
किसान लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक इस्यु (एफपिओ) निष्कासनको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनीले एपफपिओमार्फत १२ लाख ९८ हजार २ सय ५९ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको छ ।
धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा किसान लघुवित्तका सिइओ इन्द्रकुमार शाह र मुक्तिनाथ क्यापिटलका सिइओ कवीन्द्र ध्वज जोशीले हस्ताक्षर गरे ।
किसान लघुवित्तको अधिकृत पुँजी १ अर्ब, जारी पँुजी ५२ करोड २६ लाख र चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । एफपिओमार्फत सेयर जारी गरेपछि वित्तीय संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।
विभिन्न वित्तीय संस्थाहरूसँग मर्ज भएर ४६ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको यस वित्तीय संस्थाले एक सय ३६ शाखाबाट १ लाख १० हजार ५ सय ७८ ग्राहकलाई सेवा दिइरहेको छ । अहिलेसम्म कम्पनीले १ अर्ब ७ करोड २५ लाख रुपैयाँ बचत संकलन गरी ५ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।