मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २१ मंगलबार
  • Monday, 14 July, 2025
यम बम काठमाडौं
२o७८ बैशाख २१ मंगलबार o७:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संक्रमित कर्मचारीलाई १४ दिन कोभिड काज बिदा

Read Time : > 1 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २१ मंगलबार o७:४१:oo

कोभिड–१९ संक्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने भएका छन् । देशमा कोरोनाको दोस्रो लहर तीव्र फैलिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको हो ।

जसअनुसार कोभिड संक्रमण भई घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज बिदा दिने व्यवस्था गरिएको हो । यसबाहेक कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज बिदा पाउनेछन् । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।

‘कोरोनाको पहिलो लहरताका कोभिड काज बिदाको निर्णय भएको थियो, अहिले फेरि संक्रमण बढ्नुका साथै निषेधाज्ञा पनि जारी भएपछि पुरानो निर्णय कार्यान्वयनमा लगेका हौँ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने ।

संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार मन्त्रिपरिषद्को १० मंसिर ०७७ को बैठकले कोभिड काज बिदाको निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपपरिषद् कार्यालयले १५ वैशाखमा पुनः परिपत्र गरेर कोभिड काज बिदा दिन भनेको हो । सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । तर, कोभिड संक्रमितलाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदाको व्यवस्था गरिएको अधिकारीले बताए ।

आलोपालो र ‘वर्क फ्रम होम’बाट सेवा
कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भएसँगै सरकारी कार्यालयमा आलोपालो तथा ‘वर्क फ्रम होम’ प्रणाली लागू भएको छ । स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेकमा एकतिहाइ कर्मचारीबाट सेवा सञ्चालन भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्था एकचौथाइ कर्मचारीबाट सञ्चालन भइरहेका छन् । यो प्रणाली निषेधाज्ञा कायम भएका जिल्लामा लागू भएको हो । सोमबारसम्म ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १३ वैशाखको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि संवैधानिकलगायत विभिन्न निकायमा पत्राचार गरिसकेको छ ।काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू गरिएकामा जिल्ला प्रशासन कार्यालयले थप कडाइ गरेका छन् ।

परिपत्रमा भनिएको छ, ‘ती जिल्लाका सरकारी र सार्वजनिक कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाहेक अन्य कार्यालय प्रमुखले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम पुनः सञ्चालन राख्ने व्यवस्था मिलाउने र घरबाटै गर्न सकिने कामका हकमा घरबाटै गर्ने र पालोमा अनुपस्थित हुने कर्मचारीका हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने ।’ 

अहिले सिंहदरबारस्थित मन्त्रालय तथा विभिन्न कार्यालय पनि एकतिहाइ कर्मचारीबाट सञ्चालन भइरहेका छन् । ‘कतिपय कर्मचारी घरबाटै काम गरिरहेका छन्, उनीहरूलाई सकेसम्म मन्त्रालय बोलाएका छैनौँ,’ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘तर, अत्यावश्यक परेमा गाडी पठाएर भए पनि ल्याउनुपर्ने हुन्छ ।’