मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३१ मंगलबार १०:२२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यून बीजकीकरण गर्ने तिरुपतिलाई साढे ६ करोड जरिवाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३१ मंगलबार १०:२२:००

कम भन्सार मूल्यांकन गरेर सिसा भित्र्याउन खोजेको तिरुपति ग्लासलाई वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले ५ सय प्रतिशत जरिवाना लगाएको छ । भन्सार छली गर्ने उद्देश्य राखेर प्रज्ञापनपत्रमा सिसाको कलर फरक देखाउनुका साथै मोटाइ (एमएम) घटाएर आयात गर्न खोज्दा तिरुपति कारबाहीमा परेको हो ।

तिरुपतिले भित्र्याउन खोजेका ८ वटा कन्टेनरमा ‘फल्ट’ भेटिएपछि ६ करोड ३३ लाख रुपैयाँ जरिवाना तिराएको वीरगन्ज सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि कट्टेलले बताए । सो कम्पनीले यसअघि १९ लाख २२ हजार रुपैयाँ भन्सार तिरिसकेको छ । उनका अनुसार तिरुपतिका ८ वटा कन्टेनरमा ८० क्रेट सिसा आयात गरिएको थियो । ‘कम्पनीले प्रज्ञापनमा उल्लेख गरेको भन्दा सिसाको कलर पनि फरक भेटियो र मोटाइ पनि बढी देखियो,’ उनले भने, ‘४.५ एमएम भनिएको सिसाको मोटाइ ५ एमएम भेटियो ।’

भन्सार ऐन, २०६४ अनुसार न्यून बीजकीकरण गर्नेलाई ५ सय प्रतिशतसम्म जरिवाना गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बालाजीलाई जरिवाना लगाएको सूचना अधिकारी कट्टेलले बताए । भन्सार कार्यालयले विदेशबाट भित्रिने कन्टेनरलाई आयात गरेको सामानका आधारमा ग्रिन, एल्लो र रेड लेनमा राखेर चेकजाँच गरी पास गर्छ । 

ग्रिन लेनमा परेका कन्टेनरहरू आयातकर्ताले घोषणा गरेको डकुमेन्टका आधारमा सजिलै भन्सार पास हुन्छ । एल्लो लेनमा परेका कन्टेनरलाई आयातकर्ताले बुझाएको डकुमेन्ट भेरिफाई गरेर भन्सार पास गरिन्छ । तर, रेड लेनमा परेका कन्टेनरलाई डकुमेन्ट र सामान भेरिफाई गरेर मात्रै भन्सार पास गर्ने व्यवस्था छ । ‘सिसाका कन्टेनर रेड लेनमा परेको भए आयातकर्ताले सय प्रतिशत जरिवाना तिरे पुग्थ्यो,’ सूचना अधिकारी कट्टेलले भने, ‘तर, सिसाका कन्टेनरहरू ग्रिन तथा एल्लो लेनमा परेको हुनाले ५ सय प्रतिशत जरिवाना तिराएका हौँ ।’

यसअघि पनि श्रीबालाजी ग्लास प्रालिका दुईवटा कन्टेनरमा ‘फल्ट’ भेटिएपछि वीरगन्ज सुक्खा बन्दरगाहले २ करोड ३९ लाख २० हजार जरिवाना तिराएको थियो । श्रीबालाजीले पनि भन्सार छली गर्ने नियत राखेर ५ एमएमको सिसालाई ४ एमएम र ४.५ एमएम घोषणा गरेको थियो । भन्सारले श्रीबालाजी ग्लासलाई पनि ५ सय प्रतिशत जरिवाना तिराएको हो ।

भन्सार अधिकृतहरूले विशेष सूचनाका आधारमा सक्खा बन्दरगाहमा आइपुगेका सिसाका कन्टेनरहरू नियन्त्रणमा लिएर चेकजाँच सुरु गरेको बताएका छन् । चेकजाँचका क्रममा ठूलो परिमाणमा सिसा न्यून बीजकीकरण गरेर भित्र्याउन थालेको भेटिएको हो ।