मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पाँचथरको पाथीभरा आधारभूत विद्यालयको बहुकक्षामा विद्यार्थी । यहाँ कक्षा २ र ३ तथा ४ र ५ का विद्यार्थी एउटै कक्षाकोठामा बसेर पढ्दै छन् । तस्बिर : नयाँ पत्रिका
२०७७ चैत ८ आइतबार ११:५८:००
Read Time : > 2 मिनेट
प्रदेश प्रिन्ट संस्करण

आधारभूत तहका विद्यार्थी बहुकक्षाको मारमा

Read Time : > 2 मिनेट
२०७७ चैत ८ आइतबार ११:५८:००

पाँचथरको फिदिम– ११ फलाँटेमा रहेको पाथीभरा आधारभूत विद्यालयका शिक्षक चेतन न्यौपाने सरुवा रोगबारे पढाउँदै थिए । कक्षामा ११ जना विद्यार्थी थिए, ती पनि दुईवटा कक्षाका गरेर । शिक्षक अभावमा २ र ३ कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउन बाध्य भएको उनले बताए । 

सोही विद्यालयको अर्को कोठामा कक्षा ४ र ५ को पढाइ पनि एउटै कोठामा चलिरहेको थियो । त्यहाँ जम्मा चारजना विद्यार्थी उपस्थित थिए । उनीहरू कक्षा ४ र ५ का लागि भनेर छुट्याएका छुट्टाछुट्टै बेन्चमा बसेका थिए । शिक्षकले अब यो कक्षाको पढाइ भनेपछि सम्बन्धित विद्यार्थी किताब निकाल्थे, अरू मौन बस्थे । पाथीभरा आधारभूत विद्यालयमा मात्र होइन, यस्तो बहुकक्षा यहाँका धेरै विद्यालयमा चलिरहेको छ । विद्यार्थी बहुकक्षाको मारमा छन् । 

पाथीभरा विद्यालयमा ४० विद्यार्थी छन् । विद्यालयले कक्षाकोठा प्रवेशद्वारमै बहुकक्षाको जानकारी राखेको छ । एउटा कोठामा कक्षा २ र ३ लेखिएको छ भने अर्को कोठामा कक्षा ४ र ५ लेखिएको छ । कक्षा १ र बालविकासका लागि आएका विद्यार्थी एकै ठाउँ राखिएका छन् । 

फिदिम– ४ मा रहेको तिर्तिरे आधारभूत विद्यालयमा पनि यसैगरी बहुकक्षा चलिरहेको छ । दुई फरक तहका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर नपढाए शिक्षकले नभ्याउने अवस्था यहाँ पनि छ । ‘विद्यालयमा दुई शिक्षकको मात्र दरबन्दी छ । ६ वटा कक्षा सञ्चालन हुन्छन् । बहुकक्षामा नराखे कसरी पढाउनु ?’ तिर्तिरेका शिक्षक सन्तोष भण्डारीले भने, ‘शिक्षक अभावकै कारण विद्यालय कर्मचारीले समेत पढाउनुपरेको छ ।’

फिदिम– २ मा रहेको सूर्योदय आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गरेको थियो । विद्यार्थी संख्या न्यून भएपछि अहिले कक्षा ३ सम्म मात्रै बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । ३ कक्षासम्मका विद्यालय पढाउन एकजना मात्रै शिक्षकको दरबन्दी दिएपछि बहुकक्षाको विकल्प छैन । फिदिम– ४ कै जागृति आधारभूत विद्यालयमा पनि समस्या उस्तै छ । ‘विद्यार्थी जति आए पनि कक्षा लिनै प¥यो,’ प्रधानाध्यापक डिल्लीराम लुइँटेलले भने, ‘विद्यार्थीको उपस्थिति हेरेर बहुकक्षाको अभ्यासमा पनि जाने गरिएको छ । 

शिक्षक दरबन्दी पर्याप्त नहुँदा पाँचथरको ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा बहुकक्षा चलिरहेका छन् । एउटै कक्षाकोठामा एकभन्दा बढी कक्षाका विद्यार्थी राखेर पढाउने गरिएको छ । यसले विद्यार्थीको सिकाइ क्रियाकलापमा प्रत्यक्ष असर गरिरहेको छ ।

सिकाइ क्रियाकलापमा समस्या
जिल्लामा बहुकक्षाको मार खेपिरहेका यी उदाहरण मात्रै हुन । अधिकांश आधारभूत विद्यालयमा यो समस्या छ । बहुकक्षामा रहेका विद्यार्थीलाई सिकाइ क्रियाकलापमा समस्या हुने गरेको छ । दुईवटा भिन्नभिन्न कक्षाको पढाइ एकै ठाउँबाट हुने हुँदा कुन कक्षाका लागि अध्ययन गर्दै छु भन्नेमै विद्यार्थीलाई अलमल हुने गरेको छ । साना नानीहरूलाई एकै ठाउँ राखेर यो सबै गर्न एकदमै समस्याको विषय हो । पाथीभरा आधारभूत विद्यालयकी प्रधानाध्यापक चित्रकला घिमिरेले भनिन्, ‘एउटा कक्षाको पढाउँदा अर्कोलाई चुप राख्नुपर्‍यो । विद्यार्थी सबै एकै खालका हुँदैनन् । छिटो सिक्नेलाई त समस्या नहोला, अलि मिहिनेत गर्नुपर्ने विद्यार्थीलाई समस्या देखिन्छ ।’ गृहकार्य, शिक्षकको समय निर्धारण, आन्तरिक कक्षा व्यवस्थापन, सिकाइ वातावरण सबै क्षेत्रमा बहुकक्षाले समस्या देखिएको छ । 

एकीकृत पाठ्यक्रम अभाव
बहुकक्षा सञ्चालन हुने विद्याललाई व्यवस्थापनका लागि एकीकृत पाठ्यक्रम पनि अभाव देखिएको छ । शिक्षा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले जिल्लाभर धेरै आधारभूत विद्यालयमा यो समस्या रहेको बताए । ‘सरकारले दरबन्दी दिँदा विद्यार्थी संख्या हेरेर दिने हो । सोहीअनुसार दरबन्दी कम हुँदा बहुकक्षाको बाध्यता भएको हो,’ इकाइ प्रमुख सवेहाङले नयाँ पत्रिकासँग भने, ‘त्यसको समाधान एकीकृत पाठ्यक्रम नै हो ।’

उनका अनुसार पछिल्लो समय एकीकृत पाठ्यक्रमको आधार तयार भएको छ । एकीकृत पाठ्यक्रमले दुई तहका विद्यार्थीलाई एकै कक्षामा राख्न सकिने गरिको वातावरण तयार पार्ने उनको दाबी छ । ‘आधारभूत तह विद्यार्थीका लागि विद्यालय नियमित गराउने तह हो । त्यहीँबाट समस्या सुरु भएपछि अरू कक्षामा पनि समस्या आउने निश्चित छ,’ सवेहाङले भने, ‘त्यसैले यतातर्फ ध्यान जान जरुरी छ ।’

दरबन्दी अभाव मुख्य समस्या
बहुकक्षा सञ्चालन गर्नुपर्ने मुख्य कारण नै शिक्षक दरबन्दी अभाव हो । सरकारले विद्यार्थी संख्याका आधारमा दरबन्दी उपलब्ध गराउँछ । अधिकांश ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या कम हुन्छ । त्यसैले कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा न्यूनतम दुई शिक्षकको मात्र दरबन्दी दिइएको हुन्छ । दुई शिक्षकले एकैपटक प्रत्येक कक्षामा गएर पढाउन मिल्दैन । एकैपटक सबै कक्षामा पुग्न सम्भव हुँदैन । सोही कारण पनि दुई वा सोभन्दा बढी कक्षा एकै ठाउँ राखेर पढाउनुपरेको शिक्षकहरू बताउँछन् ।

शिक्षक अभावका कारण विद्यालयका अन्य समूहमा कार्यरत कर्मचारीले समेत अध्यापन गराउनुपर्ने अवस्था छ । त्यसैले सिकाइ गुणस्तरमा समस्या हुने, विद्यार्थीले पढाएको नबुझ्ने, नतिजा राम्रो नहुने अनि विद्यालय नै नआउनेसम्मका समस्या देखिने गरेका छन् । पाँचथरमा फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले दरबन्दी मिलान सकिसकेका छन् । ती स्थानीय तहमा जुन–जुन विद्यालयमा बहुकक्षा सञ्चालन हुँदै छन्, ती जारी नै रहने देखिएको छ ।