१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अचिम स्टेइनर
२०७७ चैत ३१ मंगलबार १०:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भविष्य माग्दै म्यानमारका युवा

Read Time : > 2 मिनेट
अचिम स्टेइनर
२०७७ चैत ३१ मंगलबार १०:३०:००

म्यानमारको आधा जनसंख्या ३० वर्षभन्दा मुनिको छ । तिनको ठूलो संख्या अघिल्लो दशकको लोकतान्त्रिक संक्रमणबाट लाभान्वित भए । लोकतन्त्रतर्फको संक्रमण कमजोर र अपूर्ण थियो होला, तर त्यसले मानवअधिकार तथा स्वतन्त्रताको वृद्धि गराएको थियो । अहिले सेना पुनः सत्तामा फर्किएपछि विगतको उपलब्धि गुम्ने डर धेरै युवामा बढेको छ । तिनको भविष्य नै दाउमा छ । 

खासमा युवाको भविष्य मात्र होइन, जीवन नै दाउमा परेको छ । मार्च २७ मा सेना दिवसका दिन जनरल मिन आङ ह्लाइनले आफूहरू देशका जनताको सुरक्षा गर्न र प्रजातन्त्र प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए । तर, सो दिन फेब्रुअरी १ को कुपछिको सबैभन्दा रक्तपातपूर्ण दिन साबित भयो । आफ्ना मर्दै गरेका छोरालाई काखमा लिँदै गरेको एक पिताले हृदयविदारक रूपमा भन्दै थिए, ‘यो दिन जीवन र भविष्य दुवै गुम्दै छ ।’

आफ्नो आँखाअगाडि म्यानमारको भविष्य धरापमा परेको देखेका दशौँ हजार युवा म्यानमारका सडकमा उत्रिएका छन् । उनीहरू आशाहीनतालाई स्वीकार गर्ने पक्षमा छैनन् । प्रतिरोधका बाबजुद म्यानमारको पश्चगमन आमजीवन अनुभव हुन थालेको छ । एकातर्फ कोभिड–१९ को महामारी छ भने अर्कोतर्फ देशले चरम आर्थिक संकट सामना गरिरहेको छ । विश्व बैंकको पछिल्लो क्षेत्रीय प्रक्षेपणले म्यानमारको सन् २०२१ को कुल गार्हस्थ्य उत्पादन १० प्रतिशतले खुम्चने देखाएको छ । यसअघि सन् २०१९ मा म्यानमारको आर्थिक वृद्धि ६.८ प्रतिशत थियो । कोरोना भाइरसले निम्त्याएको महामारीसँग जुधिरहँदासमेत उसको अर्थतन्त्र १.७ प्रतिशत वृद्धि भएको थियो । 

एक दशकको लोकतान्त्रीकरणले देशका युवालाई एक उज्ज्वल भविष्यको आशा देखाएको थियो । त्यसको बलजफ्ती अपहरण धेरै युवाले स्विकार्न सकेका छैनन् । 

अघिल्लो वर्षको संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) ले जारी गरेको परिवारसम्बन्धी सर्वेक्षणले म्यानमारका विपन्न परिवार थप गरिबीको रेखामुनि धकेलिँदै गएको देखाएको थियो । विगतमा आर्थिक रूपमा सुरक्षित घरपरिवारले पनि व्यवसायको अवरोध र रोजगारी गुमाएर विषम असर भोग्न थालेका छन् । यांगुन, म्यान्डले र अन्य सहरका बासिन्दाले सबैभन्दा ठूलो संकटको सामना गर्नुपरेको छ । 

लगानीमा गिरावट आएकाले रोजगारीको अवसर खुम्चिरहेको छ । यसको सबैभन्दा ठूलो असर युवामाथि परेको छ । अन्तर्राष्ट्रिय खरिदकर्ता तथा उद्योग सञ्चालकहरू श्रमिक सुरक्षा र समग्र सुरक्षा व्यवस्थाका अभावका कारण तिनका स्थानीय संयन्त्र सञ्चालन गर्न डराइरहेका छन् । निर्माण सामग्रीको नियमित आपूर्ति प्रत्याभूत नभएकाले कैयौँ व्यवसायी कामधन्दा बन्द गर्न बाध्य भएका छन् । यसले थप धेरै युवाको रोजगारी र रोजीरोटी गुम्दै छ । 

इन्टरनेटले नयाँ पुस्ताको जीवनको हरेक हिस्सालाई छोएको छ । तर, तिनमाथि पनि उल्लेख्य बन्देज लागेको छ । सूचना, वाक स्वतन्त्रता र इन्टरनेटको पहुँचमाथि अवरोध भएकाले म्यानमार पुनः बाँकी विश्वबाट एक्लिने खतरा बढेको छ । तर, यो सबै एउटा युवापुस्ताले स्वतन्त्रताको स्वाद लिएपछि भएको छ । उनीहरूले सहज रोजगारी, वाक स्वतन्त्रता, सूचनामाथिको पहुँच र सुधारिएको शिक्षाको अनुभव गरेका छन् । यसले धेरै युवाको मन मस्तिष्कमा नागरिक चेतनाको भावना भरिदियो । धेरै युवामा अभिभावकले चिनेजानेकोभन्दा फरक भविष्यको आशा बढेको छ ।

सन् १९५० मा म्यानमारको प्रतिव्यक्ति आय मलेसिया र थाइल्यान्डको भन्दा धेरै थियो । तर, त्यसपछिको ‘बन्द’ नीतिले अर्थतन्त्र र सार्वजनिक सामग्री तथा सेवामा अत्यन्त न्यून लगानी भयो । यसले मानव संसाधनमा गम्भीर नकारात्मक असर गर्‍यो । सैन्य शासनले म्यानमारलाई एसियाको सबैभन्दा आशाजनक अर्थतन्त्रलाई सबैभन्दा खराबमा रूपान्तरण ग-यो । आजका युवाका आमा–बुबा वा हजुरबुबा–हजुरआमालाई विगतको कठोर शासनको तिक्त अवस्थाको अनुभव छ । धेरैले आफूअघिका पुस्ताबाट त्यसको वृत्तान्त सुनेका छन् । 

म्यान्डलेमा सुरक्षाकर्मीको गोली लागेर ढलेका १९ वर्षका टाइक्वोन्डो च्याम्पियन र नर्तक क्याल सिनको टिसर्टमा अंग्रेजीमा ‘एभ्रिथिङ विल बी ओके (सबै ठीक हुनेछ) लेखिएको थियो । उनीजस्ता हजारौँ युवा दैनिक सकडमा उत्रिने क्रम जारी छ । उनीहरू शक्तिशाली सेनालाई चुनौती दिँदै तिनको सपनाको देश मागिरहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले म्यानमारको अगाडिको मार्ग एउटा मात्र रहेको बताएका छन् । त्यो भनेको सुरक्षाकर्मीले हिंसा रोक्ने, जनरलहरूले अघिल्लो वर्षको चुनावी परिणामलाई सम्मान गर्दै लोकतान्त्रिक मार्गमा फर्किनुपर्ने र सबै राजनीतिक बन्दीको रिहाइ हुनुपर्ने । त्यसले मात्र न्यायपूर्ण आर्थिक विकास र मानवअधिकारको मार्ग खुलाउनेछ । साथमा, हिँडडुलको स्वतन्त्रता, शरणार्थीको सुरक्षित फिर्तीको अधिकारजस्ता विषय सम्बोधन गर्ने बाटो खुल्छ । त्यही समाजमा शान्ति हुन्छ, जसले मानवतामाथि लगानी गर्छ । 

अचिम स्टेइनर संयुक्त राष्ट्रसंघका महासचिवको अध्यक्षतामा रहेको दिगो विकास लक्ष्यमाथिको डिजिटल लगानीको कार्यदल फोर्सका उपाध्यक्ष हुन् । 
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य