Skip This
सम्झौताअनुसार नै काम गर्न थामसेर्कुलाई नेपाल ट्रस्टले सचेत गरायो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २३ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ २३ शुक्रबार o८:२२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सम्झौताअनुसार नै काम गर्न थामसेर्कुलाई नेपाल ट्रस्टले सचेत गरायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २३ शुक्रबार o८:२२:oo

ताहाचलस्थित ट्रस्टको चार रोपनी चार आना जग्गा ३० वर्षका लागि लिजमा लिए पनि तीन वर्षसम्म भवन निर्माणको काम नै सुरु भएन

सम्झौताविपरीत काम गर्न लागेपछि नेपाल ट्रस्टको कार्यालयले यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिलाई सचेत गराएको छ । बुधबार पत्र लेखेर ट्रस्टले विगतको सम्झौताअनुसार नै काम गर्न भनेको छ । ताहाचलस्थित ट्रस्टको चार रोपनी चार आना जग्गा सो कम्पनीले ३० वर्षका लागि लिजमा लिएको थियो । १४ मंसिर २०७४ मा कम्पनीसँग सम्झौता भए पनि हालसम्म भवन निर्माणको काम सुरु हुन सकेको छैन । लामो समयमा काम नहुँदा ट्रस्टले भाडासमेत पाउन सकेको छैन ।

सम्झौतामा बेसमेन्ट र भुइँतलासहित ६ तला बनाउने उल्लेख थियो । तर, कम्पनीले ११ तला बनाउने तयारी गरेपछि विवाद भएको हो । ट्रस्टको कार्यालयले नक्सा पास रोक्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरिसकेको छ । नक्सा पास भएको तीन वर्षपछि मात्र ट्रस्टले भाडा पाउने गरी कम्पनीलाई फाइदा हुने किसिमले सम्झौता गरिएको थियो । सम्झौताविपरीत नक्सा पास गर्ने प्रक्रिया अघि बढाएपछि सम्झौता कार्यान्वयनका लागि पत्राचार गरिएको ट्रस्टको कार्यालयका प्रवक्ता सहसचिव डा.भीष्मकुमार भुसालले बताए । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा केही दिनअघि बसेको बोर्डको ६४औँ सञ्चालक समितिको बैठकले कम्पनीलाई सम्झौताअनुसार काम गर्न पत्राचार गर्ने निर्णय गरेको थियो । ‘भवन निर्माणका लागि नक्सा पासका सम्बन्धमा लिज प्रस्तावसम्बन्धी कागजातमा उल्लेख भएबमोजिमको बेसमेन्ट र ग्राउन्ड फ्लोरसहित ६ तलाकै विस्तृत इन्जिनियरिङ डिजाइन पेस गरी पूर्वस्वीकृति लिने प्रक्रिया अघि बढाउन हामीले पत्राचार गरेका छौँ,’ सहसचिव भुसालले भने । थामसेर्कुले लिजमा लिएको दरबारमार्गस्थित जग्गामा पनि तीन तलाको सम्झौता भएकोमा चार तला बनाएपछि थप भाडा लगाउने तयारी ट्रस्टको कार्यालयले गरेको छ । थामसेर्कुले भने आफूले सम्झौताअनुसार नै काम गरेको दाबी गरेको छ । 

अन्ततः खाली हुने भयो काठमाडौं प्लाजा 
लिज अवधि सकिएको करिब ११ महिनापछि नेपाल ट्रस्टको स्वामित्वमा रहेको पुतलीसडकस्थित काठमाडौं मल खाली हुने भएको छ । जग्गा लिजमा लिएको कम्पनी कन्सेप्ट डेभलपर्सले ३५ दिनभित्र भवन खाली गराउने पत्र नेपाल ट्रस्टलाई बुधबार पठाएको छ । ट्रस्टको कार्यालयले बल प्रयोग गरी भवन खाली गराउने र कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेपछि भवन खाली गराउन ऊ तयार भएको हो । गत २ असारमा सो कम्पनीसँग लिज अवधि सकिएको थियो । ट्रस्टको कार्यालयले सो भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने तयारी गरेको छ । मासिक करिब ६० लाख भाडामा भवन दिन लागिएको छ । त्यसविरुद्ध अदालतमा मुद्दा परेकाले सम्झौता हुन सकेको छैन । असारदेखि नेपाल ट्रस्टले भाडासमेत पाउन सकेको छैन । 

फर्पिङ र हेटौंडाको जग्गा पनि लिजमा दिइने 
फर्पिङमा रहेको ट्रस्टको पाँच रोपनी जग्गा दक्षिणकाली नगरपालिकालाई लिजमा दिइने भएको छ । नगरपालिकाको प्रशासनिक भवन बनाउन प्रतिरोपनी वार्षिक तीन लाख ६० हजार रुपैयाँका दरले लिजमा दिन बोर्डको बैठकले निर्णय गरेको छ । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी छ । हेटौंडा उपमहानगरपालिका–१० मा रहेको केही जग्गा पनि ट्रस्टले बागमती प्रदेश सरकारलाई लिजमा दिने भएको छ । त्यहाँ रहेको एक बिघा १९ कठ्ठामध्ये ९.७५ कठ्ठा जग्गा मुख्यमन्त्री निवासका लागि सरकारी दररेटमा २५ वर्षका लागि लिजमा दिने निर्णय भएको छ । त्यहाँ रहेको कान्ति ईश्वरी गृहलाई संग्रहालय बनाउन विस्तृत योजना पेस गर्न प्रदेश सरकारलाई ट्रस्टको कार्यालयले पत्राचार गरेको छ । 

उता, लाजिम्पाटमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले लिजमा लिएको जग्गा उसैलाई लिज अवधि थप्ने कि खुला प्रतिस्पर्धा गर्ने भन्नेमा अन्योल देखिएको छ । आगामी जेठमा स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको लिज अवधि सकिँदै छ । बैंकले आफूले नयाँ बजार रेटअनुसार भाडा तिर्न तयार रहेको र तीन वर्षका लागि लिज अवधि थपिदिन आग्रह गरेको छ । भूकम्पमा भवन भत्किएकाले आफैँले चार करोड तिरेर मर्मत गरेको र ट्रस्टले तोकेको नयाँ रेट तिर्न आफू तयार रहेको बैंकले जनाएको छ । लाजिम्पाटमा ट्रस्टको ६ रोपनी १३ आना जग्गा रहेको छ । 

ट्रस्टले चितवनस्थित दियालो बंगलालाई पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्ने भएको छ । नारायणी किनारमा रहेको ऐतिहासिक दरबार क्षेत्रलाई मर्मत गरी प्रवेश शुल्क लिएर सर्वसाधारणलाई खुला गर्नेबारे छलफल भइरहेको ट्रस्टले जनाएको छ । दियालो बंगला आसपास ट्रस्टको ५७ बिघा जग्गा छ । यस्तै, बोर्डको ६४औँ बैंठकले बैंक, वित्तीय संस्था तथा पब्लिक कम्पनीमा लगानी गर्न पनि स्वीकृति दिएको छ ।