१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
डा. अविनाश चन्द्र
डा. जया सत्याल
२o८१ बैशाख ३१ सोमबार १o:o३:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

इच्छामृत्युबारे बहस किन नगर्ने ?

Read Time : > 4 मिनेट
डा. अविनाश चन्द्र
डा. जया सत्याल
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:o३:oo

घटना एक : उनी ६० वर्षका भए । ५५ वर्षको उमेरमा उनलाई मासु तथा नसा सुक्ने रोग (प्रोगेसिभ मोटर न्युरोन) लाग्यो । अहिले पूर्ण रूपमा असक्त छन् । दिसा–पिसाब सम्हाल्न नसक्ने भएको पनि झन्डै दुई वर्ष भयो । शरीरका मांसपेशी तथा नसा सुकेर हड्डी मात्र बाँकी छन् । शरीर कामिरहन्छ । अरूको सहायताविना ह्विलचियरमा समेत अडिन नसक्ने भएका छन् । केही दिनअघि भेट हुँदा उनी आँखाभरि आँसु पार्दै सुटुक्क मर्ने औषधि दिनुहोस् भन्दै रोइरहे ।

लर्बर कामेको नबुझिने स्वरमा आजभोलि उनले हरेक रात निदाउनुअघि भोलि बिहान ब्युँझन नपरोस् भनी ईश्वरसँग प्रार्थना गर्ने गरेको बताए । मृत्यु सोचेजस्तो सहज रहेनछ । पुनः बिहानी हुन्छ, औडाहामै दिन काटेर बस्नुपरेको छ भनेर उनले काललाई सरापे । उनी गम्भीर रोगको सिकार भएदेखि आफूलाई धर्तीको बोझ मात्र ठान्छन् । उनको अवस्था हेर्दा रोग निको हुने कुनै आस नै छैन र उनमा जीवनप्रतिको कुनै मोह पनि बाँकी छैन । मनमा एउटै कामना र चाहना मात्र बाँकी छ– इच्छामृत्युको ।

घटना दुई : कार्यालयमा एक्कासि बेहोस भएकी राधालाई अन्डाशयको क्यान्सर पत्ता लागेको दुई वर्ष भयो । अहिले क्यान्सर शरीरका विभिन्न भाग, स्तन, हड्डी, फोक्सो जताततै फैलिएको छ । विश्वमा उपलब्ध केमोथेरापी, न त रेडियोथेरापीको नै कुनै असर छ । उनको शरीरमा एकतमासले क्यान्सरको असह्य पीडा छ । उनलाई सम्पत्तिको कुनै अभाव छैन । उनका वरिपरि छोराछोरी, परिवारजन, सुसारे र स्वास्थ्यकर्मी छन् ।

घरमा सुमधुर संगीतका मेडिटेसन धुनहरूसँगै भान्सामा मिष्ठान्न परिकारहरू पाक्छन्, तर पनि उनी एक्लै छिन् । वास्तविकता यो हो कि परिवारमा क्यान्सरको असह्य पीडा भोग्ने उनी मात्र छिन् । दुखाइ खप्न नसकेर दिनमा दुई–तीनपटक मुर्छा पर्छिन् । उनीसँगै उनको परिवार र आफन्त मानसिक तथा शारीरिक रूपमा विक्षिप्त बनेका छन् । सबैको एउटै कामना छ, उनको सहजै मृत्युवरण होस् । पटक–पटक पीडाबाट मर्नुभन्दा बरु मृत्युवरण गरेर पीडाबाट सदाका लागि छुट्कारा पाउने धोको मात्र बाँकी छ, राधालाई ।

माथि उल्लेख गरिएका प्रतिनिधि घटना हाम्रै समाजमा हामीले देख्ने र सुन्ने गरेका घटना हुन् । खोजी गर्दा यस्ता पीडादायक घटना कति भेटिन्छन् कति । ब्रिटेनको एउटा घटना पनि निकै प्रसिद्ध छ । ब्रिटेनका ५९ वर्षीय सेवानिवृत्त प्राध्यापकलाई नसा सुन्निने रोग (मोटर न्युरोन) लाग्यो । रोगका कारण उनी हिँड्डुल गर्न नसक्ने भए । क्रमशः उनलाई खाना निल्न, बोल्न, सास फेर्नसमेत गाह्रो हुँदै गयो । जीवन निकै कष्टकर भयो ।

जिउँदो लास भएर बाँच्नुभन्दा उनले आफू मर्ने निर्णय गरे । ब्रिटेनमा इच्छामृत्यु गैरकानुनी भएको हुँदा उनी आफ्नी पत्नी र चिकित्सकसहित सेप्टेम्बर २००७ मा स्विट्जरल्यान्डको जुरिकस्थित डिजिनिटास क्लिनिक पुगे । उनले सहयोगीको माध्यमबाट मृत्युवरण गर्ने निश्चिय गरे । उनको यो कदम स्काई रियल लाइभ च्यानलबाट प्रत्यक्ष प्रसारण गरियो । उनले सबैभन्दा पहिले आफ्नी प्यारी पत्नीलाई गुडबाई भने, त्यसपछि विष पिए । स्याउको जुस पिए अनि मृत्यु अर्थात् काललाई धन्यवाद दिँदै हाँसी–हाँसी शान्तिपूर्ण ढंगले मृत्युवरण गरे । देश तथा विदेशमा घटित उल्लिखित घटनाजस्तै अन्य घटनाहरू हामीले अस्पताल, घर, समाजमा देख्ने र सुन्ने गरेका छौँ । यस्ता खाले घटनाक्रमले इच्छामृत्युको विषयलाई अगाडि सारेको छ ।

के हो इच्छामृत्यु ? : गम्भीर रोगबाट पीडित, रोगको असह्य पीडाबाट गुज्रिएका, रोग निको हुने सम्भावना नभएका, कोमा अवस्थाबाट फर्किने सम्भावना नभएका बिरामी वा व्यक्तिलाई थप पीडा वा संकटबाट निकास दिनका लागि दिइने मृत्यु नै इच्छामृत्यु हो । यसलाई दया वा करुणाका कारण दिइने मृत्यु, सजिलो मृत्यु अथवा सहज मृत्यु पनि भनिन्छ । इच्छामृत्यु सम्बन्धित व्यक्ति वा उसको परिवारको सहमतिविना हुन सक्दैन । यसलाई अंग्रेजीमा युथिनिसिया भनिन्छ, जहाँ ‘यु’ को अर्थ राम्रो, असल र ‘थिनेसिया’ को अर्थ मार्नु वा मृत्यु भन्ने हुन्छ ।

चिकित्सकको सहायतामा कुनै पनि औषधि वा रासायनिक तत्वको प्रयोग गराएर गराइने सहज मृत्युलाई सक्रिय इच्छामृत्यु भनिन्छ भने बिरामीको उपचार वा औषधि बन्द गरेर वा खानपिन छाडेर गराइने मृत्युलाई निष्क्रिय इच्छामृत्यु भनिन्छ । सक्रिय इच्छामृत्युलाई गैरकानुनी मानिन्छ भने निष्क्रिय इच्छामृत्युलाई विश्वका विभिन्न मुलुकमा कानुनी मान्यता दिइएको छ ।

विश्वमा इच्छामृत्युको अवस्था : सन् १९३५ मा इंग्ल्यान्डमा स्वेच्छिक मृत्युका लागि भोलुन्टरी युथिनिसिया लिगलाइजेसन सोसाइटी गठन भएको थियो । त्यसपछि सन् १९३५ मा संयुक्त राज्य अमेरिकाले भोलुन्टरी युथिनिसिया ऐन सदनमा भित्र्यायो । क्यान्सर बिरामीले पीडाबाट छुट्कारा पाउनुपर्छ भन्दै अरूको सहायताबाट गरिने मृत्युलाई सन् २०१० बाट पाँचवटा राज्यमा कानुनी मान्यता दिइएको छ । सन् १९६२ मा जापानको उच्च अदालतले मेडिकल भोलुन्टरी युथिनिसियालाई मान्यता दिएको छ ।

नेदरल्यान्डमा झन्डै २.८ प्रतिशत मृत्यु युथिनिसियाबाट भएको देखिन्छ । दोस्रो विश्वयुद्धका कारण मानसिक रूपमा विक्षिप्त भएका अपाङ्ग बच्चाबच्ची र मानिस धेरै भएको हुँदा इच्छामृत्यु चुनौतीको विषय बन्न पुग्यो । २ मार्च २०१४ मा बेल्जियमले रोगको अन्तिम अवस्थामा पुगेका उपचार सम्भव नभएका बिरामीलाई इच्छामृत्युको कानुनी मान्यता दिएको छ । इच्छामृत्युका लागि उमेरको हद र घेराबन्दी हटाउने पहिलो राष्ट्र बेल्जियम नै हो । 

विश्वमा अझै पनि इच्छामृत्युको पक्ष र विपक्षमा बहस चलिरहेकै छ । यसको पक्षमा तर्क गर्नेहरू मृत्यु निजी मामिला रहेको तर्क अघि सार्छन् । आफ्नो मृत्युको अधिकार आफैँमा निहित हुने हुनाले अरू कसैले त्यसमा हस्तक्षेप गर्न नहुने भन्दै युथिनिसियालाई सम्मानजनक मृत्यु मान्छन् ।
 

४ जुन १९९० मा डा. ज्याक केभोरकियन ‘डेथ डाक्टर’ अर्थात् मृत्युका चिकित्सक भनेर चिनिए । उनले मर्नु भनेको अपराध होइन भनेका थिए । उनले थुप्रै एसिस्टेड सुसाइड गराएका थिए । सन् १९९९ मा उनलाई हत्याको आरोपमा जेल सजाय दिइयो । मिसिगन कोर्टले जुन २००७ मा असल नियतले बिरामीको सहयोग गरेको ठहर गरी आठ वर्षको जेल सजायपछि उनलाई सफाइ दिएको थियो ।

भारतमा युथिनिसियाका लागि अदालतको निर्णय पर्खिनुपर्ने कानुनी व्यवस्था छ । स्विडेनमा १० प्रतिशत प्रौढको मृत्युको कारण एसिस्टेड सुसाइड रहेको छ । ब्रिटेनले हालसम्म पनि इच्छामृत्युलाई कानुनी मान्यता दिएको छैन । कोही युथिनिसियामा संलग्न देखिएमा १४ वर्ष जेल सजाय तोकेको छ । सन् २००७ मा ब्रिटेनमा गरिएको अध्ययनअनुसार झन्डै ८० प्रतिशत जनताले अब कानुन परिवर्तन हुनुपर्ने र रोगको अन्तिम अवस्थामा पुगेका तथा असह्य पीडाबाट गुज्रिएकाहरूले चिकित्सकको सहायतामा इच्छामृत्यु पाउनुपर्ने बताएका थिए ।

विश्वप्रसिद्ध व्यक्तिहरूमा स्टेफन हकिंग, जो मोटर न्युरोन रोगबाट पीडित थिए, उनले उपचार सम्भव नभएका, असह्य पीडा खेपेका मानिसलाई उनीहरूको इच्छाविपरीत जीवित राख्नु भनेको वास्तविक असम्मान वा हेला गर्नु हो भन्दै उनीहरूले अरूको सहायताबाट मर्न पाउनुपर्ने विचार राखेका थिए । अहिंसाका प्रवर्तक महान् नेता महात्मा गान्धी, नेपालका प्रसिद्ध नेता बिपी कोइराला पनि इच्छामृत्यु गर्न पाउनुपर्ने धारणा राख्ने गर्थे ।

विश्वमा अझै पनि इच्छामृत्युको पक्ष र विपक्षमा बहस चलिरहेकै छ । यसको पक्षमा तर्क गर्नेहरू मृत्यु निजी मामिला रहेको तर्क अघि सार्छन् । आफ्नो मृत्युको अधिकार आफैँमा निहित हुने हुनाले अरू कसैले त्यसमा हस्तक्षेप गर्न नहुने भन्दै युथिनिसियालाई सम्मानजनक मृत्यु मान्छन् ।

यसविपरीत धारणा राख्नेहरूले भने इच्छामृत्युले मानवजीवनको मूल्य र महत्वलाई ध्यान नदिने र यसले जीवनप्रतिको सम्मानलाई ठेस पुर्‍याउने तर्क गर्छन् । उनीहरूका अनुसार इच्छामृत्युलाई कानुनी मान्यता दिने हो भने बिरामी व्यक्तिले राम्रो हेरचाह नपाउने हुन्छ । नयाँ–नयाँ उपचार पद्धतिले मानिसको पीडालाई कम गर्न सक्छ । इच्छामृत्युको दुरुपयोग भई बिरामीले नचाहँदा–नचाहँदै पनि परिवार, साथीभाइ वा चिकित्सकले मृत्युवरण गर्न बाध्य तुल्याउन सक्ने, चिकित्सकको हातमा धेरै शक्ति हुने, यसले बिरामीलाई चिकित्सकको विश्वासमा संकट उत्पन्न गर्ने भनी तर्क गर्छन् ।

नेपालको सन्दर्भमा भन्नुपर्दा नेपालको संविधान ०७२ ले स्वास्थ्यलाई मौलिक हक मानेको छ । हरेक नागरिकले सम्मानपूर्वक बाँच्न पाउनु मौलिक अधिकार हो भनेको छ । यसर्थ युथिनिसिया वा इच्छामृत्यु गैरकानुनी हो । यदि कोही यस कार्यमा संलग्न देखिएमा ज्यान मारेको अभियोगमा सजाय दिइन्छ ।

कतिपय अवस्थामा भने अप्रत्यक्ष रूपमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालले क्यान्सरको अन्तिम अवस्थामा रहेको, लामो समयदेखि कोमामा रहेका, ब्रेन डेथ भएका वा रोग निको हुने कुनै आस नभएकाहरूका लागि थप उपचारको प्रभाव नहुने भनी परिवारजनलाई भन्ने गर्छन् । अर्कोेतर्फ पैसाको अभाव देखाएर रोगी व्यक्तिलाई परिवारजन तथा आफन्तले नै पनि एकान्त ठाउँ, बाटोघाटोमा अलपत्र छाडेर गएका घटना पनि सुन्ने, देख्ने गरिएको छ ।

बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो तथा स्वास्थ्य मौलिक अधिकार हो । आधारभूत स्वास्थ्यसेवा राज्यले निःशुल्क रूपमा गराउनुपर्छ भन्ने मान्यता रहिआएको छ । आर्थिक अभाव देखाएर बिरामीलाई उपचार नगराउनु, आफन्तले बिरामीलाई अलपत्र पार्नु गैरकानुनी कदम हो र यो दण्डनीय छ ।

अर्कोतर्फ जटिल रोग लागेका, उपचार सम्भव नभएका वा उपचारबाट निको हुने सम्भावना नभएका, रोगको असह्य पीडाबाट गुज्रिएका, लामो समयदेखि अचेत अवस्थामा रहेका र पूर्ण रूपमा दिसापिसाब, खानपानका लागि अरूमा निर्भर हुनुपर्ने र जीवनको अन्तिम अवस्थामा पुगेका बिरामीका लागि स्वयं वा बिरामी पक्षबाट इच्छामृत्युको सहमति भएमा मेडिकल बोर्डको सिफारिस तथा अदालतको फैसलासहितको सहमतिमा इच्छामृत्यु गर्न पाउनुपर्ने विषयलाई नेपालमा पनि विचार विमर्श गर्नुपर्ने भएको छ ।
(चन्द्र स्नायु रोग विशेषज्ञ हुन् भने सत्याल अकुपञ्चर चिकित्सा विशेषज्ञ)

ad
ad