मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २४ शुक्रबार
  • Friday, 07 May, 2021
नवीन प्यासी काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०५:१३:००
Read Time : > 5 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाली बडीबिल्डरको दक्षिण भारतीय सिनेमा यात्रा

Read Time : > 5 मिनेट
२०७८ बैशाख १९ आइतबार ०५:१३:००

मिलन सिजापतिले नेपालमै पनि राजेश हमाललगायत कलाकार भएको सिनेमा ‘सत्यम’ साइन गरेका छन्, यसमा उनी अनुपविक्रम शाहीसँगै खलनायकको भूमिकामा छन्

कोरोनाको त्रास र लकडाउन नहुँदोथ्यो त यतिवेला बडीबिल्डर मिलन सिजापति थाइल्यान्डमा तेलगु भाषाको सिनेमाको सुटिङमा हुन्थे । सम्भवतः सुटिङ सकिएको पनि हुने थियो । ३० प्रतिशत भारतको हैदराबादमा, ६० प्रतिशत थाइल्यान्ड र बाँकी नेपालको मुस्ताङमा सुट गर्ने योजना थियो, निर्माण टिमको । नाम घोषणा गरिनसकिएको एक साउथ सिनेमामा सिजापति मुख्य खलनायकको भूमिकामा छन् । नायकको भूमिकामा भने साउथ स्टार गोपीचन्द छन् ।

दुई वर्षअघि बडीबिल्डिङमा नेपालको प्रतिष्ठित प्रतियोगिता धर्मश्री जितेका सिजापतिलाई यस दक्षिण भारतीय चलचित्रका लागि निर्देशक बेनु शुक्रमन्यमले अफर गरेका थिए । धर्मश्री जितेपछि सिजापतिलाई शुक्रमन्यमले नै फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । सिनेमाबारे सिजापतिसँग कुराकानी पनि गरे । यसपछि निर्माता, निर्देशक, लेखक, सिनेम्याटोग्राफरको टोली नेपाल आयो । सिजापतिलाई भेट्यो । तर, यसवेलासम्म पनि उनले भने विश्वासै गरेका थिएनन् । ‘मैले त विश्वास गरेको थिइनँ, तर उहाँहरूको टिम नै आएर कुरा गर्नुभयो । मैजस्तो क्यारेक्टर चाहिएको रहेछ, मेरो भूमिका मुख्य भिलेनमा रहेछ, त्यसपछि एग्रिमेन्ट भयो,’ सिजापति सुनाउँछन् ।

कार्टुन गड अफ वारको एक चरित्रजस्तो अभिनेताको खोजीमा लागेको टोलीले सिजापतिलाई देखेपछि आँखा लगाएका रहेछन् । तर, सिजापति त अभिनय नगरेको मान्छे । आफूलाई अभिनय गर्न नआउने पनि बताए, न उनलाई तेलगु भाषा नै आउँथ्यो । तर, कथाले खोजेको पात्र भेटाएपछि निर्माण टिमले सिजापतिलाई अफर ग¥यो । यसको एकै कारण थियो, लुक्स । अनि सिजापतिले सिनेमा साइन गरे । 

सिनेमा साइन गरेको पर्सिपल्टै हैदराबाद हान्निए । हाफ पाइन्ट लगाएर गएका उनलाई अचम्म त त्यतिवेला लाग्यो, जब एयरपोर्टमा दुईजना गार्ड र मार्सिडिज गाडी उनका लागि तयारी अवस्थामा थिए । सिजापति सुनाउँछन्, ‘एयरपोर्टमा त्यस्तो दृश्य थियो । मलाई लगेर पाँचतारे होटेलमा राखे, त्यो पनि चौबीसै घन्टा दुईजना गार्ड राखिदिएर ।’ अचानक देखा परेको त्यो दृश्यले सिजापतिलाई असहज महसुस हुनु स्वाभाविक थियो । उनले असहजताबारे निर्माण टिमलाई जानकारी पनि गराए । निर्माण टिमले जवाफ दियो, ‘यसो गरिएन भने तपाईंको महŒव हुँदैन । तपाईं हैदराबाद आएको हल्ला भइसकेको छ । लुक्सका कारण अरू निर्माता, निर्देशकले पनि चासो राख्न सक्छन् । हामीले भन्दा ज्यादा पारिश्रमिक दिन सक्छन् । तपाईंको भ्यालु निर्माण गर्न र अर्को हाम्रो सिनेमाका लागि पनि यो जरुरी छ ।’

सिनेमाको शुभमुहूर्त भयो, मुहूर्त त्यस्तो हुन्छ भनेर सिजापतिले सोचेका थिएनन् । गाडी, गार्ड अनि भव्य पूजा । पूजा गर्ने वेला हातमा अलिकति रङ लाग्यो, दाहिनेतिर बसेको सहयोगीले टावेल दिने र पुछेपछि देब्रेतिरको सहयोगीले लिइदिने । यस्तो महँगो र सानदार हुनुमा उनीहरूको बजेट र बजारलाई कारक मान्छन्, सिजापति । सिजापतिलाई निर्माण टिमले भनेका थिए रे, ‘सिनेमा हिट र फ्लप हुन्छ भन्ने सरोकारै भएन । दुई दिन चल्दा लगानी उठिहाल्छ ।’ 

सिजापतिले नेपालमै पनि राजेश हमाललगायत कलाकार भएको चलचित्र ‘सत्यम’ साइन गरेका छन् । यसमा उनी अनुपविक्रम शाहीसँगै खलनायकको भूमिकामा छन् । तर, कोभिडका कारण सिनेमाको सुट नै सुरु भएको छैन । 

ज्यान बनाउनै २५ वर्ष 

सिजापतिको अहिले देखिएको सिनेमाका काम र उनले प्राप्त गरेको सफलतापछाडि धेरै थोक कारण छन् । २५ वर्ष त उनले जिमखानामै बिताए । ज्यान बनाउनमै खर्च गरे । सिजापतिकै भनाइअनुसार उनले ललितपुरमा रहेको आफ्नो दुई रोपनी जग्गा पनि बेचे । यी सबैको पछाडि एउटै कारण रहेको बताउँछन् । भन्छन्, ‘यो सबैको पछि एकै कारण हो, त्यो हो मेरो प्यासन ।’ तर, बडीबिल्डिङमै लाग्छु भनेर सिजापतिले जिम सुरु गरेका थिएनन् । तर, बिस्तारै बडीबिल्डिङ नशा बन्दै गयो । 

धेरै मान्छेले बडीबिल्डिङमा रुचि राख्छन् । सुगठित शरीर बनाउन लागिपर्छन् । तर, बीचमै हापेर निस्कन्छन् । अन्य जागिरतिर लाग्छन् । करिअर बनाउनतिर लाग्छन् । यसको एकै कारण हो, बडीबिल्डिङमा केही सम्भावना नदेखिनु । नेपालको अहिलेको परिवेश हेर्दा पनि बडीबिल्डिङमा खासै सम्भावना देखिँदैन । यसमा सिजापति अपवाद हुन् । ‘बाँच्नका लागि अरू काम पनि गर्नुपर्छ । यसकारण पनि धेरैले हाप्छन्,’ सिजापति सुनाउँछन्, ‘यो काम गर्दा अरू काम गर्ने समय नै मिल्दैन । त्यसैले कति साथीहरूले गिभअप गरेका छन् ।’ तर, उनी भने बडीबिल्डिङबाहेक अरू काम दिमागमै नआएको बताउँछन् । आफूसँगैका साथीहरू ज–जसले छाडे, उनीहरूले जीवन र करिअर गजबको बनाएको सिजापतिको यथार्थ हो । 

जिम आफैँमा महँगो लगानी चाहिने क्षेत्र हो, जगजाहेर छ । डाइट नै महँगो हुन्छ, सबैलाई थाहा छ । सिजापतिले नै धर्मश्री जित्दा पाँच लाख पाएका थिए । ‘तर, मेरो तीन महिनाको तयारीमा १० लाख सकियो । पाँच लाखमा पनि कर काटेर पाएको थिएँ । यस क्षेत्रमा उस्तो कमाइ हुँदैन, सौख र प्यासनले काम गर्ने हो,’ उनी हाँस्दै सुनाउँछन्, ‘यो मेडल बेच्नुप¥यो भने १० लाख हो ।’ 

गेमको वेला बडीबिल्डरले ज्यादा खानुपर्छ 

प्रोटिनदेखि बडीबिल्डरले गर्नुपर्ने डाइटहरूको सूची लामै हुन्छ । उत्तिकै महँगो पनि । जसका लागि खर्चैखर्च मात्रै हुन्छ । तर, आफूले डाइट मात्रै नखाएर पैसा नहुँदा खाना पनि दिनमा तीन–चारपटक खाने गरेको बताउँछन् । बडीबिल्डरले मोटोपनका कारण अन्डाको भित्री पहेँलो भाग फाल्छन् । तर, पैसा नहुँदा पहेँलै भाग खाने गरेको सिजापतिको अनुभव छ । ‘किन पहेँलो भाग खान्छु भने पैसा जहिल्यै नहुन सक्छ । मान्छेहरू फलानो चिज खानुहुन्न भन्छन् । तर, खाएर केही हुँदैन, त्यसलाई इनर्जीमा चाहिँ कसरी बदल्ने, त्यसमा भर पर्छ ।’ अरू वेलाभन्दा गेमको वेला बडीबिल्डरले ज्यादा खानुपछ्र्र । त्यो तीन–चार महिनाको समयमा ज्यादा खर्च हुने उनको भनाइ छ । त्यसभन्दा अरू समयमा त सामान्य खानेकुरा खाएर पनि जिम गरेको सिजापतिको अनुभव छ ।

जिम गरेर ज्यान ठूलो बनाउने सबैको सपना हुन्छ । तर, एउटा चर्चित भनाइ छ, ‘नेपाली केटाहरू बडीबिल्डरको ज्यान देखेर लोभिन्छन् । जिम हल जान्छन् । पहिलो दिनदेखि सकेको कसरत गर्छन् । अनि सात दिन थला पर्छन् । जिम धाउनै छाडिदिन्छन् ।’ सिजापतिको फ्रिडम फिटनेस सेन्टर भैँसेपाटीमा छ । त्यहाँ पनि जिम गर्नेहरू आउँछन् । माथि हलमा एक्सरसाइज गर्छन्, तल झरेर चुरोट तान्छन् । ‘त्यसरी त ज्यान बन्दैन । त्यसका लागि त धैर्य र मिहिनेत चाहिन्छ,’ उनी भन्छन् ।

जिम हलमा उनले खर्चेको श्रम, समय र पैसाको लेखाजोखा छैन । उनी जिममा सम्भावना देखेर आएका थिएनन् । अरू काममा रुचि नभएर यता लागेका थिए । अहिले आएर भने सिनेमा गरिरहेका छन् । आफ्नै जिम हल छ । भन्छन्, ‘त्यसवेला सम्भावना केही नभए पनि जिमबाहेक अर्थोक केही देखिनँ ।’ अब भने उनलाई लाग्छ, यही क्षेत्रबाट जीवन गुजार्न सकिँदोरहेछ । जिममा लागेपछि नाइट क्लब, जाँड–रक्सीका लागि समय हुन्न, जम्मा जिम हल जाने, खाने अनि सुत्ने । यसले अतिरिक्त खर्च नियन्त्रण हुने भएकाले टिक्न सकेको उनको अनुमान छ ।

प्यासनले मात्रै बडी बन्दैन

तर, बडीबिल्डिङका लागि यति प्यासनले मात्रै पुग्दैन । धेरै थोकको जोखिम लिनुपर्छ । यो एउटा यस्तो खेल हो, जहाँ डोपिङको छानबिन हुँदैन । त्यस्तो अवस्थामा हुन सक्छ, जतिवेला नतिजा चित्त बुझ्दैन । तर, आफ्नो पनि चेक हुन्छ, आफूले आरोप लगाएको मान्छेको पनि । त्यसको खर्च आफैँले व्यहोर्नुपर्ने भएकाले पनि लरतर डोपिङको घटना बढी नहुने उनी बताउँछन् । तर, प्रतियोगिताको समयमा बडीबिल्डरले लिने औषधि, डाइटले कालान्तरमा धेरै समस्या उत्पन्न गर्ने भएकाले सचेत रूपमा त्यस्ता चिज चलाउनुपर्ने सिजापतिको अनुभव छ । त्यस्ता औषधि बढी लिएको खण्डमा बाँझोपन, यौनमा अरुचि, एकदमै धेरै रिस उठ्नेलगायतको समस्या आउन सक्ने उनी बताउँछन् । झनै प्रतियोगिताको एक साताअघिदेखि एकदमै सन्तुलनमा राख्नुपर्छ । सुगर लिनुहुन्न । दुई दिनअघिबाट पानी पिएका हुँदैनन् । मुखमा पानीले भिजाइरहेका हुन्छन् । त्यसको एकै कारण हो, शरीरका अनेक भागहरू प्रस्ट रूपमा देखाउनुपर्ने । ‘त्यो समयमा एकदमै धेरै गाह्रो हुन्छ । त्यस्तो वेला जोखिम पनि ज्यादा हुन्छ,’ उनी भन्छन्, ‘जम्माजम्मी आत्मविश्वासले जोगाउने हो । बडीबिल्डरको शरीर हेर्न मात्र मजा हुन्छ, उनीहरूले कति दुःख गरेका हुन्छन्, त्यो बताएर पुग्दैन । कति त स्टेजमै ढलेका घटना पनि छन् ।’ झनै सिजापतिले त बडीबिल्डिङकै लागि शरीरको रङ बदलेका छन् । पहिला उनको शरीरमा दुबे नामक छालाको रोग थियो । शरीर टाटेपाटे थिए । जुन बडीबिल्डिङमा वर्जित हुन्छ । त्यसका लागि उनी भारत गए । एकपटकमा सय सुई लगाउनुपर्ने हुन्थ्यो । त्यसपछि शरीर सुन्निएर हैरान हुन्थ्यो । तर, बिस्तारै दुबे रोग निको हुँदै गयो, उनी स्वयं सेतो गोरा हुँदै गए । अहिले त गोराजस्तै नै देखिन्छन् । भन्छन्, ‘छालाको रङ फेरिएपछि धर्मश्री जितेँ, त्यसपछि नै सिनेमाहरू खेल्ने तयारी हुँदै छ । दुबेको उपचारले त मेरो जीवन नै परिवर्तन गरिदियो ।’