मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २४ शुक्रबार
  • Friday, 07 May, 2021
अर्जुन अधिकारी काठमाडाैं
२०७८ बैशाख ५ आइतबार ०६:२७:००
Read Time : > 10 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

भाइरस मान्छे खोज्दै आएका होइनन्, मान्छेले नै भाइरस उत्खनन गरिहेको छ : डा. सन्तोष दुलाल

अन्तर्वार्ता

Read Time : > 10 मिनेट
२०७८ बैशाख ५ आइतबार ०६:२७:००

विश्वका विभिन्न देशमा कोभिड–१९ का विभिन्न लहर चलिहरको छन् । कतै दोस्रो, कतै तेस्रो र चौथो पनि । मुख्यगरी युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्टले विश्वका विभिन्न मुलुकलाई सकसमा पारिदिएका छन् । नेपालमा पनि युके भेरियन्ट र भारतको डबल म्युटेन्ट भेरियन्ट पुष्टि भइसकेको छ । यससँगै देशमा कोरोनाको दैनिक संक्रमण दर पनि तीव्र गतिमा बढिरहेको छ । १७ माघदेखि भारत र नेपालको संक्रमण दर प्रतिस्पर्धामा छ । यसले जनस्वास्थ्यलाई गम्भीर मोडमा पुर्‍याएको अनुभूत गर्न सकिन्छ । कोरोनाको नयाँ भेरियन्टले हालको संक्रमणलाई अझै जोखिमपूर्ण बनाएकाले पनि जनस्वास्थ्यको नजरमा संक्रमणलाई संवेदनशील भएर मूल्यांकन गर्नुपर्ने देखिन्छ । यसै सन्दर्भमा अहिलेको संक्रमण कत्तिको चुनौतीपूर्ण छ तथा यसबाट जोगिन के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलालसँग नयाँ पत्रिकाका अर्जुन अधिकारीले गरेको कुराकानी :

डा. सन्तोष दुलाल, अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ


१. केही समयअघिसम्म मत्थर भएको संक्रमण अहिले पुनः बढ्दै गइरहेको छ र यसलाई कोभिड–१९ को दोस्रो लहर भनिदै छ । पहिलो वा दोस्रो लहर भन्ने वैज्ञानिक आधार के हो ?

सन् २०१९ को डिसेम्बरबाट सार्स–कोरोना भाइरस–२ (कोभिड–१९) सुरु भएको हो । चीनको वुहानबाट सुरु भएको भाइरस बिस्तारै विश्वभर पुग्यो । एक व्यक्तिबाट सुरु भएको संक्रमणले हालसम्म विश्वका करिब १४ करोड ६३ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ । तर, अझै संक्रमण रोकिने अवस्था देखिएको छैन । भाइरस संक्रमणका विभिन्न चरण छन् । एकजनाबाट संक्रमण बढ्दै गएर लाखौँ संक्रमण गराइसकेपछि जनस्वास्थ्यका अनेकन नियन्त्रणका प्रयत्नले संक्रमण कम हुँदै जान्छ । पानीको छालजस्तै माथि उठेर तल झर्ने यसले संक्रमणको वक्ररेखा तयार पार्छ । त्यो अवधिलाई भाइरसको पहिलो चरण, फस्ट वेभ अर्थात् पहिलो लहर भनिन्छ । तर, यथास्थितिको बिन्दुमा केस पुगेपछि पुनः संक्रमण बढ्दै गएर चरम बिन्दुमा पुग्ने अवस्थालाई संक्रमणको दोस्रो लहर भनिन्छ । अहिले नेपाललगायत विश्वका धेरै देश पहिलो लहर सकिएर पुनः दोस्रो लहरमा प्रवेश गरेका छन् । 

२. पानीको छालजस्तै कोरोनाका छालहरू तल–माथि किन हुन्छन् त ?

भाइरसको संक्रमणले कुनै अवधिमा धेरै व्यक्तिलाई प्रभावित बनाउँछ । त्यो अवधिमा आमनागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, संक्रमित व्यक्ति पनि आइसोलेसनमा बस्ने हुँदा भाइरस फैलिन पाउँदैन र क्रमशः यो घट्दै जान्छ । तर, पूर्ण रूपमा संक्रमण नियन्त्रणमा आएको भने हुँदैन । यस अवधिमा मानिसको आवतजावत र स्वास्थ्य मापदण्डको ख्याल नगर्दा केही व्यक्तिमा भएको संक्रमण पुनः अरूमा फैलन थाल्छ र चरम बिन्दुमा पुग्छ । त्यसलाई दोस्रो छाल मानिन्छ ।

खोप त्यस्तो कुनै रामवाण होइन । कोरोना नियन्त्रणको सबैभन्दा मुख्य पाटो खोपभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरियो कि गरिएन भन्ने हो । कोरोना संक्रमण शून्यमा झारेपछि मात्रै क्रमशः संक्रमण हटेर जान्छ ।
 

चीनमा पहिलो छाल वा फस्ट वेभ आएपछि त्यहाँ दोस्रो वेभ आएको छैन । उसले कडाइसाथ स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संक्रमण न्यूनीकरण गर्दै लगेको छ र पूर्ण रूपमा संक्रमणलाई नियन्त्रणमा राखेको छ । ताइवानले पनि चीनकै रूपमा कोरोना नियन्त्रण गर्दै लगेको छ । तर, भारतमा ६ महिनाअघि गत सेप्टेम्बरमा केस चरम बिन्दुमा पुगेको थियो । उक्त समय दैनिक एक लाखभन्दा कम नागरिक संक्रमित थिए । त्यसयता घटेको संक्रमण केस लामो समय स्थिर बिन्दुमा अडिन सकेन र पुनः संक्रमण आक्रामक रूपमा उक्लिँदै चरम बिन्दुतिर पुग्न लागेको छ । पछिल्लो समय सबैभन्दा धेरै संक्रमण देखिएको मुलुकमा भारत पहिलो स्थानमा उक्लिएको छ र भारत हाल कोरोनाको हटस्पट भएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा १४ लाख ९५ हजार तीन सय ९७ जनाको कोरोना परीक्षण गर्दा दुई लाख ३३ हजार नौ सय ४३ व्यक्ति संक्रमित देखिएका छन्, जुन दैनिक परीक्षणमा कोरोना संक्रमण दर १५ प्रतिशतमा पुगेको छ । 

नेपालमा कोरोना संक्रमण गत कात्तिकमा पहिलो छालको चरम बिन्दुमा थियो । एकै दिन साढे पाँच हजार संक्रमित पुगेका थिए, जुन दैनिक परीक्षणमा कोरोना संक्रमण दर ३० प्रतिशतमा पुगेको थियो । तर, त्यो अवस्था लामो समय रहन सकेन, क्रमशः घट्दै गएर पुनः चैतदेखि संक्रमण बढ्दै गएको छ । चैतअघि संक्रमण दर दुई प्रतिशतमा थियो भने अहिले बढ्दै गएर १४ प्रतिशतभन्दा माथि पुगिसकेको छ । यसले पनि नेपालमा कोरोनाको दोस्रो छाल क्रमिक रूपमा बढ्दै गएको स्पष्ट हुन्छ ।

विश्वभर महाव्याधिको रूप लिएको कोरोना कुन अवस्थामा पुग्छ र यसले कति मानिसलाई मृत्युको मुखमा पु¥याउँछ, अहिले नै पूर्वानुमान गर्न सकिँदैन । डेढ वर्षको अवधिमा विभिन्न प्रकारका छाल आइसकेका छन्, किनभने अझै पनि कोरोना पूर्ण नियन्त्रणमा आइसकेको छैन । कतिपय वैज्ञानिकले कोरोना सधैँभर रहिरहन्छ भनिरहेका छन् । कोरोनालाई पूर्ण रूपमा निर्मूल पार्न सकिएन भने वा पूर्ण रूपमा संक्रमणलाई नियन्त्रणमा नलिएसम्म यस्ता छाल नियमित आउने–जाने भइरहन सक्छ । 

३. अहिले भारत वा नेपालमा फैलिएको भाइरस वुहानको भेरियन्ट हो कि युकेको अथवा अन्य कुनै ? यसलाई छुट्याउने प्रविधि हामीसँग छ कि छैन ?

कोरोना भाइरस सन् १९६० मै प्रकृतिमा देखिएको हो । यसका विभिन्न स्वरूप पछिल्लो समय मानिसमा देखिन थालेका छन् । सन् २००३ मा सार्स कोरोना भाइरस देखियो । त्यस्तै, सन् २०१२ मा मर्स कोरोना भाइरस देखियो भने सन् २०१९ मा आएर सार्स कोरोना भाइरस–२ भनेर चीनको वुहान सहरमा देखियो । 

चीनको वुहानमा देखिएको कोरोना भाइरस–२ को स्वरूप ‘एल’ भन्ने भेरियन्ट (प्रजाति) थिए । ती प्रजाति बिस्तारै–बिस्तारै ‘एस’, ‘भी’ र ‘जी’ भन्ने भेरियन्टको स्वरूपमा देखिए । तर, त्यो ‘जी’ भेरियन्टमा पनि आनुवंशिक उत्परिवर्तन भएर अहिले युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतमा डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । भाइरसका विभिन्न खाले आनुवंशिक उत्परिवर्तन विश्वभर देखिएका छन् । 

चीनको वुहानमा देखिएको कोरोना भाइरस–२ को स्वरूप ‘एल’ भन्ने भेरियन्ट थियो । त्यो प्रजाति बिस्तारै–बिस्तारै ‘एस’, ‘भी’ र ‘जी’ भन्ने भेरियन्टको स्वरूपमा देखिए । तर, त्यो ‘जी’ भेरियन्टमा पनि आनुवंशिक उत्परिवर्तन भएर अहिले युके भेरियन्ट, साउथ अफ्रिकन भेरियन्ट, ब्राजिलियन भेरियन्ट र भारतमा डबल म्युटेन्ट भेरियन्ट देखिएको छ । भाइरसका विभिन्न खाले आनुवंशिक उत्परिवर्तन विश्वभर देखिएका छन् । 

नेपालमा पनि कोरोना भाइरसको आनुवंशिक स्वरूप अर्थात् होल जिनोम सिक्वेन्सिङ गर्ने हो भने नेपालमा पनि कोरोना भाइरसका नयाँ स्वरूप देखा पर्न सक्छन् । भाइरसहरू बाँच्नका लागि प्रत्येक समय वा पल परिवर्तित भइरहेका छन् । नेपालमा कोरोनाको भेरियन्ट पत्ता लगाउनका लागि आवश्यक पर्ने प्रविधि भित्रिसकेको छैन । अहिले आरटी पिसिआर प्रविधिमार्फत कोरोना जाँच गरिन्छ । हालसालै जिनोम सिक्वेन्सिङ गरी नयाँ परिवर्तित स्वरूप पत्ता लगाउने उपकरण पनि आइसकेको छ । तर, त्यस्ता उपकरण दिनहुँ परीक्षणमा नभई अध्ययन अनुसन्धानमा मात्रै केही उपयोगमा आएको छ । 

नेपालमा युके भेरियन्ट छुट्याउन सक्ने अवस्था पनि छैन । स्पाइक प्रोटिनमा भएको म्युटेसनलाई एस जिनको आरटी पिसिआर गरेर हेरिन्छ । आरटी पिसिआर परीक्षणमा एस जिन नेगेटिभ आएको खण्डमा त्यसलाई युके भेरियन्ट भएको अनुमान गर्न सकिन्छ । तर, युके भेरियन्ट हो÷होइन भनेर दाबी गर्नका लागि विश्व स्वास्थ्य संगठन डब्लुएचओको प्रयोगशाला हङकङ पठाइन्छ र होल जिनोम सिक्वेन्सिङबाट मात्र युके भेरियन्ट वा अरू भेरियन्टहरू निक्र्योल गर्न सकिन्छ ।

४. भाइरसले आफ्नो स्वरूप परिवर्तन किन गर्छ ? यसरी परिवर्तन हुँदै जाँदा मानव जगत् र विज्ञानले यसको सामना कसरी गर्ला ? 

सूक्ष्म जीवाणु अर्थात् ब्याक्टेरिया, भाइरसहरू प्रकृतिमा लाखौँ वर्षदेखि छन् । जब पृथ्वी सेलाउँदै आयो, सूक्ष्म जीवाणुहरूले पनि आफूलाई त्यहीअनुकूल बनाउँदै लगे । यिनीहरू आफू बाँच्ने क्रममा आफ्नै स्वरूप परिवर्तन गर्दै जान्छन् । प्रकृतिमा बाँच्नकै लागि स्वरूप परिवर्तन गरिरहन्छन् । एउटा सूक्ष्म जीवाणुले अर्को सूक्ष्म जीवाणुलाई मार्ने अवस्था पनि हुन्छ । प्रकृतिमा बाँच्न र अरूले नमारून् भन्नका लागि तिनले आफ्नो स्वरूप परिवर्तन गर्छन् । 

कोरोना भाइरस सुरुमा जंगली जनावर बाँदर र चमेरोमा थियो । मानिस र जनावरबीचको प्रतिस्पर्धा भयो भने ती भाइरस प्रकृतिबाट मानिससम्म ‘स्पिल ओभर’ वा पोखिएर आइपुग्छन् । मानिसमा आइपुग्दा उनीहरू बाँच्न सक्ने भएर आउँछन् र मानिसलाई संक्रमण गराउँछन् । मानिसलाई संक्रमण गराइसकेको अवस्थामा ती भाइरसलाई मार्न कि खोप आवश्यक पर्छ, कि त भाइरस आफैँ कमजोर भएर प्रकृतिमा बाँच्न नसकेर सीमित हुन्छन् । 

सार्स कोरोना भाइरस–२ ले आफ्नो स्वरूप परिवर्तन गरेर बाँच्न खोजेको छ । यो मानव जीवनबाट हराउन खोजेको छैन । त्यसैले अहिले विज्ञानले कस्तो अवस्थामा हराउँछ भन्न सक्ने अवस्था छैन । विज्ञान र चिकित्साशास्त्रका लागि निकै ठूलो चुनौतीको विषय हो, यो । अझ पछिल्लो समय आनुवंशिक उत्परिवर्तित सार्स कोरोना भाइरस–२ का विभिन्न म्युटेन्टहरू खोपको प्रभावकारिताबाट बाँच्न सफल भई संक्रमण गराउन उन्मुख छन्, जुन विश्व र विज्ञानका लागि ठूलो चुनौती बनेको छ । 

पछिल्लो समय सबैभन्दा धेरै संक्रमण देखिएको मुलुकमा भारत पहिलो स्थानमा उक्लिएको छ र हटस्पट भएको छ । पछिल्लो २४ घन्टामा मात्रै भारतमा १४ लाख ९५ हजार तीन सय ९७ जनाको कोरोना परीक्षण गर्दा दुई लाख ३३ हजार नौ सय ४३ व्यक्ति संक्रमित देखिएका छन्, जुन दैनिक परीक्षणमा कोरोना संक्रमण दर १५ प्रतिशत हुन आउँछ ।

पृथ्वीको सतहमा वा सतहमुनि आफ्नै शैलीमा बसिरहेका भाइरस क्रमशः बाहिर आइरहेका छन् । विकासमा नाममा हामीले पृथ्वी उत्खनन गरिरहेका छौँ, उद्योगको नाममा कार्बन उत्सर्जन गरिरहेका छौँ, त्यसले जलवायु परिवर्तन भइरहेको छ । त्यसैले भाइरस बाहिर आएका छन् । उनीहरू पनि बाँच्नकै लागि संघर्ष गरिरहेका छन् । त्यसको मूल्य मानव सभ्यताले तिर्नुपरेको छ । खासमा भाइरस मान्छे खोज्दै आएका होइनन्, मान्छेले नै खोजेर भाइरसलाई बाहिर ल्याएको हो ।

५. दुनियाँमा कोरोनाजस्तै करोडौँ भाइरस छन् भनिन्छ, ती भाइरस मान्छेसम्म कसरी आइपुग्छन् ?

कोरोनाजस्तै प्राणघातक भाइरस करोडौँ छन् । यी भाइरस जंगली जनावर, समुद्रमा पाइने जनावरमा बाँचिरहेका छन् । लाखौँ वर्षदेखि पृथ्वीमा यस्ता भाइरसको विकास भएको हो । करिब एक लाख वर्षदेखि मानिस यहाँ बाँचिरहेका छन् । तर, पछिल्लो समयमा प्रकृति र जंगली जनावरसँग हामीले द्वन्द्व निम्त्यायौँ । प्रकृति मास्ने, जंगली जनावर मारेर खाने जस्ता काम बढ्दै गए । यसैको फलस्वरूप जनावरमा भएको भाइरस मानिसमा सरेको हो । आनुवंशिक परिवर्तनशील भएर भाइरस मानिसमा सरेको हुन्छ । यसरी मानिसमा सरेको भाइरस एकजनामा मात्रै सीमित भएर बस्दैन । उदाहरणका लागि एक सय वर्षअघिको स्पेनिस फ्लु काफी छ । अहिले देखिएको कोरोना भाइरस पनि त्यसको अर्को उदाहरण हो । यी दुवै भाइरस जंगली जनावरबाट मानिससम्म आइपुगेका हुन् । हामीले प्रकृति र जनावरलाई संरक्षण गर्दै मानिससँगको दूरी कायम गर्न सकेको खण्डमा मात्रै भाइरसको संक्रमणलाई कम गर्न सक्छौँ । 

६. अहिले संसारभर करिब एक दर्जन भ्याक्सिन आपत्कालीन प्रयोगमा छन्, ती भ्याक्सिन प्राविधिक रूपमा कसरी भिन्न छन् र अहिलेसम्म प्रयोग भइरहेका भ्याक्सिनहरूको प्रभावकारिताको मूल्यांकन कस्तो छ ?

विश्वका धेरै कम्पनीले कोरोना भाइरसलाई नियन्त्रण गर्न खोप बनाएर बजारमा ल्याएका छन् । कतिपय खोप आनुवंशिक आधारमा तयार भएका छन् । एमआरएनएको आधारमा तयार पारेको खोप मोडेर्ना र फाइजर हो । भारतको सिरमले बनाएको कोभिसिल्डमा सार्स कोरोना भाइरस–२ को जेनेटिक मेटेरियल राखिएको छ । त्यस्तै, चीनले बनाएको खोपमा कोरोना भाइरसलाई रसायनले निष्क्रिय पारेर बनाएको छ । यी प्रविधिका खोप विश्वभर प्रयोगमा आएका छन् र यिनै अहिलेसम्मका प्रभावशाली खोप हुन् ।

विभिन्न प्रकारका खोप विश्वबजारमा आपत्कालीन प्रयोगमा आएका छन् । यसको प्रभावकारिता हेर्दा अझै पनि ठूलो जमातमा खोप लगाएपछि संक्रमण हुन्छ कि हुँदैन भन्नेमा आशंका छ । मोडेर्ना र फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा माथि पाइएको छ । कोभिसिल्डको पहिलो डोज आठदेखि १२ हप्ताको बीचमा लगाएको खण्डमा यसको प्रभावकारिता ८० प्रतिशतको नजिक पुग्ने अध्ययनले देखाएका छन् । चीनले बनाएको सिनोफामको खोपको प्रभावकारिता ५० देखि ८० प्रतिशत रहेको पाइएको छ । 

खोप लगाउने व्यक्तिको स्वास्थ्यको अवस्थाले पनि प्रभावकारिता मापन गर्न सकिन्छ । त्यस्तै, कसरी खोप लगाइयो, लगाएको डोज पूरै शरीरमा प्रवेश ग¥यो कि गरेन र कति समयसम्म यसले काम गर्छ भन्नेमा यसको प्रभावकारिता जाँच गर्न सकिन्छ । हाल प्रयोगमा आएका खोपले कति समयसम्म मानिसलाई बचाउन सक्छ भन्ने निचोड निकाल्न भने सकिएको छैन । खोपको आफ्नो मापदण्ड हुन्छ । अहिले कोरोनाको खोप अधिकांश दुई डोज लगाउनुपर्ने छन् । हालै अमेरिकामा उत्पादन भएको जोनसोन एन जोनसोनको खोप भने एक डोज मात्रै लगाए पुग्ने बताइएको छ । 

७. आममानिसमा खोप लगाएपछि कोभिड निको हुन्छ कि हुँदैन भन्ने अझै पनि स्पष्ट छैन । यस विषयमा अध्ययनहरूले के देखाएका छन् ?

खोपले कोरोना नियन्त्रण गर्ने विषय आफैँमा विवादास्पद छ । सबै खोपका आ–आफ्नै प्रभावकारिता छन् । कुनै खोपले ५० प्रतिशत सुरक्षित बनाउँछ भने कुनैले ८० प्रतिशत बनाउँछ । कतिपय मानिस खोप लगाएर पनि संक्रमित भएका छन् । त्यसैले खोप मात्र त्यस्तो कुनै रामवाण होइन । कोरोना नियन्त्रणको सबैभन्दा मुख्य पाटो खोपभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरियो कि गरिएन भन्ने हो । 

कोरोना संक्रमण शून्यमा झारेपछि मात्रै क्रमशः संक्रमण हटेर जान्छ । उदाहरणका लागि कोरोना भाइरस जतिवेला वुहानमा देखियो, नितान्त नयाँ किसिमको भाइरस थियो । सन् २०१९ मा सुरु हुँदा विभिन्न किसिमका अड्कल गरिएको थियो । त्यस वेला अनुमान गर्दा श्वासप्रश्वाससँग सम्बन्धित एक प्रकारको सूक्ष्म जीवाणु भएका कारणले गर्दा यसले जाडोमा मात्रै असर गर्छ कि भन्ने अध्ययन भएका थिए । तर, अहिले बुझ्दा यसले जाडो र गर्मी दुवै ठाउँमा उत्तिकै प्रभाव पारिरहेको छ । युरोपमा चिसो हुँदा पनि र साउथ एसियामा गर्मी हुँदा पनि यसले आफूलाई सक्रिय बनाएकै छ । यसबाट के बुझिन्छ भने यसले आफ्नो रूप परिवर्तन गरिरहेको छ । 

कोरोनाबाट निधन हुनेको संख्या ३० लाख नाघ्यो

एजेन्सीहरूको सहयोगमा

कोरोना भाइरसको दोस्रो र तेस्रो लहर तीव्र गतिमा फैलिँदा विश्वभरि प्रतिमिनेट आठ संक्रमितले ज्यान गुमाइरहेका छन् । अर्थात्, प्रतिएक घन्टामा पाँच सय तथा एक दिन औसतमा १२ हजार कोरोना संक्रमित निधन भइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शनिबारसम्म कोरोना भाइरसबाट ३० लाख १५ हजार सात सय ८६ जनाले ज्यान गुमाएका छन् । महामारीको सिकार हुने व्यक्तिको संख्या लगभग चार देशको सिंगो जनसंख्याबराबरी छ । 

किभ, युक्रेन, काराकास तथा भेनेजुएला देशको जनसंख्याबराबर नै कोरोनाबाट निधन भएको छ । जोन हप्किन्स विश्वविद्यालयले अहिलेसम्मको निधन भएको संख्या अमेरिकाको सिकागो सहरको जससंख्याभन्दा बढी भएको उल्लेख गरेको छ । सिकागोको कुल आवादी २७ लाख रहेको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिएयता डालास सहरको जनसंख्या हाराहारीमै निधन भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसप्रति सेचत नहुनु र यसलाई हल्का रूपमा लिँदा नै संक्रमित तथा मृत्युदर ह्वात्तै बढेको विज्ञहरूको भनाइ छ । यस वर्षको जनवरीसम्म कोरोनाबाट विश्वमा २० लाखले ज्यान गुमाएका थिए । यस वेलासम्म अमेरिका तथा युरोपमा भर्खर मात्र कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याएका थिए । 

एक रिपोर्टअनुसार कोरोना भाइरस महामारीका रूपमा फैलिएको साढे आठ महिनाभित्र १० लाख संक्रमितले ज्यान गुमाएका थिए । विभिन्न देशले लकडाउन खुकुलो बनाउनुले नै कोरोना अनियन्त्रित भएको मानिन्छ । अहिले एक सय ९० देशमा खोप कार्यक्रम सञ्चालनमा छन् । तर, विश्वको कुल जनसंख्याको ०.२५ प्रतिशत मात्र खोपको पहुँचमा छ । 

खोप कार्यक्रम अगाडि बढे पनि कतिपय देशमा संक्रमित र मृत्युदर नियन्त्रणमा आइसकेको छैन । अमेरिका तथा बेलायतले पछिल्लो समयमा अपनाएको नीतिले यहाँ संक्रमित कम हुन थालेका छन् । तर, लकडाउन तथा अन्य गतिविधिमा प्रतिबन्ध लगाए पनि विश्वमा कोरोना झनै महामारीकै रूपमा फैलिरहेको छ । यसै कारण हो कि यो एक साताभित्र मात्रै सात लाखभन्दा बढी संक्रमित भएका छन् । 

डब्लुएचओका विज्ञ मारिया भानले १६ महिनाभित्र कोरोना नियन्त्रण गर्न सबै किसिमका प्रयास भए पनि सन्तोषजनक नभएको बताएका छन् । ‘यद्यपि, हामीले चाहेको अवस्था यो होइन, कोरोना सुरु भएको १६ महिनाभित्र धेरै प्रयास भए, अझै पनि प्रयास जारी नै छन्, तर पनि संक्रमित घटनुभन्दा बढिरहेको छ,’ मारिया भानले भने । पछिल्लो समय कोरोनाबाट सबैभन्दा प्रभावित बनाएको देश ब्राजिल हो । यहाँ लगातारजसो प्रतिदिन तीन हजारभन्दा बढी कोरोना भाइरसबाट निधन भएको समाचार आइरहेको छ । विश्वमा प्रत्येक चार संक्रमित निधन हुँदा एकजना ब्राजिलियन नागरिक पर्ने गरेका छन् । ब्राजिलमा सुरुदेखि नै कोरोना भाइरसलाई निकै सहज रूपमा लिँदा यसले विकराल रूप लिएको डब्लुएचओका विज्ञहरूको भनाइ छ । राष्ट्रपति जेर बोल्सोनारोको असफल कोरोना नीति नै ब्राजिलमा संक्रमित र मृत्युदर बढ्नुको प्रमुख कारण मानिएको छ । 

संक्रमितको संख्या हेर्ने हो भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकामा तीन करोड २३ लाख १० हजार ६ सय ९५ जना संक्रमित भएका छन् । अमेरिकामा पाँच लाख ८० हजार २१ संक्रमितले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोनालाई सहजै नियन्त्रण लिन सक्ने भनी अमेरिकी नागरिकलाई विश्वास दिलाउनु नै यहाँ संक्रमित र मृत्युदर भयावह अवस्थामा पुगेको हो । 

ट्रम्प सुरुवाती दिनमा कोरोनालाई महामारीका रूपमा लिन तयार देखिएनन् । विश्वले नै कोरोना भाइरसप्रति अपनाएको नीतिमाथि उनले हास्यास्पद टिप्पणी दिए । यहाँसम्म कि ट्रम्पले अमेरिकाले भ्याक्सिन उत्पादन गरी कोरोना भगाउनेसमेत प्रतिक्रिया दिए । अमेरिकाकै छिमेकी मेक्सिकोको मृत्युदर बिस्तारै बढिरहेको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक रिपोर्टअनुसार अहिलेसम्म मेक्सिकोमा दुई लाख ११ संक्रमितको निधन भएको छ । मेक्सिकोले कोरोनासम्बन्धी कुनै पनि नीति सार्वजनिक गरेको छैन । 

भारतमा एक दिनमै दुई लाख ३४ हजार संक्रमित 

भारतमा कोरोना भाइरसबाट एकै दिन दुई लाख ३४ हजार ६ सय ९२ जना संक्रमित भएका छन् । भारतमा एकै दिनमा यति धेरै संक्रमित भएको यो नै पहिलोपटक भएको भारतीय मिडियाहरूले जनाएका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कारण मात्रै एक हजार तीन सय ४१ जनाले ज्यान गुमाएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोनाबाट एक लाख ७५ हजार ६ सय ४९ जनाको निधन भएको छ । पछिल्लो २४ घन्टाको संख्या जोड्दा भारतमा एक करोड ४५ लाख २६ हजार ६ सय नौजना संक्रमित भइसकेका छन् । 

यहाँ अहिलेसम्म एक करोड २६ लाख ७१ हजार दुई सय २० जना संक्रमणमुक्त भएका छन् । अहिले पनि भारतमा १६ लाख ७९ हजार सात सय ४० जना संक्रमित नै छन् । शुक्रबार १४ लाख ९४ हजार तीन सय ९७ जनाको कोरोना परीक्षण गर्दा दुई लाखभन्दा बढी संक्रमित देखिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।