मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०९:५१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माण नसकिँदै भैरहवा र पोखरा विमानस्थल उद्घाटन गरिँदै  

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ फाल्गुण २३ आइतबार ०९:५१:००

अध्ययन नै नगरी दाङमा समेत विमानस्थल शिलान्यासको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई नयाँ विमानस्थलको शिलान्यास र निर्माण नै नसकिएका विमानस्थलको उद्घाटनको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले निर्माणकै चरणमा रहेका भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको एकैसाथ उद्घाटन गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले प्राविधिक रूपमा निर्माण सम्पन्न नहुँदै सम्भवतः आगामी १ वैशाखमा दुवै विमानस्थलको उद्घाटन गर्ने पर्यटन मन्त्रालय स्रोतले जानकारी दियो । 

प्रधानमन्त्री ओलीले ०७५ को असारमै आन्तरिक उडान गर्ने गरी दुवै अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने तयारी गरेका थिए । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयले त्यो सम्भव नहुने जनाएपछि सो काम रोकिएको थियो ।

प्राधिकरणका अनुसार गौतम बुद्ध विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न भएको छ भने पोखराको काम ६६ प्रतिशत मात्रै सकिएको छ । गौतम बुद्धको प्राविधिक काम बाँकी नै छ । ‘पोखरा र भैरहवा विमानस्थल एकै दिन उद्घाटन गर्ने गरी छलफल चलाइएको छ, मन्त्रालय स्रोतले भन्यो । 

भैरहवा विमानस्थल आइसिपी–१ र आइसिपी–२ गरी दुई भागमा निर्माण कार्य जारी छ । आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन् भने आइसिपी–२ अन्तर्गतका कामहरू केही बाँकी छन् । आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेको छ । आइसिपी–२ अन्तर्गत हवाईजहाज, पाइलट र विमानस्थलबीचको समन्वयका लागि प्रविधि निर्माण रहेको छ ।

यस कामका लागि आवश्यक उपकरण जडानको काम कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाइ हुँदै गएको छ । हाल अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सकिएर रङरोगनको काम भइरहेको छ भने प्रस्थान कक्षको भवन सकिएर एसी जडानलगायतका काम भइरहेका छन् । एयरलाइन्सका लागि आवश्यक काउन्टर बनाउने, फल्स सिलिङ राख्ने, एसी जडान, वायरिङ, टायलिडलगायतका काम अझै सम्पन्न भएका छैनन् । 

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । 

पोखरा विमानस्थलको पनि ६६ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ३४ प्रतिशत काममध्येको २० प्रतिशत प्राविधिक काम हो भने १४ प्रतिशत भौतिकतर्फको निर्माणको काम हो । करिब २२ अर्ब रुपैयाँ लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले ०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो ।

हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको भए पनि प्राविधिक काम सुरु नै हुन सकेको छैन । भैरहवामा भौतिक निर्माण सकिएको एक वर्ष हुँदा पनि प्राविधिक काम अझै सकिएको छैन ।
 
दुई आन्तरिक विमानस्थलको शिलान्यास गर्नका लागि हतार–हतार निर्णय 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जन्मथलो तेह्रथुमको चुहानडाँडामा आन्तरिक विमानस्थल शिलान्यासको तयारी गरेका छन् । त्यस्तै, दाङको नारायणपुरमा समेत दोस्रो आन्तरिक विमानस्थलको समेत शिलान्यास गर्दै छन् । यी दुई विमानस्थल निर्माण गर्न हतार–हतार मन्त्रिपरिषद्ले हतारमा सैद्धान्तिक सहमति दिएको छ । दुवै विमानस्थलको सैद्धान्तिक सहमति दिए पनि शिलान्यास गर्नुअघिका धेरै प्रक्रियाहरू बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । 

दाङको तुलसीपुरमा आन्तरिक उडान गर्न अहिले पनि चालू अवस्थामा रहेको टारीगाउँ विमानस्थल छ । टारीगाउँ विमानस्थलबाट १० किलोमिटर नजिक रहेको स्थान घोराही उपमहानगरपालिकाभित्र रहेको नारायणपुरमा दोस्रो विमानस्थल निर्माण गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अध्ययन सम्पन्न गरेको छ । तर, त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अहिलेसम्म पनि तयार भएको छैन ।

त्यस्तै, निर्माणस्थलमा जग्गा प्राप्ति अहिलेसम्म पनि हुन सकेको छैन । यस विमानस्थलको ठेक्का प्रक्रिया सुरु गर्नै लामो समय लाग्ने अवस्था छ । प्राधिकरणले ५ करोड खर्च गरेर प्रारम्भिक अध्ययन प्रतिवेदन भने तयार पारेको छ । अध्ययनले ७ अर्ब रुपैयाँमा सो स्थानमा विमानस्थल निर्माण हुन सक्ने अनुमान गरेको छ । 

चुहानडाँडामा विमानस्थल निर्माणका लागि भने डिपिआर बनिसकेको छ । सो विमानस्थल बन्ने स्थानमा जग्गा प्राप्ति पनि भइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । १५ फागुन ०७५ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सोही विमानस्थल निर्माणस्थल अवलोकनमा जाँदा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । उक्त विमानस्थल निर्माणको विषय आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ को सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश भएको थियो । 

निर्माण कम्पनीले हस्तान्तरण गरेको ३ महिनापछि मात्रै पोखरा र भैरहवाको उद्घाटन गर्न सकिन्छ : राजन पोखरेल महानिर्देशक, नागरिक उड्डयन प्राधिकरण

अहिले नै भैरहवा र पोखरा विमानस्थल उद्घाटन हुन सक्ने अवस्था छैन । निर्माण कम्पनीले हामीलाई हस्तान्तरण गरेपछि सञ्चालनमा ल्याउन कम्तीमा ३ महिना लाग्छ । 

विशेष खालको विमान ल्याएर अन्तर्राष्ट्रिय दक्ष जनशक्तिले विमानस्थलमा जहाज उडान–अवतरण गरेर परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षण गरेर सर्टिफाई गरेपछि बल्ल सञ्चालनका लागि योग्य हुन्छ ।

त्यसैले अहिले नै उद्घाटन हुन्छ भनेर भन्न सकिने अवस्था छैन । भैरहवाको विषयमा केही छिटो काम गर्न सकिए पनि पोखरामा काम सम्पन्न हुन त अझै लामो समय लाग्नेछ ।