मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ६ बिहीबार
  • Saturday, 23 November, 2024
नवीन प्यासी काठमाडौं
२o७७ फाल्गुण ६ बिहीबार o३:३२:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजधानीमै दलितमाथि विभेद : कानुनमा स्नातक गरिरहेका विद्यार्थीलाई समेत डेरा दिन इन्कार

बोल्न सक्नेलाई त यो विभेद छ, नबोल्नेलाई कति ?

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ६ बिहीबार o३:३२:oo

२ फागुनमा करुणा विश्वकर्मा धापासी हाइटस्थित कोठाबाट बाहिर निस्किएकी मात्र के थिइन्, उनले आफू बसेको घरबाट तीन घर पर फ्ल्याट सरिरहेका मान्छे देखिन् । बालबालिका स्कुल गइरहेका थिए । मान्छेहरू अफिस निस्किरहेका थिए । तर, करुणाको ध्यान फ्ल्याट सरिरहेको घर र मान्छेतिरै खिचियो । किनभने उनलाई फ्ल्याट चाहिएको थियो ।

फ्ल्याट सरिरहेका मान्छे सम्मुख पुगेर उनले सोधिन्, ‘फ्ल्याट खाली भएको हो ?’ घरको गेटमै पुगेकी करुणाले बाहिर निस्किँदै गरेका अधबैँसे महिला र पुरुषलाई सोधेकी थिइन् । उनीहरूले करुणालाई ‘अँ खाली भएको हो, हेर्नू न’ भने । उनीहरू घरबेटीका आफन्त रहेछन् । उनीहरूले घरबेटी पनि बोलाइदिए । फ्ल्याट हेरिन् । सेवासुविधा उनलाई राम्रै लाग्यो । भाडा भने महिनाको सोह्र हजार, पाँच सय रुपैयाँ पानी र फोहोरको, बिजुलीको बिल आफैँले तिर्नुपर्ने । त्यसपछि करुणा ‘बहिनीलाई सोध्छु, अनि तपाईंहरूलाई खबर गर्छु’ भनेर निस्किइन् । घरबेटीको नम्बर लिइन् ।

उनले बहिनीलाई भनिन्, ‘घर ठीकै छ, तर अलि महँगो छ ।’ एयरपोर्टमा जागिर गर्ने करुणाको बहिनीले ‘महँगै भए पनि हेरौँ न’ भनेपछि दुवै गए । बहिनीले कुरा मिलाइन्, १५ हजार रुपैयाँमा पक्का भयो । पछि कोठामा आएर फेरि करुणाले फोन गरिन् घरबेटीलाई, १५ हजारमै फोहोर र र पानीको मिलाइदिनु भनिन् । घरबेटीले भने, ‘स्थायी तरिकाले बस्न आउनुहुन्छ भने आउनुस् न त ।’ भोलिपल्ट करुणा र उनकी बहिनी घरबेटीलाई भेट्न गए । घरको गेटमा ‘फ्ल्याट खाली छ’ भनेर पम्प्लेट राखिएको थियो । फोन नम्बर पनि थियो । घरको छतबाटै ३५÷३६ वर्षीया घरबेटी महिलाले भनिन्, ‘सबै पक्का भयो । त्यो पम्प्लेट च्यातिदिनुस् । धेरै मान्छे आएर दुःख दिए ।’ करुणाले च्यातिदिइन् । ‘बहिनी अफिसबाट आएपछि एड्भान्स दिन्छु,’ भनिन् ।

तर, साँझमा बहिनी अफिसबाट आउन ढिला गरिन् । भोलिपल्ट बिहानै करुणाकी बहिनी कालीमाटी गइन् तरकारी किन्न । उनीहरूको धापासीमा तरकारी पसल पनि छ । बजारबाट फर्केपछि अफिस लागिन् । करुणा एक्लै गइन् एड्भान्स दिन । गएर घरको घन्टी बजाइन् । घरबेटी महिला झरिन् । एक हजार रुपैयाँ दिइन् करुणाले । घरबेटीले खल्तीमा हालिन् र सोधिन्, ‘कहिले सर्नुहुन्छ ?’ ‘केही दिनमा सर्छौं होला । सामान अलि धेरै छ ।’ यसपछि करुणा घरबाट निस्कन लागेकी थिइन् । बिएएलएलबी दोस्रो वर्षको परीक्षा ३ फागुनमा थियो उनको ।

करुणा विश्वकर्मा । तस्बिर ः ज्ञानेन्द्र कार्की

 

म आफ्नो जात नभनीकन नबस्नु भन्छु । कुनै न कुनै दिन थाहा भइहाल्छ । ढाँटेर बस्दा नराम्रो त हुन्छ नै, साथै आफ्नो पहिचान पनि किन गुमाउने ? काठमाडौंमा विभेद म स्वयंले भोग्छु भन्ने अपेक्षा थिएन । अब म कानुनी उपचारमा जानुको विकल्प छैन । जाहेरी दिँदै छु ।

अचानक घरबेटीले सोधिन्, ‘बहिनीहरूको थर के हो ?’ ‘विश्वकर्मा ।’ करुणा सुनाउँछिन्, ‘त्यो सुन्नासाथ उहाँको अनुहारै अर्को भयो । थाहा नपाएजस्तो गर्नुभयो । र सोध्नुभयो, ‘विश्वकर्मा भनेको...’ । मैले ‘विश्वकर्मा भनेको थाहा पाउनुभएन र ?’ भनेर सोधेँ । उहाँले ‘अँ, विश्वकर्मा भनेको...’ भनेर गम खानुभयो । मैले ‘विश्वकर्मा भनेको दलितभित्रको एउटा थर हो’ भनेँ । उनले ‘ए होर ?’ भन्नुभयो । अनि ‘त्यसो भए त....’ भन्नुभयो । त्यहीवेला उहाँको श्रीमान् तरकारी लिएर आइपुग्नु भयो । ती महिलाले भनिन्, ‘बहिनीहरूको जात त विश्वकर्मा रे । के गर्ने ? भाडामा दिने हो ?’ म महिलाको आमनेसामने थिएँ । श्रीमान्सँग आँखाको इसाराले बोलिन् । श्रीमान् भ¥याङ उक्लिए । यसपछि श्रीमतीले भनिन्, ‘सरी बहिनी, तपाईंहरूलाई घरभाडा दिन सक्दिनँ । पैसा फिर्ता लिनुस् ।’ 

तर, करुणाले पैसा फिर्ता लिइनन् । बरु सोधिन्, ‘थरले घरभाडामा लगाउन तपाईंलाई असर गर्छ र ? सार्वजनिक रूपमा गेटमा सूचना टाँस्नुभएको छ । हाम्रो सहमति भएको पनि चार दिन भयो । भाडामा नदिने अन्य बहाना पनि त होला ?’ तर, घरबेटीसँग जवाफ थियो, ‘त्यस्तो होइन बहिनी, गाउँमा बुबाआमा पनि हुनुहुन्छ ।’ 

‘पढ्न सकिनँ, अपमानले बिझाइरह्यो’

करुणाको घर दोलखा हो । जिल्लामै जातीय विभेदमा परेका नमीठा स्मृति उनीसँग छँदै छन् । स्कुलका साथीहरूले दिएका खाजा फ्रकमा थापेर खान्थिन् । उनले छोएको कसैले खाँदैन थिए । त्यही भएकाले घरबाट खाजा लिएर जाँदिन थिइन् । बरु साथीहरूले बाँडेको खाजै मीठो लाथ्यो उनलाई । ती कुरा त हिजोका थिए, तर सानोठिमी क्याम्पसमा हेल्थ एजुकेसनमा स्नातकोत्तर, ल क्याम्पसमा बिएएलएलबी दोस्रो वर्ष अध्ययन गरिरहेकी करुणा आज फेरि जातीय विभेदको सिकार हुनुपर्दा निराश बनिन् । भनिन्, ‘तपाईंले अपराध गर्नुभयो दिदी । म कानुनी उपचारमा जान्छु अब ।’ तर, घरबेटीको जवाफ थियो, ‘मैले हिजो अस्ति नै सोध्नुपथ्र्यो, गल्ती गरेँ । हिजो पनि तामाङनी बहिनीहरू आएका थिए । तर, रक्सी खाने जात भनेर दिएनौँ ।’ 

करुणाले भनिन्, ‘अब तपाईंको सरीले मैले गुमेको आत्मसम्मान फिर्ता पाउँदिनँ । तपाईंलाई सामान्य लागेको होला यो विषय । मेरो अनुभूतिमा तपाईं पुग्न सक्नुहुन्न । यो काठमाडौं हो, सोह्र वर्ष भयो बसेको । म कानुनी उपचारमा जान्छु ।’ आफूले जात सोध्दा घरबेटीले ‘हामी त बाहुन हो’ भनेको उनी बताउँछिन् । उनले एड्भान्स फिर्ता पनि लिइनन् । हिँडिन्, भोलिपल्टको परीक्षाको तयारी गर्नु थियो उनलाई । उनी सुनाउँछिन्, ‘तर कोठामा आएर पढ्न सकिनँ । अपमानले बिझाइरह्यो मात्र ।’

करुणाले दिएको एड्भान्स रकम तरकारी पसलमा ल्याएर घरबेटीले छाडिदिएछन्, त्यो पैसा उनले अहिलेसम्म लिएकी छैनन् । घरबेटीले उनलाई फोन पनि गरेका छैनन् । ‘कानुनी उपचारमा जाने’ करुणाको निर्णयमाथि धेरैथोक अंकुश बनेर आइदिए । भर्खरै उनकी बहिनी (फूपूकी छोरी) हरूले तरकारी पसल खोलेका छन् । तरकारी पसलनजिकै मन्दिर छ । मन्दिरका लागि उनीहरूको पसलबाटै पनि फलफूल किन्छन् मान्छेले । मान्छेले जात थाहा पाएमा पसलमा नआउलान् कि भन्ने विषय करुणाको परिवारमा निस्कियो । बहिनीहरूले भने, ‘मुद्दामामिलामा जाँदा तरकारी पसलै चलाउन नसकिने गरी अप्ठ्यारो पर्ला कि भन्ने भयो । तनाव हुन्छ । यसो नगरौँ ।’ तर त्यो मुद्दा आफ्नो भएको र आफू नै घरबेटीकहाँ गएकाले नडराउन भनेको करुणाले बताइन् ।

‘यसपछि साथीहरूसँग सल्लाह गरेँ । चिनेको अधिवक्ता दाइसँग सल्लाह गरेँ । काठमाडौंमा जातको कारण विभेद हुन्छ भन्ने त थाहा थियो । मेरा चिनेका बहिनीहरूलाई नै त्यस्तो भएको छ । म आफ्नो जात नभनीकन नबस्नु भन्छु । कुनै न कुनै दिन थाहा भइहाल्छ । ढाँटेर बस्दा नराम्रो त हुन्छ नै, साथै आफ्नो पहिचान पनि किन गुमाउने ? काठमाडौंमा विभेद म स्वयंले भोग्छु भन्ने अपेक्षा थिएन । अब म कानुनी उपचारमा जानुको विकल्प छैन । जाहेरी दिँदै छु,’ उनले भनिन्, ‘गुमेको आत्मसम्मान र चोट फिर्ता ल्याएरै छाड्छु । टेलिकमबाट थाहा भयो, घरबेटीको नाम माधवराज भुसाल रहेछ । घरबेटी दुवैको नाम पत्ता लगाएर जाहेरी दिँदै छु ।

कैलालीकी दीपा नेपालीको मुद्दा अदालतमा विचाराधीन

यस्तो विभेद करुणाले मात्रै होइन, कैलालीकी दीपा नेपालीले पनि भोगेकी छन् । उनले यस्तै विषयमा दायर गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । दीपाको मुद्दा तारकेश्वर नगरपालिका–१० नेपालटारको हो । गत वर्ष १३ मंसिरमा श्रीकृष्ण बिडारीको घरमा उनीहरू डेरा सरेका थिए । अगाडि नै पाँच सय एड्भान्स दिए । आठ हजारमा दुईवटा कोठा लिएका उनीहरू कोठामा सामान मिलाउँदै थिए । बिडारीकी छोरी शर्मिला आएर दीपाहरूको जात सोधिन् । उनीहरूले जात बताए । दीपाको मास्टर्स तेस्रो सेमेस्टरको परीक्षा आउनै लागेको थियो । तर, जात थाहा पाएपछि घरबेटीले ‘यहाँ अरू बस्नेलाई गाह्रो हुन्छ, घरमा पनि जुठो परेको छ’ भनेर कोठा सर्न लगाए । अर्को ठाउँमा कोठा खोजिदिए । तीन महिना जसोतसो बसे ।

दीपाका अनुसार पछि आफन्त बोलाएर बाहिर निस्कनुप¥यो । जात नसोधेर ठूलो गल्ती गरियोलगायत भने । ४ फागुन बिहानै कोठाबाट निस्कनुपर्छ भने । यसपछि दीपाहरू बालाजु प्रहरीकहाँ गए गृह मन्त्रालयका कर्मचारी बिडारीविरुद्ध उजुरी गर्न । तीन दिनपछि मुद्दा दर्ता भयो । यो मुद्दा अदालतमा विचाराधीन छ । उनीहरू ३० फागुनमा बिडारीको घरबाट कोठा सरे । जातीय छुवाछूत तथा भेवभाव ऐन, २०६८ को दफा १ मा ‘कसैले कुनै पनि व्यक्तिलाई प्रथा परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जातजाति, वंश, समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लेख छ । 

यस्तो विभेदविरुद्ध कानुनी उपचारमा जानैपर्छ : राम मिजार, अधिवक्ता 

कानुन उल्लंघन गरेको मात्र नभएर अहिलेको समयमा पनि मानिसलाई मानिस नठानेको विषय हो यो । यसलाई हामीले सामान्य रूपमा मात्रै हेर्नु हुँदैन, अत्यन्तै गम्भीर छ । समस्या परेपछि उजुरी गर्न जाने हो । त्यसपछि बाँकी कुरा कानुनले हेर्छ । अहिले पीडितहरू बोल्न थालेपछि मात्रै यस्ता विषय बाहिर आएको छ । त्यसैले कानुनी उपचारमा जानैपर्छ हामी । नगएमा झनै जटिल बनेर जान्छ ।