१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:२९:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बुढीगण्डकी र पश्चिम सेती आयोजना अझै बेवारिसे, मेगा र स्मार्ट सिटी घोषणामै सीमित

इन्साइड स्टोरी

Read Time : > 4 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:२९:००

पूर्वाधार आयोजनामा ओली सरकारको तीन वर्ष

प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय देशका विभिन्न ठाउँमा आयोजित सभालाई सम्बोधन गर्दा सरकारले गरेका कामको फेहरिस्त बताउने गरेका छन् । उनले आफ्नो सरकारले विकासका धेरै काम गरेको र त्यो देखेर विपक्षी अत्तालिएको दाबी पनि गरेका छन् । राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेख्य प्रगति भइरहेको उनको भनाइ छ । तर, तथ्य हेर्दा त्यस्तो देखिँदैन । 

ओली नेतृत्वको सरकार गठन भएकै आर्थिक वर्षमा निर्माण थालनी गर्ने लक्ष्य राखिएको बुढीगण्डकी जलविद्युत् आयोजना अझै टुंगो छैन । पश्चिम सेती जलविद्युत् आयोजना बेवारिसे छ । सो आयोजना निर्माणको मोडालिटी नै टुंगिएको छैन । कुल एक हजार ७९२ किलोमिटर लम्बाइको हुलाकी राजमार्गमा अहिलेसम्म ५१२ किलोमिटर मात्र कालोपत्रे भएको छ । २१९ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ९५ वटा पुल मात्र सम्पन्न भएको सरकारकै मध्यावधि समीक्षामा उल्लेख छ । 

काम भइरहेकामध्ये तोकिएको समयभन्दा धेरै ढिलो भए पनि मेलम्ची खानेपानी र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना भने चाँडै पूरा हुने देखिन्छन् । चालू आर्थिक वर्षलाई छाडेर पछिल्ला तीन वर्षमा रणनीतिक सडक निर्माण, स्थानीय सडक निर्माण र पुल निर्माणमा भएको प्रगतिको तथ्यांक भने यस्तो छ । 

केही आयोजनाको ओली सरकार आउनुअघि र पछिको प्रगति 
मध्यपहाडी पुष्पलाल राजमार्ग 
 ओली सरकार आउनुअघि : कुल १७७६ किलोमिटर लम्बाइको यो राजमार्गमध्ये ५६२ दशमलव ५ किलोमिटर ग्राभेल भएको थियो । २२ दशमलव ५ किलोमिटर कालोपत्रे र १४३५ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको थियो भने ५७ वटा पुल सम्पन्न भएका थिए । 

 ओली सरकार आएपछि : पछिल्ला तीन वर्षमा आयोजनाको लम्बाइ १०३ किलोमिटर बढेर १९७९ किलोमिटर पुगेको छ । अहिलेसम्म कुल ९१४ किलोमिटर कालोपत्रे भएकोमा आयोजनामार्फत ४३१ दशमलव ५ किलोमिटर कालोपत्रे भएको छ । डिभिजन कार्यालयबाट ४६२ किलोमिटर कालोपत्रे भएको छ । यो सरकार बनेपछि ८९१ दशमलव ५ किलोमिटर कालोपत्रे भएको छ । आयोजनामा १२९ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म ८४ वटा सम्पन्न भएका छन् । ओली सरकार आएपछि २७ वटा पुल बनेका छन् । 

बुढीगण्डकी जलविद्युत् आयोजना
 ओली सरकार आउनुअघि : कुल १२०० मेगावाट जडित क्षमताको यो आयोजना गोरखा र धादिङ जिल्लाको सिमानामा रहनेछ । आर्थिक वर्ष २०६९/७० मा निर्माण थालेर चालू आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

ओली सरकार आएपछि : यो आयोजना औपचारिक रूपमा अझै थालनी भएको छैन । जग्गा प्राप्तिको काम भइरहे पनि निर्माणको सुरसार अझै भएको छैन । यो आयोजना निर्माणका लागि निर्माण र लगानी ढाँचासमेत अझै सरकारले ल्याउन सकेको छैन । 

पूर्व–पश्चिम रेलमार्ग 
 ओली सरकार आउनुअघि : कुल ९४५ किलोमिटर
लामो यस रेलमार्गको निर्माण थालिएको बर्दिबास–निजगढ ७० किलोमिटरमध्ये २५ किलोमिटरमा रेल्वे ट्र्याक बेड निर्माण सम्पन्न भइसकेको थियो । १३ वटा कल्भर्ट निर्माण सम्पन्न भएका थिए भने दुईवटा पुल निर्माण सम्पन्न हुने क्रममा थिए । 

ओली सरकार आएपछि : अहिलेसम्म बर्दिबास–निजगढ खण्डमा कुल ३५ किलोमिटर रेल्वे ट्र्याक बेड निर्माण सम्पन्न भएको छ । यो सरकार बनेपछि पूर्व–पश्चिम रेलमार्गमा थप १० किलोमिटर मात्र रेल्वे ट्र्याक बेड निर्माण भएको छ । सरकारले चालू आवमै काँकडभिट्टा–इनरुवा रेल निर्माणका लागि खरिद प्रक्रिया थालेको भए पनि जग्गा प्राप्तिजस्ता पूर्वतयारीविना भएपछि रद्द गरेको थियो । अहिले जग्गा प्राप्तिको काम भइरहेको छ । निर्माणाधीन दुई पुलमध्ये एउटा सम्पन्न भएको छ । थप १५ पुलको ठेक्का व्यवस्थापन भई अहिले निर्माण भइरहेको छ ।  

कालीगण्डकी करिडोर 
 ओली सरकार आउनुअघि : कुल ४३१ किलोमिटर लम्बाइको यो करिडोरको पूरै ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको थियो । त्यस्तै, २७ किलोमिटर ग्राभेल निर्माण सम्पन्न भएको थियो ।  

 ओली सरकार आएपछि : यसअवधिमा करिडोरको १०८ किलोमिटर ग्राभेल सम्पन्न भएको छ । यसमध्ये ओली सरकारको पालामा ८१ किलोमिटर ग्राभेल गर्ने काम मात्र सम्पन्न भएको छ । 

कर्णाली करिडोर 
 ओली सरकार आउनुअघि : कुल १४५ किलोमिटरमध्ये ८७ किलोमिटरको ट्र्याक निर्माण सम्पन्न भएको थियो । 
 ओली सरकार आएपछि : कुल लम्बाइमध्ये अहिलेसम्म १३० किलोमिटरमा ट्र्याक खोल्ने काम सकिएको छ । ओली सरकार आएपछि यो करिडोरको ४३ किलोमिटर ट्र्याक खोल्ने काम मात्र भएको छ । 

कोसी करिडोर 
 ओली सरकार आउनुअघि : कुल १६२ किलोमिटरमध्ये ९१ किलोमिटर ट्र्याक निर्माण सम्पन्न भएको थियो । 
 ओली सरकार आएपछि : अहिलेसम्म कुल १४८ किलोमिटरमा ट्र्याक खोलिएको छ । यसमध्ये ओली सरकारको तीन वर्षे कार्यवधिमा खोलिएको ट्र्याक ५७ किलोमिटर मात्र हो । अझै यस करिडोरमा १४ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । 
नीति तथा कार्यक्रममा उल्लेख योजना अलपत्र
बन्द र रुग्ण उद्योग चलाउने : ओली सरकारले आफ्नो पहिलो वार्षिक नीति तथा कार्यक्रममा सम्भाव्यताका आधारमा बन्द तथा रुग्ण उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, तीन वर्ष बितिसक्दासमेत कुनै पनि बन्द तथा रुग्ण उद्योग सञ्चालन आउन सकेका छैनन् । 

ठूला औद्योगिक क्षेत्र : पहिलो नीति तथा कार्यक्रममार्फत ओली सरकारले सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने घोषणा गरेको थियो । ओली सरकारकै अघिल्लो कार्यकालमै ठूला औद्योगिक क्षेत्र अघि बढाउने घोषणा गरिएको थियो । तर, घोषणाअनुसार काम भएन । हालसम्म पनि कुनै पनि ठूला औद्योगिक क्षेत्रको निर्माण सुरु भएका छैनन् । अधिकांश औद्योगिक क्षेत्रको डिपिआर भन्ने सम्पन्न भइसकेको छ ।

स्थानीय तहमा औद्योगिक ग्राम : घोषणाअनुसार स्थानीय तहमा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । संघीय सरकारले स्थानीय तहलाई बजेटसमेत हस्तान्तरण गरिसकेको छ । 

अन्तर्राष्ट्रियस्तरको खेलकुद परिसर : ओली सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको एउटा खेलकुद परिसर निर्माण गरिने घोषणा गरेको थियो । तर, त्यसअनुसार प्रगति भएको छैन । भएका दशरथ रंगशाला, पोखरा रंगशालालगायतको स्तरोन्नति गरिएको छ । तर, नयाँ खेलकुद परिसर निर्माणको थालिएको छैन । 

मेगा सिटी र स्मार्ट सिटी : नीति तथाकार्यक्रमबाट सम्भाव्यताका आधारमा सहरहरूलाई मेगा सिटी र स्मार्ट सिटीमा विकास गरिने घोषणा गरियो । मेगा तथा स्मार्ट सिटी निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेका छन् । तर, हालसम्म
कुनै पनि मेगा सिटी वा स्मार्ट सिटी घोषणा भएको छैन । 

 आठ सय १५ पुल बने, पाँच हजार किलोमिटरभन्दा बढी सडक कालोपत्रे भए

रणनीतिक सडक 
ओली सरकार बन्नुअघि लम्बाइ : २९,६३९ किमि 
अहिलेको कुल सडक लम्बाइ : ३४,३४७ किमि  
ओली सरकार बनेपछि लम्बाइ : ४,७०८ किमि  
ओली सरकार बन्नुअघि कालोपत्रे : १३,१४९ किमि  
अहिलेको कुल कालोपत्रे : १५,२५४ किमि 
ओली सरकार बनेपछि बढेको : २१०५ किमि 
ओली सरकार बन्नुअघि खण्डास्मित : ६,९५६ किमि
अहिलेको कुल खण्डास्मित सडक : ९,२५१ किमि
ओली सरकार बनेपछि खण्डास्मित : २,२९५ किमि 
ओली सरकार बन्नुअघि कच्ची/माटे सडक : ९,५३४ किमि 
अहिलेको कुल कच्ची सडक : ९,८४२ किमि
ओली सरकार बनेपछि माटे सडक : ३०८ किमि 
स्थानीय सडक 
ओली सरकार बन्नुअघि : ५८,३९८ किमि
अहिलेको कुल स्थानीय सडक : ६१,३९५ किमि
ओली सरकार बनेपछिको सडक : २,९९७ किमि 
ओली सरकार बन्नुअघि धुले सडक  : ४२,८९२ किमि 
अहिलेको कुल स्थानीय धुले सडक : ४३,९०७ किमि 
ओली सरकार बनेपछिको स्थानीय धुले सडक : १,०१५ किमि
ओली सरकार बन्नुअघिको स्थानीय ग्राभेल सडक : १२,८४० किमि 
अहिलेको कुल स्थानीय ग्राभेल सडक : १३,५३८ किमि 
ओली सरकार आएपछिको स्थानीय ग्राभेल सडक : ६९८ किमि 
ओली सरकार बन्नुअघिको स्थानीय कालोपत्रे सडक : २,६६६ किमि 
अहिलेको कुल स्थानीय कालोपत्रे सडक : ३,९५० किमि 
ओली सरकार आएपछिको स्थानीय कालोपत्रे सडक : १२८४ किमि 
पुल निर्माण
ओली सरकार बन्नुअघि सञ्चालनयोग्य पुलः १,९७४ 
अहिलेका कुल निर्माण भएका पुल : २,७८९
ओली सरकार बनेपछि बनेका पुल संख्या : ८१५  

पूर्वाधार निर्माणबारे प्रधानमन्त्रीको दाबी
गत २३ माघमा नारायणहिटी संग्रहालयअगाडि ओली नेकपाले आयोजना गरेको सभामा प्रधानमन्त्री केपी ओलीले भने, ‘यो तीन वर्षमा मात्रै हामीले लगभग ६ हजार किलोमिटर डबल लेन, फोर लेन र सिक्स लेनका बाटाहरू कालोपत्रे गरेका छौँ । चार सयभन्दा बढी सडक पुल निर्माण गरेका छौँ । चार सयभन्दा बढी नै झोलुंगे पुल निर्माण गरेका छौँ ।

तुइनहरू विस्थापित गरेका छौँ । विभिन्न विद्युत् आयोजनाहरू सफल बनाएका छौँ । विभिन्न सबस्टेसनहरू र ट्रान्समिसन लाइनहरू दिनैपिच्छे लगभग उद्घाटन गर्दै हिँडेका छौँ । पूर्वाधारको विकास सँगसँगै कृषिको आधुनिकीकरणमा ध्यान दिएका छौँ ।’

तर, ठूलो सभामा प्रधानमन्त्री ओलीले दाबी गरेजस्तो पूर्वाधार विकास भएको देखिएको छैन । प्रधानमन्त्री ओलीले दाबी गरेको तथ्यांकमै त्रुटि भेटिएको छ । यो तीन वर्षमा स्थानीय र ठूलो सडक गरी पाँच हजार किमि सडक कालोपत्रे भएको छ । ओलीले ६ हजारभन्दा बढी सडक कालोपत्रे भएको दाबी गरेका थिए । उनले दाबी गरेअनुसार नै सडक पुल बनेका छन् । तर, विद्युत् आयोजना भने बन्न सकेका छैनन् ।