मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १ शनिबार
  • Thursday, 28 November, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
नवीन प्यासी काठमाडौं
२o७७ फाल्गुण १ शनिबार o३:oo:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विभेद र प्रतिगमनविरुद्ध महिलाको सिंहदरबार मार्च, तर प्रधानमन्त्रीले सिंहदरबार नटेकेको १० महिना पूरा

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १ शनिबार o३:oo:oo

निर्मला र भागरथी बनेर युवा महिलाको टोली सिंहदरबारतर्फ मार्च गर्दा देशका प्रधानमन्त्रीले आफ्नै कार्यालय नटेकेको १० महिना भइसकेको छ । हो, कार्यकारी प्रमुखले देश आफ्नै निवासबाट चलाइरहेका छन् । संविधानविरोधी अध्यादेश ल्याउनेदेखि जननिर्वाचित संसद् विघटन गर्नेसम्मको काम उनले बालुवाटारबाटै गरिरहेका छन् ।

......

एउटा शव थियो, शवलाई मलामीले बोकिरहेका थिए । मलामीले सेतो कपडा लगाएका थिए । माघ २१ मा बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याको विरोधमा प्रतीकात्मक शव बनेकी थिइन् अभियन्ता अंशु खनाल । उनी शव बोक्ने खटमा निश्चल थिइन् । उनलाई पहेँलो कपडा ओढाइएको थियो । 

शव बोकेर मलामी दिउँसो २ बजे वसन्तपुर दरबारबाट हिँडे, गन्तव्य थियो सिंहदरबार । मार्चमा थिए सयौँको संख्यामा युवा महिला । उनीहरू बलात्कृत युवतीको शव देशका प्रधानमन्त्री केपी ओलीलाई देखाउन चाहन्थे । भागरथी भट्ट, निर्मला पन्त, सम्झना विक बनेर युवा महिलाको टोली सिंहदरबारतर्फ मार्च गर्दा देशका प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यालय नटेकेको १० महिना भइसकेको छ । हो, कार्यकारी प्रमुखले देश आफ्नै निवासबाट चलाइरहेका छन् । संविधानविरोधी अध्यादेश ल्याउनेदेखि जननिर्वाचित संसद् विघटन गर्नेसम्म उनले बालुवाटारबाटै गरिरहेका छन् । 

प्रधानमन्त्रीले ११ महिनादेखि एक पाइला पनि नटेकेको सिंहदरबारतिर प्रधानमन्त्रीलाई भेट्न उनीहरू गइरहेका थिए । हो, यस्तै विडम्बनाको प्रतीक बनेको छ देश । 

खटमा लमतन्न बनेकी अंशु नै यो ‘पर्फर्मेन्स आर्ट’की परिकल्पनाकार हुन् । उनीहरूको टिम ‘आभा फर क्रियटिभिटी’मार्फत सामाजिक मुद्दाहरूमा सडकमा कार्यक्रम गरिरहेको छ । 

शवयात्रामा मार्च गरिरहेका रसिक राजले हामीसँग भने, ‘यो पर्फर्मेन्स आर्ट हो, तर यो केवल नाटक मात्र होइन । व्यवस्थालाई कुल्चिदिएका तानाशाहहरूले हामीलाई यसो गर्न बाध्य गराए । यतिखेर हामी चुप रह्यौँ भने भोलि हाम्रा सन्ततिहरूले पनि यो दुःख र ज्यादती भोग्न बाध्य हुनुपर्छ । त्यसका लागि हामीले यो प्रदर्शन गरेका हौँ ।’ 

शव बनेकी अंशु आफैँले पछि भनिन्, ‘यो त प्रतीकात्मक प्रस्तुति थियो, तर मलाई उकुसमुकुस भयो, खटमा सुतिरहेको वेला बलात्कार, दुव्र्यवहार र हत्याका घटना मात्र आँखाअघि डुलिरहे । यो परिकल्पना नै यति भयंकर छ, तर हाम्रा दिदीबहिनी दिनहुँ यही नियतिको सिकार भइरहेका छन् ।’

शुक्रबार दिउँसो १२ बजे भृकुटीमण्डपबाट साङ्लोमा बाँधिएका कलाकारहरू अघि लागेपछि स्रष्टाहरूको मार्च वसन्तपुर पुगेको थियो । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधस्वरूप हातमा साङ्लो बाँधेर स्रष्टाहरू वसन्तपुर हिँडेका थिए । वसन्तपुरमा कोणसभामा बोल्दै कवि श्रवण मुकारुङले भने, ‘महाकाव्य लेखिरहेका कविहरूको महाकाव्य यहाँ नआइपुगी पूरा हुनेछैन । संगीत भरिरहेका संगीतकारहरूको संगीतमा यहाँ नआइपुगी सुर भेटिने छैन ।’ 

उनले प्रतिगमनको विरोध गर्न केही स्रष्टाले अझै पनि राजनीतिक पार्टीका नेताहरूको आदेश कुरिरहेकाले उनीहरूको सिर्जनामाथि प्रश्न गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीलाई व्यंग्य गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई १२ सय १३ वटा उखान आउँछ भने मलाई २६ सय १३ वटा उखान आउँछ । तर, हामीले उनलाई उखान भन्न त्यहाँ पठाएका होइनौँ ।’

मुकारुङका साथै निनु चापागाईं, धनकुमारी सुनारले प्रधानमन्त्रीको गैरसंवैधानिक कदमविरुद्ध पनि मन्तव्य राखेका थिए भने प्रकाश गन्धर्व र बब्रिम शेर्माले गीत गाएर विरोध गरेका थिए । 

स्रष्टाको मार्च सकिएसँगै महिला मार्च सिंहदरबारतफै लम्किएको थियो । महिलाहरू, खासगरी किशोरीहरू हातमा पम्प्लेट बोकेर नारा लगाउँदै हिँडिरहेका थिए । उनीहरूको पम्प्लेटमा लेखिएको थियो, ‘तानाशाहसँग हार खाएर इतिहासको गाली खान तयार छैन’, ‘हामी सडकबाट चुनौती दिन्छौँ’ जस्ता सन्देश लेखिएको थियो । 

 

निर्मला पन्त (साउन ०७५) देखि भागरथी भट्ट (माघ ०७७) सम्म आइपुग्दा देशमा बलात्कृत हुने बालिकाको संख्या मात्रै तीन हजार तीन सय ४७ पुगेको छ । तीमध्ये १७ जनाको त बलात्कारपछि हत्या भएको छ । यो भयावह अवस्थाको चित्रण गर्दै न्यायको आवाज उठाउँदै महिला मार्च सिंहदरबार हिँडेको थियो । तर, उनीहरूलाई रोक्न प्रहरीको विशाल फौज भद्रकालीमा तैनाथ थियो । 

महिला मार्च सिंहदरबारको सीधा अगाडि भद्रकालीमै सभामा परिणत भयो । कालो कपडा लगाएका ‘फ्ल्यास मोब’ अभियानका किशोरीहरूले कालै पट्टीले आँखा बाँधेर आवाज गुन्जायमान गराइरहेका थिए । यता शिल्पी थिएटरका नाट्यकर्मीले बलात्कारकै विरोधमा सेतो कपडामा रातो रङका छिटा छ्यापेर नाटक प्रस्तुति दिए । पवित्रा खड्काको नेतृत्वमा भएको नाटक प्रस्तुतिमा बलात्कारको दर्दनाक कथा देखाइएको थियो ।

संयोग यति मात्र थिएन । सुरक्षाकर्मीले बाटोमै रोकेपछि भद्रकाली मन्दिरअघि प्रस्तुति दिइरहेका कलाकारको टोलीले मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएकी बझाङकी १२ वर्षीया सम्झना विकको कथा सम्झाइरहेको थियो । बझाङ, मष्टा गाउँपालिका– २ खिकलाकी सम्झनाले गोठमा गाईभैँसीलाई घाँस खुवाउन जाँदा बलात्कारपछि जीवन गुमाएकी थिइन् । उनलाई मन्दिरमा लगेर बलात्कारपछि हत्या गरिएको थियो । 

अनि गुन्जियो पारिजातको कविता ‘मानुषी’ यसरी :

तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?
तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ? 
तिमीलाई स्वास्नीमान्छेले बेच्यो ? 
तिमी निरुत्तर छौ यस प्रश्नको अघि,
आजको सत्तारुढ तिमी
शताब्दी–शताब्दीअघि 
झगडालु, ईष्र्यालु वनमानुष तिमीलाई
माया र सहअस्तित्वको अँगालोमा बाँधी
आफ्नो ओडारको छानामुनि भित्र्याएकी थिएँ
जसरी आज तिमी 
दाइजोको लावालस्करसँग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रुवाउँदै भित्र्याउने गछ्र्यौ । 

यो कविता कवि प्र्र्रणिका कोयूसँगै आन्दोलनकर्मीले एकै स्वरमा वाचन गरेका थिए । कविता वाचनपछि प्रणिकाले भनिन्, ‘यो संविधान यो देशको महिला, दलित, जनजाति, यौनिक अल्पसंख्याकको कहिल्यै थिएन । हाम्रा लागि प्रतिगमन सधैँ थियो । त्यही प्रतिगमन सच्याउनका लागि आज अर्को पाइला चालेका छौँ ।’ 

यसपछि महिला हिंसा, बलात्कारका विरुद्ध सक्रिय मानवअधिकारकर्मी हिमा विष्ट बोलिन् । महिलाको यो दर्दनाक कथाले सिंहदरबार, बालुवाटारलाई कुनै असर नगर्ने बताइन् । भनिन्, ‘यसले तिनीहरूलाई असर गर्दैन, हामी कोठामा बस्ने वा सडकमा आउनेलाई गर्छ । निर्मला, सम्झना, अंगिरा हामी नै हौँ । भागरथी पनि हामी नै हौँ । पटकपटक हामीमाथि बलात्कार हुन्छ ।’ 

हिमाको आक्रोश यत्तिमै रोकिएन । उनको आक्रोश यसरी प्रकट भयो, ‘जो सत्तामा पुग्छ, आफूले भोगेको कुरा बिर्सन्छ । अब आउने चुनावमा माई भजाइना विल भोट देन आउट ।’ यसपछि किशोरीहरू चिच्याए, ‘माई भजाइना विल भोट यु आउट ।’ 

अभियन्ता रजनी मिलाले आफूहरू नागरिक भएको र कुनै पार्टी या सरकारबाट पालिएको भेडा नभएको बताइन् । ‘यो यही भूमि हो, जहाँ नागरिकले आन्दोलन गरेर, परिवर्तनका लागि रगत बगाएर सत्तामा भुइँबाट पु¥याए । उसैले संविधानलाई कु गरेर रैती बनाउन खोज्दै छ,’ रजनीले भनिन्, ‘उसले संसद् पुनस्र्थापना गरेर नागरिकसँग माफी मागेर राजीनामा दिनुपर्छ अहिले नै । सत्तामा पुगेका भुइँमान्छेले नागरिकलाई टेक्ने अधिकार कसरी दियो ?’ 

वक्ताका रूपमा आएकी लेखक अर्चनाले प्रधानमन्त्री ओलीलाई इंगित गर्दै जब महिला उभिएर बोल्न थाल्छन्, सरकारले ‘ट्याउँ–ट्याउँ’ भन्ने गरेको बताइन् । ओलीले नेकपा केन्द्रीय समितिको बैठकमा ३३ प्रतिशत महिलाको विषय उठेपछि एनजिओको बहकाउमा लागेर महिलाले ट्याउँट्याउँ गर्ने टिप्पणी गरेका थिए । ‘जब हामी बोल्न थाल्छौँ, हामीलाई अर्थहीन ट्याउँट्याउँ भनिन्छ । के हामीले यस्तै प्रजातन्त्रको कल्पना गरेका थियौँ ?’ उनले भनिन् । 

सरकार भन्थ्यो– निर्मलाका बलात्कारीलाई सार्वजनिक गर्छौँ, तर हामीले अहिलेसम्म देख्न पाएनौँ : मोहना अन्सारी

सरकारले पटकपटक भनेको थियो, तपाईंहरू नआत्तिनुस् हामी निर्मला पन्तका बलात्कारीलाई तपाईंहरूको अगाडि सार्वजनिक गर्नेछौँ । तर, हामीले देख्न पाएनौँ । दिनहुँ महिला–बालिका बलात्कृत भइरहेका छन्, तर उहाँहरू भनिरहनुभएको छ, ‘पुँजीवादले बलात्कार गर्दै छ, बढाउँदै छ ।’ मैले बुझ्न नसकेको कुरा, यो संविधानमा लेखिएको समाजवादी सरकार होइन ? हरेक किसिमको लैंगिक हिंसा अन्त्य गर्न उहाँहरू सत्तामा विराजमान हुनुभएको होइन ? आज अंगिरा पासीकी आमा दिनहुँ न्याय पर्खिरहनुभएको छ, न्याय कहिले मिल्छ ? 

सर्वोच्च अदालतले भनेको थियो– कानुनमा लेखिएको न्याय द्रुत गतिमा दिनेछौँ । तर, हामीले अदालतको फैसला सुन्न पाएनौँ । यो देशमा दिनहुँ मानव अधिकारको उल्लंघन भइरहेको छ, तर हामीले न्यायको अनुभूति गर्न पाएनौँ । आज हामीले हत्या, हिंसा, बलात्कारको अन्त्य चाहिरहेका छौँ । किनभने थाहा नपाओस् भनेर कसैले प्रमाण मेट्न नपओस् । हामीलाई ‘पुँजीवादी देशमा त बलात्कार भएको छ, चुप लाग्नुस्’ भनिएको छ । यसको मतलब सत्तामा बस्नेहरूको समय सकिएको छ । युवाहरूलाई के भन्न चाहन्छु भने अग्रजहरूले बाटो बिराइसके, तपाईंहरूले बाटो नबिराउनुस् ।

......

प्रधानमन्त्री ताप्लेजुङदेखि धनगढीसम्म पुगे, तर आफ्नै कार्यालय सिंहदरबार पुग्दैनन्

प्रधानमन्त्री केपी ओली ८ मंसिरमा ताप्लेजुङको घुन्सामा थिए, २४ पुसमा उनी धनगढीमा थिए । यसबीचमा उनी भाषण गर्न सिराहा र चितवन पुगेका छन्, त्यसअघि संखुवासभा पनि पुगे । शनिबार बुटवल पुग्दै छन् । तर, प्रधानमन्त्री आफ्नै कार्यालय सिंहदरबार भने १० महिनादेखि गएका छैनन् । 

गत वर्ष बिरामी भएदेखि नै उनी सिंहदरबार जान छाडेका हुन् । गत वर्ष २१ फागुनमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसलगत्तै कोरोना संक्रमण सुरु भएपछि स्वास्थ्य सुरक्षाको कारणले प्रधानमन्त्री ओली सिंहदरबार गएनन् । 

प्रधानमन्त्री ओलीले पछिल्लोपटक गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई सिंहदरबारस्थित कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी सिंहदरबारस्थित कार्यालय पुगेका छैनन् । प्रधानमन्त्री नजाँदा कार्यालय पनि सुनसानजस्तै छ । उनलाई भेट्न दैनिकजसो मुख्यसचिव शंकरदास वैरागी बालुवाटार धाउने गरेका छन् । मन्त्रिपरिषद् बैठक पनि नियमित रूपमै निवासमै बस्छ । 

बालुवाटारमा प्रधानमन्त्री ओलीको धेरैजसो समयमा नेता तथा कार्यकर्तासँगको भेटघाटमै बित्ने गरेको छ । अझ संसद् विघटनपछि त उनी आफूनिकट गुटका भेला तथा भेटघाटमा व्यस्त हुने गरेका छन् । ती सबै कार्यक्रम उनको सरकारी निवासमै हुन्छन् । पार्टी एक हुँदा पनि पनि बैठक त्यहीँ हुन्थे ।