मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ६ शुक्रबार ०२:४८:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्यान्सर उपचार गर्न वीरले ४७ करोडमा ल्याएको मेसिन प्रयोग नगरी तीन वर्ष घामपानीमा राख्दा बिग्रियो

Read Time : > 4 मिनेट
२०७७ चैत ६ शुक्रबार ०२:४८:००

- २३ वर्ष पुरानो ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएर पाँच वर्षदेखि रेडियोथेरापी अवरुद्ध हुँदा वीर अस्पतालमा आउने विपन्न बिरामी मर्कामा छन् 

- ०७४ मा अत्याधुनिक टोमोथेरापी ल्याए पनि जडान नै नगरी सशस्त्र प्रहरीको बलम्बु अस्पतालको चौरमा राख्दा कन्टेनर चुहिएर मेसिन बिग्रिएको छ

......

विपन्न जनताको प्राथमिकतामा पर्ने वीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी पाँच वर्षदेखि ठप्प छ, तर ४७ करोड खर्च गरेर ल्याइएको टोमोथेरापी मेसिन तीन वर्षसम्म जडान नगरी बिग्रिएको छ । 

वीरमा २३ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएपछि ०७२ देखि  रेडियोथेरापी पूर्ण रूपमा अवरुद्ध भएको हो । विपन्न बिरामीलाई अत्याधुनिक उपकरणबाट गुणस्तरीय सेवा दिने भनेर ०७४ मा ४७ करोड खर्च गरेर टोमोथेरापी मेसिन खरिद गरिएको थियो । 
तर, मेसिन वीर अस्पतालमा ल्याएर जडान गर्नुको सट्टा सशस्त्र प्रहरी अस्पताल बलम्बुको चौरमा राखिएको थियो । तीन वर्षसम्म चौरमै रहेको मेसिन घामपानीबीच खिया लागेको बिग्रिएको छ ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुको चौरमा राखिएको कन्टेनरभित्र टोमोथेरापी मेसिन छ । कन्टेनर चुहिँदा मेसिन बिग्रिएको प्रतिवेदन प्राविधिकले वीर अस्पताललाई दिएका छन् । मेसिन बन्छ कि बन्दैन ? निश्चित छैन । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

मेसिन राखेको कन्टेनर प्वाल परेर आकाशको पानी र शित चुहिएको अस्पताल स्रोत बताउँछ । ‘विपन्न जनताको नाममा ४७ करोड खर्च भयो, तर उता मेसिन बिग्रियो, यता जनताको उपचार ठप्प छ,’ वीर अस्पतालका एक कर्मचारी भन्छन्, ‘यो विषयमा न अस्पतालको प्रशासननलाई चासो छ, न जनताबाट निर्वाचित सरकारलाई ।’

अस्पतालका निवर्तमान निर्देशक डा. केदारप्रसाद सेन्चुरी पनि चौरमा थन्किएको ‘टोमोथेरापी’ मेसिनमा समस्या आएको स्विकार्छन् । उनको दुईवर्षे कार्यकाल गत आइतबार मात्रै सकिएको छ । तीन वर्षसम्म अस्पतालले मेसिन चलाउन सार्थक प्रयास गरेन । केही दिनअघि मात्र वीरले मेसिनको अवस्था बुझ्न प्राविधिक टोली पठाएको थियो । टोलीले कन्टेनरभित्र पानी छिरेकाले मेसिनमा खराबी आएकोे प्रतिवेदन दिएको छ । 

‘जर्मन प्राविधिक टिमले बलम्बुमा गएर टोमोथेरापी मेसिनको अवलोकन गरेको छ । तीन वर्षसम्म हिउँद–बर्खामा मेसिन बाहिरै थियो, पानी चुहिएकाले केही खराबी आएको छ,’ डा. सेन्चुरीले नयाँ पत्रिकासँग भने, ‘मेसिनको क्षमतामा समस्या आएकाले मर्मत गरेर मात्रै वीरमा ल्याउने तयारी भएको छ ।’ तर बिग्रिएको मेसिन बन्छ कि बन्दैन भन्ने प्रश्नमा उनले भने, ‘त्यो त अहिले नै भन्न सकिँदैन ।’

वीर अस्पतालले ०७४ सालमा लाइफलाइन ट्रेड इन्टरनेसनल प्रालिसँग मेसिन किनेको थियो । एकुरे मेडिकल अमेरिकाबाट उत्पादन भएको सो मेसिन ४० करोड ३३ लाख ३८ हजार चार सय रुपैयाँमा भ्याटबाहेक खरिद सम्झौता भएको थियो । त्यस्तै, कम्पनीले सार्वजनिक निर्माणका लागि भन्दै थप ६ करोड ६६ लाख ६६ हजार चार सय ३० रुपैयाँ गरी ४७ करोड लिएको महालेखाको प्रतिवेदनमा समेत उल्लेख छ । 

पुरानो कोबाल्ट– ६० मेसिन बिग्रिएदेखि रेडियोथेरापी गर्नुपर्ने क्यान्सरका बिरामी समस्यामा पर्दै आएका छन् । टोमोथेरापी वीरमा तत्काल ल्याउन स्थान अभाव भएकोसमेत बताइएको छ । तीन वर्षदेखि कोबाल्ट राखेको स्थान मर्मत गरे पनि हालसम्म ३० प्रतिशत काम भएको छैन । ‘विकिरण बाहिर नजाओस् भनेर कोठा बनाउने काम तीन वर्षदेखि थालिएको हो,’ अर्का एक कर्मचारीले भने, ‘तर, कामको प्रतिफल अहिलेसम्म देखिएको छैन । जसका कारण करोडौँको मेसिन चौरमा नै बिग्रिन पुगेको हो ।’

नेपालमा बर्सेनि करिब ३० हजार क्यान्सरका नयाँ बिरामी, वीरमा आउने तीन हजार बिरामीले रेडियोथेरापी पाउँदैनन्

वीर अस्पतालका अनुसार प्रत्येक वर्ष क्यान्सरका तीन हजारभन्दा बढी बिरामी अस्पतालमा आउँछन् । उपचार गर्न आउने सबैजसो गरिब तथा विपन्न नागरिक हुन् । रेडियोथेरापी दिनुपर्ने बिरामीलाई अस्पतालले ‘सरी’ भनेर पठाउन गरेको छ । अस्पतालमा केमोथेरापी भने जारी छ । 

सरकारी तथ्यांकअनुसार नेपालमा बर्सेनि २६ देखि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् । हरेक वर्ष १५ देखि २० हजारको मृत्यु हुने गरेको छ । चिकित्सकका अनुसार क्यान्सर संसारकै मृत्युकोे दोस्रो ठूलो कारण हो । पुरुषमा धेरैजसो फोक्सो, प्रोस्टेट, आन्द्रा, पेट, कलेजोको क्यान्सर देखिन्छ भने महिलामा स्तन, आन्द्रा, फोक्सो, पाठेघरको मुख र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिन्छ । 

क्यान्सरको पहिचान तथा उपचारका लागि प्रयोग हुने रेडियोलोजी, न्युक्लियर मेडिसिन, हिस्टोलोजी, मोलिक्युलरजस्ता उच्चस्तरीय उपकरण तथा प्रविधि वीरमा छैनन् । 

पाँच लाख जनसंख्याबराबर एउटा रेडियोथेरापी मेसिन चाहिने विश्वव्यापी मान्यता छ । तर, नेपालमा हाल विभिन्न स्वास्थ्य संस्थामा पाँचवटा लिन्याक र दुई कोवाल्ट गरी जम्मा सात मेसिन छन् । यसरी ४२ लाख जनसंख्याबराबर एक मेसिनको व्यवस्था छ । 

२७ करोडका अन्य उपकरण पनि थन्किए

वीर अस्पतालमा एक दर्जनभन्दा बढी अत्यावश्यक उपकरण बिग्रिएको लामो समय बित्दा पनि व्यवस्थापनले मर्मत गर्न चासो दिएको छैन । जब कि २७ करोडभन्दा बढी मूल्यका यी उपकरण मर्मत गर्न ६५ लाख मात्रै लाग्ने कर्मचारीहरू बताउँछन् । 

उपकरण बिग्रिएका कारण अस्पतालमा अटोक्लेभ मेसिन, एक्सरे मेसिन, मेमोग्राम, स्पेसल एक्सरे, सिटिस्क्यान, सि–आम मेसिन, इन्डोस्कोपी, इन्ट्रा–अप्रेटिभ सिटिस्क्यानलगायतका सेवा पाइँदैन । हजारौँ गरिब बिरामी निजी अस्पताल र क्लिनिकमा उपचार गराउन बाध्य छन् । वीरमा देशैभरबाट अति गरिब तथा विपन्न नागरिक उपचारका लागि आउने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार दैनिक उपचारका लागि आउनेमध्ये ८० प्रतिशत गरिब तथा विपन्न वर्गका छन् । वीरमा दैनिक दुई हजारदेखि २५ सयसम्म बिरामी सेवा लिन आउने गरेका छन् ।

वीरमा कोभिडको समयमा संक्रमितको उपचारका लागि अति महŒवपूर्ण मानिने आठवटा भेन्टिलेटर बिग्रिएका छन् । भूकम्पको समयमा निर्माण गरेको अक्सिजन प्लान्ट बिग्रिएको महिनौँ भइसकेको छ । अस्पतालमा दैनिक ८० देखि ९० वटा सिलिन्डर खपत हुन्छन् । प्लान्ट बनाए दैनिक एक सय ३० सिलिन्डर भरिन्छ, तर मर्मत गर्न छाडेर प्रतिसिलिन्डर १५ सयमा खरिद गरिने गरेको छ । शल्यक्रिया गर्नुपूर्व वा गरिसकेपछि सामान उमाल्न प्रयोग गरिने अटोक्लेभ मेसिन पनि बिग्रिएको छ । यसलाई बनाउन दुई लाख खर्च लाग्छ, तर नयाँ खरिद गर्दा १८ लाख रुपैयाँ पर्छ । भएका बेड थुपारिएको छ, तर ६० वटाभन्दा बढी बेड १० हजार रुपैयाँका दरले खरिद गरिएको कर्मचारी बताउँछन् । छातीको बाहेक सबै एक्सरे गर्ने अटोक्लेभ मेसिन बिग्रिएको एक महिनाभन्दा बढी भइसकेको छ । 

स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन कामै नलाग्ने भएको छ । अस्पतालका उच्च अधिकारीका अनुसार यो उपकरण बनाउन १० लाख खर्च हुन्छ । मर्मत गर्न छाडेर अस्पतालले एक करोड ५० लाखमा नयाँ किन्ने तयारी गरेको छ । सामान्य एक्सरेले देख्न नसक्ने (फिस्टुला हेर्न प्रयोग गरिने) स्पेसल एक्सरे पनि बिग्रिएको छ । नयाँ किन्दा स्पेसल एक्सरेको मूल्य एक करोडभन्दा बढी पर्न जान्छ । जब कि करिब १० लाखमा मेसिन मर्मत गर्न सकिने कर्मचारीहरू बताउँछन् । दुई वर्षदेखि सिटिस्क्यान मेसिन थन्किएर बसेको छ । अस्पतालका विज्ञ चिकित्सकका अनुसार २० लाख खर्च गर्दा यो मेसिन चलाउन सकिन्छ । खरिद गरेर प्रयोगमा समेत राम्रोसँग नल्याएको यो अत्याधुनिक सिटिस्क्यान मेसिनमा अन्य सामान थुपारेर गोदाम बनाइएको छ । यसको मूल्य दुई करोडभन्दा बढी छ । ब्लड बैंकका फ्रिजसमेत बिग्रिएका छन् । सातदेखि आठ हजार रुपैयाँमा बन्ने यी फ्रिज नयाँ किन्दा एक लाख रुपैयाँ पर्छ । 

दुईवटा सि–आम मेसिन पनि थन्क्याइएका छन् । यो मेसिनको सहायताले शरीरको भित्री भाग हेरेर अप्रेसन गर्न प्रयोग गरिन्छ । २० लाख खर्च गरे मेसिन बनाउन सकिन्छ, तर अस्पताल प्रशासनले चासो देखाएको छैन । नयाँ मेसिनको मूल्य भने दुई करोड पर्छ । इन्डोस्कोपी मेसिन बिग्रिएको तीन हप्ताभन्दा बढी भइसकेको छ । इन्ट्रा अप्रेटिभ सिटिस्क्यान मेसिन राष्ट्रिय ट्रमा सेन्टरमा थन्किएर बसेको छ । बिरामी अन्त पठाइन्छ, तर मर्मत गरेर चलाउने सोच नेतृत्वमा देखिएन । यो उपकरण २० करोड मूल्यको हो । ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेल केही उपकरण बिग्रिएको स्वीकार गर्छन् । निकै महŒवपूर्ण मानिएको इन्ट्रा अप्रेटिभ सिटिस्क्यान मेसिन दुई दिनअगाडि मर्मत गरे पनि पुनः बिग्रिएको पौडेलले बताए ।