Skip This
Skip This

एक बिघा गहुँखेती मासेर महोत्सव

२०७५ माघ २९ मंगलबार १२:०१:००

प्युठान र रोल्पाको सिमानामा पर्ने चतुर्भुजमा गहुँबाली मासेर महोत्सव सञ्चालन भएको छ । १० जना किसानले गहुँबाली लगाएको जमिन भाडामा लिएर महोत्सव सञ्चालन भएको हो । मेला २५ माघदेखि सुरु भएको छ । 

करिब डेढ बिघा जमिनमा रहेको हरियो गहुँबाली मासेर महोत्सवको स्टेज र स्टलहरू निर्माण गरिएको छ । खेती नै नष्ट गरी मेला तथा महोत्सव गर्नु राम्रो नभएको कृषि अधिकृत महेश श्रेष्ठले बताए ।

तत्काललाई भूउपयोग नीति प्रभावकारी हुन नसक्दा कृषि इकाइले त्यसको विरुद्धमा कदम चाल्ने कुनै आधार नभएको उनले बताए । अधिकृत श्रेष्ठले भने, ‘अब यस्ता विषयमा प्रशासन र अधिकार सम्पन्न स्थानीय तहहरूले ध्यान दिनुपर्छ ।’ खेती नष्ट गर्दै महोत्सव मेला गर्दा उर्वर भूमि केही समयमै मरुभूमि बन्न सक्ने उनको भनाइ छ । 

 एक लाख ५० हजारमा भाडा 
महोत्सव सञ्चालनका लागि झन्डै डेढ बिघा जमिन एक लाख ५० हजारमा भाडामा लिएको चतुर्भुज महोत्सव सांस्कृतिक संयोजक भरतमणि पौडलले बताए ।