जब देशमा ठूलो विपत्ति आइपर्छ तब मानवलाई ठूलो संकट पर्दछ । त्यो प्राकृतिक विपत्ति बाढी, पहिरो, भूकम्प होस् वा सरुवा रोगको महामारी, हरेक विपत्तिले भौतिक र मानवीय क्षति पु¥याएर जाने गर्दछ । त्यो क्षति पूर्ति गर्न मानिसले धेरै ठूलो संघर्ष गर्नुपर्छ । लामो समयको मिनिहेत र संघर्षपछि भौतिक क्षति त पूर्ति गर्न सकिन्छ । तर, मानवीय क्षति भने कहिल्यैे पूर्ति गर्न सकिँदैन । त्यसैले यस्ता महामारी देशमा कहिल्यैे नआउन् भन्ने सबैको चाहना र कामना हुन्छ ।
तर, विपत्ति आउँदा कसैलाई पनि थाहा नदिई आउने गर्दछ । यसलाई रोक्न सकिँदैन, तर यसबाट हुने क्षति कम गर्न सकिन्छ । जसरी पछिल्लो समयको ज्वलन्त उदाहरण ०७२ को भूकम्प प्राकृतिक विपत्ति थियो । त्यसबाट धेरै भौतिक तथा मानवीय क्षति छोटो समयमा भएको थियो । त्यसबाट भएको क्षतिपूर्ति सम्बन्धित विज्ञ, भूगर्भविद् तथा इन्जिनियरहरूका लागि एउटा पुनर्निर्माणको राम्रो अवसर थियो । नयाँ सोचविचारका साथ उक्त क्षेत्रका प्राविधिकहरूले रोजगारीको अवसरदेखि देशको भौतिक निर्माण नयाँ आधुनिक तरिकाबाट भइरहेको छ ।
त्यस्तै, ०७६ मा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को महामारी जसको कारण विश्वमा सात लाख बढी मानिसले ज्यान गुमाउनुप¥यो र नेपालमा पनि तीन हजारभन्दा बढी मानिसले ज्यान गुमएका छन् । यसबाट पनि स्वास्थ्य सेवाको नीति तथा योजना पुनर्निर्माण हुनु जरुरी देखिन्छ, जसरी ०६९ सालमा अफ्रिकी मुलुकमा इबोला भाइरसले धेरै प्रभावित गरेको थियो ।
त्यसवेला नेपालमा पनि ठूलै क्षतिबाट रोक्न एउटा संरचना परिकल्पना गरी निर्माण गरिएको थियो । त्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको थियो, जसले गर्दा अहिले कोरोन महामारीमा अत्यन्तै प्रभावकारी भएर कम गरेको थियो जहाँबाट सुरुमै बाहिरबाट भित्रिने मानिसको स्वास्थ्य अवस्थाबारे सामान्य जानकारी पाउने र उनीहरूलाई क्वारेन्टिन बस्न प्रबन्ध मिलाई उनीहरू कुन देशबाट आउनेको संख्या कति छ र निश्चित समयसम्म कहाँ कसरी बसेका छन् भनी जानकारी राख्ने काम भएको थियो ।
यदि हेल्थडेस्क नभएको भए तुरुन्त सञ्चालन गरेर प्रभावकारी रूपमा कम गर्न गाह्रो हुने थियो । त्यसैले यही अनुभवबाट अहिले सम्पूर्ण नाकामा हेल्थडेस्क राख्न्ने निर्णय अत्यन्त सराहनीय कार्य हो । यसलाई चुस्तदुरुस्त रूपमा अघि बढाउनुपर्छ । र, यसरी अघि बढ्दा हरेक ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीको उच्च मनोबलका साथ उनीहरूलाई प्रोत्साहित गर्नुपर्छ चाहे त्यो भत्ताबाट होस् या उनीहरूको प्रमोशनबाट । जसरी अहिले कोभिडमा सुरुको अवस्थामा सम्पूर्ण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि कोभिड भत्ता उपलब्ध गराउने भनेर आस देखाई कामकाजमा खटाइयो, तर पछि केहीलाई मात्र उपलब्ध गराई धेरै स्वास्थ्यकर्मीलाई त्यसबाट वञ्चित गरियो ।
यसबाट अब महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीको अत्यन्त कमजोर मनोबल भएको छ । निजी क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक धेरै ठाउँमा काम गरेबापत जोखिम भत्ता पाउनुको साटो कामबाटै निकालिएका प्रसस्त उदाहरण छन् । सरकारी क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी पनि समायोजनको नाममा विभिन्न बहानामा उनीहरूको इच्छाविपरीत काम गर्ने उपकरण र सम्पूर्ण जनशक्तिको टिम नहुँदा–नहुँदै त्यस्तो ठाउँमा खटाएर कुनै चिकित्सक र स्वास्थ्यकर्मीले एक्लैले त्यसअनुरूपको सेवा दिन गाह्रो हुन्छ ।
स्वास्थ्य सेवा भनेको एक–अर्कोबीच महत्वपूर्ण सम्बन्ध हुन्छ, त्यो डाक्टर, नर्स, एक्स–रे, फार्मेसीजस्तो न्यूनतम सेवाका लागि महत्वपूर्ण जनशक्ति हो, त्यसैले सम्पूर्ण उपकरण र जनशक्तिको व्यवस्थापन भयो भने मात्र नागरिकले स्वास्थ्यसेवाको अनुभूति गर्नेछन् न कि त्यस्तो ठाउँमा एउटा डक्टर वा अन्य स्वास्थ्यकर्मी खटाएर अपूरो स्वास्थ्य सेवा हुन्छ जसरी महामारीको वेला अन्य सामान्य वेलाभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक पर्दछ ।
त्यसैले यस्तो वेला हामीलाई चाहिने कुन जनशक्ति कति हो, कति पर्याप्त छ र कति नयाँ उत्पादन गर्नुपर्छ भन्ने कुराको लेखाजोखा गरेर नयाँ जनशक्ति उत्पादन र तिनीहरूको उपयुक्त ठाउँमा सही व्यवस्थापन भयो भने विपत्तिमा पनि सजिलो तरिकाले सामना गर्ने शक्ति हुन्छ र उत्पादित जनशक्ति आफ्नै देशमा उपयोग गर्न सकिन्छ । त्यसका लागि अहिले धेरै स्वास्थ्यकर्मीको आवश्यकता महसुस भएको छ । यही समयमा थप दरबन्दी सिर्जना गरी उपयुक्त जनशक्ति व्यवस्थापन हुन सक्यो भने सम्बन्धित क्षेत्रको विकास र रोजगारीको अवसर पनि सिर्जना हुन्छ ।
(उपमहासचिव, नेपाल स्वास्थ्यकर्मी संघ)