१८ वर्षअघि सुरु गरिएको धोबीखोला करिडोर सुधार आयोजना अहिलेसम्म पनि निर्माण पूरा भएको छैन । काठमाडौं उपत्यकाको भित्री चक्रपथ विकास गरी सवारी व्यवस्थापन तथा सहरी विकासका लागि धोबीखोला करिडोरको निर्माण भइरहेको हो । करिडोर निर्माणमा अहिलेसम्म दुई अर्ब ८९ करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ । तेस्रो चरणको काम २०७९ जेठ मसान्तसम्म सक्नुपर्ने भए पनि बजेट अभावका कारण आगामी वैशाखदेखि निर्माण कार्य रोकिने आयोजनाले जनाएको छ ।
‘अब एक–दुई महिनालाई पुग्ने बजेट मात्र हामीसँग छ । त्यसपछि बजेट अभाव हुन्छ । काम नरोक्नु, मिलाएर गर्नु भनेका छौँ । पुस–माघमा जाडोका कारण काम गर्न केही गाह्रो हुन्थ्यो । अब मौसम पनि अनुकूल हुँदै गएको छ,’ उपत्यका विकास प्राधिकरणअन्तर्गत काठमाडौं जिल्ला आयुक्त दिनेशकृष्ण पोतेले भने, ‘अहिलेसम्म आयोजनाका काम त भइरहेका छन् । बजेट नै अभाव हुन थालेपछि ठेकेदारलाई भुक्तानी दिन समस्या हुन्छ, त्यसैले काम अगाडि बढ्न सक्छ भनेर भन्न सकिन्न ।’
आर्थिक वर्ष २०७७-७८ का लागि आयोजनाले २५ करोड ४० लाख बजेट पाएको थियो । जसमध्ये हालसम्म करिब १८ करोड रुपैयाँ खर्च गरिसकेको छ । अझै १० करोडजति अभाव हुने आयोजनाले जनाएको छ । आयोजनाले यो वर्ष ९५ प्रतिशत काम सक्ने लक्ष्य राखे पनि बजेट अभावका कारण काममा प्रभाव पर्ने देखिएको छ । बजेट अभावबाहेक काम गर्न हाललाई अन्य समस्या नरहेको आयोजनाले जनाएको छ । ‘ठेकेदारको कामअनुसार समयभन्दा अगावै आयोजनाअन्तर्गत तेस्रो चरणको काम पनि सकिने अवस्था थियो । तर, त्यही गतिमा काम गर्दै जाँदा बजेट नपुग्ने भयो,’ काठमाडौं जिल्ला आयुक्त पोतेले भने ।
निर्माण थालेको १८ वर्षमा पनि आयोजना अझै सकिएको छैन । सुरुमा ११ किलोमिटर निर्माणको मात्र उद्देश्य राखिए पनि त्यसपछि फेरि अर्को चरण सुरु गरिएका कारण ढिलाइ भएको आयोजनाको दाबी छ । करिडोरको दूरी ११ किलोमिटरबाट बढेर २४ किलोमिटरमा पुगेको छ । ‘सुरुमा खैरो पुलदेखि बैजनी पुलसम्म आयोजना विस्तार गर्ने योजना थियो । जुन ११ किलोमिटरसम्म मात्र थियो । तर, आयोजना लम्बिँदै गयो । अहिले तेस्रो चरणअन्तर्गत कपन भंगाल पुलदेखि राममन्दिरसम्म आयोजना विस्तार गरियो,’ आयुक्त पोतेले भने, ‘हामी त्यहाँको भौगोलिक अध्ययन गर्दै छौँ । राममन्दिरबाट अझै पर पुग्न पनि सक्छ ।’
२०५९ देखि सुरु भएको थियो करिडोर निर्माण
करिडोर निर्माण २०५९ देखि सुरु भएको थियो । सुरुका वर्षमा कामले गति लिन नसके पनि आर्थिक वर्ष २०६७-६८ देखि भने कामले केही गति लिन थालेको थियो । हालसम्म कामको प्रगति करिब ८० प्रतिशत भएको आयोजनाले जनाएको छ । बजेटको अभाव, स्थानीयको अवरोध, अन्तरनिकायबीच समन्वयको अभाव, अधिकारसम्पन्न बागमती एकीकृत समाजले ढल निर्माणमा देखाएको सुस्ततालगायतका कारण करिडोर निर्माणमा ढिलाइ भएको धोबीखोला करिडोर सुधार आयोजनाले बताएको थियो ।
जापान सहयोग नियोग (जाइका)ले सन् १९९३ मा गरेको अध्ययनअनुसार बढ्दो सहरी चापलाई घटाउने उद्देश्यसहित दिएको प्रतिवेदनअनुसार सरकारले २०५९ देखि नै यो आयोजना सञ्चालन सुरु गरे पनि वार्षिक बजेट विनियोजनको काम भने २०६७ बाट मात्रै भएको थियो । आयोजनाले नदीका दुवै किनारमा सडक निर्माण हुने भएकाले भित्री सहरको यातायात व्यवस्थापनमा यो सडकको प्रयोग हुनेछ ।
सम्पन्न भएको काम
धोबीखोला करिडोर सुधार आयोजनाका इन्जिनियर सज्जन कुँवरका अनुसार सुरुमा खैरो पुलदेखि बैजनी पुलसम्म विस्तारको योजना थियो । जसमा ११ किलोमिटर पथ्र्यो । दोस्रो फेजमा बैजनी पुलदेखि कपन भंगालसम्म चार किलोमिटर र तेस्रो फेजमा कपन भंगाल पुलदेखि राममन्दिरसम्म साढे दुई किलोमिटर आयोजनाका चरण हुन् । दुवैतर्फ गरेर पाँच किलोमिटर रहेको छ । हाल करिडोरअन्तर्गत कपनको संयुक्त बसपार्कसम्म गाडी गुड्ने आयोजनाले जनाएको छ ।
आयोजनाको पहिलो चरणअन्तर्गतको बैजनी पुल (चाबहिल रिङरोड)देखि खैरोपुल (बागमती दोभान) सम्म खोलाको दुवैतर्फ ५.५-५.५ गरी जम्मा ११ किमि लम्बाइको नौ मिटर चौडा सडक ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ । दोस्रो चरणको बैजनी पुलदेखि कपन भंगाल पुलसम्म खोलाको दुवैतर्फ ४.०-४.० गरी जम्मा आठ किलोमिटर लम्बाइको नौ मिटर चौडा सडक ट्र्याक खोल्ने कार्य ८० प्रतिशत काम सम्पन्न भएको छ । बैजनी पुलदेखि कपन भंगाल पुलसम्मको क्षेत्रमा (दुवैतर्फ) ९५ प्रतिशत नदी नियन्त्रण कार्य सम्पन्न भएको छ । यो सडक खण्डमा धर्मया–गौरीगणेश र जावबाला जेभीले काम गरेको थियो ।
तेस्रो चरणअन्तर्गत आयोजनाको कार्यक्षेत्र दक्षिणमा कपन भंगाल पुलदेखि करिब २.५ किलोमिटर उत्तरतर्फ राममन्दिर क्षेत्रसम्मको काम छिट्टै सकाउने गरी काम भइरहेको छ । हाल कपन भंगालमा ढल हाल्ने, ढलान गर्ने, रेलिङ हाल्नेलगायतको काम भइरहेको छ । कपन राममन्दिर, कपन भंगाल पुलसम्म–चावहिलको बैजनी पुलसम्म–खैरो पुल (बागमती दोभान)सम्म खोलाको दुवैतर्फ गरी २४ किलोमिटर करिडोरको सडक खण्ड बन्नेछ । ‘तीन सय मिटरमा पहिरो भएका कारण त्यसमा कसरी जाने भनेर हामीले काम गरिरहेका छौँ । मुख्य काम सकियो । सबै काम पाँच सात महिनामा सकिन्छ । फेरि थप्ने योजना भएको छ । त्यसका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको छ,’ आयोजना प्रमुख पोतेले भने, ‘नीलोपुल क्षेत्रको पूर्वपट्टि वडा नम्बर १० मा पाँचवटा घरजग्गा अधिग्रहण गर्न बाँकी छ । नीलोपुल क्षेत्रमा करिब दुई सय मिटर सडक ट्र्याक खोल्न बाँकी छ ।’
काठमाडौं महानगरपालिकालगायत उपत्यकामै बढ्दै गइरहेको सहरी विकास सँगसँगै बढ्दो सवारी चापलाई व्यवस्थित गर्न भन्दै आयोजनाको सुरुवात गरिएको थियो । तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिले धोबीखोला करिडोर सुधार आयोजना व्यवस्थापन उपसमिति गठन गरी यस करिडोरको निर्माण कार्यका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा दियो । महानगरले आफूले निर्माण गर्ने भन्दै समितिसँग मागेको थियो । १७ वैशाख २०५९ देखि काठमाडौं महानगरले आयोजनालाई सञ्चालनमा ल्याएको थियो । करिब ६ वर्ष सञ्चालन गरेपछि पूर्वाधार विकासका लागि बजेट अभावजस्ता समस्या देखापरेपछि २ पुस २०६४ देखि तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिबाटै आयोजनाको कार्य सञ्चालन हुन थाल्यो । काठमाडौं उपत्यका नगर विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरणमा परिणत भएपछि यो आयोजना सहरी विकास मन्त्रालयअन्तर्गत रहेर सञ्चालित छ ।