१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १४ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने राष्ट्रिय एकद्वार प्रणाली सुरु

एकद्वार प्रणालीमा क्वारेन्टाइन अनुमति, एलसी खोल्ने, जाँचपास गर्नेलगायत काम एउटै धरातलबाट गर्न सकिन्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १४ बुधबार ०८:१७:००

सरकारले अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ‘राष्ट्रिय एकद्वार प्रणाली’ (एनएनएसडब्लु) सुरु गरेको छ । व्यापारसँग जोडिएका सबै कार्य तथा प्रक्रिया अनलाइनमा आधारित बनाउने उक्त प्रणाली मंगलबारदेखि सञ्चालनमा आएको हो । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार ‘राष्ट्रिय एकद्वार प्रणाली’ सुरु गरेका हुन् ।

अन्तर्राष्ट्रिय व्यापारलाई सहज र व्यवस्थित बनाउनुका साथै व्यापार लागत पनि घटाउने एकद्वार प्रणाली भन्सार विभागले तत्काल आंशिक रूपमा र असारदेखि पूर्ण रूपमा प्रयोगमा ल्याउनेछ । अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशुसेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रलाई जोडेर एकद्वार प्रणाली सुरु गरिएको हो ।

विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरूमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरू विभाग तथा कार्यालयहरूमा पुगिराख्नुपर्नेछैन । 

एकद्वार प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि क्वारेन्टाइन अनुमति, एलसी खोल्ने, जाँचपास गर्नेलगायत व्यापारसँग सम्बन्धित सम्पूर्ण काम एउटै धरातल (अनलाइन)बाट गर्न सकिनेछ । नेपालले विश्व बैंकको सहयोगमा एकद्वार प्रणाली सफ्टवेयर स्थापना गरेको हो । 

विश्व बैंकसँग नेपालले सन् २०२१ सम्ममा एकद्वार प्रणाली पूर्ण रूपमा सञ्चालन गरिसक्ने सम्झौता गरेको छ । जसअनुसार आगामी असारदेखि ४० वटा निकायलाई जोडेर एकद्वार प्रणाली चलाइने विभागका महानिर्देशक सुमन दाहालले बताए । 
राष्ट्रिय एकद्वार प्रणालीले अन्तर्राष्ट्रिय व्यापारसँग जोडिएका सरकारका ४० वटा निकायलाई अनलाइन प्रणालीसँग जोडिनेछ ।

त्यसपछि वस्तु तथा सामग्री आयात–निर्यातका लागि विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ । यसअन्तर्गत भन्सार, वाणिज्य, उद्योग, आन्तरिक राजस्व, आपूर्ति तथा उपभोक्ता संरक्षण, पशुसेवा, खाद्य प्रविधि तथा गुण नियन्त्रण, नेपाल गुणस्तर तथा नापतौल, औषधि व्यवस्था, यातायात व्यवस्था, कन्सुलर सेवा, वन तथा भू–संरक्षण, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रलगायत सरकारी निकाय तथा बैंक र निजी क्षेत्रका छाता संगठन विद्युतीय एकद्वार प्रणालीमा आउनेछन् ।

भन्सारमा अझै समस्या छन् : निजी क्षेत्र 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्सारमा अझै पनि प्रक्रियागत झन्झट र जाँचपासमा समस्या रहेको बताए । उनले निर्यातको जाँचपासमा निकै समस्या भएकाले यसको समाधानमा विशेष ध्यान दिनुपर्ने बताए । 
त्यस्तै, तयारी वस्तु र कच्चा पदार्थमा दुई तहको फरकमा भन्सारदर कायम गर्ने नीतिको कार्यान्वयन गर्नसमेत उनले आग्रह गरे ।

उनले झन्डै एक वर्षदेखि बन्द रहेको उत्तरी नाका खुलाउने पहल गर्नसमेत आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भ्याटलाई १३ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने बताए । उनले इ–पेमेन्ट प्रणाली सुरु गर्नसमेत आग्रह गरे । 

राजस्व चुहावट रोक्न सघाउनुहोस् : अर्थमन्त्री
६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट रोक्ने कार्यमा सघाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । भन्सारमा हुने न्यून बिजकीकरण, राजस्व चुहावटलगायत गलत काम रोक्न निजी क्षेत्रले सरकारलाई सहयोग गर्नुपर्ने उनले बताए ।

भन्सारका विषयमा निजी क्षेत्रका धेरै गुनासा आउने गरेको भन्दै अर्थमन्त्रीले त्यसलाई समाधान गर्दै लैजाने बताए । अर्थसचिव शिशिर ढुंगानाले भन्सार प्रशासन आधुनिक बन्दै गएको बताए । सरकारले भन्सार प्रशासनमा सूचना प्रविधिमा आधारित प्रणाली विकासमा लगानी गरेको र त्यसको परिणामसमेत देखिन थालेको बताए ।