मुद्दाको सुनुवाइ नै नगरी चार दशकसम्म जेलमा राख्दा दुर्गाप्रसाद तिम्सिनालाई परेको मानसिक, शारीरिक असर र समग्र जीवनको क्षतिपूर्ति माग–दाबी गरी भारतको सर्वोच्च अदालतमा मुद्दामा जान सकिने राय वकिलहरूले दिएका छन्, नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्
......
कसुर प्रमाणित नभईकन ४१ वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाले आज (शनिबार) खुला आकाश देख्दै छन् । पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त हुँदै छन् ।
दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमतीको हत्या गरेको भन्दै जाहेरी दिएका थिए । जेल पर्दा २० वर्षका दुर्गाप्रसाद अहिले ६१ वर्षका भएका छन् ।
३९ वर्षसम्म उनीविरुद्धको मुद्दामा सुनुवाइ नै भएन, कसुर प्रमाणित नभईकनै दुर्गाप्रसादले जीवनका महत्वपूर्ण समय भारतीय जेलमा बिताउनुप¥यो । सुरुमा दार्जिलिङ, त्यसपछि अलिपुर हुँदै पछिल्लो १४ वर्षदेखि उनलाई कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ राखिएको थियो । कारागारमा उनलाई दीपक जैसीका नामले राखिएको छ । उनलाई घरमा बोलाउने नाम दीपक थियो ।
मरे–बाँचेको पत्तो नभएका दुर्गाप्रसाद कोलकातास्थित कारागारमा रहेको जानकारी परिवारले केही महिनाअघि मात्रै पाएको थियो । गत १० फागुनमा भाइ (काकाको छोरा) प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारमै गएर भेटेका थिए । उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी. राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार दुर्गाप्रसादलाई छाड्ने आदेश दिएका थिए । तर, केही कागजी प्रक्रिया बाँकी थिए ।
शुक्रबार भाइ प्रकाशचन्द्रले अदालतको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ‘आज (शुक्रबार) नै छुट्ने भन्ने थियो । तर, अदालतमा कागज मिलाउँदा समय लाग्यो,’ दाइलाई लिन कोलकातामै रहेका प्रकाशचन्द्रले नयाँ पत्रिकासँग भने, ‘मैले सम्झौता पेपरमा हस्ताक्षर गरेको छु ।’
दाइलाई छुटाएर घर लैजान प्रकाशचन्द्र निकै उत्साहसहित कोलकाता आएका थिए । तर, अदालतको आदेशले उनलाई केही निराश बनाएको छ । किनभने उच्च अदालतले दुर्गाप्रसादको दिमागी हालत ठीक नभएकाले छाडेको बताएको छ । उनको मुद्दा किनारा लागेको छैन । कोलकातास्थित महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा उनको अवस्थाबारे जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।
दिमागी हालत ठीक नभएसम्म दुर्गाप्रसादले घरमा बस्ने सुविधा पाउनेछन् । त्यतिवेलासम्म उनको कुनै मुद्दा–प्रक्रिया अघि नबढ्ने दुर्गाप्रसादको तर्फबाट मुद्दा लडिरहेका वकिल हीरक सिन्हाले बताए । ‘उनको दिमाग नौ वर्षको बालकको जस्तो छ । आफ्नो, बुबा–आमाको र आफूले पढेको स्कुलको नाम मात्र भन्न सक्छन्,’ शुक्रबार उच्च अदालत परिसरमा सिन्हाले नयाँ पत्रिकासँग भने, ‘यहाँ (कोलकातामा) रहेको महावाणिज्य दूतावासमार्फत ६–६ महिनामा दीपक (दुर्गाप्रसाद)को अवस्था जानकारी गराउनुपर्छ । उनको दिमागी अवस्थाबारे डाक्टरको रिपोर्ट आएपछि मात्र मुद्दा अघि बढ्छ ।’
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार मुद्दाको सुनुवाइ नै नगरी चार दशकसम्म जेलमा राख्दा उनलाई परेको मानसिक, शारीरिक असर र समग्र जीवनको क्षतिपूर्ति माग–दाबी गरी भारतको सर्वोच्च अदालतमा मुद्दामा जान सकिने राय वकिलहरूले दिएका छन् ।
यसरी पत्ता लागे दुर्गाप्रसाद, निःशुल्क बहस गरे वकिलले
केही समय दुर्गाप्रसादसँगै जेलमा बसेका राधेश्याम दासले उनको कुरा बाहिर ल्याएका हुन् । कोलकाताका लागि नेपालका महावाणिज्यदुत ईश्वरराज पौडेलका अनुसार उनी राजनीतिक बन्दी हुन् ।
जेलबाट छुटेपछि केही महिनाअघि दासले वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादका बारेमा बताएका थिए । क्लबले अधिवक्ता हीरक सिन्हालाई जानकारी गरायो ।
अधिवक्ता सिन्हाले सन् २०२० को नोभेम्बरमा जेलमै पुगेर दुर्गाप्रसादलाई भेटे । ‘एउटा व्यक्ति ४१ वर्षदेखि जेलमा छ, उसको सुनुवाइ भएको छैन भनेर राधेश्यामले भनेपछि म जेलमा पुगेँ । त्यतिखेर उनी शारीरिक रूपमा ठीक थिए । मानसिक रूपमा बिरामी देखिन्थे,’ सिन्हाले भने, ‘मैले अलिअलि नेपाली जानेको थिएँ । नेपालीमा दाजु राम्रो छ भनेर सोधेँ । सकारात्मक भएर उहाँले ठीक छु भने । घर कहाँ हो भन्दा इलाम चियाबगान भन्ने ठाउँमा भने । बुबाआमाको नाम र स्कुलको नाम डायरीमा लेखे ।’
त्यसपछि सिन्हाले दुर्गाप्रसादको मुद्दा आफैँ हेर्न थाले । उनीहरूकै पहलमा नेपालस्थित आफन्तको खोजी गरिएको थियो । हीरकसहित वकिल मालायी भट्टाचार्य, सूर्यज्योति घोष र स्वेकाट बेनर्जीको टिमले निःशुल्क मुद्दालाई हेरिरहेको छ । ‘एउटा व्यक्ति विनासुनुवाइ ४१ वर्ष जेल परेको छ । मानवीयताका नाताले हामीले यो मुद्दा हे¥यौँ,’ अधिवक्ता सिन्हाले भने, ‘उहाँ छुट्दै हुनुहुन्छ । धेरै खुसी छौँ ।’
रेडियो क्लबका मानिसहरूले नेपाली महावाणिज्य दूतावासमा पनि खबर गरेका थिए । ‘त्यहीबीचमा मिडियामा दुर्गाप्रसादबारे समाचार पनि आयो । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो राख्नुभयो । त्यसपछि यस विषयलाई हेर्न हामीले दूतावासका कर्मचारी सतिश थापालाई पूर्ण रूपमा यही काममा लगायौँ । यो विषय बाहिर आएको तीन–चार महिनामा हामीले उनलाई जेलबाट निकाल्न सफल भएका छौँ,’ महावाणिज्यदूत पौडेलले भने ।
यसरी परेका थिए जेल
आफ्नी पत्नी जनु गुरुङको हत्या गरेको भन्दै दार्जिलिङका नैन घलेले सन् १९८० मा दुर्गाप्रसादविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दुर्गाप्रसादलाई पक्राउ गरेको थियो ।
‘मेरो श्रीमती जंगलमा दाउरा खोज्न गएको थियो । गाउँलेले भने– तेरो स्वास्नीलाई जंगलमा कुनै मानिसले हत्या गरिराखेको छ । यो सुन्नसाथ म घटनास्थलमा गएँ । श्रीमतीलाई चिनेँ । उसको शरीर नांगै थियो, टाउको र देब्रे हात छिनिएको थियो,’ जाहेरीमा भनिएको छ, ‘यो विषयमा सोधपुछ गर्दा गाउँमा इलाम बस्ने नेपाली केटो आएको थियो । त्यसको उमेर करिब २०–२२ को हुनुपर्छ । कालो वर्णको, कोठे पाइन्ट र खैरो रंगको पुरानो ज्याकेट लगाएको, बिहान करिब ८–९ बजेतिर गाउँमा आएको रहेछ । त्यो केटोले आफ्नो नाम दीपक जैसी भनेको थियो ।’
तर, प्रहरीमा जाहेरी दिएपछि नैन घले कुनै अड्डा–अदालतमा नगएको दाबी प्रकाशचन्द्रको छ । जाहेरी नै फर्जी रहेको उनको भनाइ छ । ‘जाहेरीपछि नैन घले कतै फलोअप गर्न गएको देखिँदैन । त्यसकारण पनि यो आरोप फर्जी हो,’ उनले भने ।
भाइ प्रकाशचन्द्र तिम्सिना भन्छन्, ‘दाइ दोषी छन् भन्ने प्रमाण नै छैन’
४१ वर्षअगाडि दाइ हराएपछि पनि सोधखोज गरेका थियौँ । त्यसवेला अहिलेजस्तो सञ्चारको पहुँच थिएन, त्यसैले पत्ता लगाउन सकेनौँ । दाइ हराएको वेला दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको थियो । त्यो आन्दोलनमा परेर धेरै नेपाली मारिए भन्ने सुनिन्थ्यो । लामो समयसम्म दाइ नफर्किएकाले कतै त्यही आन्दोलनमा पर्नुभयो कि भन्ने लाग्यो । हामीले माया मारिसकेका थियौँ । तर, तीन÷चार महिनाअघि विभिन्न माध्यमबाट दाइ भारतको जेलमा भएको जानकारी प्राप्त भयो । कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलले पनि फोन गरेर खबर गर्नुभयो । मलाई कोलकातासम्म एक्लै आउन सम्भव थिएन । विश्व सेवा विस्तार संस्थासँग सहयोग मागेँ । त्यहाँबाट प्रतिनिधि इन्द्र बस्नेत आउनुभयो । उहाँसँगै आएर १० फागुनमा पहिलोपटक दाइलाई भेटेँ । त्यसअघि अधिवक्ता हीरक सिन्हाले दाइको फोटो देखाउनुभएको थियो । जेलमा गएर पनि ल्यापटपमा दाइको प्रोफाइल हेरेँ । पहिलो भेटमा आफ्नै दाइ हुन्–होइनन् भन्ने स्पष्ट हुन मैले केही प्रश्न गरेँ । उहाँले सबै उत्तर मिलाएपछि मेरै दाइ हुन् भन्ने निश्चित भयो ।
पहिलोपटक म यहाँ आउनुअगाडि नै नाता प्रमाणित हुने कागजात र जिल्ला प्रशासन कार्यालय इलामको पत्र पठाइसकेको थिएँ । त्यसैको आधारमा ११ फागुनमा यहाँको उच्च अदालतमा निवेदन हालेको थिएँ । त्यसपछि अदालतले छोड्न आदेश दियो । आदेशमा मेरो नामै उल्लेख गरेर बुझाउनु भनेकाले यसपटक लिनका लागि म आफैँ आएको हुँ । जुन उत्साहका साथ यहाँ आएको थिएँ, अहिले त्यसमा केही कमी आएको छ । दाइमाथि लगाइएको अभियोगको मुद्दा किनारा लागिसकेको रहेनछ । उहाँ दोषी हो भन्ने बलियो प्रमाण नभए पनि उहाँलाई निर्दोष भनेर छाडेको होइन । दिमागी अवस्था ठीक नभएको भनेर मात्र छाडेको छ । यसले गर्दा धेरै खुसी हुने अवस्था छैन । यहाँबाट लिएर गइसकेपछि पनि ६–६ महिनामा दाइको मानसिक अवस्था अदालतलाई जानकारी गराउनुपर्ने आदेशमा उल्लेख छ ।
क्षतिपूर्तिका लागि पहल गर्छौँ : महावाणिज्यदूत पौडेल
कोलकाताका लागि नेपालका महावाणिज्यदूत ईश्वरराज पौडेलले दुर्गाप्रसाद तिम्सिना अदालतबाट छुटेपछि उनलाई दूतावासले नै टिकट काटेर नेपाल पठाउने जानकारी दिए । ‘तिम्सिनालाई छोड्ने सम्झौता शुक्रबार नै भइसक्यो, शनिबार छोड्दै छ,’ महावाणिज्यदूत पौडेलले भने, ‘उहाँलाई बस वा रेलको टिकट काटेर पठाउँछौँ, साथमा दूतावासको एक अधिकृत पनि नेपालसम्मै आउनेछन् ।’
तिम्सिनाका विषयमा जानकारी पाएपछि उनलाई छुटाउन अदालती प्रक्रियामा एकजना अधिकृतलाई नै खटाएको उनले बताए । ‘यसअघि परिवारका सदस्य कोलकाता आउँदाको खर्च, अदालतमा तिर्नुपर्ने दस्तुरलगायत पनि दूतावासले नै बेहोरेको छ,’ उनले भने ।
महावाणिज्य दूतावासले अब तिम्सिनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने पनि पौडेलले बताए । ‘उनलाई अदालतमा ट्रायलविना नै ४१ वर्षसम्म राखेको विषयलाई अदालतले त्रुटिका रूपमा व्याख्या गरेको छ, त्यसो हुँदा उनले क्षतिपूर्ति पाउने सम्भावना प्रबल छ, हामी त्यसमा पहल गर्छौँ,’ पौडेलले भने ।
तर, क्षतिपूर्तिका लागि भारतको नयाँदिल्लीस्थित सर्वोच्च अदालतमा मुद्दा लिएर जानुपर्ने जानकारी उनले दिए । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले यसअघि नै तिम्सिनाका विषयमा चासो राखेको जानकारी पनि पौडेलले दिए । ‘सर्वोच्चमा मुद्दा प्रक्रियामा जाँदा दिल्लीस्थित दूतावासको माध्यमबाट जानुपर्ने हुन्छ, त्यसका लागि दूतावाससँग समन्वय गर्नेछौँ,’ उनले भने ।
यस विषयमा अहिले तिम्सिनाको मुद्दा लडिरहेका कोलकातास्थित वकिलहरू र नेपालका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलसँग पनि आफूले छलफल गरिरहेको पौडेलले बताए । ‘मुद्दाको सुनुवाइ नै नगरी ४१ वर्षसम्म जेलमा राख्दा उनलाई परेको मानसिक, शारीरिक र जीवनको मूल्यको माग–दाबी गरी क्षतिपूर्तिको मुद्दामा जान सकिने राय वकिलहरूले दिएका छन्, उनले क्षतिपूर्ति पाउँछन् भन्नेमा म ढुक्क छु,’ पौडेलले भने ।
'हालसम्म पनि दुर्गाप्रसादलाई लागेको मुद्दा के हो भन्ने जानकारी छैन । मुद्दाको सुनुवाइ पनि अहिलेसम्म भएको छैन । मुद्दाको सुनुवाइ नै भएर उनी दोषी नै देखिएको भए पनि सजाय भोगेर उहिल्यै रिहा हुने वेला भइसक्यो । उनीविरुद्ध त कुनै आरोप नै पुष्टि भएको छैन । त्यसो हुँदा उनलाई क्षतिपूर्ति दिलाउने काममा लाग्नै पर्नेछ । अधिवक्ताहरूले पनि मद्दत गर्ने प्रतिबद्धता गरेका छन् । अब दिल्लीस्थित दूतावासलाई यस विषयलाई अघि बढाउन पहल गर्नेछु,' पाैडेलले भने ।
प्रकाशचन्द्र तिम्सिनाले उच्च अदालतमा गरेको रिहा गर्ने सम्झौतामा के छ ?
म प्रकाशचन्द्र शर्मा तिम्सिना दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) को नजिकको नातेदार हुँ । म यहाँ के प्रतिबद्धता गर्छु भने यस उच्च अदालतले आदेश दिएको खण्डमा म दीपक जैसीलाई यस उच्च अदालत वा दार्जिलिङ सेसन कोर्टमा उपस्थित गराउनेछु । म दीपक जैसीको जिम्मा लिन्छु र उनको अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई ६–६ महिनामा जानकारी गराइरहनेछु । यस अदालतले १७ मार्च २०२१ मा गरेको फैसला र १८ मा गरेको संशोधनलाई समेत पालना गर्नेछु ।
अदालतको फैसलामा के छ ?
अदालतको फैसला भन्छ– ३८ वर्षदेखि मानसिक रोगी थिए तिम्सिना । अदालतको फैसलामा १७ मार्च २०२१ मा गरेको आदेशमा दीपक जैसी दमदम सुधारगृहसहित जेलमा ४१ वर्ष बसिसकेको उल्लेख छ । कोलकाता विश्वविद्यालयको मनोविज्ञान विभागले ११ जनवरी २०२१ मा दीपक जैसीको अनुसन्धान गरेर दिएको प्रतिवेदनअनुसार उनको आइक्युको स्तरअनुसार उनको मानसिक उमेर नौ वर्ष नौ महिनाको बालकबराबर छ । अदालतमा कागजी सामग्रीअनुसार जैसीमाथि भारतको आइपिसीका सेक्सन ३०२ अनुसार दण्ड हुने मुद्दा छ । (यो सेक्सनमा केही व्यक्तिले कसैको हत्या ग¥यो भने उसलाई मृत्युदण्ड वा आजीवन कारावासका साथ आर्थिक दण्डसमेत दिन सकिनेछ भन्ने उल्लेख छ ।) कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जैसीका नजिकका नातेदार पत्ता लगाएको र उनकी आमा ९० वर्षकी रहेको पनि फैसलामा उल्लेख छ । त्यस्तै, परिवारका सदस्यले जैसीलाई छुटाउन आवश्यक पहल गरिदिन महावाणिज्य दूतावासलाई अनुरोध गरेको जानकारी पनि दूतावासले अदालतमा पेस गरेको फैसलामा उल्लेख छ । प्रकाशचन्द्र शर्मा तिम्सिनाले अदालतमा आफू दीपक जैसीको नजिकको आफन्त रहेको शपथपत्र पेस गरेको पनि फैसलामा उल्लेख छ । सन् १९८२ को जनवरीमा जैसीको मानसिक स्वास्थ्य जाँच गर्दा उनी इजलासमा बस्न नसक्ने गरी मानसिक समस्यामा रहेको रेकर्ड भेटिएको पनि अदालतले उल्लेख गरेको छ । अहिलेसम्म पनि उनको मानसिक अवस्थामा कुनै सुधार नभएको अदालतले उल्लेख गरेको छ । दीपक जैसीलाई जेलमै राखेर न्यायको कुनै पनि उपयोगी उद्देश्य पूरा नहुने पनि अदालतले उल्लेख गरेको छ । ३८ वर्षदेखि सुनुवाइविना नै जेलमा रहेको व्यक्तिबारे हिन्दुस्तान टाइम्सले गरेको रिपोर्टिङबारे भारतको सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा पनि जैसीलाई रिहा गर्नुपर्ने आदेश दिएको छ । त्यसैले नजिकका नातेदार प्रकाशचन्द्र तिम्सिनाको जिम्मेवारीमा रहने गरी दमदम सुधारगृहबाट दीपक जैसीलाई रिहा गर्ने आदेश अदालतले दिएको छ । दीपक जैसीको मानसिक अवस्थाका कारण उनले अदालतको कुनै आदेश पालना गर्ने सम्भावना नरहेकाले प्रकाशचन्द्र तिम्सिनाका माध्यमबाट कार्यान्वयन गर्नुपर्ने पनि अदालतले भनेको छ । अदालतले आदेश दिएको बखतमा प्रकाशले दीपकलाई अदालतमा ल्याउनुपर्ने उल्लेख छ । अदालत र प्रकाशचन्द्र तिम्सिनाबीच हुने सम्झौता नेपाली महावाणिज्य दूतावासका कर्मचारी सतिश थापाले प्रमाणित गर्नुपर्ने र प्रकाशले दूतावासलाई ६–६ महिनामा दीपकबारे जानकारी गराउनुपर्ने पनि अदालतले भनेको छ । दीपक जैसी रिहा भएपछि उनलाई नेपालसम्म पु¥याउने काम कोलाकातास्थित नेपाली दूतावासले गर्नुपर्ने र त्यसमा सबै सरकारी निकायले सहजीकरण गर्नुपर्ने पनि आदेशमा उल्लेख छ ।
......
९१ वर्षीया आमा प्रतीक्षामा
ख्याम भुजेल (इलाम)/नयाँ पत्रिका
घर छाडेर हिँडेको ४१ वर्षपछि काइँलो छोरा दुर्गाप्रसाद (दीपक) फर्किने खबर सुनेपछि ९१ वर्षीया धनकुमारी तिम्सिनाको खुसीको सीमा छैन । यत्रा वर्ष नभेटेको छोरो कस्तो भयो होला भनेर कसैले सोध्यो भने उनी भन्छिन्, ‘अब त अलि बुढो भयो होला ।’
धनमायाले जेल के हो भन्ने पनि राम्रोसँग बुझेकी छैनन् । त्यसैले यत्तिका वर्षपछि घर फर्किन लागेको छोराले कमाइ पनि ल्याउँछ भन्ने आस गरेकी छिन् । ‘जेलमै बसे पनि कमाउन त कमायो होला नि’, शुक्रबार माई नगरपालिका–१० लुम्बकस्थित घरमा उनले नयाँ पत्रिकासँग भनिन् । ४१ वर्षपछि घर फर्कन लागेको छोरा बुढेसकालको साहारा होला भन्ने आशाले धनमायामा आशाको सञ्चार भएको छ ।
बुढेशकालसंगै धानमायाको श्रवण शक्ति पनि कमजोर भएको छ । छोराको अवस्थाका बारेमा पनि उनलाई धेरै थाहा छैन । ‘हजुरआमालाई ठूलोबुबा जेलमा बसेपनि राम्ररी गरिखादैछ भन्ने छ’, धनमायाका कान्छा छोरापट्टीका नाति गोपालले भने, ‘जेलमा यस्तो हुँदैन भन्यो भने यत्रो बर्ष जेलमा किन गयो त भन्नु हुन्छ ।’
वर्षौदेखि परिवारको सम्पर्कमा नरहेका दुर्गाप्रसाद घर आउने भएपछि तिम्सिना परिवारमै खुशी छाएको छ । ‘हामीले त यत्तिका बर्ष नआउँदा मायानै मारिसकेका थियौ’, उनका कान्छा भाइ धर्मानन्दले भने, ‘सानैमा हिडेको दाजु आउँदा को खुशी हुँदैन होला र ।’ केही समय अघि कोलकाताको जेलमा पुगेर ठूलो बुबालाई भेटेको गोपालले बताए । ‘हामीले भेटेर आजै घर जानु हुन्छ भन्दा आजै जाजे भन्नुहुन्थ्यो’, उनले भने, ‘ठूलो बुबालाई त्यो अवस्थामा देख्दा साह्रै नराम्रो लागेको थियो, यत्तिका बर्षपछि घर आउँन पाउँदै हुनुुहुन्छ, हामी त साह्रै खुशी छौ ।’
तिम्सिना परिवारको बसाई इलामको एकतप्पामा हुँदा दुर्गाप्रसाद घरबाट हिडेका थिए । त्यसको केही वर्षपछि उनको परिवार लुम्बकमाई बसाई सरेको थियो । लुम्बकमा उनीहरूका आफन्त थिए । लुम्बकमै बस्ने दुर्गाप्रसादकी भाउजुु पुण्यमाता तिम्सिनालाई उनको अनुहार राम्ररी याद छैन् । ‘निकै सानोमा दशैमा टिका थाप्न आउँदा दुई÷तीन चोटी देखेकी हँु । तर, मलाई अहिले अनुहार याद छैन’, पुण्यमाताले भनिन्, ‘माया नै मारिसकेको देवर भेटिदा खुशी छौ ।’
दुःखको पहाड झेलेकी धनमाया
धनमायाको कोखबाट पाँच छोरा र तीन छोरी जन्मिए । शुरुमा जन्मिएका दुई छोरा र एक छोरीको बालाखामै मृत्यु भयो । २२ दिनको बीचमा धनमायाले नौ वर्षकी छोरी, पाँच र तीन वर्षका दुई छोरा गुमाइन् । जीउमा थेग्ला आउने, सुन्निने र बिस्तारै छालै उप्किएर उनीहरूको मृत्यु भएको धनमाया सुनाउँछिन् ।
तीन छोराछोरीको मृत्यु भएपछि दुर्गाप्रसादसहित अरु दुई छोरा र दुई छोरी जन्मिए । त्यसमध्ये दुर्गाप्रसादपछिका छोरा केदारनाथको गत २८ मंसिरमा मृत्यु भयो । उनी मानसिक रोगी थिए । कान्छा छोरा धर्मानन्दलाई पनि मुटु र मानसिक समस्या देखिएको छ । बिराट नर्सिङ होममा उपचार गराएपछि उनी अहिले नियमित औषधि खाइरहेका छन् ।
दुई छोरीमध्ये कान्छी पविमाया तिम्सिना पनि मानसिक रूपमा बिछिप्त छिन् । परिवारले पकाएर दिएको खाना खाँदिनन् । खेतबारी या जंगल छेउछाउमा एक्लै पकाउँछिन्/खान्छिन् । दिन उतै काट्छिन् । अबेर घर आउँछिन्, सबेरै घरबाट निस्किन्छिन् । पहिले गाउँमा नै सक्रिय महिलामा उनको नाम गनिथ्यो । स्थानीय स्तरका संघ संस्थामा पनि क्रियाशील थिइन् । ०५०/५२ देखि उनको मानसिक अवस्था बिग्रिएको स्थानीय कमल सञ्जेलले बताए । ठूलो छोरी पवित्रा गजुरेलको इलामको मंगलबारेमा विवाह भएको छ, घरजम राम्रै छ ।
धनमायाको दायाँ हातको पाखुरा मुनिको भाग छैन । एकतप्पामा बसाई हुँदै गाइले हानेर उनको हात भाच्चिएको हो । भाँचिएको हात उपचार नपाउँदा झरेर गएको धनमायाले बताइन । उनले अधबैसे उमेरमै पति गुुमाइन् । कान्छो छोरा गर्भमै हुँदा पतिको मृत्यु भयो । केही सयम एकतप्पामै जीवन गुजारा गरिन् । तर, दुर्गाप्रसादले घर छाडेर हिडेपछि समस्या थपियो । त्यसपछि एकतप्पाको जग्गा बेचेर लुम्बकमा बसाई सरिन ।
यस्ता पीडा झेल्दै आएकी धानमायालाई ४१ वर्षअघि हराएको छोरा फर्कने खवरले उत्साही बनाएको छ । तर, छोरो घर फर्किएपछि दुःख पाउला कि भन्ने चिन्ता पनि लाग्ने गरेको उनी सुनाउँछिन् ।