मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ चैत ७ शनिबार
  • Monday, 16 December, 2024
वेदबहादुर खड्का
२o७७ चैत ७ शनिबार २o:१२:oo
Read Time : > 10 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

सहज छैन गैँडा गणना

Read Time : > 10 मिनेट
वेदबहादुर खड्का
नयाँ पत्रिका
२o७७ चैत ७ शनिबार २o:१२:oo

आगामी सोमबार (९ चैत)देखि चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना हुँदै छ । बर्दिया, शुक्लाफाँटालगायत देशभर नै चैतभित्रै गैँडा गणनाको तयारी छ । हरेक ५ वर्षको अन्तरालमा गैँडा गणना गरिँदै आएको छ । नेपाली प्राविधिकहरूले आफैँ गणना गर्न थालेको सन् १९९४ देखि हो । सामान्य रूपमा हेर्दा गैँडा गणना सहजै गर्न सकिन्छ भन्ने लाग्छ । 

गैँडा गणनामा घरपालुवा हात्ती, हात्ती परिचालकहरू, गणकहरू, हात्ती तथा गणकहरूलाई खाने बस्ने बन्दोवस्त मिलाउने समुह संलग्न रहेका हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना सम्पन्न गर्न करिब २० देखि २५ दिन लाग्ने गरेको छ । गैँडा गणना निकुञ्ज क्षेत्रमा अग्लो घाँस भएको समयमा गर्न सकिँदैन । त्यसैले अग्ला खरघाँस सुकिसकेको र दलदल घटिसकेका वेला पारेर गैँडा गणना गरिन्छ । मुख्यतया, गैँडा गणना गर्दा प्रयोग गरिने भर्खरै तालिम लिएका बच्चा हात्तीहरू र जंगली भालेहात्ती, चर्को घाम, असिनापानी, हुरीबतास र नसुकेको दलदलले गर्दा समस्या ब्युँतिन्छन् र यसले गणनालाई प्रभाव पार्दछ । गणनामा प्रयोग गरिने हात्तीहरू दलदलमा फसेर गणना प्रभावित हुन सक्छ भने हुर्कौला हात्तीहरू हुरीबतास, असिनापानी, डढेलोसँग डराएर कामै छोडी माहुत र गणकलाई लिएर जंगलको अन्जान क्षेत्रतिर कुद्न सक्छन् । यस्तो घटनामा नवलपरासीको सेरी पोस्ट तलतिर केही हात्तीहरूबाट गैँडा गणना गर्दा जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ वन्यजन्तु प्राविधिक विष्णु लामाको समूह परेको थियो । जथाभावी जंगलमा हात्ती कुदेपछि गणकहरू रूख, लहरामा अल्झिएर वा ठोक्किएर हात्तीबाट खस्न सक्ने सम्भावना हुन्छ । गैँडा गणना ब्लकमा जमिनको धरातलअनुसार लामबद्ध तरिकाले हात्ती हिँडाउँदा कुनै हात्ती जंगल, झाडी र कुनै दलदल क्षेत्रमा पर्छन् भने कुनै हात्ती रूखपात नभएको ठाँउबाट मात्र हात्ती हिँडाउनुपर्ने हुन्छ । त्यस्ता गणकहरू चर्को घामको प्रभावले फेन्ट (बेहोस) हुन सक्छन् । डा.कमलप्रसाद गैरेका अनुसार सन २०११ को गैँडा गणनामा संलग्न विश्व वन्यजन्तु कोष, नेपालकी एक उच्च अधिकृतलाई यस्तै समस्या देखिएको थियो । जंगली भालेहात्ती गणक पोथी हात्तीहरूको गन्धमा आकर्षित भई पछिपछि लाग्न सक्छन् र गणना कार्य प्रभावित हुन्छ । त्यस्तै एकपटक डा. नरेन्द्रबाबु प्रधान, डा. शान्तराज ज्ञावलीसमेतको गणक समूह घट्गाईनजिकैको घोर जंगलमा जंगली भाले हात्तीसँगको जम्काभेटमा परेको थियो । सातवटा हात्ती, त्यसमा रहेका सातजना गणक र सातजना माहुतले मिलेर हा हा हु हु गरी आगोसमेत लगाउँदा पनि जंगलीहात्तीले पछ्याउन छाडेन । निकुञ्ज मुख्य कार्यालयमा कुनै हिसाबले सम्पर्क गरेपछि सुरक्षाटोली आएर फायर खोलेपछि मात्र जंगलीहात्ती भाग्यो । त्यसो नहुँदासम्म धेरैको मुटुको धड्कन बढिरहेको थियो । जंगलीहात्तीसँग जम्काभेट भएर के नै हुन्छ भन्ने जिज्ञासाको उत्तर त त्यसप्रकारको घटनामा परेपछि नै पाइएला ।

त्यसैगरी गैँडा होटेलको टेन्टेड क्याम्पनजिक र गौर मचानको दक्षिणतिरको कुनाको दलदलमा क्रमशः भृकुटीकली र विनायक प्रसाद नामका दुई गणक हात्ती दलदलमा फसेर झन्डै अमरत्व प्राप्त गरेका थिए । डा. गैरेका अनुसार हात्तीमा गणनाका लागि सवार हुँदा सुखीभारमा हात्तीबाट उधोमुन्टो लगाएर खसेको कुरा र बिसहजारी ताल क्षेत्रमा घोल तर्दा हात्तीको साइज सानो र होचो भएको कारण गणकसमेत डुबानमा परेका घटना क्रमशः डा. चिरण पोखरेल र चित्रबहादुर खड्काले के बिर्सनुभइसक्यो होला र ? त्यस्तै, भर्खरै तालिम भएको सिमकली हात्तीले पटक–पटक खसालिदिएको कुरा पनि त्यो हात्तीमा चढ्ने गणकले पक्कै बिर्सेको छैन होला !

गैँडा गणना सम्पन्न हुनै लाग्दा नवलपरासीको टाइगर ल्यान्ड होटेल, झराइखोलानजिकै हात्तीको घाँस संकलन गर्न जाँदा माहुत प्रदर्शना महतोलाई मोती प्रसाद ‘ख’ हात्तीले आक्रमण गरी खुट्टा भाँचिदिएको प्रसंग पनि उल्लेख नगरी हँुदैन । त्यस्तै, गैँडा गणनाको क्रममा खोरियामुहान पोस्टमा हात्ती र गणकहरू वास बस्दा मध्यरातमा ध्रुवे हात्तीको उपस्थितिले मच्चाएको कोलाहल पनि बिर्सिन सकिँदैन । अनि पुरानो पदमपुरको हात्ती खेतनजिक हात्ती–हात्ती नमिलेर धकेलाधकेल गर्दा एउटा हात्ती खाल्टोमा खसी पल्टिएको, तर गणक भने हाम्फालेर घाइते हुनबाट बचेको कुरा अझै ताजै लाग्छ । 

सन् २०१५ को गैँडा गणनाको समाप्ति नारायणघाटस्थित नगरवनमा गरिएको थियो । अन्तिम गणना सकेर फर्कने क्रममा दिउँसो नारायणघाट बजारमा बहादुर गज भाले हात्तीले गाडी, मोटरसाइकल तोडफोड गरेको कारणले निकुञ्ज कार्यालयले करिब दुई लाख रुपैयाँ क्षतिपूृर्ति तिर्नुपरेको कुरा त कहाँ बिर्सन सकिन्छ र ? वैशाख महिनाको घाममा बिहान सबेरैदेखि गणना कार्यमा खटेको हात्ती नारायणघाट बजारको घाइँघुइँले उत्तेजित भयो, धन्न कुनै मानवीय क्षति भएन । पछि अरू हात्तीले स्कटिङ गरेर सो हात्तीलाई सौराहा क्याम्पमा पुर्याइयो । 

सन् २०१५ को गैँडा गणनाको उद्घाटनकै दिन निकुञ्जको पूर्वी क्षेत्र रमौली प्रतापपुरमा शंकर प्रसाद हात्तीले उससँग नमिल्ने हात्तीलाई आक्रमण गरी तहल्का मच्चाएको थियो । गैँडा गणना कार्यमा खटिने हात्तीहरूमा पनि प्रशस्त समस्या उत्पन्न भएको पाइन्छ । गणना सुरु भएको दुई हप्तापछि उकालो, ओरालो, भिरालो, दलदल, बिलाउने घारी, सिस्नो घारी, काउसो घारीमा हिँड्दा–हिँड्दा डोरीले हात्तीको छाला काड्ने, किरा पर्ने हुन्छ । खुट्टामा ठोसा, सिसा बिझी हात्तीहरूले दुःख पाउँछन् । त्यस्तै, हात्ती चिकित्सकहरूले पनि अरूले काम सकेर आराम गर्दै गरेका वेला पनि हात्ती उपचारको काम गरिरहेका हुन्छन् जुन काम साधारणतया कसैले देखिरहेको हुँदैन ।

पूर्वमहानिर्देशक टिकाराम अधिकारी गणकहरूलाई सन् २०१५ को गैँडा गणनाको सन्दर्भमा केही निर्देशन दिँदै । फोटो सौजन्य : कमलप्रसाद गैह्रे

त्यस्तै, सन् २००५ अर्थात् २०६१ साल चैतको पहिलो हप्तातिर चितवन राष्ट्रिय निकुञ्जमा सुरु गरिएको गैँडा गणनामा भएका घटना सम्झनलायक त छैन, तर पनि बिर्सन सकिएको छैन । गैँडा गणना गर्न करिब ४४ वटाजति निकुञ्जका घरपालुवा सरकारी हात्ती र करिब १०० जना कर्मचारी परिचालित भएका थिए । तीमध्ये अधिकांश निकुञ्ज र जैविक विविधता संरक्षण केन्द्रका अनुभवी कर्मचारी थिए । पूर्वगैैँडा गणनामा सहभागी भई अनुभव बटुलिसकेका, तर सरुवा भई अन्यत्र कार्यालयमा कार्यरत कर्मचारीलाई समेत त्यो गैँडा गणना कार्यमा समावेश गराइएको थियो । सहयोगी संघ संस्थाहरू (डब्लुडब्लुएफ र राष्ट्रिय प्रकृति संरक्षण कोष)बाट गैँडा गणनाका लागि आर्थिक सहयोग जुटाइएको थियो । गणना कार्यको अनुभव लिन मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीहरू एवं वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरू पनि संलग्न थिए । गैँडा गणनाकोे नेतृत्व राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा. झमकबहादुर कार्कीले गर्नुभएको थियो । सो विभागमा त्यतिखेर नारायण पौडेल महानिर्देशक हुनुहुन्थ्यो । महानिर्देशक पौडेल वेला–वेलामा फिल्डमै आई गैँडा गणनामा सहभागी भएर फिल्डस्तरका कर्मचारीलाई हौसला दिइरहनुहुन्थ्यो र फिल्डमा खटिने सबै कर्मचारीका साथ बसेर खाना खाने र गैँडा गणनामा परेका समस्यालाई तत्काल निराकरण गर्न त्यतिखेरका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख शिवराज भट्ट र संयोजक तथा इकोलोजिस्ट झमकलाई निर्देशन दिनुहुन्थ्यो ।

निकुञ्जको पूर्वी भागबाट गैँडा गणना सुरु गरी निकुञ्जको पश्चिम नारायणी नदी तटीय र टापुहरूमा गणना गरिसकेर सुखीभार पोस्टमा विसर्जन गर्ने कार्यक्रम थियो । सामान्यतया, गैँडा गणना भरतपुरनजिकै नारायणी नदीको तिरमा रहेको नगरवनमा गरिन्थ्यो तर मुलुकको शासनसत्ता राजाले भर्खरैे कुु गरी आप्mनो हातमा लिएको अवस्थाले नेपाल बन्दजस्ता कार्यक्रम निरन्तर चलिरहेकाले त्यहाँ समापन गर्न उचित सम्झिएन ।

गैँडा गणना कार्य एक किसिमको राष्ट्रिय मेलाजस्तो हुने गर्छ । गणना कार्य वनदेवीको पूजा गरी प्रसाद र टीका ग्रहण गरेर सुरु गरिन्छ ता कि संकट निवारण होस् एवं निर्विघ्न रूपमा गणना कार्य सम्पन्न होस् भनेर । को सानो को ठूलो भन्ने भेदभाव गणनामा मतलब हुँदैन र सबैको मन र उद्देश्य एउटै हुन्छ । गैँडा गणनामा हात्तीको पंक्ति बिगार्ने वा गर्नुपर्ने काम नगर्ने गणकले तथानाम गाली खान्छ । हाकिम नै किन नहोस् काम बिगारेमा उसले गाली खान्छ र सहन्छ पनि । काम सही ढंगले सम्पन्न होस् भन्ने भावनाका साथ गालीगलौज गरिन्छ, तर पहिलोपटक यस कार्यमा संलग्न भएका गणकलाई गालीका शब्द सहन मुस्किल पर्छ । फलानाले गाली ग¥यो भनेर रिसराग साँध्ने कुरो रहँदैन यतिखेर । गाली खाने डरले पनि माहुत र गणकले हात्तीलाई सही ट्र्याकमा हिँडाएर गणना गर्नुपर्छ । त्यो गैँडा गणना कार्यको नियम हो र हाँसी खेली प्रकृतिमा रमाएर गैँडा गणना गर्न सहजै भएको महसुस गरिन्छ ।

गणना कार्य नारायणी नदी तटीय वन (बगर, कांसघारी र सिसौ, खयरको जंगल) क्षेत्रमा चलिरहेको अवस्थामा एउटा बिर्सनैनसक्ने अप्रिय घटना हुनपुग्यो । गैँडा गणना सकिनसकिन लागेको अवस्था थियो । घटना त्यस्तै चैतको अन्तिम सातातिरको हो । दिनको करिब ११ बजिसकेको थियो, घाम चर्किसकेको अवस्था थियो । गर्मीले गर्दा हात्तीले आप्mनो शरीर चिस्याउनका लागि सुँडबाट भुर्र..भुर्र.. गरेर पानी फाल्दै थिए । तर, हात्तीमा बसेका गणक र माहुतले भने हात्तीले छर्केको पानीको छिट्टा जीउमा पर्दा अप्ठ्यारो महसुस गर्दै थिए । यस पंक्तिकारकै छेउमा माद चढेकोे दीपेन्द्र प्रसाद नामको दाह्रे भालेहात्ती थियो, जसमा गणकका रूपमा जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ वन्यजन्तु प्राविधिक हर्कमान लामा चढ्नुभएको थियो । हुन त यो हात्तीमा अघिल्लो दिनसम्म सहायक संरक्षण अधिकृत रामजीप्रसाद सिवाकोटी चढनुभएको थियो । यो हात्तीले एक हप्ताअगाडि कुमरोज सामुदायिक वनमा गैँडा गणना गरी फर्कँदा बाटोमा पार्किङ गरिराखेको ४२०७ नम्बरको निकुञ्जको गाडीलाई दौडिँदै गएर धक्का दिएको थियो । तत्पश्चात् हात्तीमा माद चढेको लक्षण देखिएकाले गणनामा नलैजाने कि भन्ने तर्क उब्जेको पनि होे, तर हात्ती परिचालकहरूले केही दिन कडा परिश्रम गराएपछि ठीक हुने तर्क दिएपश्चात् गणनाबाट अलग भने गरिएन । तर, सतर्कता भने अपनाइएकै थियो । माद चढेको अवस्थाको भाले हात्ती बढी रिसाह र पोथीसँग मरिहत्ते गर्ने पाराको हुन्छ । त्यसैले त्यस हात्तीलाई अलग्गै छेउको लाइन ४४ नम्बरमा राखिएको थियो भने ४३ नम्बरको हात्तीमा पंक्तिकार चढेका थिए र ४२ नम्बर हात्तीमा वरिष्ठ पशु चिकित्सक डा. कमलप्रसाद गैरे सवार थिए । गैँडा गणना गर्न समानान्तर रूपमा झन्डै ५०–१०० मिटरको दूरीमा एकआपसमा देखिने गरी हात्तीलाई हिँडाइन्छ । हात्तीहरूमध्ये कुनै छिटो वा ढिलो गरी हिँड्दा लाइन बिग्रन्छ । तब लाइन मिलाउन फिल्ड कमान्डरले सिट्ठी बजाउँछ अनि सबै हात्ती अलर्ट भई रोकिन्छन् । कमान्डरले कुन हात्तीलाई कतातिर हिँडाउँदा लाइन ठीक ठाउँमा आउँछ र गणना सहज हुन्छ त्यसैअनुसार निर्देशन दिन्छ । एक्कासी सिट्ठी बज्यो, हात्तीहरू रोकिए र त्यसैको मौका छोपी ४४ नम्बरको हात्तीका गणक हर्कमान लामा हात्ती बसाएर पिसाब फेर्न भुइँमा ओर्लिए । ओर्लिनेबित्तिकै भुइँमा बाघको ताजा पाइला देखेको सूचना गर्दै अलि पर गएर पिसाब गर्दै थिए । हामी पछाडि फर्केर अन्य गणकसँग वाकीटकीमा वार्तालाप गर्दै थियौँ । हर्कमान फर्केर पुनः हात्तीमा सवार नहुँदासम्म माहुतले मादमा रहेको हात्तीलाई बसालिराख्ने कोसिस गरेको थिएँ । तर, दीपेन्द्र प्रसाद बसिरहन मानेन, जबर्जस्ती माहुतको आदेशको अवज्ञा गर्दै उठी फनक्क घुमेर हर्कमानलाई आक्रमण गर्न पुग्यो । केही क्षणमै अगाडि हेर्दा हर्कमान हात्तीको टाँङमुनि देखिनुभयोे । हामी स्तब्ध भयौँ । बचाउ, बचाउ भन्ने आवाज आइरहेको सुनिन्थ्यो । फुटवल खेलाएजस्तै खेलाएको देखियो । हर्कमानलाई हात्तीले पछाडिको खुट्टाले हान्दा डल्लो परेर अगाडितिर गुल्टिनुहुन्थ्यो, अगाडिको खुट्टा पछाडितिर चलाउँदा पछाडि सर्नुहुन्थ्यो । हात्ती झुकेर बगरको ढुंगामा दाह्रा बजारिरहेको थियो र हात्तीको दाह्रा ढुंगामा ठोकिएर ट्र्याङ ट्र्याङ आवाज आइरहेको थियो । उता माहुत श्रीमंगल चौधरीले टेंगारी (सानो बन्चरो)ले हात्तीको टाउकोमा हानिरहेको देखिन्थ्यो । हात्तीलाई साह्रै दुखेछ क्यारे टाउको माथि उठायो, त्यसको मौका छोपी हर्कमान हात्तीको पेटमुनिबाट फुत्त निस्केर कुलेलम भाग्नुभयो । यो करिव ३० देखि ४० सेकेन्डको कुरा हो । तब मात्र हाम्रो होस खुल्यो । वाकीटकीमा करायौँ घटनाको जानकारी गराउँदै । विडम्बना के रहेछ भने मातेको हात्तीले उपद्रो गर्दा अन्य हात्तीहरू नियन्त्रण गर्न नजिक जानुको सट्टा परपर भाग्ने गर्दा रहेछन्, किनकि मत्ताहात्तीले त्यस्तो वेला पोथी हात्तीलाई समेत आक्रमण गर्न सक्ने अवस्था हुनेरहेछ । धेरै नै टाढा रहेका हात्तीहरू भने हाम्रो कोलाहल सुनेर घटना भएतिर आउँदै थिए । हर्कमानलाई अविलम्ब उद्धार गरी अर्को हात्तीमा राखेर उपचारका लागि गाउँमा निकाली गाउँको स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरियोे । नेपाल बन्दको दिन परेकाले गाडी पाइएन, एम्बुलेन्स बोलाई भरतपुरमा अस्पताल लगी उपचारको लागि भर्ना गरियो । अस्पतालमा एक हप्ता उपचार त भयो। तर खुट्टा सुन्निएर आएपश्चात् अस्पतालको सिफारिसमा एक महिना काठमाडौं बिएन्डबी अस्पतालमा उपचार गरेपश्चात् निको भएर नयाँ जुनी पाउनुभयो । तर, उहाँले हार मान्नुभएको छैन अझ सक्रिय भएर वन र वन्यजन्तुको अनुसन्धान, गैँडा गणना र बाघ गणनाजस्ता कार्र्यमा निरन्तर लागिरहनुभएको छ । हाल उहाँले जागिरेजीवनबाट अवकाश पाए पनि उहाँको तनमन यसै क्षेत्रमा छ । यो दुर्घटना मेघौली क्षेत्रको भगेडी गाउँनजिकै नारायणी नदी किनारमा भएको थियो र दुर्घटनापश्चात् त्यस दिन भने गणना कार्य स्थगित गरियो । 

गणनामा लामवद्ध सजिएका हात्तीहरू । फोटो सौजन्य : श्रृषी रानाभाट

त्यसैगरी, संरक्षण अधिकृत ऋृषि रानाभाटका अनुसार २०१५ को गणनामा त्यस दिनको गणना सकेर हात्ती खोरिया मुहानतर्फ फर्कँदै गर्दा मध्य दिउँसो भइसकेको र घाम चर्केको अवस्थाले हात्ती गर्माइसकेको र त्यस्मा पनि हात्ती भोकै रहेको अवस्था थियो । यस्तो अवस्थामा हात्ती रिसाहा हुन्छ । जसको परिणामस्वरूप हात्ती धुलाम्मे भई तँछाडमछाड गरेर कमिलाको ताँतीझैँ खोरिया क्याम्पमा फर्कने क्रममा शंकर प्रसाद (भाले) हात्तीले धीरेन्द्रकली (पोथी) हात्तीको पुच्छर सुँडले बटारेर तेर्सोमा घरी तान्ने र घरी टोक्ने गरेर करिब ५०० मिटर लखेट्यो । अन्तमा ओरालो परेको ठाउँमा हात्ती झर्दा रगतले पुच्छर चिप्लन गई पुच्छर चुँडियो । अन्य हात्तीमा रहेका माहुतहरूले पनि छुटाउन प्रयास गरे । ज्यान बचाउनका लागि उक्त दुईवटा हात्तीमा रहेका गणक हात्तीबाट हाम्फाल्न पुगे र केहीले खुट्टासमेत मर्काउन पुगे ।

मान्छे भन्छन्, कर्मचारी भत्ता खाएर गैँडा गणना गर्छन्, यिनीहरूको मोजमस्ती छ भन्छन्, तर यहाँको दुःख, र भिन्न कथावस्तुमाथि पढिहाल्नुभयो । गैँडा गणना गर्न फिल्डमा सहज छैन, को कतिखेर कस्तो दुर्घटनामा पर्ने हो, सधैँ त्राहीत्राही नै हुने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक श्याम बजिमयले सन् २००८ को गैँडा गणनाको अनुभव यसरी सुनाउनुहुन्छ “चितवन जंगल लजछेउमा रहेको झाडीभित्रको घोलमा गैँडा थिए, त्यहाँ जंगली हात्ती पनि रहेछ । हाम्रो हात्ती झ्वाम्मै अगाडि पर्न गयो र जंगलीले लखेट्यो, भागाभागको अवस्था आयो, हाम्रो होसहवासै उड्यो” । यस्तै खालको २०११ को अनुभव अर्का महानिर्देशक कृष्णप्रसाद आचार्यको पनि छ ः सुखीभारको गणना गर्ने ब्लकमा गणनाको ट्र्याकमा हात्ती हिँडिरहेको अवस्थामा एक्कासी जंगली हात्ती देखाप¥यो र माहुतहरूले गणक टोली र आफ्नो हात्ती वचाउनका लागि सबै हात्तीहरू भगाए । त्यसवेला हाम्रो साथमा सेना पनि थिएन । एक घन्टापछि सेना आएर हवाईफायर गरेर जंगली हात्ती लखेटेपछि मात्र काम पुनः सुचारु भए पनि मुसलधारे पानी परेकाले त्यस दिनको कार्यक्रम स्थगित भयो । भर्खरै जन्मेको रातो–रातो रङको गैँडाको बच्चा हाम्रो हात्तीतिर आउने अनि माउ गैँडाले भने हाम्रो हात्तीलाई हान्न आउने गरेकाले हामी डराएर गाडी ब्याक गरेजस्तै गरेर चढेको हात्ती ब्याक गरी भगाएर हामी सुरक्षित भयौँ भन्ने थप घटना सुनाउनुभयो डा. कृष्ण आचार्यले । एक यस्तै घट्नामा यो पंक्तिकारले पनि भोगेका छन् । हात्तीले पहिला गैँडालाई हान्न गयो, त्यसको प्रतिकारस्वरूप गैँडाले हान्न आउँदा हात्ती झाडितिर भाग्ने क्रममा आपूm चढेको हात्ती छाडेर रूखको हाँगो समातेर तुन्द्रुंग झुन्डिन पुगँे । यदि रूखको हाँगो नसमातेको भए यो पंक्तिकारलाई काँडा झाडीले कोतरी घाइते गराउने सम्भावना रहन्थ्यो ।

सन २०१५ को गैँडा गणनामा कसरादेखि पश्चिम दक्षिण तमोरतालको पश्चिममा गणना टोलीको अगाडि–अगाडि काठेभालु देखापरेको थियो, तर तमोरतालको निकासको पुछारतिर पुग्दा अकस्मात हुर्केका दुई बच्चा काठेभालु र तिनको माउले समेत एक्कासि हात्तीलाई सुँडैछेउ दगुर्दै आई हमला गर्ने प्रयास गर्दा हात्ती डराएर करायो, भाग्न जोड ग¥यो । माहुतले हात्ती भाग्नबाट नियन्त्रण गर्दा जीउ हल्लिएर गणक झन्डैभन्डै हात्तीबाट खसे । काँडाले कोतर्नु, झुसीले किरा बिझ्नु, तिर्खा लाग्नु, ढाड दुख्नु आदि कुरा त गैँडा गणनामा सामान्य नै मानिन्छ ।

पहिला–पहिला हात्तीसारमा जंगली हात्तीका बच्चालाई समातेर तालिम दिई कज्याउने परम्परा नै थियो । त्यसैले कामको मूल्यांकनका आधारमा राजामहाराजहरूबाट बक्सिस, पुरस्कार, जागिरको अवकाशपश्चात् पनि आजीवन जागिरको व्यवस्था गरिदिने प्रचलन थियो । तर, हाल यस्तो खालको हौसला दिई काममा लगाउने परम्पराको अन्त्य नै भएकाले जंगली हात्तीको तालिमको त परै जाओस् घरपालुवा हात्ती पनि अप्ठ्यारो अवस्थामा नियन्त्रण गर्न नसकेर हात्तीसारका माहुतले अरूको ज्यान बचाउनु त परै जाओस् आफँैले पनि ज्यान गुमाउने गरेका छन् त कतिले अंगभंग भई अपांग जीवन व्यतित गरिरहेका छन् । हालको अवस्थामा गणक टोलीहरूले आफैँ सतर्क भएर जोगिनुपर्ने अवस्था रहन्छ ।

प्रत्येक दिन बिहान गैँडा गणना गर्न हात्ती चढेर हिँड्दा वनदेवी मातालाई नमन गरेर हिँड्ने परम्परा रहेको छ । यो एउटा विश्वास हो र विश्वास गर्नु पनि पर्छ । तर, गैँडा गणना गर्दा गणकहरूले सावधानी अपनाउनुपर्ने केही मुख्य–मुख्य बुँदा तल प्रस्तुत गरिन्छ ।

-  गणना गर्ने क्रममा जंगली हात्ती भेटिने गर्छ जसले गर्दा त्यस दिनको गणना प्रभावित पार्छ । छनुवा लगाई एक–दुईवटा गणनाका पोथीहात्तीनजिकै छाडिदिए जंगली भालेहात्ती तिनै पोथीसँग भुल्न सक्ने सम्भावना रहन्छ ।

-  गैँडा गणना गर्ने कतिपय ब्लकमा दलदल, काउसो, सिस्नो आदि छपक्कै हुने हुँदा गणनालाई प्रभाव नपर्ने गरी हात्तीलाई तर्काएर गणना गर्नुपर्छ । यदि गैँडाको घनत्व त्यस ब्लकमा कम छ भने गैँडाको दिशा र पाइला हेरेर पनि गैँडाको संख्या अनुमान लगाउन सकिन्छ र क्याम्पमा फर्केपछि यस विषयमा विस्तृत छलफल गरी गैँडाको संख्या निर्धारण गर्नुपर्छ ।

- चिलहरूले जंगली मौरी (खागो)को चाका खान बिच्क्याएकोरहेछ र गणना टोली त्यहीँनजिक पुगेको अवस्थामा मौरीको रिस हात्तीमा सवार र हात्तीमाथि मौरी खनिँदा बिचल्लीको अवस्था पर्न आउँछ र हात्ती भाग्दा गणकहरू खस्ने खतरा हुन्छ भने अर्कोतर्फ मौरीको चिलाइको पनि सामना गर्नुपर्ने हुन्छ ।

-  कतिपय अवस्थामा गैँडाले हात्तीलाई हान्न आउँदा हात्तीले गैँडाको मुकाबिला गर्नुको सट्टा आफैँ भाग्ने गर्छन् । हात्ती भाग्दा झाडीतिर भागेको अवस्थामा काँडा, झाडी, बुट्यानले कोतर्ने गर्दा घाइते हुने अवस्था रहन्छ । यस्तोमा सम्भव छ भने रूखको हाँगा अँठ्याएर रूख चढ्ने ।

-  घाम चर्कने भएकाले दिउँसो १२ बजेपश्चात् गणना कार्य स्थगित गर्न उचित हुन्छ ।

- घटनाको दिन हर्कमान लामाले रातो बाउले टी–सर्ट लगाउनुभएको थियो । रातो वस्तु जनावरहरूले मन पराउँदैनन् त्यसैले त्यस्ता कपडा लगाउनुहुँदैन ।

गैँडा हुनु हाम्रो देशकोे गौरव हो र गैँडा गणना गर्नु आफैँमा एक सुन्दर कार्य हो । तर, यो कार्य सफल पार्नलाई सबैको अग्रणी भूमिका अपरिहार्य रहेको महसुस गरी प्रत्यक्ष वा अप्रत्यक्ष सबैको आ–आप्mनो तहतप्काबाट सहयोग भएमा मात्र सम्भव हुन्छ । त्यसैले विगतका अनुभव सँगाल्दा निकुञ्जले गैंडा गणना गर्नुपूर्व मध्यवर्ती समुदायिक वन, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, होटेल व्यवसायी, पत्रकार, स्थानीय प्रशासन, चोरी सिकार नियन्त्रण युवा सञ्जालबीच समन्वय र छलफल गरी गैँडा गणनाको पूर्वतयारी गरी गणना कार्यलाई सहज बनाएको अवस्था थियो । गणनामा साझेदारी संस्था त खम्बा बनेर हिँडेका थिए जसको आर्थिक सहयोगले फिल्डमा कुनै पनि समस्याको महसुस गर्नुपरेन ।

भविष्यमा गरिने गैँडा गणना सुरक्षितसाथ सम्पन्न हुन सकोस्, हाम्रो यही शुभकामना छ ।
                       
 
(लेखकः वेदबहादुर खड्का, पूर्वसंरक्षण अधिकृत चितवन राष्ट्रिय निकुञ्ज)