मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोबर्ट राइस
२०७८ बैशाख १३ सोमबार ०९:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अन्तरिक्षमा श्रमिकको आवाज सुनिनेछैन

पृथ्वीको समस्या बढ्दै गयो भने अति धनाढ्यलाई न बंकरले बचाउन सक्छ, न अन्तरिक्ष बस्तीले

Read Time : > 2 मिनेट
रोबर्ट राइस
२०७८ बैशाख १३ सोमबार ०९:४५:००

इलोन मस्कले हालै अन्तरिक्षयात्रीलाई चन्द्र धरातलमा उतार्ने नासाको सम्झौता हात पारे । मस्कले जेफ बेजोसलाई उछिनेर २.९ अर्ब डलरको सम्झौता जितेका हुन् । हुन त यी दुवै अर्बपतिका लागि सम्झौतामा उल्लिखित रकम त्यति ठूलो होइन । बेजोस १९७.८ अर्ब डलरका धनी हुन् भने मस्कसँग १७९.७ अर्ब डलर सम्पत्ति छ ।

विश्वका पहिलो र दोस्रो धनी यी दुईजनाको कुल सम्पत्ति आर्थिक रूपमा पिँधमा रहेका ४० प्रतिशत अमेरिकीको कुल सम्पत्तिबराबर छ । मस्क र बेजोसको अन्तरिक्ष महत्वाकांक्षामा चन्द्रमा पहिलो खुड्किलो मात्र हो । मस्कका अनुसार उनको अन्तरिक्ष काम हेर्ने कम्पनी स्पेस–एक्सले सन् २०२६ सम्म मंगल ग्रहमा मानिस उतार्नेछ ।

त्यस्तै स्पेस–एक्सले सन् २०५० सम्म मंगल ग्रहमा मानव बस्ती बसाल्ने उद्देश्य लिएको छ । ‘जीवन धेरै ग्रहमा विस्तार गर्न सकियो भने मात्र कुनै दिन पृथ्वीमा प्रलयकारी घटना भयो भने मंगल ग्रहको जीवन त जोगिन्छ,’ मस्कले एक ट्विटमा लेखेका थिए । बेजोसको लक्ष्य मस्कको भन्दा महत्वकांक्षी छ । उनी अन्तरिक्षमा तैरिने विशाल अन्तरिक्ष यान बनाउने बताइरहेका छन् । बेजोसको अन्तरिक्ष हेर्ने कम्पनी ‘ब्लु ओरिजिन’ले एक दिन ‘कैयौँ माइल लामो विशाल संरचना’ बनाएर ‘संरचनामा झन्डै दश लाख मानिस बोकेर अन्तरिक्षको सयर गर्न सकिने’ बताएको छ ।

पृथ्वीमा भने मस्क विद्युतीय कार बनाउँछन् । विद्युतीय कारले पर्यावरण संरक्षणमा सघाउँछ । बेजोसको अमेजनका कारण घरबाटै सामान किन्न धेरै सजिलो भएको छ । अनलाइन सपिङका कारण धेरै उपभोक्ताको पसलसम्मको कारयात्रा घटेकाले पर्यावरणलाई सहयोग नै पुगेको छ । मानवजगत्मा सकारात्मक योगदान पु¥याइरहेका मस्क र बेजोस आफ्ना मजदुरप्रति कठोर छन् । 

मस्कले अघिल्लो वर्ष घरमा बसेर काम गर्ने अमेरिकी सरकारको निर्देशनलाई ‘फासीवादी’ भन्दै ‘अमेरिकालाई तुरुन्त स्वतन्त्र बनाऊ’ भन्दै ट्विट गरेका थिए । उनले स्वास्थ्य अधिकारीले सुरक्षित नभनीकन क्यालिफोर्नियास्थित टेस्ला उद्योग खुलाए । लगत्तै १० श्रमिकलाई भाइरस लाग्यो । सात महिनामा कम्तीमा ४५० टेस्ला श्रमिक संक्रमित भए । मस्कका श्रमिकले घण्टाको १९ डलर मात्र कमाउँछन् । त्यति कमाइबाट मस्कको उद्योग रहेको उत्तरी क्यालिफोर्नियाको घरभाडा र अन्य खर्च बल्ल–बल्ल पुर्‍याउन सकिन्छ । 

मस्क खुलेरै मजदुर युनियनविरोधी छन् । एक साताअघि नेसनल लेबर रिलेसन बोर्डले टेस्लामा श्रमिकले युनियन खोल्ने प्रयास गरेको भन्दै सोधपुछ गरिएको, एकजनालाई बखास्त गरिएको र अर्कोलाई अनुशासनको कारबाही गरेको पाएको थियो । अमेरिकी कानुनअनुसार मजदुरमाथिको यस्तो व्यवहार गैरकानुनी हो । नेसनल लेबर रिलेसन बोर्डका अनुसार टेस्लाले आफ्ना कामदारलाई मजदुर संगठन नबाउन धम्की दिइएको र मिडियासँग कुराकानीमा पनि बन्देज लगाएको छ ।

टेस्ला र अमेजनका मालिक मानिसलाई मंगल ग्रहभन्दा अझ टाढा पु¥याउन चाहन्छन्, तर पृथ्वीका आफ्ना श्रमिकप्रति सामान्य मानवीयता पनि देखाउँदैनन् 

मजदुरसँग व्यवहार गर्ने मामिलामा बेजोसको रेकर्ड पनि राम्रो छैन । उनका गोदाममा कठोर उत्पादन कोटा लागू गरिएको, कामदारमाथि चौबिसै घन्टा निगरानी हुने गरेको र १० घन्टाको काम अवधिमा दुई घन्टा मात्र ब्रेक दिने गरेको पाइएको छ । हुन त बेजोस आफ्ना श्रमिकलाई प्रतिघन्टा १५ डलर दिने गरेको कुरामा गर्व गर्ने गर्छन् । यति आयबाट पूर्णकालीन श्रमिकले वर्षमा ३१ हजार डलर कमाइ हुन्छ, जुन औसत अमेरिकी परिवारको आयभन्दा आधा हो ।

कम्पनीले सशुल्क बिरामी बिदासमेत दिँदैन । बेजोसले महामारीको समयमा पिपिई नदिएको गुनासो गर्ने दुई श्रमिकलाई बर्खास्त गरेका थिए । भर्खरै अलवामाको गोदाममा युनियन बनाउने प्रयासलाई कमजोर बनाउन अमेजनले ठूलै कसरत ग¥यो । मस्क र बेजोस अमेरिकाका सबैभन्दा धनी व्यक्ति हुन् र तिनका कम्पनी देशकै सबैभन्दा तीव्र वृद्धि हुने कम्पनीमा पर्छन् । त्यसैले तिनले श्रमिकलाई गर्ने व्यवहारलाई अन्य कम्पनीका सिइओले हेरिरहेका हुन्छन् । 

यदि मस्क र बेजोस पृथ्वीबाहिर बस्ती बसाउन सफल भए भने पनि तिनका कम्पनीमा काम गर्ने अधिकांश श्रमिक त्यहाँ जान सक्दैनन् । १७औं शताब्दीमा प्लेग लाग्दा युरोपका कुलीनहरूले बाँकी मानिसबाट टाढा क्याम्प लगाएका थिए । कोरोनाकालमा अमेरिकी धनाढ्यहरूले पनि त्यसरी नै सुरक्षित वासमा लुकेको देखियो ।

आजका अति धनाढ्यहरूका लागि त आणविक युद्ध र सामाजिक विग्रहको वेलाका लागि भनेर सुरक्षित बंकर पनि तयार भइसकेका छन् । तर, पृथ्वीको समस्या बढ्दै गयो भने पर्यावरणीय जोखिमका साथै बढ्दो असमानताले समाजिक अस्थिरता निम्त्याउनेछ । त्यसपछि न त बंकरले बचाउन सक्छ न अन्तरिक्ष बस्तीले । विद्युतीय कारका लागि म मस्कप्रति कृतज्ञ छु र अनलाइनबाट सामग्री अर्डर गर्न सजिलो बनाएकोमा बेजोसप्रति पनि कृतज्ञ छु । तर, उनीहरू मानव जातिको अस्तित्वलाई लिएर साँच्चै गम्भीर छन् भने उनीहरू पृथ्वीका श्रमिकको अवस्था सुधारप्रति बढी जिम्मेवार हुनुपर्छ । 
(अमेरिकाका पूर्व श्रममन्त्री राइस युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका प्राध्यापक हुन्) गार्जियनबाट