१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
पंकज जोशी
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:४o:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१० लाख डलरको चिट्ठा ठगी प्रकरण : अपराध अमेरिकामा, मुद्दा नेपालमा 

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:४o:oo

- सन् २०१० मा अमेरिकाको टेक्सासमा आफू कार्यरत स्टोरका ग्राहकको चिट्ठा नम्बरमा परेको १० लाख आठ डलरको चिट्ठा आफ्नो भएको दाबी गरेर पंकज जोशीले सबै पैसा लिएको आरोप छ । १० लाख आठ हजार डलरमध्ये केही कर कटाएर उनले दुई लाख ९० हजार डलर नेपाल पठाएका थिए । 

- चिट्ठामा ठगी गरेको अभियोग लागेका उनै जोशीविरुद्ध दुई करोड आठ लाख ८३ हजार दुई सय ४२ रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा विशेष अदालतमा मुद्दा दायर, अमेरिकामा ठगी गरेको रकम नेपालमा पठाएर विभिन्न क्षेत्रमा लगानी गर्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध आकर्षित हुने, यस्तो प्रकृतिको मुद्दा दायर भएको पहिलो घटना भएको विभागका अधिकारीहरूको भनाइ छ । 

....          .....

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टपोल)ले रेडकर्नर नोटिस जारी गरेपछि सन् २०१० मा नेपाली युवक पंकज जोशी एकाएक चर्चामा आए । अमेरिकाको टेक्सासमा १० लाख डलरको चिट्ठामा ठगी गरेको उनीमाथि आरोप थियो । सो प्रकरणसँगै उनी गायब भए । लामो समयसम्म पक्राउ नपरेपछि इन्टरपोलले उनको नाम रेड नोटिसबाट हटायो, अनि प्रकरण पनि त्यत्तिकै सेलायो । 

तर, यही घटनामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १२ वर्षपछि मुद्दा दायर गरेको छ । अमेरिकामा भएको अपराधमा नेपालमा मुद्दा दायर भएको छ । अनुसन्धानपछि विभागले जोशीलार्ई दुई करोड आठ लाख ८३ हजार दुई सय ४२ रुपैयाँ बिगो दाबी गरी गत १३ चैतमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अमेरिकामा ठगी गरेको रकम नेपालमा पठाएर विभिन्न क्षेत्रमा लगानी गर्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध आकर्षित हुने भएकाले मुद्दा दायर गरिएको विभागले जनाएको छ । यस्तो प्रकृतिको मुद्दा दायर भएको यो पहिलो घटना भएको विभागका अधिकारीहरूले बताएका छन् ।

१० लाख डलरको चिट्ठा !
काठमाडौं मैतीदेवीका स्थायी निवासी जोशी सन् २००३ मा अध्ययनका लागि अमेरिका गएका थिए । उनी टेक्सासको लक्की फुड स्टोरमा काम गर्दथे । सन् २००८ को अगस्टमा टेक्सास मेगा मिलियन नामक चिट्ठा प्रतियोगिता चलेको थियो । 

त्यही वेला जोशी कार्यरत स्टोरका ग्राहक विलिस विलिसले पनि चिट्ठा किनेका थिए । उनी वृद्ध भएकाले आफ्नो चिट्ठा नम्बर हेरिदिन जोशीलाई आग्रह गरेका थिए । जसमा उनलाई १० लाख आठ हजार डलरको चिट्ठा परेको थियो । तर, जोशीले सो नम्बरको चिट्ठा नपरेको बताई सो नम्बर आफ्नो दाबी गरेर सबै पैसा लिएको आरोप छ । १० लाख आठ हजार डलरमध्ये केही कर कटाएर उनले दुई लाख ९० हजार डलर नेपाल पठाएका थिए । तीन लाख डलर अमेरिका निवासी आफन्तलाई दिए । बाँकी अमेरिकास्थित उनको बैंक खातामा थियो । 

अमेरिकाको जेपी मोर्गन चेज बैंकबाट वायर ट्रान्सफरमार्फत नेपालमा पैसा पठाएका थिए । सो पैसा पाएलगत्तै उनी नेपाल फर्किए । नेपाल फर्किएलगत्तै उनीविरुद्ध टेक्सासमा अनुसन्धान सुरु भएको थियो । विलिसले आफूलाई ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिए । सोही उजुरीका आधारमा इन्टरपोलले पनि उनीविरुद्ध रेड नोटिस जारी गर्‍यो । अमेरिकाबाट आएको रकम रहेको जोशीको खाता नेपाल राष्ट्र बैंकले रोक्का राख्यो । त्यससँगै यो प्रकरणले ठूलो चर्चा पायो । 

त्यतिवेलादेखि नै जोशी नेपालमै रहेको खुलेको छ । तर, पक्राउ गरेर अमेरिकामा बुझाउन सक्ने अवस्था नभएकाले नेपाल प्रहरीले पनि ठूलो चासो राखेन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहिले नै यससम्बन्धी उजुरी परे पनि हालै मात्र अनुसन्धान टुंग्याएको हो । जोशीलाई फरार अभियुक्तका रूपमा विभागले मुद्दा दायर गरेको छ । यो घटनाको अनुसन्धानमा काठमाडौंस्थित अमेरिकी दूतावासले समेत विभागलाई सहयोग गरेको थियो । अमेरिकी दूतावासका अनुसार जोशीविरुद्ध टेक्सासको ट्राभिस काउन्टी कोर्टमा फौजदारी र देवानी गरी दुईवटा मुद्दा छन् । 

विभागले अनुसन्धानका क्रममा जोशी र उनको परिवारलाई समेत बयानमा बोलाएको थियो । बयानमा जोशीले सो चिट्ठा आफूलाई नै परेको, तर केही व्यक्तिले आफूसँग त्यसको केही हिस्सा मागेकोमा नदिएपछि झुटा उजुरी दिएको दाबी गरेका छन् । ‘अमेरिकामा अपराधजन्य कामबाट प्राप्त गरेको रकम भए मैले बैंकिङ प्रणालीबाट सो रकम नेपाल पठाउन सक्ने अवस्था हुँदैन थियो,’ उनले बयानमा भनेका छन् । त्यसरी पठाइएको रकमको लगानीबारे समेत विभागले छानबिन गरेको थियो । त्यो रकममध्ये केही उनले जग्गामा लगानी गरेका थिए, केही आफन्तलाई दिएको खुलेको छ । 

आइसिएफसी फाइनान्सको कनेक्सन 
अमेरिकाबाट नेपाल पैसा पठाउन फाइनान्सको खाता प्रयोग गरिएको थियो । पंकजकी दिदी पूजा आइसिएफसी फाइनान्समा कार्यरत थिइन् । सो फाइनान्सले बैंक अफ काठमाडौंमा डलर खाता खोलेको थियो । सोही खातामा रेमिटेन्सका रूपमा अमेरिकाबाट दुई लाख ९० हजार डलर पठाइएको थियो । सो खाताबाट पूजा र उनको परिवारको नाममा पैसा सारिएको थियो । 

फाइनान्सको खातामार्फत कारोबार भएकाले सो संस्थामाथि समेत सम्पत्ति शुद्धीकरणले अनुसन्धान गरेको हो । जसमा फाइनान्सको कमजोरी रहेको तथा प्रस्ट मिलेमतो नदेखिएको विभागको आरोपपत्रमा उल्लेख छ । त्यसबारे छुट्टै छानबिन गरेर कारबाही गर्न विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । 

विभागको निर्णयमा छ, ‘विवादित रकम निजहरूको खातामा जम्मा भएको देखिँदा संस्थागत रूपमा सो विवादित रकमको व्यवस्थापनमा यस फाइनान्सको संलग्नता र मिलेमतो रहेको हालसम्मको अनुसन्धानमा नदेखिए पनि फाइनान्सको वाणिज्य बैंकमा भएको आफ्नो खाता प्रयोग गरी वैदेशिक मुद्राको कारोबार गर्न पाउने–नपाउने सम्बन्धमा आवश्यक छानबिन गरी कानुनबमोजिम गर्ने गरी नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६६ को दफा २५ (क) बमोजिम लेखी पठाउने ।’ 

सो दफामा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरबाहेकको अनुसूचीमा अनुसन्धानबाट प्राप्त निष्कर्ष र संकलन गरिएका प्रमाण कागजसहितको मिसिल अनुसन्धान गर्ने निकायलाई लेखिपठाउने उल्लेख छ । विभागले आइसिएफसी फाइनान्सका अध्यक्ष रामबाबु पन्तसँग समेत घटनाबारे बयान लिएको थियो । जसमा उनले फाइनान्सको त्यसमा कुनै संलग्नता नरहेको दाबी गरेका थिए । 

त्यस्तै, विभागले यो अनुसन्धानका क्रममा जग्गा किनबेचमा हुने पुँजीगत कर रजिस्ट्रेसन शुल्कसमेत छली भएको आशंका गरेको छ । जोशीले अमेरिकाबाट ल्याएको रकमबाट कपनमा सात आना जग्गा विनिता वाग्लेसँग खरिद गरेका थिए । मालपोत कार्यालय चाबहिलको विवरणअनुुसार २२ लाख ५० हजार रुपैयाँमा जग्गा किनबेच भएको थियो । तर, विनिताका श्रीमान् माधव वाग्लेको खातामा ५२ लाख रुपैयाँ उनीहरूले हालिदिएका थिए । ५२ लाखमा किनेर साढे २२ लाखमा मात्र पास गरी पुँजीगत कर छली गरेको हुन सक्ने भन्दै यसबारे राजस्व अनुसन्धान विभागबाट छानबिन गर्न पत्राचार गरिएको छ । 

सुन तस्करीमा संलग्न तीनजनाविरुद्ध मुद्दा दायर 
नेपालबाट भारतमा सुन तस्करीमा संलग्न तीनजनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको छ । कपिलवस्तुका सचेतकुमार अग्रवाल, नेपालगन्जका नूर मोहमद र भारतीय नागरिक अंकित अग्रवालविरुद्ध विभागले दुई करोड ९२ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको हो । 

गत १९ पुसमा प्रहरीले नागढुंगामा एक करोड ४७ लाख बरामद गरेको घटनाको अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । कपिलवस्तुबाट काठमाडौं आउँदै प्रदेश ३–०१०२३ च २२५९ नम्बरको कारबाट नगदसहित प्रहरीले भारतीय नागरिक अग्रवाललाई पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्ने क्रममा थप दुईजनाको संलग्नता खुलेको होे । विभागले सचेतको कृष्णनगरस्थित घरमा छापा हानी थप ५० लाख रुपैयाँ बरामद गरेको थियो । 

अनुसन्धानका क्रममा उनीहरू नेपालबाट भारतमा सुन तस्करीमा संलग्न भएको खुलेको छ । नूर नेपालगन्जका सुनपसले हुन् । अंकितले भारतमा लगेर बेच्ने काम गर्दथे । उनीहरूले कोसँग सुन किन्थे भन्ने विभागले पत्ता लगाउन सकेको छैन । तीनैजनालाई विभागले पक्राउ गरेकोमा सचेत र नूर नेपाली नागरिक भएकाले उनीहरूलाई धरौटीमा छाडी मुद्दा दायर गरिएको छ भने भारतीय नागरिकलाई भने व्यक्तिसहित अदालतमा उपस्थित गराइएको छ ।

ad
ad