१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नवीन अर्याल काठमाडौं
२०७७ चैत १६ सोमबार १०:१४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

वीरगन्ज सुक्खा बन्दरगाहमा अड्किए १७ सयभन्दा बढी खाली कन्टेनर

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७७ चैत १६ सोमबार १०:१४:००

वीरगन्ज सुक्खा बन्दरगाहमा १७ सयभन्दा बढी खाली कन्टेनर अलपत्र परेका छन् । लकडाउनको अवधिमा विभिन्न मुलुकबाट सामान भरेर वीरगन्ज आएका कन्टेनरहरू फिर्ता नलैजाँदा भन्सारमा अलपत्र परेका हुन् । आयातकर्ताले सामान नेपाल ल्याएर कन्टेनर खाली गरिदिए पनि सिपिङ कम्पनीहरूले फिर्ता नलगेका कारण सुक्खा बन्दरगाहमा महिनौँदेखि खाली कन्टेनर थुप्रिएर रहेको भन्सार अधिकृत तर्कराज जोशीले बताए ।

‘सरकारले कोभिड फैलिन नदिन सीमानाका बन्द गरे पनि विदेशबाट सामान ल्याउन रोकेको थिएन,’ उनले भने, ‘लकडाउनका कारण व्यापारीले भन्सारसम्म पुगेर सामान पास (क्लियरिङ) गराउन सकेनन्, रेल कन्टेनर झारेर रित्तै फर्किँदा बन्दरगाहमा कन्टेनर थुप्रिँदै गएका हुन् ।’ 

लकडाउन खुकुलो भएपछि व्यापारीले भन्सारमा थुप्रिएको समान ल्याएर कन्टेनर खाली गरे पनि सिपिङ कम्पनीले अझै फिर्ता लैजान सकेका छैनन् । अहिले कार्गो रेलले जति कन्टेनर बोकेर ल्याउँछ, त्यति नै खाली कन्टेनर बोकेर फर्किने हुँदा पुराना कन्टेनर फिर्ता लैजान समय लागेको छ । अहिलेसम्म सिपिङ कम्पनीले खाली कन्टेनर फिर्ता लैजान छुट्टै कार्गो रेल पठाएका छैनन् ।

कार्गो रेलले एक ट्रिपमा २० फिटका ९० वटा र ४० फिटका ४५ कन्टेनर बोक्न सक्छ । जोशीले थपे, ‘रेलले कम कन्टेनर बोकेर वीरगन्ज आएको मौका छोपेर थुप्रिएका कन्टेनर फिर्ता लैजाने काम भइरहेको छ ।’ सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टिन भ्यालीका अनुसार अहिले सिपिङ कम्पनीहरूले पुराना कन्टेनर फिर्ता लैजान प्राथमिकता दिएका छन् । सुक्खा बन्दरगाहमा रहेका खाली कन्टेनरमध्ये २० फिटका १४ सय ४० र ४० फिटका २ सय ५७ कन्टेनर रहेको भन्सार अधिकृत जोशीले जानकारी दिए । बन्दरगाहमा सामानले भरिएका २० र ४० फिटका करिब १४ सय कन्टेनर छन् । करिब अढाई सय कन्टेनर सामान बोकेर नेपाल प्रवेश गरेका छन् । 

 कार पनि थन्किए
सुक्खा बन्दरगाहमा खाली कन्टेनर मात्र होइन, लक्जरी कार पनि पार्किङ गरेर राखिएको छ । टेस्ला, मर्सिडिज, अउडी, ज्यागुअर, किया, पोजोलगायत प्रिमियम ब्रान्डका करोडभन्दा बढी मूल्य पर्ने दर्जनौँ विलासी कार बन्दरगाहमा अलपत्र छन् । यस्तै, किया र एमजीका ठूलो संख्यामा इलेक्ट्रिक कार पनि भन्सारमा अलपत्र छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा चर्को कर लगाएपछि पछिल्लो समय त्यस्ता गाडीको बिक्री नगण्य छ । बिक्री नभएपछि विक्रेताहरूले आयात गरेका गाडी एक वर्षदेखि भन्सारमै अलपत्र रहेका हुन् । 

बन्दरगाहमा एक सय हाराहारी कार अलपत्र छन् । महँगा विलासी कारका आयातकर्ता ग्राहक खोज्दै भौतारिँदा भन्सार छुटाउन गएका छैनन् । एकातिर नेपालमा एजेन्सी नभएका कम्पनीका गाडी भित्र्याउन  नपाइने व्यवस्था हुनाले भन्सारमा अड्किएका कार भिœयाउन अतिरिक्त कर बुझाउनुपर्ने र अर्कोतिर विद्युतीय कारमा चर्को कर बढाउँदा विद्युतीय गाडीको मूल्य पनि चुलीमा पुगेपछि टेस्ला, अउडी, ज्यागुअर, मर्सिडिजलगायत लक्जरी कार बन्दरगाहमा अलपत्र भएका हुन् । 

 साँघुरियो बन्दरगाह 
लामो समयदेखि ठूलो संख्यामा कन्टेनर थुप्रिँदा वीरगन्ज सुक्खा बन्दरगाह साँघुरो बनेको सुक्खा बन्दरगाहका सूचना अधिकारी चूडामणि कट्टेलले बताए । उनले भने, ‘रेलमा दैनिक सयौँ लोडेड कन्टेनरहरू आउँछन्, तर खाली कन्टेनरले बन्दरगाह भरिँदा रेलबाट कन्टेनर झारेर राख्ने ठाउँको अभाव भइरहेको छ ।’ अहिले सुक्खा बन्दरगाहमा पुग्दा खात लगाएर कन्टेनर राखेको देखिन्छ । तीन–चारवटा कन्टेनरहरू खात लगाएर राख्दा जोखिमसमेत बढेको कर्मचारी बताउँछन् ।

सन् २००४ सालमा सञ्चालनमा आएको वीरगन्ज सुक्खा बन्दरगाह ५८ बिघा क्षेत्रफलमा फैलिएको छ । छेवैमा एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आए पनि वीरगन्ज मुलुककै ठूलो भन्सार नाका हुनाले सुक्खा बन्दरगाहमा जहिल्यै चाप पर्ने गर्छ । त्यसमाथि खाली कन्टेनरहरू थुप्रिँदा साँघुरो महसुस भइरहेको कट्टेलले बताए । उनका अनुसार रेलबाट आउने कन्टेनर सुक्खा बन्दरगाहमा आउँछन् भने गाडीले बोकेर ल्याउने कन्टेनर आइसिपीमा अनलोड हुन्छन् । सुक्खा बन्दरगाहमा ६ वटा रेलका लिकहरू रहेका छन् । 

सुक्खा बन्दरगाह विश्व बैंकको ८० करोड लगानीमा निर्माण भएको हो । इन्डियाले २० करोड लगानी गरेर रेलको लिक बिछ्याइदिएको भन्सार अधिकृतले बताए । सुरुवाती १४ वर्ष हिमालय टर्मिनलले सञ्चालन गरेको सुक्खा बन्दरगाह पछिल्लो ५–६ महिनादेखि प्रिस्टिन भ्यालीले सञ्चालन गर्दै आइरहेको छ । यो कम्पनीले ३ अर्ब ३३ करोड रुपैयाँ बुझाउने गरी सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी लिएको हो । यसमा विदेशी कम्पनी प्रिस्टिनको ८० प्रतिशत र नेपाली भ्याली (कोल्ड) ग्रुपको २० प्रतिशत हिस्सा रहेको जोशीले जानकारी गराए । आइसिपी इन्डियन सरकारले बनाइदिएको हो ।

खाली कन्टेनरको डिटेन्सन शुल्क कसले तिर्ने ?
सामानले भरेर ल्याएका कन्टेनर निश्चित अवधिमा खाली गरेर सिपिङ कम्पनीलाई दिन नसके आयातकर्ताले डिटेन्सन शुल्क तिर्नुपर्छ । लकडाउनको अवधिमा वीरगन्जलगायत भन्सारमा आइपुगेको समान लकडाउनका कारण लामो समय रोकियो । आयातकर्ताले निर्धारित समयमा कन्टेनर खाली गरेर फर्काउन नसक्दा डिटेन्सन र डिमोरेज शुल्क तिर्नुपरेको थियो ।

तर, अहिले बन्दरगाहमा रहेका खाली कन्टेनरको डिमोरेज र डिटेन्सन शुल्क आयातकर्ता कम्पनीले तिर्नुनपर्ने भन्सार अधिकृतले बताए । खाली भइसकेका कन्टेनर नलगे सिपिङ कम्पनीले व्यहोर्ने व्यवसायी अशोक टेमानीको भनाइ छ । ‘कन्टेनर खाली गरेर ड्राइपोर्टलाई दिएपछि व्यवसायीले अतिरिक्त शुल्क बुझाउनुपर्दैन,’ उनले भने, ‘सामान्यतया ४ दिनदेखि १४ दिनभित्र आयातकर्ताले कन्टेनर खाली गरेर सुक्खा बन्दरगाहमा पुर्‍याइदिनुपर्छ, निर्धारित समयमा कन्टेनर नबुझाए कन्डिसन हेरेर न्यूनतम ५ हजारदेखि अधिकतम २० हजारसम्म चार्ज तिर्नुपर्छ ।’