मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दोभान बजारमा लागेको आगो तथा ध्वस्त भएका संरचना ।
२०७७ फाल्गुण १९ बुधबार ०६:२६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ताप्लेजुङ : सधैँ आगलागीको जोखिममा

दोभान बजारमा लागेको आगोबाट ४९ घर नष्ट, डेरामा बस्ने २२ परिवार विस्थापित

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण १९ बुधबार ०६:२६:००

ताप्लेजुङको दोभान बजारमा मंगलबार बिहान भीषण आगलागी भएको छ । सदरमुकाम फुङ्लिङपछि जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारका ४९ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । दोभान बाजारमा रहेका ३३ घरधनीका ४९ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले बताए । ४९ घरमा डेरा गरी बस्ने २२ परिवार पनि विस्थापित बनेका छन् ।

आगलागी नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र (दमकल), एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयसहितको जनशक्ति आगो नियन्त्रणमा जुटेको राणाले बताए । दुई नदीको बीचमा रहे पनि पानीको प्रयोग गर्न स्थानीय सरकार असफल भएको छ । एकातर्फबाट तमोर नदी र अर्कातर्फ मैवाखोला बगेको छ । तर, दुई खोलाको बीचमा रहे पनि पानीको सदुपयोग गर्न गाउँपालिका असक्षम बनेको छ ।

तत्काललाई आगलागी नियन्त्रण भए पनि पुनः फैलन सक्ने अवस्था रहेकाले प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणलगायतका जनशक्ति आगो निभाउन खटिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । आगो दोभान बजारनजिक खाम्लुङको साक्फारा भीर क्षेत्रमा पनि प्रवेश गरेकाले थप क्षतिको सम्भावना भएको प्रहरीले जनाएको छ । बजारका बाँकी रहेका घर तथा पसलसम्म फैलिन नदिने गरी आगो निभाउने कार्य भइरहे पनि जंगल क्षेत्रमा पसेको आगो भने नियन्त्रणबाहिर छ ।

ताप्लेजुङका स्थानीय सरकारसँग आगलागीसम्बन्धी वास्तविक योजना नहुँदा आगो तत्काल नियन्त्रणमा आउन नसक्दा धेरै क्षति हुने गरेको छ । बर्सेनि आगोको लपेटामा परेर सयौँ परिवार घरबारविहीन बनेका छन् भने करोडौँबराबरको क्षति बेहोर्नुपरेको छ । सदरमुकाम फुङलिङ बजारमा बर्सेनि आगलागी हुने गरेको छ । तर, एक मात्र बारुणयन्त्र वेलैमा घटनास्थलमा नपुग्दा ठूलो क्षति हुने गरेको छ । 

मंगलबार आगलागी भएको दोभान क्षेत्रमा पर्ने मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङबाङ लिम्बूले गाउँपालिकामा दैवीप्रकोपको योजना भए पनि आगलागीसम्बन्धी उद्धारको योजना नभएको बताए । आगामी दिनमा भने छुट्टै योजना बनाउने उनको भनाइ छ । 

 आगलागीको ८० वर्षको इतिहास 
ताप्लेजुङको फुङलिङ बजारमा बारम्बार आगलागी हुँदा बजारवासी प्रताडित बन्ने गरेका छन् । ९५ वर्षीय तुलसी दाहालका अनुसार १९९४, १९९५ र २००६ सालमा हालको वीरेन्द्रचोक क्षेत्रमा आगलागी भएको थियो । तर, कति घर जले भन्ने बिर्सिएको उनले बताए । २०१३ सालमा सातवटा घर जलेका थिए । त्यसवेला कति क्षति भयो केही खुलेको छैन । 

२०१८ सालमा कांग्रेसले गरेको सशस्त्र विद्रोहमा जिल्ला अदालत ताप्लेजुङ तथा न्यून संख्यामा रहेका सरकारी कार्यालयमा आगजनी गरी कारागारसमेत तोडेर कैदी बन्दीलाई छाडिएको बताइन्छ ।

२०३५ जेठमा हालको शान्तिटोल जोरधारा जिमीपोखरी गणेशस्थान हुँदै भानु तथा दोभान जाने बाटोको चोक माथिल्लोपट्टि माधव प्रधानको घर, कैलाश मादेन, कीर्तिमान मादेनको लामो घरसहित चार–चारवटा घर जलेर नष्ट भएका थिए ।

१५ चैत ०६० साँझ ६ः४५ बजेतिर वीरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घर जलेर नष्ट भएका थिए । आगलागीबाट १२९ परिवार विस्थापित भएका थिए । जसबाट ५५ करोड ५४ लाख ६४ हजार रुपैयाँबराबरको क्षति भएको थियो । २६ माघ ०६९ मा शेर्पाटोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका थिए । ती घरमा बस्ने १८ परिवार विस्थापित भएका थिए । 

१८ कात्तिक ०७० मा टुक्रेबजार क्षेत्रमा आगलागी हुँदा पाँच घर जलेका थिए । अग्नि नियन्त्रणका लागि भत्काइएका घरमा बस्ने १७ परिवार विस्थापित भएका थिए ।

९ चैत २०७१ मा फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । आगो नियन्त्रणका लागि भत्काइएका थिए । १४५ परिवार विस्थापित भएका थिए ।

१९ वैशाख ०७७ मा पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागी हुँदा सात घर जलेर नष्ट भए । अग्नि नियन्त्रणका लागि एक घर भत्काइयो । आठ घरमा बस्ने २९ परिवार विस्थापित भए । सात करोड ६५ लाख ७२ हजारबराबरको क्षति भएको तथ्यांक छ ।

ताप्लेजुङमा पाँच वर्षको आगलागीको तथ्यांक हेर्दा प्रत्येक वर्ष ५० घर आगलागीबाट नष्ट हुने गरेको देखिन्छ । २०६१ मा ६१ घर, २०६२ मा ५१ घर, २०६३ मा ३९ घर, २०६४ मा ४८ घर, २०६५ मा ४६ घर गरी जम्मा २४५ घर आगलागी भएको देखिन्छ । 

१० वर्षमा १५ हजार आगलागीका घटना, ६ सय ८९ को मृत्यु, साढे १९ अर्बको क्षति