मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडाैं
२०७८ बैशाख १ बुधबार ०६:२०:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देउवाले खोजे अंकगणितको सुनिश्चितता

Read Time : > 4 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ बैशाख १ बुधबार ०६:२०:००

सरकारविरुद्ध अविश्वास प्रस्ताव लैजान कांग्रेससँग माओवादी र जसपाको प्रस्ताव 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्– संसद्मा अंकगणित नपुगेसम्म कांग्रेस अघि बढ्ने हुँदैन । कांग्रेसले जस्तै एकढिक्का भएर सर्वसम्मत रूपमा निर्णय गरेर आउनुस् भन्ने जसपासँग हाम्रो आग्रह हो । त्यसपछि अर्को कदमका लागि सहज हुन्छ । सभापतिले माओवादी केन्द्र र जसपासँग यही दोहोर्‍याउनुभएको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुर भन्छन्– नयाँ सरकार गठनको प्रक्रिया कांग्रेसका कारण अघि बढ्न सकिरहेको छैन । अब जसपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विषयमा पहल लिनुपर्ने देखिन्छ । जसपाले हलो अड्काएको छ भनेर कांग्रेसले प्रचार गरेको छ । त्यसो हो भने नेतृत्व गरेर अगाडि बढ्न कांग्रेसलाई केले रोकेको छ ?

...                        ...                        ...

माओवादी केन्द्र र जसपाको एउटा समूहले सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान कांग्रेससँग प्रस्ताव गरेका छन् । तर, कांग्रेसले अविश्वासको प्रस्ताव पारित हुने अंकगणितीय सुनिश्चितता तयार भएपछि मात्र यो विकल्पमा जाने जवाफ दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर अविश्वासको प्रस्ताव संसद्मा लैजाने विषयमा छलफल गरेका थिए ।

स्रोतका अनुसार भेटमा देउवाले नयाँ सत्तासमीकरणबारे जसपामा एकमत बनिनसकेकाले हतारमा अगाडि बढ्दा जोखिम हुने बताएका छन् । उता नयाँ समीकरणलाई लिएर कांग्रेस र जसपाको एउटा समूहबीच घोचपेच देखिएको छ । 

‘दुवै भेट नयाँ सत्तासमीकरणमा केन्द्रित थिए र अविश्वासको प्रस्ताव लैजाने विषयमा छलफल भएको हो । तर, कांग्रेस सभापति देउवाले अविश्वासको प्रस्ताव पारित हुने अंकगणितीय सुनिश्चितता खोज्नुभएको छ,’ भेटबारे जानकार एक नेताले भने, ‘अझै छलफल हुन्छ र एउटा निर्णयमा पुगिन्छ होला ।’

कांग्रेसनिकट उच्च स्रोतका अनुसार जसपा एकमत नभई अविश्वासको प्रस्ताव अगाडि बढाउँदा जसपा विभाजन हुन सक्ने र त्यसले ‘ब्याक फायर’ हुने भय देउवामा छ । नयाँ सत्तासमीकरणका लागि निर्णायक मानिएको संसद्को चौथो शक्ति जसपामा अझै एकमत छैन । यद्यपि, नयाँ गठबन्धनका लागि माओवादी केन्द्र र जसपा कांग्रेसको नेतृत्व स्वीकार गर्न भने तयार देखिएका छन् । 

सोमबार डा. भट्टराई र यादवले बुढानीलकण्ठस्थित निवासमै पुगेर कांग्रेसले अविश्वासको प्रस्ताव अघि बढाएको खण्डमा जसपालाई एकमतले निर्णय गर्न सहज हुने भन्दै अघि बढ्न देउवालाई अनुरोध गरेका छन् । पार्टीभित्र संसद्मा खेल सुरु नभएसम्म एकमतले निर्णय गर्न असहज भएपछि अविश्वासको प्रस्ताव ल्याउन डा. भट्टराई र यादवले प्रस्ताव गरेको स्रोतले बतायो । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवाले संसद्मा अंकगणितको सुनिश्चितता नभएसम्म कांग्रेस अघि नबढ्ने अडान दोहोर्‍याएको बताए । ‘हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय गरिसकेका छौँ । त्यही विषय सभापतिले माओवादी केन्द्र र जसपासँगको बैठकमा राख्नुभएको थियो । अहिले पनि त्यही दोहो¥याउनुभएको हो,’ शर्माले भने, ‘संसद्मा अंकगणित नपुगेसम्म कांग्रेसले अघि बढ्ने हुँदैन । कांग्रेसले जस्तै एकढिक्का भएर सर्वसम्मत रूपमा एउटा निर्णय गरेर आउनुस् भन्ने जसपासँग हाम्रो आग्रह हो । त्यसपछि अर्को कदमका लागि सहज हुन्छ ।’

जसपाभित्र वर्तमान प्रधानमन्त्री ओली वा कांग्रेस माओवादीसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा विवाद छ । प्रधानमन्त्री ओलीले विघटन गरेको संसद् पुनस्र्थापना दुई महिना पुग्न लाग्दा पनि सत्तासमीकरणबारे दलहरूबीच ठोस सहमति बनेको छैन । माओवादी केन्द्रले अविश्वासको प्रस्तावमा सहमति जुटे नयाँ सरकार गठनको प्रक्रिया सहज हुने भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिला गर्दै आएको छ ।

२० चैतमा कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल लिने औपचारिक निर्णय लिएको थियो । लामो समय अलमल गरेर कांग्रेस पार्टी केन्द्रीय कार्यसमितिबाट आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयमा पुगेपछि उसले २३ चैतमा माओवादी केन्द्र र जसपासँग छलफलसमेत गरेको थियो । तर, जसपाले पार्टीभित्र छलफल गर्ने भनेर तत्काल निर्णय दिएको थिएन । परिणामतः अहिलेलाई प्रधानमन्त्री ओलीको विकल्पमा बनाउने भनिएको नयाँ सरकारको हलो जसपामा गएर अड्किएको छ ।

सत्ता सहकार्यका विषयमा एकमतले निर्णय गर्न जसपाका शीर्ष नेताहरूबीच गत आइतबार छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन । लामो समयपछि सुरु भएको जसपा शीर्ष नेतृत्व तहको संवाद पुनः रोकिएको छ । आइतबार जसपा शीर्ष नेताहरूको बैठकले नियमित छलफल गर्ने निर्णय गरेको थियो । तर, त्यसपछि नेताहरू छलफलमा बस्न सकिरहेका छैनन् ।

जसपाभित्र सत्तासमीकरणका विषयमा दुई धार छन् । संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव ५ पुसमा संसद् विघटन गरेका ओली प्रतिगमनकारी भएको भन्दै उनलाई सहयोग गर्ने वा उनकै नेतृत्वको सरकारमा नजाने पक्षमा छन् । तर, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने ओलीले माग पूरा गर्छु भनेकाले उनकै नेतृत्वको सरकारमा जान सकिने विकल्पमा तयार छन् । 

कांग्रेसले अविश्वासको प्रस्ताव संसद्मा प्रस्तुत गरेपछि पार्टीभित्र एकमतले निर्णय गर्न सहज हुने जसपाका केही नेताको बुझाइ छ । व्यक्तिगत रूपमा जसले जे धारणा राखे पनि संसद्मा निर्णय दिनुपर्दा एक भएर प्रस्तुत हुने जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यको भनाइ छ । ‘बाहिर नेताहरूका विभिन्न धारणा आइरहेका छन्, त्यसले पार्टी एकमत छैन भन्ने भ्रम परेको होला । तर, संसद्मा खेल सुरु भएपछि जसपाले एकै निर्णय गर्छ । त्यसका लागि पहल लिनुपर्ने दलहरू अघि बढ्नुपर्‍यो,’ उनले भने, ‘त्यसपछि जसपा एकमत छ वा विभाजित भन्ने थाहा भइहाल्छ ।’ उनले माग सम्बोधनका विषयमा गम्भीर देखिए कांग्रेस र माओवादी केन्द्रसँगको सहकार्यको सम्भावना बढिरहेको बताए ।

तर, मंगलबार मात्रै जसपा अध्यक्ष ठाकुरले जनकपुरमा नयाँ वर्ष ०७८ का अवसर शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेससँग कुरा नमिलेको अभिव्यक्ति दिएका छन् । ठाकुरले बरु आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताए । ‘नयाँ सरकार गठनको विषय चर्चामा छ । कांग्रेसले गर्दा प्रक्रिया अघि बढ्न सकिरहेको छैन । अब जसपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने विषयमा पहल लिनुपर्ने देखिन्छ,’ ठाकुरले भने, ‘जसपाले हलो अड्काएको छ भनेर कांग्रेसले प्रचार गरेको छ । त्यसो हो भने नेतृत्व गरेर अगाडि बढ्न कांग्रेसलाई केले रोकेको छ ?’

वरिष्ठ नेता महतोले नयाँ पत्रिकासँगको कुराकानीमा आफ्ना केही माग सम्बोधनका लागि ओलीले प्रक्रिया नै अगाडि बढाइसकेको बताए । ‘वर्तमान सरकारले हाम्रा माग सम्बोधनका लागि केही प्रक्रिया नै अगाडि बढाइसकेको छ । परिणाम अझै आइसकेको छैन,’ महतोले भने, ‘हामीले पहिल्यैदेखि भन्दै आएका छौँ कि जसले हाम्रा माग पूरा गर्छ उसैलाई हाम्रो साथ रहन्छ ।’ उनले आश्वासन सबै दलले दिए पनि कार्यान्वयन कसले गर्छ भन्ने जसपाका लागि निर्णायक हुने बताए । यसले पनि जसपाभित्रको ठाकुर र महतो पक्ष ओलीसँग नजिकिएको छ भन्ने पुष्टि गरेको छ ।

ओलीले उनीहरूलाई मुख्य गरी तीनवटा विकल्पभित्र रहेर सहयोग गरेमा आफू जसपाले उठाएका माग सम्बोधन गरिदिने आश्वासन दिएका छन् । ओलीले ठाकुर र महतोलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा मिलेर सरकारमा नजान, सरकारमा जाने नै भए आफ्नै नेतृत्वको सरकारमा मनग्य मन्त्रालय लिएर सहभागी हुन र सकेसम्म सरकारमा नै सहभागी नभएर सहयोग गर्ने विकल्प दिएका छन् । 

यतिवेला जसपा एमाले वा कांग्रेस–माओवादी केन्द्र कुनै पनि गठबन्धनमा सहभागी भएन भने पनि यसले ओलीलाई नै फाइदा पुर्‍याउने विश्लेषण भइरहेको छ । विश्लेषक लोकराज बरालले जसपाले केही निर्णय नलिँदा पनि ओलीलाई फाइदा हुने बताए । ‘जसपाले आफ्नो सहभागिताविना बहुमतको सरकार नै बन्दैन भन्ने बुझेको छ । यतिवेला जसपाको ‘बार्गेनिङ पावर’ बढेको छ,’ बरालले भने, ‘यस्तो निर्णायक शक्ति बनेको जसपाले कसैसँग गठबन्धन नगरेर न्युट्रल बस्यो भने पनि ओलीलाई फाइदा पुग्ने देखिन्छ । बहुमतको सरकार बन्नै सक्दैन । ओली सबैभन्दा ठूलो दलको हैसियतमा सरकार चलाउँछन् र अल्पमतको सरकारको हैसियतमा पुनः संसद् विघटन गरिदिन्छन् ।’

बरालले विश्लेषण गरेजस्तै आफ्नो अनिर्णयले ओलीलाई नै फाइदा पुग्छ भन्ने भट्टराई र यादवले राम्रैसँग बुझेका छन् । बरु अविश्वासको प्रस्ताव संसद्मा प्रस्तुत भएमा छिटो कुनै न कुनै बाटोबाट निर्णयमा पुग्न सहज हुने उनीहरूको बुझाइ छ । त्यसैका लागि जसपा नेताद्वयले देउवालाई अघि बढ्न अनुरोध गरेका छन् । तर, देउवा पनि पार्टीभित्र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेर मौन बसिरहेका छन् । यसले फेरि पनि ओलीको विकल्पमा नयाँ सरकार गठन हुने सम्भावनालाई कमजोर बनाउँदै लगिरहेको विश्लेषण हुन थालेको छ ।