मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १० मंगलबार ०३:४२:००
Read Time : > 6 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

ओलीले अब आफ्ना आलोचकविरुद्ध सत्ताका सबै संयन्त्र प्रयोग गर्नुहुन्छ

Read Time : > 6 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १० मंगलबार ०३:४२:००

घनश्याम भुसाल, एमाले नेता

नेकपा सिंगो भएको वेला पार्टीभित्रैबाट केपी ओलीको राजीनामा माग भइरहेको थियो, त्यतिवेला तपाईंले ओलीजीलाई खाली खुट्टा हिँडाउँदै बालुवाटारबाट बालकोट पठाइनेछैन भन्नुभएको थियो । तर, तपाईंहरूलाई पार्टीबाट खाली खुट्टा पठाउने तयारी भएजस्तो देखिन्छ । अहिले सोधिएको स्पष्टीकरणले के संकेत गर्छ ? तपाईंहरूको प्रतिक्रिया के छ ?

यो नेता हिँडाउने होइन, विधि र विधान हिँडाउने प्रपञ्च हो । हिजो ओलीजीले संसद्समेत हिँडाउने, त्यसमार्फत संविधान हिँडाउने प्रयास गर्नुभएको थियो । अहिले विधान र त्यसमार्फत पार्टी नै हिँडाउने कोसिस गर्दै हुनुहुन्छ । यसर्थमा यो चानचुने विषय होइन । संसद् र संविधानविरुद्ध देशभित्र र बाहिरका सेटिङका साथ उहाँले जे षड्यन्त्र गर्नुभएको थियो, त्यसमा चोट खाएर निस्कनुभएको छ । त्यसैले उहाँले त्यसको बदला हामीसँग लिन खोज्दै हुनुहुन्छ । किनकि उहाँको यात्रामा हामीले अवरोध गरेका थियौँ । संसद् विघटनविरुद्ध सबै पार्टीहरू, नागरिक समाज, बुद्धिजीवी र सबैभन्दा सुरुमा त हामी नै उभियौँ । सुरुमा हेर्दा यो नेकपाभित्रको मुद्दाजस्तो मात्रै देखिएको थियो । पछि आएर सबै नागरिकको मुद्दा बन्यो, खासमा लोकतन्त्रकै प्रश्न बन्यो । सबै नेपाली एक ठाउँमा उभिएपछि उहाँको षड्यन्त्र असफल भयो । त्यसको बदला अहिले लिँदै हुनुहुन्छ । त्यसका लागि एमाले विभाजन गर्न उद्यत् हुनुहुन्छ । अहिलेको व्यवस्था भत्काउने उहाँको उद्देश्य हो । त्यसका लागि उहाँले स्पष्टीकरण माग्नुभएको छ, यो ठूलो विषय होइन । तर, आगामी स्वयं सरकार, राष्ट्रपति कार्यालय, अख्तियार, निर्वाचन आयोग र उहाँले उपयोग गर्न सक्ने सत्ताका सारा संयन्त्र दुरुपयोग गर्दै जानुहुन्छ । त्योचाहिँ चिन्ताको विषय हो ।

तपाईंहरूलाई स्पष्टीकरण सोधेर चेतावनी दिने वा तर्साउने मात्रै हो कि कारबाहीको तहसम्म जाने तयारी छ ? तपाईंहरूसँग जानकारी के छ ? मूल्यांकन के छ ?

उहाँ के गर्नुहुन्छ, के गर्नुहुन्न भनेर अनुमान गर्न नसकिने पात्र हो । हामी जोसुकैले सोच्ने सीमाभन्दा उहाँ अझैँ पर पुग्न सक्नुहुन्छ, त्यो पनि सजिलै । हामीले अहिले सोच्दा संविधान कानुन, समाज, मर्यादा, परम्परा, मूल्य र मान्यताभित्र रहेर बदमासी नै भयो भने पनि यतिसम्म होला भनेर सोच्छौँ । तर, उहाँ सधैँ त्योभन्दा पर पुग्नुहुन्छ । त्यसैले अब के गर्नुहुन्छ ? भन्न सकिँदैन । तर, निःसन्देह के भन्न सकिन्छ भने उहाँले अब धेरै चिज भत्काउनुहुन्छ । उहाँले त्यो वामएकता, गठबन्धन, हाम्रो बहुमत, जनताको आशा र विश्वास, स्थिरतातर्फको यात्रा सारा भत्काउनुभयो । अब बाँकी एउटा छ, नेकपा एमाले । त्यो पनि भत्काउन लागिराख्नुभएको छ । रोममा दासहरूले वेलावेलामा विद्रोह गर्थे र मालिकहरूले सयौँको संख्यामा ती विद्रोहीहरूलाई किलोमिटरको दूरीमा बाटोभरि झुन्ड्याउँथे । र, तिम्रो हालत यस्तै हुन्छ भनेर अरूलाई सुनाउँथे । उहाँले अहिले गर्न खोजेको यही हो । संसारमा जोसुकै होस्, त्यो आफ्नो प्रशंसक र चाकर हुनुपर्छ भन्ने मान्यता, दर्शन, विश्वास र सिद्धान्त उहाँको छ । जो चाकर हुन स्वीकार गर्दैनन्, ती सबै शत्रु हुन्् । चाकरहरूलाई आदेश गरिन्छ र शत्रुहरूलाई बदला लिइन्छ । उहाँले हामीलाई शत्रु ठान्नुभएको छ, त्यसैले बदला लिँदै हुनुहुन्छ । किनभने हामीले नेकपा एमाले नभत्काऊँ भनेका छौँ । मैले नेकपा एमालेलाई दक्षिण एसियाकै राम्रो पार्टी भन्ने गरेको थिएँ । कांग्रेसकै साथीहरूले पनि केही वर्षअघि स्विकार्थे । हामी आज त्यो पार्टी नभत्काऊँ, नबिगारौँ, एकता बचाऊँ भनिरहेका छौँ । उहाँ भत्काउन लागिरहनुभएको छ ।

तपाईंलगायत चार नेताबाट जुन स्पष्टीकरण मागिएको छ, त्यसको जवाफ दिने कि नदिने ? कसरी दिने ? के तयारी भइरहेको छ ?

हामीले उहाँलाई स्पष्टीकरण त के दिनु छ र ! उहाँ नै वैध होइन । किनभने उहाँले कथित संशोधित विधानअनुसार हामीलाई यो पत्र लेख्नुभएको छ । विधान उहाँले संशोधन गरेँ भन्नुभएको छ । पार्टीको विधान संशोधन हुन सक्छ, तर त्यो विधान अधिवेशनले मात्रै गर्न सक्छ । तर, उहाँले गुटको भेला गरेर विधान संशोधन गरिदिनुभयो । महाधिवेशन आयोजक कमिटी गठन गर्नुभयो । नेकपा एमालेको विधानमा महाधिवेशन आयोजक कमिटी भन्ने व्यवस्था नै छैन । उहाँ त्यस्तो समितिको अध्यक्ष हुनुभएको छ । त्यो अवैधानिक हो । उहाँको अध्यक्ष पदसमेत अवैधानिक हो । अवैधानिक हैसियतबाट उहाँले स्पष्टीकरण सोध्नुभएको छ । एमालेको विधानले उहाँलाई चिन्दैन । हिजो असंवैधानिक रूपमा संसद् विघटन हुँदा हामीले पुनस्र्थापना माग गरेका थियौँ । आज अवैधानिक रूपमा विधान संशोधन हुँदा हामीले पूर्ववत् केन्द्रीय कमिटीको माग गरेका छौँ । हामी वैधानिक व्यवस्थाको पक्षमा छौँ, तर उहाँ भत्काउने पक्षमा हुनुहुन्छ । त्यसैले हामीले उहाँलाई स्पष्टीकरण दिने होइन । बरु हामीले नै उहाँसँग स्पष्टीकरण लिनुपर्ने धेरै मुद्दा छन् । जसबारे हामीले उहाँसँग पक्कै सोध्नेछौँ ।

तर, स्पष्टीकरण दिन तीन दिनको म्याद दिनुभएको छ, त्यसभित्र जवाफ दिने विषयमा के सोच्नुभएको छ ?

उहाँको हैसियत नै वैधानिक छैन भने उहाँले दिएको म्यादको विषयमा त हामीलाई सरोकार भएन । तर, उहाँले उठाएका प्रश्नमा हामीले दुनियाँलाई त पक्कै बताउनुपर्छ । किनभने उहाँले अफवाह सिर्जना गर्दै हुनुहुन्छ । दुनियाँलाई उहाँले निरन्तर भ्रमित पारिराख्नुभएको छ । त्यसैले उहाँले चालेका कदमबारे दुनियाँलाई स्पष्ट पार्नुपर्नेछ । त्यसका लागि हामी केही लेख्छौँ ।

२८ कात्तिकमा तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले १९ पृष्ठको जुन अभियोगपत्र पार्टीमा दर्ता गर्नुभयो, ओलीले त्यस्तो ‘अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप’ लेख्न सघाएको भन्दै तपाईंहरूमाथि कारबाही किन नगर्ने भनेर सोध्नुभएको छ । त्यसमा तपाईंहरूको जवाफदेहिता के हो ?

न्याय, कानुन र विधिको कखरा बुझेको मान्छेले उहाँले उठाउनुभएको प्रश्नलाई सजिलै मूर्खतापूर्ण भन्छ । अदालतले हामी सबैलाई फर्काएर २ जेठ ०७५ मा पु¥याएको छ, उहाँले हामीलाई २८ कात्तिकको पत्रको बारेमा स्पष्टीकरण सोध्दै हुनुहुन्छ । यसबीचको कुरा गर्ने हो भने त उहाँले कैयौँ स्पष्टीकरण दिनुपर्छ । 

नेकपाकालको मात्र होइन, एमाले पुनस्र्थापित भएपछि पनि ३ चैतमा सार्वजनिक निर्देशन दिँदादिँदै पनि ४ र ५ चैतमा एमालेको झन्डा, लोगो, चिह्न र नाम दुरुपयोग गरेर राष्ट्रिय भेला गर्नुभयो भन्ने छ । त्यो विषयमा पनि प्रश्न सोधिएको छ नि ।

दुरुपयोग हामीले गरेका होइनौँ, उहाँले एमालेको झन्डा र लोगोलाई गुटको कब्जामा लिनुभयो । त्यसविरुद्ध हामीले पार्टीको झन्डा उठायौँ । २८ फागुनमा उहाँले गुटको जुन भेला गर्नुभयो, विधान संशोधन गर्नुभयो, कमिटी विस्तार गर्नुभयो, त्यो भनेको पार्टी र झन्डालाई कब्जा गर्न खोजिएको हो । हामीले त्यहाँबाट खोसेर पार्टीको झन्डालाई माथि उठाउन खोज्यौँ । त्यसैले प्रश्न हामीमाथि होइन, उहाँसँग सोधिनुपर्छ ।

२८ फागुनको बैठक तपाईंहरूले थाहा पाएनौँ भन्नुभयो, तर ७ चैतमा बैठक डाकिएको छ, थाहा पाएनौँ भन्न पाइनेछैन भनेर अध्यक्ष ओलीले टेलिभिजनबाट सार्वजनिक आमन्त्रण गर्नुभएको थियो । तैपनि तपाईंहरू किन जानुभएन ?

धुम्बाराहीमा केपी ओलीसँग वार्ता हुँदा हामीले विधानविपरीतका निर्णय फिर्ता लिनुस् भन्यौँ । २८ फागुनको अवैधानिक बैठकले गरेका निर्णय खारेज गर्नुस्, हामी आउँछौँ भनेका थियौँ । अवैधानिक निर्णय गर्ने अनि त्यो निर्णयका आधारमा बोलाउने बैठक कसरी वैधानिक हुन्छ ? त्यहाँ अरू धेरैजना फिर्ता लिन करिबकरिब तयार भएका थिए । जसले अझै पनि नैतिकताको, मूल्यको राजनीति गर्दै छन्, ती साथीहरू करिबकरिब तयार भएका थिए । तर, ओली स्वयं त्यो निर्णय त भयो–भयो भनेर निस्कनुभयो । त्यसैले अहिले उहाँले जे भन्दै हुनुहुन्छ, त्यो फर्जी हो, षड्यन्त्र हो, झुक्याउने जालझेल हो । 

तपाईंहरू पार्टीभित्र संस्थापनसँग पनि लडिरहनुभएको छ । तर, नेकपा एमाले भइसकेपछि पनि निर्वाचन आयोगमा किन पुग्नुभयो ? लड्ने त पार्टीभित्र होला नि ?

हाम्रा सबै ठुल्ठूला निर्णय निर्वाचन आयोगमा स्वतः जान्छन् । अस्ति (२८ फागुनमा) उहाँले गुटको भेला गर्नुभयो र त्यसलाई पार्टीको बैठक भन्नुभयो । त्यो ओली गुटकै भेला हो भनेर हामीले कानुनी रूपमा बताउनु जरुरी थियो । अवैधानिक रूपमा विस्तार भएको कमिटीले गरेका निर्णय कानुनविपरीत हुन्छन् भनेर निर्वाचन आयोगमा दर्ज गर्नुपर्ने थियो । त्यसैले हामी गयौँ । 

माधव नेपालहरू सके एमाले कब्जा गर्नुहुन्छ, नसके विद्रोह गर्नुहुन्छ भन्ने प्रचण्डको अभिव्यक्तिमा किन मौन बस्नुभएको हो ? यसमा तपाईंहरूमाथि शंका छ, यो त स्पष्टीकरणको विषय नै बनेको छ नि ।

ओलीजीकै बारेमा कसले कहाँ के–के भने, विदेशीले के भने, गुप्तचरले के भने भनेर सुनिएका कुरालाई आधार बनाएर हामीले उहाँसँग कुरा गरेका छैनौँ । त्यसैले प्रचण्डको अभिव्यक्तिको बहानामा हामीमाथि कारबाही गर्न खोज्नु षड्यन्त्र मात्र हो । यदि उहाँ एउटा नैतिकवान, इमानदार अध्यक्ष हुनुहुन्थ्यो भने प्रचण्डसँग सोध्नुपथ्र्यो– हाम्रो पार्टीका बारेमा किन बोल्यौ भनेर । हामीसँग पनि यो विषयमा छलफल गर्न सकिन्थ्यो । तर, बाटोका कुरा उठाएर हामीमाथि हिलो छ्याप्ने जुन षड्यन्त्र गरिँदै छ, त्यो फेरि पनि चिल आयो भनेर कुखुरा चोर्ने दाउ हो । 

५ पुसमा प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भएको थियो, आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव संसद्मा दर्ता किन गरियो ? स्पष्टीकरणमा सोधिएको छ, तपाईंहरूको जवाफ के हो ? 

उहाँले संसद् विघटन गरेपछि त्यसको विरुद्धमा सैद्धान्तिक रूपमा विरोध गर्ने र समर्थन गर्ने मान्छेहरू बाँडिइसकेका थिए । संसद् जोगाउन सकिन्छ कि भनेर केही साथीहरूले प्रयत्न गरेका थिए । यद्यपि म त्यतिवेला सरकारमै थिएँ, त्यसैले त्यसमा संलग्न थिइनँ । तर, साथीहरूले जे गरेका थिए, त्यो आवश्यक थियो । संसद् विघटन गर्ने कुराचाहिँ ठीक, अनि त्यसलाई बचाउन गरिएको प्रयत्न बेठीक भन्ने प्रश्नै हुँदैन । 

समाजमा प्रश्न के पनि छ भने हिजो नेकपामा प्रचण्ड र माधव नेपालसँग जतिवेला सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, संसदीय दल सबैतिर बहुमत हुँदा ओलीलाई चार–पाँचपटक कारबाही भयो, साधारण सदस्यबाट समेत निष्कासन गरियो । अहिले उहाँसँग बहुमत हुँदा तपाईंहरूमाथि कारबाही भयो त के बेठीक भयो ?

जतिखेर उहाँमाथि कारबाही भयो भनेर अहिलेसम्म चिच्याउँदै हुनुहुन्छ, त्यतिखेर पार्टी नै दुईवटा भइसकेका थिए । दुईवटा विधान थिए । आ–आफ्ना विधानअनुसार दुवै पार्टीले काम गरे । किनकि त्यतिवेला उहाँले पनि बाटोबाट समातेर ल्याएर १२–१३ सयजनालाई केन्द्रीय सदस्य बनाउनुभएको थियो । त्यो एउटा पार्टीको रूपमा उहाँले गर्नुभयो, हामीले अर्को पार्टीबाट काम गर्‍यौँ । तर, अहिले त नेकपा एमाले एउटै पार्टी हो । यही पार्टीको विधानअनुसार नै निर्णय गर्दा पनि उहाँ तीन–चारजना जतिको फरकले बहुमतमै हुनुहुन्थ्यो । तर, उहाँ डराउनुभयो र विधानविपरीत सदस्य थप्नुभयो । यसबीचमा उहाँले संसद् विघटनलगायत जे–जे कर्म गर्नुभयो, त्यसको सर्वत्र विरोध भयो । त्यसबाट सिर्जना भएको आतंकले उहाँले पार्टीको विधान संशोधन गरेको, त्यसका आधारमा २३ जना थपेकोजस्ता तमाम विषय सार्वजनिक गर्नुभयो । उहाँले गरेको मनोनयन र कारबाही एमालेको विधानअनुसार छैन । विधानअनुसार हुने कुनै पनि कारबाही भोग्न हामी तयार हुनेछौँ । एमालेको विधानअनुसार भएको महाधिवेशनले निर्वाचित गरेको कमिटीको बैठक बसाल्नुस्, त्यहाँ पनि उहाँको बहुमत छ, कारबाही पनि त्यहीँबाट थाल्नुस् । हामी विधानभित्रै रहेर सामना गर्छौँ । तर, जसरी उहाँले देशको संविधान च्यात्नुभएको थियो, त्यसरी नै अहिले एमालेको विधान च्यात्नुभएको छ । अपराध लुकाउन उहाँ अनेक–अनेक प्रचारबाजी गरिराख्नुभएको छ । 

तपाईंले नै अगाडि भन्नुभयो, रोममा शासकहरूले ठाउँठाउँमा मान्छे झुन्ड्याएर अरू बाँकीलाई तर्साउँथे । यहाँ पनि चारजना शीर्ष नेतालाई कारबाही गर्ने भनिसकेपछि तपाईंहरूलाई समर्थन गर्ने कार्यकर्तामा कस्तो मनोविज्ञान सिर्जना होला ?

केही पनि भएको छैन । यो सबैले बुझेकै छन् । नेकपा एमालेको ठूलो पंक्तिले यो पहिले नै बुझेको हो । नवौँ महाधिवेशनमै धेरै मान्छेले बुझिसकेका थिए, अहिले अझै धेरैले बुझ्दै छन् । ओलीजीको धर्म, कर्म, योग्यता यही हो भन्ने सबैलाई थाहा छ । घटना बुझ्न मात्रै बाँकी रहेको थियो, पुनर्पुष्टि भएको छ । ओलीजीले भत्काउने हो– बनाउने होइन, बिगार्ने हो– सुधार्ने होइन भन्ने एमालेका सबै कार्यकर्तालाई थाहा छ । उहाँले कुनै पनि व्यवस्था मार्ने हो, सिर्जना गर्ने होइन भन्ने कार्यकर्ताको बुझाइ झन् पुष्टि भएको छ ।

कार्यकर्ताको मनोविज्ञान कस्तो होला भनेर प्रश्न किन उठ्यो भने तपाईंहरूले आयोजना गर्नुभएको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी सांसद कृष्णभक्त पोखरेल पर्सिपल्ट बालुवाटार जानुभयो र ओलीले गल्ती गरेका हुन्, सबैले गरेका छन् भन्नुभयो । तपाईंहरूसँग ओलीप्रति आक्रोश छ, तर स्पष्ट दृष्टिकोण छैन भन्ने विश्लेषण हुन थालेको छ ।

योभन्दा स्पष्ट दृष्टिकोण के हुनु ? अदालतले एमालेलाई २ जेठ ०७५ मा पुर्‍यायो । हाम्रो पार्टीको जीवन त्यहीँबाट सुरु गरौँ, हाम्रो स्पष्ट भनाइ यही हो । योजति स्पष्ट भनाइ के हुन सक्छ ? योभन्दा धेरै हामीले मागेको पनि होइन, खोजेको पनि होइन । हामीले खोजेको पार्टी एकता हो । पार्टी एकताको आधार त्यही विधान हो, त्यही संरचना हो, जसलाई महाधिवेशनले चुनेको थियो । ओलीजीसँग जे–जति असहमति छन्, हामी पार्टीको निर्वाचित फोरममा राख्छौँ । उहाँले आफैँ निर्माण गरेका फोरममा हाम्रो आपत्ति हो ।