Skip This
सुक्खा वैशाखसम्मै लम्बिने, गर्मी अझ बढ्ने
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २० मंगलबार
  • Monday, 25 November, 2024
यम बम काठमाडौं
२o७७ माघ २० मंगलबार १८:oo:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुक्खा वैशाखसम्मै लम्बिने, गर्मी अझ बढ्ने

Read Time : > 3 मिनेट
यम बम, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ २० मंगलबार १८:oo:oo

यो वर्ष हिउँदबाटै सुरु भएको सुक्खा वैशाखसम्मै लम्बिने देखिएको छ । विश्व मौसम संगठनले आगामी १७ वैशाखसम्म पर्याप्त पानी नपर्ने प्रक्षेपण गरेको छ । हिउँदे वर्षा नहुने भएपछि तापक्रमसमेत औसतभन्दा बढी पुग्ने मौसमविद्हरूको भनाइ छ । 

‘पूर्वी प्रशान्त महासागरमा देखिएको लालिना अझै लम्बिने र त्यसले वर्षा पनि कम हुने भएकाले तापक्रम पनि औसतभन्दा बढी रहने देखिन्छ,’ जल तथा मौसम विज्ञान विभाग हावापानी महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले भनिन् । संगठनले नेपालसहित १२ वटा मुख्य केन्द्रको आगामी तीन महिनाको वर्षा र तापमान आकलन गर्दा यस अवधिमा औसत तापमान सरदरभन्दा बढी हुने सम्भावना ६०–८० प्रतिशत छ । यसैगरी, यो अवधिमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४०–६० प्रतिशत मात्र छ । यद्यपि, सुदूरपश्चिम प्रदेशको उत्तरी क्षेत्रमा वर्षाको सम्भावना देखिएको उसले जनाएको छ ।  

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने जनाए पनि हल्का वर्षाको मात्र सम्भावना रहेको विशेष बुलेटिनमार्फत जानकारी दिइएको छ । यो प्रणाली आगामी शनिबारबाट कमजोर हुनेछ ।

नेपालमा धनगढी, नेपालगन्ज, वीरगन्जलगायत गर्मी अधिक हुने सहर हुन् । धनगढीमा ५ जुन १९९५ मा अधिकतम तापक्रम ४६.५ डिग्री सेल्सियस मापन गरिएको थियो । प्रि–मनसुनसहितका आगामी महिनामा कम वर्षा हुने भएपछि पानीका मुहान सुक्ने, भूमिगत पानीको सतह झन् तल जाने र कृषि उत्पादनमा समेत असर पर्ने कृषिविज्ञहरूले अनुमान गरेका छन् । 

नेपालको कृषि प्रणाली आकाशेपानीमा निर्भर रहन्छ । यो वर्ष बर्खामा पर्याप्त पानी पर्दा रासायनिक मलको अभावका बाबजुद धानको उत्पादन ७० हजार ८३१ टनले बढ्यो । तर, हिउँद सुक्खा हुनुका साथै प्रि–मनसुनमा पनि पानी नपर्ने भएपछि उत्पादनमा असर गर्ने कृषिविज्ञ भोलामानसिंह बस्न्यातले बताए । 

पश्चिम पहाडमा पानीका मुहानको अवस्थाबारे अध्ययन गरेका वातावरणका लागि युवा सञ्जालका अध्यक्ष सनोत अधिकारीले सुक्खाले मुहान सुक्ने समस्या बढाउने बताए । ‘पानी प¥यो भने मुहान रसाउने हुन्छ । खेतीपातीका लागि काम लाग्छ,’ उनले भने, ‘यो वर्ष हिउँदमा खासै पानी परेन । अघिल्ला वर्ष एक महिना मात्र सुक्ने मुहान तीन÷चार महिना पनि सुक्न सक्छ ।’ यो वर्ष हिउँदमा पाथीभरा, ढोरपाटन, डोल्पालगायतका वनजंगलमा डढेलो लागेको छ । सुक्खाका कारण चैत–वैशाखमा यो समस्या अझ बढ्न सक्ने अधिकारीले बताए ।  

माघ–वैशाखको औसत तापक्रम कति ?
मौसमविद्हरूका अनुसार औसत तापक्रम घट्छ वा बढ्छ भनेर आकलन गर्न वर्षाको प्रवृत्ति हेर्नुपर्छ । जस्तो, गत वर्ष फेबु्रअरी–अप्रिल (१९ माघदेखि १७ वैशाख) मा औसत १८७ मिलिमिटर वर्षा भएको थियो । जसमा सबैभन्दा बढी ताप्लेजुङमा २३५ मिलिमिटर पानी प¥यो । सबैभन्दा कम नेपालगन्जमा ५७ मिलिमिटर औसत वर्षा भएको थियो । तर पनि धेरै स्थानमा तापक्रम पनि औसतभन्दा कम थियो । 

गत वर्ष तीन महिनाको अवधिमा औसत तापक्रम २३.१ डिग्री सेल्सियस थियो । धरानको औसत तापक्रम सरदर तापक्रमभन्दा २.२ डिग्रीले मात्र बढी थियो । तर, जुम्ला र जोमसोमको तापक्रम औसतमा ९.८ डिग्री रहँदा क्रमशः ०.४ र १.५ डिग्रीले मात्र कम थियो । यो तीन महिनामा नेपालको औसत अधिकतम र न्यूनतम तापक्रम क्रमशः २३.३ र ८.३ डिग्री सेल्सियस हो । यो २० वटा केन्द्रको तथ्यांकमा आधारित हो । मौसम विभागका अनुसार गत वर्ष फेबु्रअरी–अप्रिलमा १४ मापन केन्द्रमा औसतभन्दा कम तापक्रम थियो । यसो हुनुको कारण १६ वटा केन्द्रमा ११० प्रतिशत अर्थात् औसतभन्दा बढी पानी परेको थियो । यो तीन महिनामा नेपालमा औसत ११८.३ मिलिमिटर वर्षा हुने गरेकामा गत वर्ष १८७.७ मिलिमिटर भएको थियो । 

सुक्खा रह्यो हिउँद
जल तथा मौसम विज्ञान विभागको आँकडाअनुसार हिउँदयाम (डिसेम्बर पहिलो सातादेखि फेब्रुअरी अन्तिम साता)मा कुल वार्षिक वर्षाको ६०.९ प्रतिशत पानी पर्नुपर्छ । तर, १९ माघ बितिसक्दासमेत हिउँदयाममा ८.१ प्रतिशत अर्थात् ५ मिलिमिटर मात्र वर्षा भएको छ । जब कि, गत हिउँदमा २४६.८ प्रतिशत अर्थात् १५०.३ मिलिमिटिर वर्षा भएको थियो । यो काठमाडौंसहित मुख्य २० वटा स्टेसन क्षेत्रमा भएको वर्षामा आधारित तथ्यांक हो । काठमाडौं, नेपालगन्ज, विराटनगर, दाङ, भैरहवा, जोमसोम, सिमरा, जिरी, ओखलढुंगा र धरान क्षेत्रमा फाट्टफुट्टबाहेक पानी परेन । हिउँदमा सन् २००६ मा निकै कम वर्षा भएको तथ्यांक छ । त्यो वर्ष हिउँदमा ७.१ मिलिमिटर मात्र पानी परेको देखिन्छ ।

सुदूरपश्चिमदेखि पूर्वसम्मै सरदरभन्दा कम वर्षा हुने देखिन्छ

फेब्रुअरीदेखि अप्रिलसम्म तीन महिनाको जलवायु आकलन गर्दा नेपालको सुदूरपश्चिमदेखि लिएर पूर्वसम्मै सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । यद्यपि, सुदूरपश्चिमको उत्तरी क्षेत्रमा पानी पर्ने सम्भावना अन्यत्रभन्दा केही बढी देखिन्छ । यो अवधिमा नेपालका सबै भूभागमा तापक्रम औसतभन्दा अलि बढी रहने सम्भावना छ । प्रशान्त महासागरमा विकास भएको लालिना अझै दुई–तीन महिना लम्बिने देखिन्छ । लालिनाले गर्दा वायुको बहावमा परिवर्तन ल्याउँछ । प्रायः नेपालमा हिउँददेखि प्रि–मनसुनमा पश्चिमबाट वायु प्रवेश गर्ने गर्छ । तर, लालिनाले वायुको बहाव परिवर्तन गरिदिने भएकाले यी सिजनमा नेपाल प्रवेश गर्ने हावा कमजोर हुन्छ । जसले गर्दा वर्षा कम हुन्छ र तापक्रम औसतभन्दा बढी हुने गर्छ । पूर्वी प्रशान्त भूमध्य रेखीय तापक्रम सरदरभन्दा कम हुनु लालिना हो । मनसुनको लालिना बढी वर्षा हुने सम्भावना रहन्छ भने अन्य समयको लालिनाले सामुद्रिक तापमान घटाइदिने भएकाले पानी पर्ने सम्भावना कम हुन्छ ।

 

 

 

 

 

 

 

 

हिउँदे वर्षा र हिमपात नहुँदा चिन्तामा किसान
हुम्लाबाट नरजन तामाङ

हुम्लामा यो वर्ष पर्याप्त हिमपात र हिउँदे वर्षा भएन । मंसिरयता वर्षा र हिमपात नहुँदा आकाशे पानीकोे भर पर्ने गरेका हुम्ली किसान चिन्तित भएका छन् । हिमपात नहुँदा लगाएका बालीविरुवा नउम्रेपछि उनीहरूमा भोकमारी हुने चिन्ता बढेको छ । अदानचुली गाउँपालिकाका अर्जुन बुढा तीन महिनायता पर्याप्त वर्षा र हिमपात नहँुदा यो वर्ष भोकमरी लाग्ने हो कि भन्ने चिन्ता बढेको बताउँछन् । ‘वर्षा नभएकाले बीउ खेर जाने भएकाले कतिपय किसानले त गहुँ छरेका छैनन्,’ उनले भने ।र्षा नहुँदा खेतवारीसमेत बाँझै राखेको र कतै उम्रेको गहुँ सुक्दै सुक्दै गएको अर्का किसान प्रेम भण्डारीले बताए । ‘खडेरीले गर्दा गहुँ, जौ, उवा, मटर लगाए पनि कतै उम्रिएको छैन, कतै उम्रेको पनि सिँचाइको व्यवस्था नहुँदा सुकेर गएको  छ,’ उनले भने । अघिल्ला वर्षहरूमा यतिबेला हराभरा हुने गरेको खेतबाली लामो खडेरीले गर्दा यस वर्ष उराठ झै देखिएको छ ।