मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दिपेश शाही काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०३:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीको असन्तुष्टि र ‘धम्की’पछि निर्वाचन आयोगको सक्रियता : करिब २५ करोडको निर्वाचन सामग्री खरिद गर्दै

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ फाल्गुण ११ मंगलबार ०३:०९:००

आयोग प्रवक्ता राजकुमार श्रेष्ठ भन्छन्– करिब २५ करोडबराबरको निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वानको सूचना मंगलबार सार्वजनिक हुँदै छ । निर्वाचनका लागि आवश्यक पर्ने कुल ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री खरिदका लागि मात्रै अहिले प्रक्रिया अगाडि बढाएको छ । बाँकी जिल्ला कार्यालयले बोलपत्र आह्वान नगरिक सीधै खरिद गर्न सक्छन् । 

......

प्रधानमन्त्री केपी ओलीले तयारीलाई लिएर असन्तुष्टि जनाएको र आफ्नो समूहलाई आधिकारिकता नदिए आन्दोलन गर्ने धम्की दिएलगत्तै निर्वाचन आयोगले निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाएको छ । 

आगामी वैशाख १७ र २७ गरी दुई चरणका लागि सरकारले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री खरिद गर्न मंगलबार बोलपत्र आह्वान गरी सात दिनको सूचना सार्वजनिक गर्दै छ । 

करिब २५ करोडबराबरको निर्वाचन सामग्री खरिदका लागि मंगलबार बोलपत्र आह्वानको सूचना प्रकाशित हुने आयोगले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने कुल ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री खरिदका लागि मात्रै अहिले प्रक्रिया अगाडि बढाएको र बाँकी जिल्ला कार्यालयले खरिद गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । श्रेष्ठले जिल्ला निर्वाचनले आवश्यक सामग्र्री बोलपत्र आह्वान नगरीकन सीधै खरिद गर्न सक्ने बताए ।

आयोगले मतदान केन्द्रमा आवश्यक ३६ किसिमका निर्वाचन सामग्रीलाई ११ वटा समूहमा समूहीकृत गरेको जनाएको छ । आयोगका अनुसार बोलपत्रदाताहरूले आयोगबाट ११ फागुनदेखि १७ फागुनभित्र बोलपत्र फाराम खरिद गर्न सक्ने र १८ गते दिनको १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइसक्नु पर्नेछ ।

राजनीतिक रूपमा विभाजित नेकपाको दलको आधिकारिकतासम्बन्धी विवादको निरुपण नभइरहेका वेला प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले जनताले देखिने गरी काम नगरेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए । 

गत शुक्रबार ७१औँ प्रजातन्त्र दिवसका अवसरमा संस्कृति मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित समारोह सम्बोधन गर्दै उनले भनेका थिए, ‘चुनाव गर्नुपर्ने निकायले चुनावको तयारी समयमा गर्नुपर्छ । मैले ५ पुसमा प्रतिनिधिसभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावको तयारी गर्नुस् भनेको छु । मैले अस्ति गएर सोधेँ, तयारी गरिरहेका छौँ भन्नुभयो, तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन ।’ 

उनले देखिने गरी निर्वाचन आयोगको तयारी नभएको भन्दै धम्कीपूर्ण भाषामा भनेका थिए, ‘यहाँ कतिपय तŒवले घोषणा गरेको चुनाव गराउनका लागि होइन भन्ने आरोप लगाउन खोजेका छन् । तर, चुनाव तोकिएकै समयमा गर्नका लागि मिति घोषणा गरिएको हो । म त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्न चाहन्छु ।’ 

त्यसको भोलिपल्ट नेकपा ओली समूहले विराटनगरमा गरेको सभालाई सम्बोधन गर्ने क्रममा पनि उनले दलको आधिकारिकतासम्बन्धी विवादको विषयलाई लिएर आयोगलाई चेतावनी दिएका थिए । ‘०४७ सालमा मैले नै हो एमालेको सूर्य चिह्न वैधानिक रूपले दर्ता गराएको । मैले धेरैपटक सूर्य चिह्नबाट चुनाव लडेको छु । चुनाव चिह्न हामीले नै पाउँछौँ । नपाउने कुनै कारण छैन । कुनै पनि जालझेल, सेटिङ भए हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’

आयोगले तोकिएको चुनावका लागि आवश्यक बजेट तर्जुमा गरेर पठाएपछि अर्थ मन्त्रालयले सात अर्ब रकम छुट्याइसकेको छ । आयोगले निर्वाचनको तयारी एवं व्यवस्थापनका लागि सात अर्ब सात करोड ९४ लाख ८० हजार माग गरेको थियो । 

त्यसमध्ये कोरोना महामारीको सुरक्षा सतर्कता, आवश्यक व्यवस्थापनका लागि मात्रै ३७ करोड ४१ लाख ७४ हजार रकम प्रस्ताव गरेको छ । तर, पूर्वनिर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अहिले निर्वाचनका लागि छुट्याएको खर्च तुलनात्मक रूपमा निकै महँगो भएको बताएका छन् । ७७ वटै जिल्ला निर्वाचन कार्यालय र एक सय ६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत र न्यूनतम कर्मचारीसमेत खटाइने आयोगको प्रस्ताव छ ।

आयोगले किन्न थालेका सामग्रीको सूची

  • मतपेटिका स्टिकर
  • परिचयपत्र मतदान प्रतिनिधिदेखि निर्वाचन प्रतिनिधिसम्मको)
  • पोल बुक (बुथमा टिप्पणी उठाउने रजिस्टर)
  • विभिन्न कार्ड (भित्र, बाहिर, पुरुष, महिला, धुम्रपान निषेधित आदि लेखिएका नौ थरीका)
  • मतपेटिका सुरक्षण सिल
  • रबर म्याट
  • स्वस्तिक छाप (रबर र पित्तलको)
  • नङमा मसी लगाउने मार्कर (नउड्ने मार्कर)
  • छेकबार (मत खसाल्ने गोप्य कक्ष)
  • स्टाम्प प्याड र मसी
  • सोचर (पैसा गन्दा ओस लगाउने सामग्र्री)
  • प्लास्टिक बोरा र थैली
  • फोटोकपी पेपर र ग्लुस्टिक
  • कोरा कपडा (मसी पुछ्ने), थैली
  • स्टाप्लर मेसिन, स्टाप्लर मेसिनको पिन
  • मेटल स्केल
  • कैँची
  • जेल पेन (कालो र रातो) 
  • मार्कर पेन
  • पन्चिन मेसिन
  • लाहा छाप