१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ फाल्गुण ७ शुक्रबार ०८:१७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शान्ति–सुरक्षा खोज्दै गुल्मीका जनताले प्रशासन घेरे

पछिल्लो समय एकपछि अर्को गरी अपराधका घटना बढिरहेको, तर प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीयले कार्यकक्षमै सिडिओ र प्रहरी प्रमुखसँग आक्रोश पोखेका छन्

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण ७ शुक्रबार ०८:१७:००

रेसुंगा नगरपालिका– ३ भाडगाउँकी ५२ वर्षीया टोमकला खत्रीको घरमा ३० माघको राति तीनजना अपरिचित व्यक्ति आए । उनीहरूले टोमकला र उनका १४ महिने नातिलाई छुट्टै कोठामा थुने भने बुहारी सम्झना बोहरालाई अपहरण गरे । कसैलाई भने ज्यान मार्ने धम्की दिएकाले टोमकलाले घटनाबारे कसैलाई भनिनन् ।

२ फागुनमा सम्झनाको घर आइपुगेको माइती पक्षले घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दियो । प्रहरीले टोमकलासँग सोधपुछ ग¥यो भने सम्झनाका पति नेत्रबहादुरलाई तत्कालै पक्राउ गर्‍यो । घटना तब झन् रहस्यमय बन्यो, जब त्यसै दिन टोमकला झुन्डिएको अवस्थामा फेला परिन् । उनकी बुहारी सम्झनाको अझै अत्तोपत्तो छैन । 

टोमकलाको शवको अझै पोस्टमार्टम हुन सकेको छैन । घर पक्षले छोरी हराएको विषयमा माइती पक्षले अनावश्यक तनाव दिँदा टोमकलाले आत्महत्या गरेको भन्दै आत्महत्या दुरुत्साहनको जाहेरी दिएपछि सम्झनाका बाबु हिरा र फुपू मिठु बोहरा अहिले प्रहरी हिरासतमा छन् ।

घटनाको निष्पक्ष छानबिन र सम्झनाको खोजीको माग गर्दै घर पक्ष प्रदर्शनमै उत्रिएको छ । माइती पक्ष घरबाटै आफ्नी छोरी बेपत्ता पारिएको भन्दै घर पक्षविरुद्ध किटानी जाहेरी दिने तयारीमा छ । प्रहरीले समयमै सक्रियता देखाएर अनुसन्धान नगर्दा यो अवस्था आएको स्थानीयले टिप्पणी गर्न थालेका छन् ।

 सिडओको कार्यकक्षमै आन्दोलनकारी
बिहीबार आन्दोलनकारी प्रशासनको गेट र सुरक्षा घेरा तोडेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कार्यकक्षमा पुगे । नारा–जुलससहित प्रशासन कार्यालय पुगेका आक्रोशित आन्दोलनकारीलाई प्रहरीले रोक्न नसकेपछि उनीहरू प्रजिअको कार्यकक्षमा पुगेका थिए ।

अपराधका घटनामा प्रहरीको अनुसन्धान फितलो भएको, दोषी पत्ता लगाउन निष्क्रिय रहेको स्थानीयवासीको गुनासो 

उनीहरूले जिल्लामा शान्ति–सुरक्षा कायम राख्न नसकेको भन्दै प्रजिअ शर्मा र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रवीणलाल श्रेष्ठको आलोचना गरे । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले जवाफ त दिए, तर आन्दोलनरत पक्षको चित्त बुझेन । घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेय र सन्तोष चन्द आन्दोलनकारीका अगाडि आए । उनीहरूलाई अनुसन्धानको स–विस्तार भन्न लगाइयो । आन्दोलनकारीको अगाडि प्रहरी अधिकृतहरूको अनुसन्धानमा भइरहेको प्रगति सविस्तार सुनाइयो । अनुसन्धानका कुरा गोप्य राख्नुपर्नेमा आन्दोलनका अगाडि प्रहरी–प्रशासन निरीह देखियो । 

 कार्यकक्षमै प्रजिअमाथि दुव्र्यवहार
नारा–जुलुससहित बच्चा बोकेर आन्दोलनकारी कार्यकक्षमा पसेपछि प्रजिअ शर्मा निकैबेर असहज अवस्थामा देखिइन् । आन्दोलनकारीले अपशब्द प्रयोग गर्दै कैयौँपटक दुव्र्यवहार गरे । अकस्मात् सामना गर्नुपरेको यो अवस्थाका कारण उनी निकैबेर आँसु खसालेर बसिन् ।

आफू पनि एक महिला, आमा भएको भन्दै उनले पटक–पटक आन्दोलनकारीलाई सम्झाउन खोजिन् । अपशब्द बोलेर पटक–पटक दुव्र्यवहार गर्दा पनि उनले बल प्रयोग गर्न खोजिनन् । त्यसलाई आन्दोलनकारीले कमजोरी ठाने र निरन्तर दुव्र्यवहार गरिरहे । कतिसम्म भने उनकै कार्यकक्षमा १४ महिने बच्चा छाडेर आन्दोलनकारी हिँडे ।

गुल्मीका स्थानीयवासी यसरी आक्रोशित हुँदै प्रशासन कार्यालयभित्रै पुग्नुका पछाडि पछिल्ला समय जिल्लामा बढेको असुरक्षाको वातावरणले पनि काम गरेको पीडितहरूको भनाइ थियो । हुन पनि पछिल्ला केही महिनायता गुल्मीमा एकपछि अर्को गर्दै अपराधका जघन्य घटना भइरहेका छन् । 

सिडिओको कार्यकक्षमा १४ महिने बच्चा छाडेर हिँडे आन्दोलनकारी
आन्दोलनरत पक्ष र प्रशासनबीच दुई घन्टासम्म चलेको चर्काचर्कीले कुनै समाधान दिन सकेन । पीडित पक्षले शवको पोस्टमार्टम गर्न दिने, प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाउने विषयमा करिब–करिब सहमति हुन लागेको थियो । तर, एकाएक वार्ता भाँडियो । 

प्रहरीले आफूहरूलाई विश्वस्त बनाउन नसकेको भन्दै पीडित पक्षले १४ महिने बच्चा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै छोडेर हिँड्यो । आमा बेपत्ता भएका ती अबोध बालक प्रशासनलाई गलाउन प्रयोग गरेजस्तो देखियो । ‘आमा पत्ता नलागेसम्म यो बालक सिडिओ र शव एसपीले जिम्मा लिनुपर्छ,’ आन्दोलनका एक अगुवा निरोज मरासिनीले भने, ‘जनतालाई प्रहरी प्रशासनप्रति कुनै आस छैन ।’ बिहीबारै साँझ साढे ७ बजेतिर परिवारका सदस्य आएर बच्चा लिएर गएको प्रहरीले जनाएको छ । 

पछिल्ला केही महिनायता गुल्मीमा अपराध बढेका छन् 
घटना १ :  घाँस काट्न जाँदा हत्याहत्यारा पत्ता लागेन
गुल्मीको रेसुंगा नगरपालिका– १४ पराल्मीका ४५ वर्षीय तुलबहादुर विकको हत्या भएको एक महिनाभन्दा बढी भयो । ३ माघको बिहान ४५ वर्षीया श्रीमती गीतासँगै घाँस काट्न जंगल गएका तुलबहादुर त्यसपछि फर्किएनन् । दिउँसो साढे २ बजेतिर बन्दुकको छर्रा लागेको अवस्थामा उनी फेला परेका थिए ।

गाउँमा मजदुरी गरेर परिवार पाल्ने विकको कसले हत्या गर्‍यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । हत्यापछि परिवार शोकमा छन् । दिउँसै बन्दुक हानेर हत्या भएपछि स्थानीयमा क्रास बढेको छ । तर, प्रहरीको अनुसन्धानले अहिलेसम्म दोषी पत्ता लगाउन सकेको छैन । ‘मर्ने त मरिसके बाँचेकालाई पनि ठूलो डर भयो,’ श्रीमती गीता विकले भनिन्, ‘घटनामा संलग्नलाई अविलम्ब कानुनको दायरामा ल्याउन पर्‍यो ।’ 

घटना २ : ६ महिनाअघि व्यापारीको हत्या, प्रहरी अनुसन्धान असफल
इस्मा गाउँपालिका– १ का मोतीबहादुर कुँवरको २१ भदौ ०७७ मा आफ्नै पसलमा बीभत्स हत्या भयो । हत्या भएको करिब ६ महिना पुग्न लाग्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । गुल्मी प्रहरीले अहिलेसम्म अपराधमा संलग्न व्यक्तिको सुइँको पाउन सकेको छैन ।

लामो समयसम्म हत्यारा पत्ता नलाग्दा स्थानीयमा प्रहरी प्रशासनप्रति आक्रोश बढेको स्थानीय वीरबहादुर खत्रीको भनाइ छ । ‘प्रहरीले निर्दोष मान्छे पक्राउ गर्ने र थर्काउने गर्‍यो, अपराधीले उन्मुक्ति पायो,’ उनी भन्छन्, ‘शान्ति–सुरक्षा छैन, स्थानीय त्रासमा बाँचिरहेका छन् ।’

घटना ३ : मानव बेचबिखनका आरोपित गाउँमै, तर प्रहरी पक्रँदैन
गुल्मीदरबार गाउँपालिका– ४ का ३८ वर्षीय नारायण पाध्य शर्मा चुदालीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ८ मंसिर ०७७ मा मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भएको छ । उनले गत २६ कात्तिक ०७७ मा स्थानीय १७ वर्षीया बालिकालाई प्रलोभनमा पारेर भारत लगी बेचेको आरोप छ । आरोपितविरुद्ध जिल्ला अदालतले १० मंसिरमै पक्राउपुर्जी जारी गरेको थियो । तर, आरोपित अहिले पनि गाउँमै डुलेर हिँड्दा पनि प्रहरीले पक्राउ नगरेको स्थानीयको भनाइ छ ।

घटना ४ : अन्धविश्वासको जालो तोड्न असफल
बिरामी सञ्चो बनाउने नाममा धामीले डामेर २९ पुसमा इस्मा गाउँपालिका– ३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भयो । रेसुंगा नगरपालिका– १ उदिनढुंगामा झारफुक गर्दै आएका मालिका गाउँपालिका– ६ का ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीया शान्तिला श्रेष्ठले रामबहादुरलाई डामेका थिए ।

उनीहरूले रामबहादुरका ३४ वर्षीय छोरा हुमबहादुर र रेसुंगा– ५ की ४० वर्षीया टोपला दमाईंलाई पनि डामेर घाइते बनाएका थिए । आरोपित दम्पतीलाई प्रहरीले २९ गते नै गिरफ्तार गर्‍यो । अहिले अनुसन्धान चलिरहेको छ । तर, स्थानीय प्रहरीको अनुसन्धान फितलो हुने र आरोपितहरू प्रमाणहरूको अभावमा अदालतबाट छुट्ने हुन् कि भन्ने आशंका व्यक्त गरिरहेका छन् । 

 घटना ५ : एक वर्षमा तीनपटक वडा कार्यालय चोरी, चोरको पहिचान भएन
मालिका गाउँपालिका– ७ को वडा कार्यालय एक वर्षमा तीनपटक तोडफोड भयो । नचिनेका व्यक्तिले गत ७ माघमा तोडफोड गरेर ल्यापटप चोरे । वडाध्यक्ष वेदप्रसाद पन्थीका अनुसार त्यसअघि १० असोजमा पनि वडा कार्यालय तोडफोड गरेर ६० हजार नगद चोरी भएको थियो ।

९ पुस ०७६ मा पनि वडा कार्यालय तोडफोड गरेर नगद ३० हजार चोरी भएको थियो । पटक–पटक वडा कार्यालय तोडफोड हुँदा पनि चोर पत्ता लागेको छैन । पटक–पटक तोडफोड हुँदा पनि अपराधी पक्राउ नपर्दा आफूहरूलाई नै असुरक्षाको भय उत्पन्न हुन थालेको वडाध्यक्ष पन्थीको भनाइ छ । तर, अहिलेसम्म प्रहरीले अपराधीलाई पक्राउ गर्न सकेको छैन ।