१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ चैत १२ बिहीबार ०७:१४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लकडाउनमा पनि नरोकिएको ठगीधन्दा 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ चैत १२ बिहीबार ०७:१४:००

अनलाइन र सामाजिक सञ्जालमार्फत ठगिने बढे, ठगिनेमा शिक्षितदेखि हुनेखाने वर्गका 

घटना १ : सस्तोमा मेडिकल सामग्री पाउने आसमा ९२ लाख गुम्यो

समिर शाक्य (परिवर्तित नाम) मेडिकल सामग्री व्यापारी हुन् । अनलाइन सपिङमा उनी आफूलाई राम्रै दख्खल भएको ठान्छन् । उनी सामाजिक सञ्जालमा धेरै नै समय बिताउँछन् । यही क्रममा उनकोे भेट मार्क पिटरसँग भयो । युके बस्छु भन्ने पिटरसँगको गफबाट उनी प्रभावित बने । दुईबीच भाइबर र उपलब्ध अन्य सामाजिक सञ्जालमार्फत बाक्लो गफ हुन थाल्यो । यही क्रममा कुराकानीले बिजनेसको मोड लियो । पिटरले अन्यभन्दा गुणस्तरीय र सस्तो मेडिकल सामग्री उपलब्ध गराउने प्रलोभन दिए । विश्वास दिलाउन सरकारी डकुमेन्ट पनि पठाए । शाक्य प्रभावित बने । र, मेडिकल सामग्री अर्डर गरे । 

पिटरले २० लाख अमेरिकी डलर (२३ करोड ४० लाख रुपैयाँ)बराबरको सामग्री पठाइदिएको फोटोसहित शाक्यलाई पठाए । केही दिनपछि उनलाई भारतबाट भन्सार क्लियर गर्नुपर्ने र त्यसका लागि केही रकम तिर्नुपर्ने भन्दै फोन आयो । पटक–पटक भन्सार मूल्य उल्लेख भएको नेपाल राष्ट्र बैंकको लेटर हेडमा पत्र आउन थाल्यो । पत्रमा सरकारी कर्मचारीको ओहोदा खुलेको हस्ताक्षरसमेत थिए । 

शाक्य प्रलोभनमा फसिसकेका थिए । अब उनी मागेबमोजिमको भन्सार रकम तिर्न राजी भए । रकम तिर्न उनलाई बुटवलपारि भारततर्फको सुनौली नाकामा बोलाइयो । र, रकम भारतीय बैंकमा जम्मा गर्न भनियो । उनले त्यसै गरे । पटक–पटक गरी शाक्यले ९२ लाख रुपैयाँ भारतको विभिन्न बैंकस्थित खातामा जम्मा गरे । तर, पिटरले भनेझैँ सामग्री उनले कहिल्यै प्राप्त गर्न सकेनन् । त्यसपछि बल्ल ठगिएको महसुर गरे । र, जोहरी दिन प्रहरीमा पुगे । अनुसन्धानमा खटिएका उपत्यका अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले भने, ‘भारतमै पुगेर त्यहाँको बैंकमा रकम जम्मा गरिएकाले उहाँलाई तत्काल कुनै सहयोग गर्न सकिएन ।’

घटना २ : सुनका गहनामा लोभिँदा ४८ लाख गुम्यो
व्यवसाय मात्र होइन, बिहे गर्ने प्रलोभनमा ठगिएका उदाहरण पनि प्रशस्तै छन् । यिनैमध्येकी एक हुन्, शोभना राणा (परिवर्तित नाम) । सामाजिक सञ्जालमा रमाउने उनको सोख । यहीक्रममा उनलाई बेलायतबाटै एक अञ्जान आइडीबाट फ्रेन्ड रिक्वेस्ट आयो । फ्रोफाइलमा डाक्टर लेखिएको थियो । पेसा झल्कने थुप्रै फोटा देखिन् । फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन् । दुईबीच अब गफ हुन थाल्यो । बेलायतकै नम्बरबाट भाइबर कल आउँथ्यो । दुईबीच अन्तरंगका कुराकानी हुन्थे । यही क्रममा डाक्टरले राणालाई बिहेको प्रस्ताव राखे । केही दिनपछि उनले प्रस्ताव स्वीकार गरिन् ।

उपहारस्वरूप डाक्टरले बेलायतबाट केही पार्सल पठाए । जसमा फोटो थियो । फोटोमा सुनका गहना देखिन्थे । राणा लोभिइन् । गहना पाउने आसमा बसेकी उनलाई केही दिनपछि भारतीय नम्बरबाट फोन आयो । पार्सल आएको र त्यसका लागि भन्सार क्लियर गर्नुपर्ने फोनमा भनियो । उनी अब भन्सारमा रकम तिर्न अघि बढिन् । रकम तिर्दै गइन् । तर, पार्सल हात परेन । दुःखी बनेकी उनलाई फेरि नेपाल–भारत नाकामा पार्सल आइपुगेको र भन्सार तिर्नुपर्ने भन्दै फोन आयो । यसपटक भने उनलाई शंका लाग्यो । र, प्रहरीलाई खबर गरिन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । यहीक्रममा सोल्टी होटेलबाट एक अफ्रिकी मूलका नागरिक पक्राउ परे । त्यसपछि राणा छाँगाबाट खसेझैँ भइन् । त्यतिन्जेल उनले ४८ लाख गुमाइसकेकी थिइन् । 

घटना ३ : पार्सल पाउने आसमा आठ लाख गुमेपछि ठगिएको महसुस
काठमाडौंको एक सहकारी संस्थामा कार्यरत सविना तामाङ ठगिएको प्रसंग पनि उत्तिकै रोचक छ । उनी अरूलाई सामाजिक सञ्जाल चलाउन सिकाउने गर्छिन् । तर, उनी आफैँ ठगिन पुगिन्, जसको भेउ पाउन उनले आठ लाख रुपैयाँ गुमाउनुप¥यो । उनलाई पनि एक अपरिचित व्यक्तिले बेलायतबाटै फ्रेन्ड रिक्वेस्ट पठाए । दुईबीच महिनौँ कुराकानी चल्यो । यहीक्रममा उनलाई अपरिचितले पार्सल पठाए । उनलाई पनि भन्सार क्लियरेन्स गर्न भन्दै भारतबाट फोन आयो । मागेबमोजिमको रकम उनले चुकाउँदै गइन् । तर, उनले न पार्सल पाउन सकिन् न सामाजिक सञ्जालमा गफिएका अपरिचितसँग भेट गर्न सकिन् । उनलाई ठगिएको महसुस त्यतिवेला भयो, जब उनले आठ लाख गुमाइन् । 

                                          ०००

अपरिचत व्यक्तिसँग घन्टौँ गफिनु, सजिलै प्रलोभनमा फस्नु र त्यसबापत लाखौँ रुपैयाँ गुमाउनु माथि उल्लेखित घटनाका केही समान पक्ष हुन् । जुन सामाजिक सञ्जाल प्रयोगकर्ताको चरम लापरबाहीसँग सम्बन्धित छन् । घटनामा अर्को पनि समान पक्ष छ, जुन युके र भारतसँग सम्बन्धित छन् । अर्थात् तीनवटै घटनाको सुरुवात युकेबाट भएका छन्, अन्त्य भारतमा पुगेर भएका छन् । यसले अनलाइनमार्फत अहिले भइरहेको ठगीको ‘ट्रेन्ड’लाई दर्साउँदैन, अपराधीले अपराध कर्मका लागि प्रयोग गर्ने एकै खालका ‘टेक्निक’लाई समेत प्रस्ट्याउँछ । 

सबै ठगीमा बहाना एउटै छ, जुन हो, ‘पार्सल’ । ‘ट्रेन्ड’ विश्लेषणले यही देखाउँछ,’ महाशाखाका एसपी कोइरालाले भने, ‘यस्ता घटनाको अनुसन्धान गर्न जटिल छ । किनकि यी नेपाल नभई विदेशबाट भइरहेका छन् ।’

०४९ सालमा उजुरी ०७७ मा अभियुक्त पक्राउ
१२ भदौ ०४९ मा तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौंमा दुई युवतीको जाहेरी दर्ता भयो । बालाजु बस्ने रामशरण पण्डितले आफूहरूलाई बम्बईको कोठीमा लगेर बिक्री गरेको भन्दै उनीहरूले जाहेरी दिएका थिए । त्यो उजुरीमाथिको अनुसन्धान प्रहरीको प्राथमिकतामा परेन । काठमाडौं प्रहरीमा हाकिम फेरिँदै गए, उजुरी हराउँदै गयो । पीडितहरूले न्यायको आस मारे । उता, अभियुक्त पनि ढुक्क भए । फाइल थन्किए पनि पूरै बन्द भने भएको थिएन । २८ वर्षपछि बल्ल पीडितले न्याय पाएका छन् भने अभियुक्त बुढेसकालमा प्रहरी हिरासतमा पुगेका छन् । त्यतिवेला परेको जाहेरीका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने पण्डितलाई पक्राउ गरेको छ । ६८ वर्षीय पण्डितले २८ वर्षअघिको सो अपराध स्वीकार गरेको ब्युरोकी प्रमुख एसएसपी दुर्गासिंह चन्दले बताइन् ।

प्रहरीका अनुसार पण्डित त्यतिवेला बालाजु क्षेत्रमा गाडी चलाउने काम गर्दथे । त्यहीवेला दुई युवतीसँग उनको चिनजान भएको थियो । भारतको महाराष्ट्रमा हिरा पाइन्छ, त्यहाँबाट नेपालमा हिरा ल्याउन भनेर उनीहरूलाई लगिएको थियो । त्यसबापत ६ हजार रुपैयाँ दिने आश्वासन दिइएको थियो ।  ‘महिलालाई चेकिङ नहुने भएकाले हिरा ल्याउन भनेर उनीहरूलाई लगिएको देखिन्छ,’ एसएसपी चन्दले भने, ‘बम्बई पुर्‍याएपछि पण्डित एकैछिनमा आउँछु भनेर दुई युवती एकजनालाई जिम्मा लगाएर भागेका थिए ।’ खासमा उनीहरूलाई बेचेर उनी भागेका थिए । ३५ हजार रुपैयाँमा उनले बिक्री गरेको खुलेको थियो । २१ वैशाख ०४९ मा उनीहरूलाई वीरगन्ज हुँदै मुम्बई पुर्‍याइएको थियो । त्यतिवेला दुवैजना करिब २० वर्ष उमेरका थिए । 

दुवै युवतीको करिब पाँच महिनापछि उद्धार भएको थियो । उद्धारमा कोठीमा गएका एक ग्राहकले सघाएका थिए । दुईमध्ये युवतीले ग्राहकमार्फत आफ्नो घरपरिवारलाई पत्र लेखेकी थिइन् । सोही पत्रका आधारमा उनका मामाले उद्धारको पहल गरेका थिए । मुम्बई प्रहरीको पहलमा उनीहरूको उद्धार गरिएको थियो । नेपाल आएलगत्तै उनीहरूले जाहेरी दिएका थिए ।