यसपटक शिक्षा मन्त्रालय प्रधानमन्त्रीसहितसँग छलफल गरेर मात्र निर्णय गर्ने योजनामा छ । अघिल्लो वर्ष शिक्षा मन्त्रालयले एउटा निर्णय गर्ने र त्यसभन्दा माथिल्लो निकायबाट अर्कै निर्णय आउने भएकाले यसपटक निर्णय गरिने शिक्षाका एक अधिकारीले बताए । 

कक्षा १२ को परीक्षाका प्रश्नपत्र अब अनलाइनबाटै 
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ‘हार्डकपी’ प्रश्न नपठाउने भएको छ । इन्टरनेट सुविधा भएको ठाउँमा मात्रै परीक्षा केन्द्र राख्ने तयारी गरिएको छ । इमेल, इन्टरनेटको सुविधा भएको ठाउँमा मात्र कक्षा १२ को परीक्षा केन्द्र राख्ने र अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय गरी बोर्डले परीक्षाको तयारी गरिरहेको छ । हिमाली जिल्लाका सदरमुकाममा पनि इन्टरनेटको सुविधा भएकाले अनलाइनबाटै प्रश्नपत्र पठाउने निर्णय भएको छ । प्रश्नपत्र छपाइ नगर्दा करिब तीन करोड रुपैयाँ बचतसमेत हुने बोर्डको विश्लेषण छ । अघिल्लो वर्ष कोरोनाका कारण आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो । हिमाली जिल्ला र इन्टरनेटको सुविधा नभएका ठाउँमा बोर्डले प्रश्नपत्र छपाइ गरेर पठाएको थियो । अघिल्लोपटक अनलाइनबाट प्रश्नपत्र पठाएर सफल परीक्षा सञ्चालन भएकाले अब सबै केन्द्रमा इमेलमार्फत नै प्रश्नपत्र पठाइने बोर्डका एक अधिकारीले बताए ।

शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल भन्छन्–भौतिक उपस्थितिमा परीक्षा लिने अवस्था छैन, सरकारले छिट्टै निर्णय गर्नुपर्छ

अहिले भौतिक उपस्थितिमा परीक्षा लिने अवस्था छैन । अब के गर्ने भन्ने विषयमा सरकारले छिट्टै निर्णय लिनुपर्छ । विद्यार्थीको परीक्षा धेरै किसिमले लिन सकिन्छ । आवश्यकताअनुसार ऐन र कार्यविधि संशोधन गरेर परिस्थिति अनुकूल बनाउन सकिन्छ ।

तत्काल अवस्था सामान्य हुने देखिँदैन । त्यसैले अघिल्लो वर्षको एसइईजस्तै शिक्षकले मूल्यांकनको व्यवस्था गर्नुपर्छ । मापदण्ड राम्रो बनाएमा आन्तरिक मूल्यांकन पनि विश्वसनीय बनाउन सकिन्छ । धेरै उपल्लो ग्रेड छ भने शिक्षकले कारण खुलाउनुपर्ने व्यवस्था गर्न सकिन्छ । विश्वसनीय मूल्यांकन गर्नु शिक्षकको दायित्व पनि हो ।