मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २६ बुधबार ०८:२२:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एसियाका केही देशमा  भ्याक्सिनेसन किन ढिलाइ ?

कोरोना भाइरसविरुद्धको भ्याक्सिनसम्बन्धी सचेतना आफ्ना नागरिकसमक्ष पुर्‍याउन  नसक्दा भ्याक्सिन अभियान ढिलाइ भएको डब्लुएचओको भनाइ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २६ बुधबार ०८:२२:००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्ध एक अर्ब ६० करोडले खोप लगाइसकेका छन् । यसमा बढीजसो अमेरिका र युरोपियन राष्ट्रका बढी छन् । एसियन राष्ट्रमा भने भ्याक्सिनेसन त्यति प्रभावकारी बनेको छैन । 

भारतजस्तो विश्वकै दोस्रो ठूलो जनघनत्व भएको देशमा जनवरीसम्ममा केवल एक करोड ४० लाखको पहुँचमा भ्याक्सिन पुगेको छ । एसियाका अन्य देशहरूमा भ्याक्सिनेसन प्रारम्भिक चरणमै छ । ती राष्ट्रहरूले भ्याक्सिनसम्बन्धी सचेतना आफ्ना जनतासमक्ष पु¥याउन नसक्दा भ्याक्सिन अभियान ढिलाइ भएको डब्लुएचओले जनाएको छ । 

डर र गलत जानकारी

फिलिपिन्सका नागरिक एसियाका अन्य देशका नागरिकभन्दा शिक्षित रहेको तथ्यांकहरूमा उल्लेख छ, तर उनीहरूमा पनि भ्याक्सिनप्रति नकारात्मक सोच छ । उनीहरू भ्याक्सिन लगाउन डर मानिरहेका छन् । सन् २०१६ मा फिलिपिन्समा डेङ्गु ज्वरो फैलिएको थियो । यो ज्वरो नियन्त्रण गर्न सरकारले डेङ्भासिया खोप उपलब्ध गराएको थियो ।

खोप उत्पादन भएको दुई वर्षपछि नै सरकारले खोपलाई प्रतिबन्ध लगायो । खोप लगाएका कैयौँ बालबालिकाको निधन भएपछि सरकारले प्रतिबन्ध गर्नुपरेको जनाएको थियो । यस घटनापछि फिलिपिन्सका नागरिकमा भ्याक्सिनप्रतिको विश्वास गुमेको स्वास्थ्य अधिकारीहरू बताउँछन् । महामारीविरुद्ध लड्ने भ्याक्सिनप्रति नै सरकार स्वयंले शंका उत्पन्न गराएपछि नागरिकहरू त्रसित भएको उनीहरूको भनाइ छ । 

फिलिपिन्समा हालै सम्पन्न एक सर्वेक्षणअनुसार १९ मध्ये एकजनाले मात्रै कोरोनाविरुद्धको खोप लगाउन इच्छा देखाएका छन् । यस्तो हुनुको कारण भ्याक्सिनको गलत प्रचारप्रसार नै हो । २८ फेब्रुअरीमा चीनद्वारा उत्पादित सिनोभ्याक भ्याक्सिन फिलिपिन्समा पुगेको थियो । यसको एक सातापछि मात्र सरकारले आपत्कालीन अवस्थामा प्रयोग गर्ने गरी भ्याक्सिनलाई अनुमति दियो ।

यसअघि १५ फेब्रुअरीमा फाइजर र एस्ट्राजेनेका भ्याक्सिन फिलिपिन्स आइपुग्ने विश्वास थियो । यी भ्याक्सिन नआइपुग्दै फिलिपिन्स सरकारले आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो । एस्ट्राजेनेका भ्याक्सिन ४ मार्चमा मात्रै मनिला पुगेको थियो ।

दक्षिण एसियाली देश पाकिस्तानमा पनि कोरोना नियन्त्रण अभियान प्रभावकारी बनेको छैन । पाकिस्तानीहरू पनि भ्याक्सिन लगाउन डर मानिरहेका छन् । यहाँ केही समयअघि सामाजिक सञ्जालमा कोरोनाविरुद्धको खोप लगाउँदा भविष्यमा विभिन्न रोग तथा समस्या आउने नकारात्मक सूचना प्रवाह भएको थियो । 

यसै गलत सूचनालाई आधार मानेर ग्रामीण क्षेत्र मात्र नभई सहरी क्षेत्रका नागरिकसमेत भ्याक्सिन लिन मानिरहेका छैनन् । फिलिपिन्समा जस्तै यसअघि पोलियो खोप लिएका मानिसको पाकिस्तानमा निधन भएको थियो । सन् २०२० मा पोलियो खोप लगाएको एक स्कुले बालक स्कुलको कक्षाबाट रुँदै बाहिरिएका थिए । ती बालक रुँदै–कराउँदै आइरहेको भिडियो एक शिक्षकले सार्वजनिक गरेका थिए ।

ती शिक्षकले पोलियो खोपकै कारण विद्यार्थी बेहोस भई अस्पताल भर्ना गर्नुपरेको गलत सूचना भिडियोमार्फत दिएका थिए । भिडियो हेरेपछि उग्र बनेका स्थानीयले खोप वितरण केन्द्र नै जलाएका थिए । यस घटनाका कारण पाकिस्तानमा पछिल्लो समय पोलियो खोपप्रति धारणा राम्रो छैन । पाकिस्तानमा अहिले पोलियो खोप लगाउने संख्या घटिरहेको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिनमा पनि यस्तै समस्या आउन सक्ने उनीहरूमा त्रास छ । सरकारले भ्याक्सिन उपलब्ध गराउँदा पेसावरमा जम्मा चार सयजनाले नाम लेखाएको र त्यसमध्ये पनि एक दर्जनले मात्रै भ्याक्सिन लगाएका छन् । 

चिकित्सकबाटै प्रस्ट धारणाको अभाव
यस्ता विविध कारणले एसियाली मुलुकहरूमा भ्याक्सिन वितरण अपेक्षित गतिमा भइरहेको छैन । कतिपय देशका विज्ञ तथा चिकित्सकहरू नै भ्याक्सिनप्रति प्रस्ट धारणा दिन हिचकिचाइरहेका छन् । अस्ट्रेलियाको डिकिन विश्वविद्यालयका महामारी रोग विशेषज्ञ क्याथरिन वेनेटीले एसियन नागरिकले भ्याक्सिनको जोखिम लिन नचाहेको दाबी गरेका छन् ।

उदाहरणका निमित्त उनले गर्भवती महिलालाई प्रस्तुत गरेका छन् । उनी भन्छन्, ‘गर्भवतीले भ्याक्सिन लिँदा भविष्यमा बच्चाको स्वास्थ्यमा असर पर्ने मानेका छन्, यस्तै धेरै उदाहरण छन् ।’ दक्षिण कोरियाका प्रधानमन्त्री चुआङ स्यी क्युनले आफ्ना नागरिकसमक्ष भ्याक्सिन समयमै उपलब्ध गराउन नसक्दा माफी नै मागेका छन् । एसियामा दक्षिण कोरिया कोरोना भाइरस नियन्त्रण गर्ने देशको माथिल्लो सूचीमा छ । 

यहाँ २५ फेब्रुअरीमा मात्र भ्याक्सिन लगाउन सरकारले अनुमति दिएको थियो । धेरैजसो दक्षिण कोरियाली भ्याक्सिन लगाएका व्यक्तिहरूको अवस्था हेरेर मात्रै भ्याक्सिन लगाउन अगाडि बढेका थिए । ‘कोरियनहरू आफ्नै सुरमा अगाडि बढ्छन्,’ सिओलबाट बिबिसीका लागि कार्यरत संवाददाता लाउरा विकेरले भने । सिंगापुर, कम्बोडिया र भियतनामका अधिकारीले पनि दक्षिण कोरियाकै सिको गरिरहेको लाउराको भनाइ छ । 

थाइल्यान्डमा मार्चमा मात्र भ्याक्सिनको अनुमति पाएको छ । सन् २०२१ को मध्यपछि मात्र भ्याक्सिन सबैतिर बाँडिने सरकारको लक्ष्य छ । सिंगापुरमा विभिन्न क्षेत्रमा काम गर्ने २ लाख ५० हजार कर्मचारीले मात्र भ्याक्सिन लगाएको बिबिसीले जनाएको छ । यसबाहेक कमै सर्वसाधारण भ्याक्सिन लगाउन स्थानीय खोप केन्द्रमा पुगेका छन् । 

भ्याक्सिनको समस्या जापानमा पनि छ । जापानले यसै वर्ष टोकियो ओलम्पिक आयोजनाको तयारी गरिरहेको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि जापानले गत वर्ष टोकियो ओलम्पिक स्थगित गरेको थियो । एक वर्षपछि धकेलिएको टोकियो ओलम्पिक आयोजना गर्न जापानले भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ । तर, सरकारले यसलाई प्रभावकारी बनाउन सकिरहेको छैन । 

सन् १९९० मा जापानमा दादुरा तथा रुबेलाजस्तो रोगविरुद्ध लड्न भ्याक्सिन तयार भयो । तर, यी दुवै रोगविरुद्धको भ्याक्सिन त्यति प्रभावकारी भएन । क्योटो विश्व विद्यालयका अनुसन्धानकर्ता डा. रिको माराकानाले सरकारले भ्याक्सिनसम्बन्धी अध्ययन र अनुसन्धानमा कमजोरी देखाएको बताएका छन् । यसैकारण धेरै जापानी अहिले पनि कोरोना भ्याक्सिन लगाउन खासै इच्छुक नभएको डा. रिकोको भनाइ छ । 

उनी भन्छन्, ‘जनतालाई भ्याक्सिनको महत्व बुझाउनका लागि एक समन्वयन रणनीति आवश्यकता पर्छ । तर, सरकार यो पक्षमा चुकेको जस्तो लाग्छ ।’ सम्बन्धित निकायले पर्याप्त अनुसन्धान नगरेका कारण जापानमा १७ फेब्रुअरीमा मात्र फाइजर भ्याक्सिनले अनुमति पाएको उनले बताए । खोपप्रतिको सही सूचना प्रदान गर्न नसकेका कारण एसियाली मुलुकहरूमा कोरोनाविरुद्धको भ्याक्सिनेसन अभियान ढिलाइ भइरहेको डा. रिकोको भनाइ छ । 
 एजेन्सीको सहयोगमा