मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार १८:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई सेतो र रातो नम्बर प्लेटका गाडी

कोरोना महामारीका वेला ६० लाखको गाडी खरिद, जगेडा पुलमा राखिएको रातो नम्बर प्लेटको गाडी चार महिनादेखि महालेखापरीक्षकका अडिटरले प्रयोग गर्दै

Read Time : > 3 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार १८:००:००

काठमाडौं महानगरपालिकाले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेको भेटिएको छ । महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतले घरायसी प्रयोजनका लागि सरकारी गाडीको प्रयोग गरिरहेका छन् । 

कोरोना महामारीको बीचमा आवश्यक नै नभए पनि पाँच महिनाअघि महानगरपालिकाले ६० लाख रुपैयाँमा नयाँ गाडी किनेको थियो । जसमा रातो नम्बर प्लेट छ । प्रदेश ३–०१–०२३ च ३७२३ नम्बरको सो गाडी प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलगायतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।

महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली

चार वर्षअघिदेखि काठमाडौं महानगरका प्रशासकीय अधिकृतले बा.२झ १५६४ नम्बरको सेतो प्लेटको गाडी चढ्ने गरेका छन् । ‘अहिलेसम्म कोही पनि प्रमुख प्रशासकीय अधिकृतले दुईवटा गाडी प्रयोग गरेका थिएनन् । तर, उहाँले बिदाको दिन प्रयोग गर्ने गर्नुभएको छ । दसैँको वेला पनि उहाँ त्यही गाडी लिएर घर जानुभएको थियो,’ महानगरका एक कर्मचारीले भने । कोरोना महामारी सुरु भएपछि गाडी खरिद नगर्ने निर्णय सरकारले गरे पनि त्यसविपरीत महानगरपालिकाले खरिद गरेको थियो ।

महानगरका एक कर्मचारीका अनुसार प्रजातन्त्र दिवसका दिन पनि ज्ञवाली उक्त रातो प्लेट गाडीमै राष्ट्रिय सभागृह पुगेका थिए । जहाँ पार्क गरेर उनी र मेयर विद्यासुन्दर शाक्य काभ्रेको एक कार्यक्रममा पुगेका थिए । निजी प्रयोजनका लागि प्रयोग गरिने गाडीमा लाग्ने इन्धन पनि महानगरले नै व्यहोर्दै आएको छ । नियमानुसार महानगरका सहसचिवस्तरका कर्मचारीलाई (कार्यकारी प्रमुख) ८० लिटर इन्धन दिने गरिएको छ । तर, त्यसबाहेक विभिन्न आयोग र महानगरअन्तर्गतकै विभिन्न आयोजनाले पनि तेल दिने गरेका छन् । 

घरायसी प्रयोजनकै लागि गाडीमा रातो नम्बर प्लेट

प्रमुख प्रशासकीय अधिकृत नहुँदै ज्ञवालीले केही महिनाअघि महानगर प्रमुख शाक्यलाई अनुरोध गरी ६० लाख रुपैयाँमा गाडी खरिद गर्न लगाएको स्रोतले बतायो । रातो नम्बर प्लेटको गाडी ज्ञवालीको घरमै राखिने गरिएको छ भने बिदाको दिन र अन्य व्यक्तिगत प्रयोजनका निम्ति प्रयोग गर्दै आएको कर्मचारीहरू बताउँछन् । कहिलेकाहीँ अन्य कर्मचारीले पनि सो गाडी व्यक्तिगत काममा प्रयोग गर्दै आएका छन् । घरायसी प्रयोजनकै लागि गाडीमा रातो नम्बर प्लेट राखिएको स्रोत बताउँछ । 

प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली भने आफूले प्रमुख प्रशासकीयको पद नसम्हाल्दासम्म मात्र उक्त गाडी प्रयोग गरेको बताउँछन् । ‘पहिलेका कार्यकारीले चढ्नुभएको गाडी हुँदाहुँदै मलाई अर्को गाडीको आवश्यकता नै छैन । मैले सेतो नम्बर प्लेटको मात्र प्रयोग गरेको हो,’ उनले भने, ‘कात्तिकसम्म मात्र मैले रातो नम्बर प्लेटको प्रयोग गरेँ । त्यो गाडी न त मैले प्रयोग गरेको छु, न त कतै लगेर पार्क नै गरेको छु । अहिले महालेखापरीक्षकको अडिटरले प्रयोग गर्दैै हुनुहुन्छ ।’ बिदाको दिन आवश्यक परे सेतो नम्बर प्लेटको गाडीलाई नै पास लिएर आफूले प्रयोग गर्ने गरेको उनले बताए ।

सेतो नम्बर प्लेट प्रयोग गर्न देशभरका स्थानीय तहलाई परिपत्र 

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले आफूलाई यससम्बन्धमा केही जानकारी नभएको बताए । तर, सरकारी गाडीलाई पास लिएर बिदाका दिन पनि प्रयोग गर्न सकिने भएकाले त्यसैअनुसार प्रयोग गरिएको हुन सक्ने उनको भनाइ छ । यसैगरी, महानगरको वातावरण विभाग भने उक्त गाडी महानगरका कर्मचारीलाई आवश्यकता परे प्रयोग गर्न मिल्ने गरी दिइएको बताउँछ । विभागका एक कर्मचारीले भने, ‘त्यो गाडी जगेडा पुलमा छ । महानगरका कर्मचारीले प्रमुख प्रशासकीयसँगै स्वीकृति लिएर आवश्यक परे प्रयोग गर्न पाउँछन् । अहिले केही दिनदेखि महालेखापरीक्षकको कार्यालयका कर्मचारीले प्रयोग गर्दै हुनुहुन्छ । उहाँहरू महानगरका विभिन्न वडामा जानुपर्ने भएकाले प्रयोग गर्नुहुन्छ ।’ 

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहेका महानगरका तत्कालीन कार्यकारी प्रमुख एकनारायण अर्यालले महानगरसँग भएका सबै सवारीसाधनका रातो नम्बर प्लेटलाई सेतो बनाउने र इन्धनको कोटा तोक्ने भनी निर्णय गरेका थिए । तर, उनको सरुवा भएसँगै यो निर्णय कार्यान्वयनमा आएन । 

सचिव अर्यालले मन्त्रालयले धेरै अघि सेतो नम्बर प्लेट प्रयोग गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको जानकारी दिए । ‘जनताको पैसाले किनेको गाडी सेतो नम्बर प्लेट नै हुनुपर्छ, रातो प्रयोग गर्न पाइँदैन । मन्त्रालयले यो विषयमा परिपत्र पनि जारी गरिसकेको छ,’ उनले भने । यद्यपि कहिलेकाहीँ आवश्यक परेको खण्डमा सरकारी गाडी प्रयोग गर्नुलाई अन्यथा लिन नहुने उनको भनाइ छ । गत वर्षको महालेखापरीक्षकको प्रतिवेदनमा पनि महानगरपालिकामा इन्धनको चरम दुरुपयोग भइरहेको औँल्याइएको थियो । 

अडिट गर्नेक्रममा सम्बन्धित कार्यालयको गाडी प्रयोग गरिएमा कारबाही गर्छौँ : नेत्रप्रसाद पौडेल, सहायक प्रवक्ता, महालेखापरीक्षकको कार्यालय 

गत मंसिरको तेस्रो साताबाट स्थानीय तहको लेखापरीक्षण कार्य सुरु भएको हो । जिल्लातिर कतिपय अवस्थामा आयोजना हेर्न जानुपर्ने हुन सक्छ । त्यस्तोमा सम्बन्धित कार्यालयको गाडी प्रयोग गर्न पाइन्छ । तर, उपत्यकाका लागि हामी कर्मचारीले लेखापरीक्षण गर्न गएको सम्बन्धित कार्यालयको गाडी प्रयोग गर्न मिल्दैन । बस भाडा, ट्याक्सी खर्च महालेखापरीक्षक कार्यालयले नै दिन्छ । बाहिरी जिल्लाको हकमा फिल्ड हेर्न जानुपर्ने भयो भने सम्बन्धित कार्यालयका कर्मचारीसँग उनीहरूको गाडीमा जान सकिन्छ । तर, अडिट गर्ने कामकै लागि सम्बन्धित कार्यालयको गाडी प्रयोग गरिएको भेटिएमा हामी कारबाही गर्छौँ ।

गृह मन्त्रालयको निर्णय : सरकारी कार्यालयले किनेको गाडीमा रातो नम्बर प्लेट हालेर चलाउन नपाइने

२०७४ चैतमा गृह मन्त्रालयले सेतो नम्बर प्लेटको गाडी रातो नम्बर प्लेटमा परिवर्तन गरी चलाउन नपाउने, चलाएको पाइए नियन्त्रणमा लिइने निर्णय गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले यस्तो निर्णय गरेका थिए । यो नियम लागू भएपछि केही सरकारी कार्यालयले प्रयोग गरेका रातो नम्बर प्लेटको गाडी गृह मन्त्रालयले नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभागले भने रातो नम्बर प्लेट प्रयोग गरी सवारीसाधन चलाउन पाउने व्यवस्था छ ।