१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केही दिनअघि भजनी नगरपालिकाको हलौनाघाटमा स्थापना गरिएको बिओपी । तस्बिरः नयाँ पत्रिका
२०७८ बैशाख ७ मंगलबार ०९:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतसँगको सीमाक्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दै

Read Time : > 1 मिनेट
२०७८ बैशाख ७ मंगलबार ०९:५२:००

एक वर्षभित्रै पाँचवटा बिओपी थपिए, तीन बिओपी थप्ने तयारी

भारतसँग एक सय एक किलोमिटर सिमाना जोडिएको कैलालीका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको छ । यो वर्ष मात्रै सशस्त्र प्रहरीका पाँचवटा बोर्डर आउट पोस्ट (बिओपी) थपिएका छन् । थप तीनवटा बिओपी राख्ने तयारी भइरहेको छ ।

जिल्लाभरि अहिले बिओपी संख्या १६ पुगेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिए । आइतबार मात्र भजनी नगरपालिकामा दुईवटा बिओपी उद्घाटन गरिएको छ । यही महिनामा थप तीनवटा बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए । दुई वर्षअघि कैलालीमा चारवटा मात्र बिओपी थिए । सरकारले सीमाक्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लैजाने नीति लिएपछि करिब दुई वर्षको अवधिमा १२ वटा बिओपी थपिएका छन् । 

बिओपी थपिँदा सबैभन्दा राहत सीमावर्ती गाउँका स्थानीयलाई भएको छ । सीमापारिबाट आउने चोरसँग थरथर काम्नुपर्ने अवस्था अन्त्य भएको छ । सशस्त्रको नियमित गस्तीपछि स्थानीय ढुक्क भएका छन्

चोरी–तस्करी नियन्त्रणमा सहजता
बिओपीको संख्या बढेपछि सीमा सुरक्षासँगै चोरी–तस्करी नियन्त्रण भएको सशस्त्रको दाबी छ । यद्यपि, भारतबाट अहिले पनि तस्करी हुने गरेको सीमाक्षेत्रका स्थानीय बताउँछन् । प्रहरी पोस्टहरू बसेपछि सीमाक्षेत्रका स्थानीयले सुरक्षाको भने महसुस गरेका छन् । चोरीका घटनाहरूमा कमी आएको सीमावर्ती गाउँका स्थानीयले बताएका छन् । ‘पारि (भारत)बाट आउने चोरले पानी तान्ने मोटर, गाई, भैँसी, गोरु, बाख्रालगायत चौपाया चोरेर लग्थे, प्रहरी आएपछि भारतीयहरू यहाँ आएर गर्ने चोरीमा कमी आएको छ,’ सीमावर्ती बस्ती लालबोझीका स्थानीय सन्तराम चौधरीले भने, ‘प्रहरी आउँदा हामीलाई पनि भरोसा मिलेको छ । सुरक्षित महसुस गरेका छौँ ।’

विगतमा जस्तो चोरी हुन लागेको थाहा पाएर पनि डरले घरभित्रै चुप लागेर बस्नुपर्ने अवस्था अहिले नरहेको उनले बताए । नेपालतिर सुरक्षाकर्मीको उपस्थिति नहुँदा सीमावर्ती बस्तीमा चोरी, लुटपाटका घटना हुँदै आएका थिए । ‘राति गोठबाट गाईगोरु लैजाँदा पनि डरले थाहा नपाएजस्तै गरेर बस्नुपथ्र्यो । सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेपछि चोरीका घटनामा कमी आएको छ,’ अर्का स्थानीय ऋषिकेश चौधरीले भने, ‘सशस्त्र प्रहरीले अहिले राति पनि गस्ती गर्छ ।’

पूर्वाधार र साधनस्रोतको अभाव
सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी, निकासी, पैठारी नियन्त्रणको जिम्मेवारी पाएको बिओपीमा पूर्वाधार र साधनस्रोतको भने अभाव छ । बस्ने घर छैन, केही ठाउँमा खरका घरमा बिओपी राखिएका छन् । पेट्रोलिङ गर्नका लागि बिओपीमा गाडी छैनन्, प्रहरीले पैदलै गस्ती गर्छ । 

१६ मध्ये ११ वटा बिओपीको प्रिफ्याबको नयाँ भवन निर्माण भइरहेको सशस्त्र प्रहरी उपरीक्षक कुँवरले बताए । अन्य पाँचवटा बिओपी खरको भित्ता र टिनको छानोले बनाएको संरचना छन् । बिओपीमा गाडीको पनि अभाव रहेको उनले बताए । 

पूर्वाधार र साधनस्रोतको अभावका बीच पनि सशस्त्र प्रहरीले सीमासुरक्षा, अपराध तथा चोरी तस्करी नियन्त्रण गर्ने दायित्व दृढतापूर्वक निर्वाह गरिरहेको उनले दाबी गरे । बिओपी स्थापना भएपछि चोरीतस्करी नियन्त्रण भएको कुँवरको दाबी छ । भारतसँग खुला सिमाना भएकाले कैलालीमा चोरी–तस्करी, आपराधिक घटना र लागुऔषधको कारोबार हुँदै आएको छ । केही समययता नाकामा भारतबाट ल्याइएका सामान समातिने क्रम बढेको छ ।