Skip This
Skip This

भूमिगत जीवन त्यागिदिन्छु : सलमान रुस्दी

२०७५ माघ २९ मंगलबार ०७:३४:००

झन्डै तीन दशक अर्धभूमिगत जीवन व्यतीत गरेका विश्वप्रसिद्ध साहित्यकार सल्मान रुस्दीले अब आफू भूमिगत जीवन नबिताउने बताएका छन् । ‘अब भूमिगत जीवन बिताउँदिनँ,’ फ्रान्सको राजधानी पेरिस भ्रमणका क्रममा रुस्दीले भने ।

उनको चौथो उपन्यास ‘दि सटानी भर्सेज’ विवादमा परेको थियो । मुसलमानका धर्मगुरु मोहम्मदलाई होच्याएको भन्दै पुस्तकको अहिले पनि विश्वभरका मुसलमान विरोध गर्छन् । पुस्तकलाई लिएर सन् १९८९ मा रुस्दीकोे जीवनमा युटर्न आएको थियो । सोही महिनाको फेब्रुअरी १४ मा इरानी सर्वोच्च नेता अयोतल्लाह रुहोल्लाह खमेनीले उनीविरुद्ध मृत्युदण्ड अर्थात् फताह जारी गरेका थिए । त्यसलगत्तै बेलायती सरकारले उनलाई सुरक्षा दिएको थियो । सन् २००० देखि रुस्दी अमेरिकामा बसोवास गर्दै आएका छन् ।

दि सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या र अन्य दुईजनामाथि गोली र चक्कु प्रहार भइसकेको छ । रुस्दी सो दुखद क्षण बिर्सन चाहन्छन् । उनी भन्छन्, ‘अब त्यो अतीत भइसक्यो ।’ द सटानिक भर्सेजबारे उनी अगाडि भन्छन्, ‘पुस्तकबारे गलत बुझियो । यो पुस्तक मूलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीबारे थियो । ’

 परिस्थिति अनुकूल
पुस्तकका कारण विवादमा तानिएपछि रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनून् भनेर छद्म नाम राखेका थिए । ‘विवादमा तानिँदा म ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकेँ । अहिले परिस्थिति अनुकूल देखेको छु,’ उनले गत सेप्टेम्बरमा भनेका थिए । आफूलाई फताह जारी गरेको विषय पनि पुरानो भएको उनले बताए । उनले अगाडि थपे, ‘हामी निकै तीव्र परिवर्तित विश्वमा छौँ । मलाई फताह जारी गरेको विषय अहिले पुरानो भइसक्यो ।’ तर, आफूमाथिको खतरा यथावत् रहेको उनले संकेत गरे । ‘अहिले धेरै कुराले मानिस व्यग्र हुन्छन् । कुनै वेला कसैले हत्या हुन सक्छ ।’

प्रहरी घेराबीच अन्तर्वार्ता
रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि छद्म नाम राख्न छाडेका थिए । तेहरानले रुस्दीमाथिको मृत्युदण्डको चेतावनी फिर्ता लिएपछि रुस्दीले छद्म नाम राख्न छाडेका थिए । तर, फ्रान्सको समाचार संस्था एएफपीलाई पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा सादा पोसाकका प्रहरीले निगरानी गरेको समाचारमा जनाइएको छ । कार्यालयबाहिर पनि प्रहरीले सुरक्षा दिएका थिए । यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रूपमा उनी सहभागी भएका थिए, तर न्युयोर्कमा भने उनी सर्वसाधारणले जस्तो जीवन बिताउँछन् । ‘दि सटानिक भर्सेज’ रुस्दीको पाँचौँ पुस्तक हो । अहिले उनको १८औँ पुस्तक आइसकेको छ ।