मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत १३ शुक्रबार १३:१३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य बिमामा निजी अस्पतालको मनोमानी, चार हजारको उपचारमा ५८ हजारको बिल

Read Time : > 3 मिनेट
२०७७ चैत १३ शुक्रबार १३:१३:००

सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भन्ने उद्देश्यले सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रममा निजी अस्पतालले मनोमानी गर्ने गरेको पाइएको छ । उपचारका लागि गएका विपन्न नागरिकको स्वास्थ्य बिमाबाट निजी अस्पतालले आफूखुसी रकम काट्ने गरेको खुलेको हो । 

झापाको दमकस्थित एडभान्स मल्टिस्पेसालिटी अस्पतालले ४२५० को उपचार गरेर ५८ हजारको बिमा दाबी गरेको छ । जसको बिल बिरामीलाई उपलब्ध गराएको छ । गौरादह– ७ की इशा सिवाकोटीले उपचार नै नगरेको पैसा बिमाबाट अस्पतालले कटाएको हो । 

सिवाकोटीको गत फागुन १९ मा लडेर कुहिनो खुस्किएको थियो । कुहिनो खुस्किएपछि उनी तत्काल दमकस्थित एडभान्स अस्पताल आइन् । अस्पतालमा दुई दिन बसेकी उनको बेड चार्जबापत बिमाबाट चार हजार काटिएको छ । यस्तै, हुँदै नभएको उपचारबाट ५४ हजार गरी जम्मा ५८ हजार काटिएको बिल उनको हातमा छ । 

अस्पतालले कुहिनो नै फेरेको (टोटल एल्बोरिप्लेसमेन्ट) भन्दै ५४ हजार बिमा दाबी गरेको छ । तर,  उनको हात तानतुन पारेर मिलाई प्लास्टर गरिएको छ । जसलाई मेडिकल भाषामा एल्बोडिसलोकेसन भनिने दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. खड्ग लिम्बू बताउँछन् । जसको उपचार खर्च स्वास्थ्य बिमा बोर्ड सुविधा थैलीअन्तर्गतको विवरण तथा दर रेटअनुसार ४२५० मात्र लाग्छ ।

 सिवाकोटीको स्वास्थ्य बिमा कार्डमा प्रथम सेवा बिन्दु दमकको सरकारी अस्पताल तोकिएको छ । अन्य अवस्थामा दमक अस्पतालबाट रेफर लिएर मात्र उनले अरू अस्पतालमा जान पाउँछिन् । तर, आकस्मिक वार्डमा भर्ना गर्नुपर्ने अवस्थाको बिरामीले भने रेफर लिनुपर्दैन । प्लास्टर खोल्नका लागि रेफर माग्न दमक अस्पताल पुगेकी उनी दमक अस्पतालका मेसु डा. लिम्बुकहाँ पुगिन् । ‘बिल हेर्दा अस्वाभाविक लाग्यो । हातमा प्लास्टर थियो । हात चिरेकाे छ भनेर उहाँलाई सोधेँ,’ डा. लिम्बू भन्छन्, ‘तर, अप्रेसन भएको रहेनछ । फेरि टोटल एल्बो रिप्लेसमेन्ट (कुहिनो फेर्ने) प्रदेश– १ मा कहीँ हुँदैन । काठमाडौं नै जानुपर्छ ।’ 

४२५० को उपचारमा ५८ हजारको बिल काटेपछि सिवाकोटीले दमक अस्पतालमै प्लास्टर निकालिन् । डा. लिम्बूले नै उनको प्लास्टर निकालिदिएका हुन् । ‘यो एल्बो डिसलोकेसन भएकाे  हो । मैले प्लास्टर  खोलेर हेरेँ । तर, बिल कुहिनाे फेरेको छ,’ उनी भन्छन्, ‘यसमा ४२५० भन्दा बढी पैसा लाग्दैन । स्वास्थ्य बिमा बोर्डले नै त्यति तोकेको छ ।’

सिवाकोटी विपन्न परिवारकी हुन् । उनले ५८ हजार रकम केबाट काट्यो भन्ने जानकारी नपाएको बताइन् । ‘खै अप्रेसन त गरेको छैन । त्यही तानतुन गरेर प्लास्टर गरेको हो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘म त जम्मा सात कक्षा पढेकी छु । कसरी जान्नू ? यहाँ डाक्टरलाई आएर भेट्दा पो थाहा पाएँ, मलाई त अस्पतालले ठगेछ ।’

स्वास्थ्य बिमामा निजी अस्पतालले यस्तै गर्ने गरेको डा. लिम्बू बताउँछन् । स्वास्थ्य बिमा बोर्डले समयमा अनुगमन नगर्दा विकृति निम्तिएको उनी बताउँछन् ।  ‘यो पनि मैले त जुन डाक्टरले हेरेको हो उसले नै प्लास्टर निकाल्नुस् भनेर रेफर गर्न लागेको थिएँ । उहाँले सबै कागजात दिँदा बिलमा आँखा पर्‍यो,’ उनी भन्छन्, ‘यो त एउटा केस मात्र हो । निजीमा यस्तो धेरै छन् ।

बिमा बोर्डले उपचार  केन्द्र तोकेको छ । तर, अनुगमन गर्दैन । त्यसकारण यस्तो समस्या आएको हो ।’ सिवाकोटीको हातको उपचार एडभान्स अस्पतालका हाडजोर्नी रोग विषेशज्ञ डा. अनुप पोखरेलले गरेका हुन् । पोखरेलले भने उपचार १५–२० हजारको भएको स्वीकार गरे । तर, बिमामा यो रकमको सेवा उल्लेख गर्ने ठाउँ नभएकाले ५४ हजार माग दाबी गरिएको दाबी गरे । ‘एल्बो (कुहिनाे)सँग सम्बन्धितमा बिमामा कि १५ सयको छ कि ५४ हजारको ।

अब १५ देखि २० हजारको काम गरेर १५ सय काट्न त मिलेन होला । उनीहरू पहिलादेखि नै किचकिच गर्दै थिए । हात बिग्रिएको छ भने कम्प्लेन गर्ने हो । यस्ता कुरामा कम्प्लेन गर्ने हो र !,’ उनी भन्छन्, ‘केस कम्प्लिकेटेट थियो । उहाँको हात सुनिएको थियो । उहाँको एल्बो डिसलोकेसन भएको हो । सिडेसन दिएर नै उपचार गरेको हो । दुई दिन पनि बेड भर्ना गरेँ । त्यसै त गरिनँ होला ?’ 

तर, दमक अस्पतालका मेसु तथा हाडजोर्नी रोग विषेशज्ञ डा. लिम्बूले भने उनको हातको अवस्था ‘कम्पिलकेटेट’ भएको भए स्टिल लगाउनुपर्ने बताए । तर, उनको हातमा स्टिल लगाएको छैन । अस्पतालका अध्यक्ष माधव पराजुलीले भने ठूलो अप्रेसन गरेको दाबी गरे । तर, अप्रेसन गरिएको भनिए पनि सिवाकोटीको हातमा कतै पनि अप्रेसनको दाग देखिँदैन । ‘यो हामीलाई दुःख दिने उद्देश्यले मात्र भनिएको हो । ठूलो अप्रेसन भएको रहेछ,’ अध्यक्ष पराजुली भन्छन्, ‘जिएकै प्रयोग गरेर एनेस्थेसियाको डाक्टर नै लगाएर अप्रेसन गरिएको रहेछ ।’ 

तर, बिरामी सिवाकोटीले भने आफूलाई बेहोस नबनाइएको दाबी गरिन् । सिवाकोटीकी आमा खगमाया सिवाकोटीले यत्रो खर्च कसरी आयो भनेर प्रश्न गर्दा डा. पोखरेलले उल्टै गाली गरेको आरोप लगाइन् । ‘मैले किन यत्रो खर्च आयो भनेर सोध्दा डा. साबले तपाईं जान्नुहुन्न भनेर गाली गर्नुभयो,’ उनी भन्छिन्, ‘हामी त यही अस्पताल (दमक अस्पताल) आउने थियौँ । एम्बुलेन्सले सीधै त्यहीँ लग्यो । हामी आतेसमा थियौँ । त्यहीँ गयौँ ।’ सिवाकोटीले प्लास्टर गर्नका लागि ब्यान्डिजसहितका सामग्रीसहित औषधि पनि छुट्टै खरिद गरेकी थिइन् । जसका लागि उनले फार्मेसीमा ६ हजार सात सय ३० रुपैयाँ तिरेकी पनि छिन् । त्यहाँ उल्लेख भएको सामग्रीमध्ये अधिकांश स्वास्थ्य बिमाबापत पनि पाइन्छ ।