अनुसन्धानमा सरकारकै पहल हुनु जरुरी छ । यसले समग्र नेपालकै चियाखेती र अर्थतन्त्रमा क्रान्ति ल्याउनेछ ।
नेपालको पहाडी चियाखेतीको सबल पक्ष भनेकै यसले ग्रामीण क्षेत्रमा पुँजी प्रवाह गरेको छ । विशेष गरी महिला रोजगारीमा वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यातका माध्यमबाट समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिएको विषय सर्वविदितै छ । इलामबाट १९२० मा चियाखेतीको सुरुवात भए पनि ०२३ मा चिया विकास निगमको स्थापनाबाट यसले व्यावसायिकताको लय समातेको हो । यसले व्यापकता भने ०३५ मा साना किसान चिया विस्तार आयोजनाको स्थापनापछि मात्रै पायो । हाल नेपालका १६ जिल्लामा चियाखेती विस्तार भइसकेको छ । र, गुणस्तरका हिसाबले सिन्धुपाल्चोक र कास्कीको चिया पनि जर्मनीका ख्यातिप्राप्त चियापारखीले सराहना गर्ने गरेका छन् । यहाँको चियालाई अन्तर्राष्ट्रिय बजारमा विश्व प्रसिद्ध दार्जिलिङे चियाकै सरह लिने गरिएको छ । विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको चियाले ख्याति कमाएकै छ ।
विशिष्ट हावापानीका कारण अन्य देशले यस प्रकारको चिया उत्पादन गर्न सकेका छैनन् । त्यसैले पनि नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विशेष पहिचान कायम गर्न सकेको छ । तर, यसलाई स्थापित गर्नका लागि गरिनुपर्ने सामान्यभन्दा सामान्य काम पनि अघि बढाउन नसक्दा यसले उचाइ लिन सकेको छैन । उत्पादन र बजारका हिसाबले एकलौटी हुन सक्ने सम्भावनालाई पनि केही प्राविधिक कमजोरी र सरकारको पहल नलिने प्रवृत्तिका कारण खुम्चिएर बस्नुपरेको छ । त्यसैले यस क्षेत्रमा आफ्नो अमूल्य योगदान दिँदै आइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालको चियालाई अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढाउन केही विषयमा ध्यान दिनुपर्ने देखिन्छ ।
सहभागीमूलक अनुसन्धान : नेपालमा विगत ४२ वर्षदेखि व्यापक रूपमा पहाडी चियाखेती गर्न थालिएको भए तापनि यस क्षेत्रमा अनुसन्धानको निकै ठूलो अभाव छ । सरकारी पहलमा हुनुपर्ने अनुसन्धानको अभावका बीच निजी क्षेत्र आफैँ लागेर केही अनुसन्धान नगरेको होइन । र, त्यसले चिया उत्पादन तथा त्यसको गुणस्तरमा तात्विक भिन्नता पनि ल्याएको हो । तर, त्यसले जुन रूपमा व्यापकता पाउनुपर्ने थियो, त्यो सरकारको पहल र सक्रियताविना सम्भव हुँदैन । त्यसो त पहिलेको अनुसन्धानले उत्पादनमा १५० देखि दुई हजारसम्मको वृद्धि भएको थियो । स्थानीय पहलमा गरिने अनुसन्धानका आफ्ना केही सीमा र संकुचन हुने गर्छन् । सीमित स्रोत र साधनको भरमा गरिएको अनुसन्धानले राम्रो परिणाम ल्याए पनि त्यसलाई अघि बढाउन सक्ने सम्भावना रहेन ।
त्यसैले अब गरिने अनुसन्धानमा सरकारकै पहल हुनु जरुरी छ । यसले समग्र नेपालकै चियाखेती र अर्थतन्त्रमा क्रान्ति ल्याउनेछ । त्यसैले निश्चित क्षेत्रको छनोट गरी यसै वर्षदेखि अनुसन्धानलाई अघि बढाउनु उपयुक्त देखिन्छ । चियाका लागि चाहिने उपयुक्त नाइट्रोजन भएको चिया मल उत्पादनका लागि अनुसन्धान गर्नुपर्नेछ । यसका अतिरिक्त परम्परागत रूपमा प्रयोग भइराखेको रोग तथा किरा व्यवस्थापनका लागि पनि प्रांगारिक प्रविधिको ‘रोग तथा कीटनाशक’ औषधिको छनोट र विकासका लागि अनुसन्धानलाई अघि बढाउनुको विकल्प छैन ।
एकातिर डब्लुटिओको ट्रिप्स प्रावधानअनुरूप मौलिक विशेषता भएका बिरुवा तयार गर्नुपर्ने टड्कारो आवश्यकता छ भने अर्कोतर्फ विश्व बजारमा नेपालजस्ता मुलुकले कार्बन ट्रेडिङबाट लिन सक्ने फाइदाका लागि पनि अनुसन्धान अपरिहार्य छ । नेपाली पाहाडी चियाले विगत केही वर्षदेखि लगातार गुणस्तरका लागि अन्तर्राष्ट्रिय पुरस्कार हात पार्दै आइरहेको सन्दर्भमा पनि यसलाई थप स्थापित गर्दै नेपालको अर्थतन्त्रलाई थप चलायमान र माथि उठाउनका लागि अनुसन्धानको आवश्यकता छ । विगतमा ग्रिनविच विश्वविद्यालयबाट गरिएको प्रारम्भिक अनुसन्धानमा अर्गानिक नेपाली चियामा फ्लेवरिङ कम्पाउन्डहरू अन्य चियाका तुलनामा बढी रहेको देखिएको थियो । यसले स्वाभाविक रूपमा नेपाली चियाको गुणतस्तर र मूल्य निर्धारण गर्न भूमिका खेल्छ । यस्तो विषयमा सम्बन्धित सबैले वेलैमा
ध्यान दिनुपर्नेछ ।
दक्ष जनशक्ति : नेपालको पहाडी चियाखेतीमा उत्पादकत्व र गुणस्तर मात्रै कायम गर्ने होइन कि यसको थप स्तरोन्नतिका लागि दक्ष जनशक्तिको विकास गर्नु आवश्यक छ । चिया छाँटकाँट गर्ने तथा टिप्ने वैज्ञानिक विधिको प्रयोगले पनि यसको गुणस्तर निर्धारण गर्ने गर्छ । गुणस्तर कायम गर्न सकेमा त्यसले मूल्यमा प्रभाव पार्ने गर्छ । त्यसैले यस क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नु अत्यन्त आवश्यक छ । यसले समग्र उद्योगमा नै दक्ष जनशक्तिको आवश्यकतालाई जोड दिन्छ ।
प्रमाणीकरण निकायको स्थापना : विकसित देशहरूमा उपभोक्ताले प्रमाणीकरण भएको उपभोग्य सामग्री खरिद गर्ने हुँदा नेपालको चियाको पनि अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नमा हामीले ध्यान दिनुपर्नेछ । स्वाभाविक रूपमा नेपाली चियाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्छ, तर पनि त्यसको प्रमाणीकरण गर्ने निकायको अभावमा यसले चियाको उत्पादन र बिक्री वितरणमा नकारात्मक असर पारिरहेको छ । तर, हालसम्म पनि यस क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन ।
व्यवसायीकै पहलमा १७ जना इन्स्पेक्टरलाई अन्तर्राष्ट्रिय नियमानुसार तालिम दिई निरीक्षण गर्न सक्ने गरी तयार पारिएको छ । निजी स्तरका यी विज्ञलाई सरकारद्वारा मान्यता प्रदान गराई चियाको गुणस्तर मापन गर्ने विज्ञका रूपमा विकास गर्ने हो भने यसले हाम्रो तत्कालीन आवश्यकता पनि पूरा गर्छ र अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने स्थिति पैदा हुन्छ । यसका साथै नेपालले आफ्नो ब्रान्ड निर्माणका लागि पनि त्यति नै ध्यान दिनुपर्ने देखिन्छ । स्पष्ट रूपमा अघि बढाउनुपर्ने केही काम गर्न सकेमा नेपाली चियाले वास्तवमै एउटा स्थान कायम गर्ने निश्चित छ ।