भारतको उत्तरखण्डमा पर्ने चमोली जिल्लामा गत ७ फेब्रुअरीमा अचानक आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । अहिलेसम्म ५५ जनाको शव भेटिएको छ । एक सय बढी अझै हराइरहेका छन् । दुईवटा निर्माणाधीन जलविद्युत् परियोजना ध्वस्त पारेको यो विपत्तिले निम्त्याएको क्षति यकिन हुन बाँकी छ ।
हिउँदयाममा कसरी यो संकट आयो भन्ने अझै यकिन हुन सकेको छैन । भारतीय अधिकारीहरूले यस विषयमा अध्ययन थालिने जनाएका छन् । यद्यपि, हिमपहिरो (एभेलेन्ज) वा ग्लेसियर पग्लिएर अप्रत्यासित ठूलो बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अचानक आउने यस्ता विपत्तिबाट हिमाली क्षेत्र वा हिमनदीको तटीय क्षेत्रका बस्ती सधैँ जोखिममा रहन्छन् । हिमताल फुट्ने, हिमपहिरो जाने जस्ता विभिन्न कारणले मानव बस्तीमा विपत्ति आइलाग्ने गरेका छन् ।
हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि समय फुट्न सक्छन् । त्यसवरिपरि पहिरो गएको अवस्थामा पनि ठूलो बाढीको सम्भावना रहन्छ । लामो समय जम्मा भएर बसेको पानी एकैपटक विस्फोट हुँदा त्यसले निम्त्याउने संकट अहिले भारतको उत्तराखण्डमा देखिएको वा त्योभन्दा ठूलो हुने गर्दछ । हिमतालमा हिमपहिरो खसेपछि पनि यस्तै बाढीको सम्भावना रहन्छ । हिउँका ठूला ढिक्का वा ढुंगासहितको पहिरोले तालको पानी उछालेर बन्ने बाढीको स्वरूप लिने गर्दछ ।
हिमाल स्रोत भएको वा हिउँ पग्लिएर बनेका हिमताल र हिमनदीको घरको रूपमा परिचित नेपालमा पनि यस्तो संकटको ठूलो सम्भावनाप्रति विज्ञहरूले सचेत गराएका छन् । हिमनदी, हिमताल र हिमाली हावापानीबारे अध्ययन गर्दै आइरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी)ले गत भदौमा सार्वजनिक गरेको एउटा अध्ययन रिपोर्टले नेपाल हिमताल र हिमनदीबाट ठूलो जोखिममा रहेको देखाएको छ ।
इसिमोड र युएनडिपीले पछिल्लो झन्डै तीन वर्ष लगाएर गरेको अध्ययनअनुसार कुनै पनि समय फुट्न सक्ने धेरै हिमतालको पहिचान भएको छ । सो अध्ययनले नेपालभित्रै तथा चीन र भारतमा रहेर पनि मानव बस्तीलाई क्षति पु¥याउन सक्ने तीन हजार ६ सय २४ ग्लेसियर हिमताल पत्ता लगाएको छ । यसमध्ये कोसी बेसिन (जलाधार) अन्तर्गत धेरै हिमताल देखिएका छन् । कोसी बेसिनअन्तर्गत ६४ हिमताल भेटिएको छ । यस्तै, कर्णाली बेसिनमा एक हजार एक सय २८ र गण्डकी बेसिनमा चार सय ३२ हिमताल छन् ।
स्याटलाइट इमेज (भूउपग्रहमार्फत लिइएको तस्बिर) र अरू धेरै माध्यमबाट गरिएको अनुसन्धानले ४७ वटा हिमताल कुनै पनि समय फुटेर नेपालतर्फको मानव बस्तीलाई ठूलो क्षति पु¥याउन सक्ने उच्च जोखिममा देखिएका छन् । यसबाट धेरै क्षति हुन सक्ने सम्भावना कोसी बेसिन अर्थात् कोसी तटीय क्षेत्रका बस्तीमा देखिएको छ । कोसी बेसिनअन्तर्गत ४२ वटा हिमताल कुनै पनि समय फुट्ने उच्च जोखिममा रहेको इसिमोडको रिपोर्टमा छ । यस्तै, गण्डकी बेसिनअन्तर्गत तीनवटा हिमताल र कर्णाली बेसिनअन्तर्गत दुईवटा हिमताल कुनै पनि समय फुट्न सक्ने अवस्थामा छन् ।
यसमध्ये २५ हिमाल चीनतर्फ पर्दछ भने २१ वटा नेपालभित्रै पर्दछ । उच्च जोखिममा रहेको बाँकी एक हिमताल भारततर्फ रहेको छ । चीनतर्फको २५ र भारततर्फको उच्च जोखिममा रहेको एक हिमताल विस्फोट भएको अवस्थामा पनि क्षति नेपालतर्फ नै बढी हुनेछ, किनभने ती हिमताल फुटेपछि बग्ने नेपालतर्फ नै हो । इसिमोडले हिमतालको बढिरहेको दर, त्यसवरपरको भौगोलिक अवस्थिति, हिउँपहिरो आउन सक्ने सम्भावनालगायत धेरै कुरालाई आधार बनाई जोखिमपूर्ण हिमतालको पहिचान गरेको जनाएको छ । अध्ययनमा संलग्न रिमोट सेन्सिङ एनालिस्ट क्रायस्फेयर सुदनविकास महर्जन भन्छन्, ‘हामीले स्याटेलाइट इमेज र अरू धेरै माध्यमबाट नेपालभित्रै रहेका तथा चीन र भारतमै रहेर पनि नेपालमा क्षति पु¥याउन सक्ने हिमतालहरूको पहिचान गरेका छौँ । यसको स्थलगत थप अध्ययन गर्न आवश्यक छ ।’
प्राकृतिक प्रकोपबाट बर्सेनि तीन सय ३३ को मृत्यु
नेपालमा सन् १९९७ देखि नै हिमताल विस्फोट भएर क्षति पु¥याउँदै आएको छ । त्यसयताको २४ वर्षको अवधिमा २६ वटा हिमताल विस्फोट भएको छ । त्यसमध्ये १४ वटा नेपालभित्रैका हिमताल फुटेका छन् । नेपालले वर्षाैंदेखि प्राकृतिक प्रकोपबाट ठूलो मानवीय र भौतिक क्षति बेहोर्दै आएको छ । नेपाल सरकारले सन् २०१९ मा सार्वजनिक गरेको रिपोर्टअनुसार प्राकृतिक प्रकोपबाट औसतमा प्रत्येक वर्ष तीन सय ३३ जनाले ज्यान गुमाउने गरेका छन् । यस्तै, प्रतिवर्ष औसतमा एक करोड ७२ लाख ४० हजार अमेरिकी डलरबराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको जनाएको छ । यसमा हिमपहिरो, हिमताल विस्फोटलगायत विभिन्न कारणले आएको बाढीको कारण मानिएको छ ।
हिमताल फुटेर नेपालमा क्षति पु¥याएका सन् १९८० यताका घटना
क्रम संख्या मिति रिभर बेसिन लोकेसन
१. २३ जुन १९१८ तमोर नग्मा पोखरी
२. ११ जुलाई १९८१ भोटेकोसी सिरेन्माचो लेक, झाङजाङबो भ्याली
३. ४ अगस्ट १९८५ दुधकोसी दिग छों
४. १२ जुलाई १९९१ तामाकोसी चुबुङ
५. ३ सेप्टेम्बर १९९८ दूधकोसी सबै छों (तामपोखरी)
६. १५ अगस्ट २००३ मादी कबाचे लेक
७. ८ अगस्ट २००४ मादी कबाचे लेक
८. ५ जुलाई २०१६ भोटेकोसी तिब्बत, चीन
९. २० अप्रिल २०१७ बरुण भ्याली लोयर वरुणनजिक
स्रोतः इसिमोड
इसिमोड र युएनडिपीले गत २२ भदौमा सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालभित्रै रहेका १५ हिमताल कुनै पनि समय विस्फोट भई मानव बस्तीमा पसेर क्षति पु¥याउन सक्ने अवस्थामा देखिएका छन् । उच्च जोखिममा रहेका केही हिमताल :
१. लोयर वरुण
अनुसन्धानकर्ताहरूका अनुसार लोयर वरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पु¥याउने उच्च जोखिममा देखिएको छ । यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । ग्लेसियरका टुक्राहरू झर्ने धेरै सम्भावना छ । तालको दायाँतर्फ पहिरो जान सक्ने र हिउँपहिरो पनि आउन सक्ने सम्भावना छ । योभन्दा माथि एउटा ठूलो र थप दुईवटा स–साना ताल पनि भेटिएका छन् । यसले गर्दा लोयर वरुण हिमताल उच्च जोखिममा देखिएको हो ।
२. चाम्लाङ
दूधकोसी रिभर बेसिनअन्तर्गत पर्ने चाम्लाङ मानव बस्तीलाई ठूलो क्षति पु¥याउन सक्ने उच्च जोखिममा रहेको हिमताल हो । यो हिमतालको माथिपट्टि ग्लेसियर झुन्डिएको छ । यसमा हिमपहिरोको ठूलो सम्भावना देखिएको छ । यसको ड्यामको मुनिपट्टि आइस जमेको देखिएको छ । उक्त आइस पग्लिएर ड्याम कमजोर भएको अवस्थामा चाम्लाङ हिमताल विस्फोट हुने सम्भावना धेरै हुन्छ ।
३. होङ्गु वान
दूधकोसी रिभर बेसिनअन्तर्गत नै पर्ने होङ्गु वान पनि उच्च जोखिम बोकेको हिमताल हो । यो हिमताल जोखिमपूर्ण मानिनुको मुख्य कारण हो, यसको आकार बढ्नु । अध्ययनकर्ताहरूका अनुसार यो ताल छिटोछिटो बढिरहेको छ ।
४. होङ्गु टू
सन् २०११ मा पत्ता लागेको दूधकोसी रिभर बेसिनअन्तर्गतकै यो हिमताल पनि उच्च जोखिममा छ । यसको माथिपट्टि ठूलो मात्रामा ग्लेसियर छ । हिमपहिरोको सम्भावना देखिएको छ । ड्याम कमजोर देखिएको छ ।
५. इम्जा च्छो
सोलुखुम्बुमा पर्ने इम्जा नेपालमा रहेको सबैभन्दा जोखिमपूर्ण हिमतालमध्येको एक हो । इम्जा हिमनदीबाट आएको पानी जमेर हिमताल बनेको मानिन्छ । यो हिमताल सन् १९६० देखि नै अस्तित्वमा छ । यो हिमतालमा पानीको मात्राको वृद्धिदर (इन्क्रिज रेट) ४२.१ प्रतिशत रहेको इसिमोडले जनाएको छ । जोखिम बढ्दै गएपछि सन् २०१६ देखि इम्जाको पानी कटान गर्न थालिएको छ । युएनडिपी, ग्लोबल इन्भायरोमेन्ट फन्ड र नेपाली सेनाले पानी कटान गरेका हुन् ।
६. च्छो रोल्पा
तामाकोसी रिभर बेसिनअन्तर्गत पर्ने च्छो रोल्पा हिमताल पनि उच्च जोखिममा छ । यो तालमा एकपटक पानी घटाइएको हो । ग्लेसियर झर्ने सम्भावना र हिमतालको भौगोलिक अवस्थितिका कारण यो हिमताल जोखिममा देखिएको हो ।
७. लुम्दिङ
दूधकोसी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटोछिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल ग्लेसियरको नजिकको सम्पर्कमा छ । ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।
८. थुलागी
मस्र्याङ्दी रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो । इसिमोडकै अध्ययनमा यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो । यसमा पहिरो जाने वा हिमपहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ । ठूलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मस्र्याङ्दीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो ।
नेपालमा किन बढ्दै छन् हिमताल ?
नेपालमा हिमतालको संख्या बढ्दो अवस्थामा देखिएको छ । सन् १९७७ मा ११६० वटा हिमताल पाइएको कोसी बेसिनमा सन् २०१० मा २१६८ हिमताल भेटिएको थियो । अरू रिभर बेसिनमा पनि हिमताल बढेको पाइएको छ । नेपालमा किन बढिरहेको छ हिमताल ? हिमताल र हिमनदीको अध्ययन गर्दै आइरहेका विज्ञ सुदनविकास महर्जनका अनुसार जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण यो परिवर्तन देखिएको हो । ‘हिमतालहरू विभिन्न कारणले बन्ने गर्दछन्,’ उनी भन्छन्, ‘त्यसको मुख्य कारण जलवायु परिवर्तन र तापक्रम वृद्धि नै हो । नेपालभित्र मात्रै होइन, सबै हिमाली क्षेत्रमा यस्तो समस्या देखिएको छ ।’
सावधानीका उपाय अपनाउन आवश्यक छ
सुदनविकास महर्जन
रिमोट सेन्सिङ एनालिस्ट क्रायस्फेयर
पछिल्ला अध्ययनले नेपालका हिमताल उच्च जोखिममा रहेको देखाएको छ । उच्च जोखिममा छ भन्नुको अर्थ आजै वा भोलि नै हिमताल फुट्छ भन्ने होइन । यो संकट कुनै पनि समय आउन सक्दछ । त्यसैले हामी समयमै सतर्क हुन आवश्यक छ । मुख्य रूपमा तटीय क्षेत्रमा बसोवास गर्ने मानिसले सावधानी अपनाउनुपर्छ । त्यसका लागि सूचना आदानप्रदान गर्नुपर्छ । त्यस्तो कुनै दुर्घटना भएको अवस्थामा माथिल्लो तटीय क्षेत्रले तल्लो तटीय क्षेत्रलाई सूचना दिन सक्दछ । त्यसबाट मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ । घर वा अरू संरचना बनाउँदा खोला किनाराभन्दा पनि केही माथि बनाउन आवश्यक छ । यसले कुनै संकट आइहालेको अवस्थामा बचाउनेछ । त्यसबाहेक सकार र सम्बन्धित निकायले जोखिममा रहेका यस्ता हिमताललाई पानी कटान गर्ने वा अरू कुनै पनि तरिकाबाट कम जोखिमपूर्ण बनाउने काम गर्नु आवश्यक छ ।
गाउँसम्मै विपत् व्यवस्थापन संयन्त्र आवश्यक छ
ठकुरप्रसाद देवकोटा
विज्ञ, जलवायु परिवर्तन
हिमाली क्षेत्रमा भइरहेका यी सबै परिवर्तन जलवायु परिवर्तनका असरले भइरहेका छन् । जलवायु परिवर्तन रोक्न हाम्रो मात्रै हातमा छैन । विश्वले नै यसमा योगदान गर्नुपर्दछ । हिमतालमार्फत हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि आफूले गर्न सक्ने कामतर्फ सोच्न आवश्यक छ । हामीले केन्द्रदेखि गाउँपालिकास्तरसम्मै विपत् व्यवस्थापन गर्ने संयन्त्र खडा गर्न आवश्यक छ । यस्तै, तटीय क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आवश्यक छ । यस्तै, त्यस्ता जोखिमपूर्ण तालहरूलाई ड्रेनेज वा अरू कुनै माध्यमबाट जोखिम कम गर्ने प्रयास गरिनुपर्दछ ।