भारतको गणतन्त्र दिवस प्रत्येक वर्ष २६ जनवरीको दिन मनाउने गरिन्छ । सन् १९५० जनवरी २६ गतेका दिन नै भारतमा संविधान लागू भएको थियो । यस सन्दर्भमा संविधानका मस्यौदाकार डा. अम्बेडकरले बडो रोजक अभिव्यक्ति दिएका थिए । उनले प्रस्ट रूपमा भनेका थिए कि कुनै पनि देशको संविधानको सफलता राजनेताको इमानदारी, दूरदृष्टि र निष्ठामा भर पर्दछ । भारतको संविधान लागू भएपछि मुलुकलाई संवैधानिक मार्गमा क्रियाशील गराउने जिम्मेवारी देशको कार्यकारणी प्रमुख वा प्रधानमन्त्री जवाहरलाल नेहरूको काँधमा नै आइपुग्यो । लोकतान्त्रिक संविधानलाई जीवन्त र दीर्घायु बनाउने काम जनताको अभिमतले नै गर्दछ । जनताको अभिमतको मापन गर्ने यन्त्र आमचुनाव नै हो ।
नेहरूको कर्मठता, सक्रियता र लोकप्रियताको मापन सन् १९५१ को भारतको आमचुनाव नै हो । देशको पहिलो आमचुनावमा १७६ मिलियन जनता २१ वर्षका थिए जसमध्ये ८५ प्रतिशत जनता लेखपढ गर्ने अवस्थामा थिएनन् । भौगोलिक विकटता, निरक्षरता, पछौटेपन र प्रजातान्त्रिक अभ्यासबाट तिरस्कृत जनताको अवस्थालाई मध्यनजर गर्दै भारतस्थित अमेरिकी राजदूत चेस्टर बोयलसले भारतको प्रथम चुनावलाई प्रजातन्त्रप्रतिको मजाकका रूपमा उपहास गरेका थिए । तर, नेहरूले प्रथम चुनावलाई प्रजातन्त्रको उत्सवको रूपमा मनाउँदै ९ सातामा देशको २५०० माइल यात्रा गरेर (१८०० हवाई मार्गबाट, ५२०० मोटरबाट, १६०० रेलबाट र ९० माइल जलमार्गबाट) जनलहर चलाएर चुनावलाई सफल बनाए । प्रजातान्त्रिक अभ्यासलाई सफल बनाउन तत्कालीन भारतका चुनाव आयुक्त सुकभार सेनको कर्मठतालाई उचित मूल्यांकन सायद इतिहासले कम गरेको देखिन्छ ।
बेलायतको विश्वविद्यालयबाट स्वर्णपदक प्राप्त गरेका सेन उच्चकोटिका गणितज्ञ थिए र नेहरूलाई सफल बनाउन वा प्रजातन्त्रको वीजारोपण गर्ने उनी नै थिए । प्रजातन्त्रको दियो विरोधको ध्वनिवाट प्रज्ज्वलित हुन्छ । भारतको ठूलो सौभाग्य नै थियो कि नेहरूलाई टक्कर दिने खालका नेता पार्टीभित्र र बाहिर पनि थिए । पार्टीभित्र पटेल मूर्घन्य नेता थिए । नेहरूले प्रथम राष्ट्रपतिका लागि राजगोपालचार्यलाई चहे तापनि पटेलको समर्थनले डा. राजेन्द्रप्रसाद पहिला राष्ट्रपति भए ।
त्यस्तै, पार्टी सभापतिका रूपमा पुरुषाेत्तमदास निर्वाचित हुनुमा पटेलको समर्थन र नेहरूको विरोध थियो । पार्टीबाहिर नेहरूको नीति, व्यक्तित्व र कृतित्वलाई चुनौती दिन जनसंघका नेता डा. श्यामाप्रसाद मुखर्जी (भारतीय सदनको बाघ) डा. लोहिया, जयप्रकाश नारायण, कृपलानीजस्ता अनेकौँ नेता थिए । संसदीय अभ्यास गर्दा शास्त्रको उच्च बाैद्धिक विरासत भारतका दुईवटै सदनले प्राप्त गरेका थिए । भारतको उच्चकोटिका संसदीय बहसलाई मूल्यांकन गर्दैै डा. कर्ण सिंहले एक व्याख्यानमा भावविभाेर हुँदै भनेका छन् कि भारतीय संसदीय परम्पराको थालनी उच्च बाैद्धिक अभ्यासबाट सुरु भएको छ । हिरेप मुखर्जी, भूपेश गुप्ता, मधु लिमिये, अटलबिहारी वाजपेयीजस्ता तेजस्वी वक्ताको अभावले गर्दा कालान्तरमा भारतका संसदीय बहसमा ह्रास आएको देखिन्छ ।
नेहरू कस्मिर नीति र चीनबाट पराजयले गर्दा आलोचित भए तापनि आधुनिक भारतका आर्टिटेक्टका रूपमा नेहरूलाई लिनुपर्ने धारणा एम.जे. अक्वरले ‘नेहरूको जीवनी’ भन्ने पुस्तकमा बताएका भएका छन् । सन् १९६४ मे २७ मा नेहरूको मृत्युपछि लालबहादुर शास्त्रीको नेतृत्व सुरु भयो । शास्त्रीलाई सदाचार र सादगीको प्रतिमूर्ति मानिन्छ । सन् १९६४ र सन् १९६५ मा खडेरीले गर्दा भारत खाद्यान्नमा अमेरिकाप्रति निर्भर रहेको अवस्थामा थियो । निष्ठा र सत्यको पक्षघर भएर शास्त्रीले अमेरिकाको भियतनाम नीतिलाई आलोचना गर्दा अमेरिकाले खाद्यान्न कटौतीको धम्की दियो । शास्त्रीले सी सुवर्मन्यमलाई कृषि क्रान्तिको लागि नयँ युगको थालनी गर्न अभिभारा दिए । तदनुरूप ‘इन्डियन काउन्सिल फोर एग्रिकल्चर रिर्सज’को स्थापना गरियो । मितव्यता र नैतिक बल देशमा जागृत गर्न एक दिन उपवासको आरम्भ प्रधानमन्त्रीनिवासवाट नै सुरु गरेर देशव्यापी अभियान शास्त्रीले चलाए । अर्कोतर्फ सन् १९६२ मा चीनसँग पराजित भएपछि जनताको मनोबल र नैतिक तागतमा ह्रास देखिन्थ्यो ।
सन् १९६५ ताका भारत र पाकिस्तानबीच युद्ध भयो । ‘जय जवान र जय जवान’को नारा दिएर पाकिस्तानलाई पराजित गरेर सोभियत रुसको भूमि तास्कन्दमा सन् १९६६ जुन १० मा भारत र पाकिस्तानबीच सम्झौता भयो । ठीक एक दिनपछि नै शास्त्रीको सोभियत भूमिमा मृत्यु भयो । शास्त्रीको युगपछि प्रधानमन्त्री पदको दाबेदारी मुरारजी देसाईले गरे तापनि इन्दिरा गान्धीले सत्तारोहण गरिन् । इन्दिरा कालको मुख्य नारा ‘गरिबी हटाऊ’ भएकोले गर्दा समाजवादको सूत्रहरूको प्रयोग गर्न बैंकहरूलाई राष्ट्रियकरण, राजारजौटाहरूको सुविधा खारेजी, जनसंख्या नियन्त्रणजस्ता अनेकौँ परिवर्तनकारी नीतिहरूको प्रयोग भयो । सन् १९७१ सेप्टेम्बरमा सोभियत संघ र १९७१ जुनमा अमेरिका भ्रमण गरेर इन्दिराले सन्तुलनको नीति बढाउन कोसिस गरे तापनि भारत र पाकिस्तानबीचको युद्धले गर्दा यो प्रयोग सफल हुन सकेन । अर्थात् अमेरिका सन् १९५६ पाकिस्तानको ‘एलाई’को भूमिका खेल्दै भारतको विरोध गरे । तर, युद्धमा इन्दिराले हरेक सामरिक कसरत गर्दै ९० हजार पाकिस्तानी सैनिकलाई युद्धबन्दी बनाएर बंगलादेशको धाईआमा बन्न सफल भइन् ।
सन् १९७२ जुनमा भारत र पाकिस्तानबीच सिमला सम्झौता भयो । शक्तिको उन्माद, पुत्रको प्रभाव र पार्टीमा कमजोर अवस्थाले गर्दा इन्दिरा प्रजातान्त्रिक पथबाट विचलित हुँदै आपतकालीन समयको घोषणा गरेर प्रजातन्त्रको स्वच्छ आकाशमाबादल सिर्जना गरिन् । तर, भारतीय स्वतन्त्रता आन्दोलनका ज्वाजल्यमान व्यक्तित्व जयप्रकाश नारायण जीवित नै थिए । सन् १९७४ नोभेम्बर १ का दिन जेपी र इन्दिराबीच भेटघाट भए तापनि वार्ता सफल हुन सकेन । जेपीले ‘सम्पूर्ण क्रान्ति’को नारा दिँदै देशव्यापी आन्दोलन अभियान सुरु गरे जसलाई जेपी आन्दोलको संज्ञा दिइन्छ । जेपी आन्दोलनका राप र तापबाट इन्दिरा पदच्युत भए तापनि जेपी आन्दोलनका नायकहरू मोरराजी देसाई र चौधरीचरण सिंहले स्थायित्व र सुशासन दिन सकेनन् ।
सन् १९७७ मा गार्डियन पत्रिकाले प्रजातन्त्रको भविष्य नै भारतमा खतरामा रहेको कुरा आफ्नो सम्पादकीयमा उल्लेख गरे । इन्दिरा फेरि सत्तामा विराजमान भइन् । इन्दिरासक्षम सबभन्दा गम्भीर समस्या सुशासनको नै थियो । देशको अर्थतन्त्रको मेरुदण्ड पञ्जावमा विखण्डनकारी आन्दोलन चलिरहेको वेला इन्दिराले सन् १९८४ जुनमा ‘अपरेसन ब्ल्यु स्टार’ चलाएर स्वर्ण मन्दिरस्थित आतंकवादी अड्डाको सम्पूर्ण सैन्य सामग्रीलगायत लडाकाहरूलाई पनि नियन्त्रण गरी कानुनको परिधिभित्र ल्याउन सफल भए तापनि अन्तताेगत्वा आतंकवादीको निशाना भई सहादत प्राप्त गरिन् ।
इन्दिरापछि राजीवले चीनसँग मैत्रीमा व्यापक सुधार गरेर आधुनिक प्रविधि भारतमा प्रयोग गरेर नयँ युग सुरु गरे । राजीवको कार्यशैलीलाई कटाक्ष गर्दै तत्कालीन कम्युनिस्ट नेता ज्योति बसुले उनलाई ‘मिस्टर कम्प्युटर’ भन्ने गर्थे । राजीवको युगमा नै दक्षिण एसियाली सहयोग संगठनलगायत विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा भारतले मुख्य भूमिका खेल्न सफल भयो । राजीवको सहादतपछि भारतमा चामत्कारिक युगको थालनी भयो ।
सोभियत विघटन, विश्व आर्थिक मन्दी, भारतको व्यालेन्स अफ पेमेन्टको समस्या, नेहरू–गान्धी परिवारको नेतृत्वको कमीको पृष्ठभूमिमा नरसिंहराव प्रधानमन्त्री भए । इतिहासको यो कालखण्ड कम रोचक छैन । रावको नेतृत्वको बारेमा डा. जयराम रमेशले आफ्नो पुस्तक ‘द ब्रिन्क एन्ड ब्याक’मा बडो रोचक चर्चा गरेका छन् । डा. मनमोहन सिंहलाई अर्थमन्त्री पदको जिम्मा दिँदै भारतलाई विश्व अर्थतन्त्रसँग जोड्न आर्थिक उदारीकरणको युग सुरु गरे । पूर्वीय एसियाको बजारलाई मध्यनजर गर्दै ‘लुक इस्ट पोलिसी’का अभियन्ता राव नै थिए । प्रविधिसँग जोड्न इजरायलसँग दूतावास खोल्ने राव नै थिए । भारतीय जनता पार्टीका नेताहरू संसदीय बहसमा रावको नीतिलाई कटाक्ष गर्दा उनले वेद, वेदान्त र उपनिषद्का उदाहरणबाट जवाफ दिन्थे ।
लालकृष्ण अडवाणीले खुला अर्थ व्यवस्थामा उद्योगहरूको बिग्रँदो अवस्थाबारे प्रश्न गर्दा रावले भने ‘सर्व नाशे समउत्पने अर्घम तेजती पण्डितम’ । अर्थात् विकट अवस्थामा वस्तुलाई जोगाउन आद्यि त्याग गर्नु ज्ञानीको काम हो । त्यस्तै वामपन्थीहरूको प्रश्नलाई जवाफ दिँदै उनले खुला अर्थ व्यवस्थालाई ‘महाप्रस्थाना’को उदाहरण दिए । महाभारतमा युधिष्ठरले सम्पूर्ण कुरालाई परित्याग गर्दै महाप्रस्थान गरेका थिए । अर्थात् उनको के आग्रह थियो कि खुला अर्थव्यवस्थामा पुरानो नियमकानुनको कुनै औचित्य हुँदैन ।
भारतको इतिहासमा ३.५ प्रतिशतबाट ८.५ प्रतिशतमा विकास दरमा अवतरित गराउने रावलाई उनको पार्टीले उचित मूल्यांकन गरेको देखिँदैन । अर्कोतर्फ सन् १९६६ देखि सन् १९७७ सम्म वाजपेयी हिन्दुत्व मूलधारको अजय नेता थिए । वाजपेयीको कालमा न्युकिलियर परीक्षण, लाहोर बसयात्रा, आग्रावार्ता, कारगिल युद्धजस्ता महत्वपूर्ण घटना भए तापनि उनको नेतृत्व र कार्यक्षमताले देशलाई झुक्न दिएन । वाजपेयीको सफलता प्रमुख द्योतक आडवाणीको सहयोग थियो । भर्खरै विनयसीतापतिद्वारा लिखित पुस्तक ‘जुगलबन्दी’ले वाजपेयी र आडवाणीको सहकार्यको यात्रालाई रोचक वर्णन गरेको देखिन्छ । वाजपेयीको नेतृत्वपछि डा. मनमोहन सिंह भारतको नेतृत्व गरे । आफ्ना आत्मकथा ‘एकसिडेन्टल प्राइममिनिस्टर’ मा डा. सिंहले उनको कार्यकालमा अमेरिकासँग भएको न्युकिलियर सम्झौतालाई उच्च महत्व दिएको छ । डा. सिंहको सफलताको प्रमुख कारण प्रखर बाैद्धिक व्यक्तित्वहरूसँगको उनको सामीप्यता र सान्निध्य थियो ।
डा. सिंहपछि मोदी युगको आगमन भयो । सन् २०१४ मा मोदीले खुला अर्थव्यवस्था र भूमण्डलीकरणको मागअनुसार विभिन्न नीतिनियमलाई परिमार्जित र परिस्कृत गर्दै आफ्ना नीतिलाई अगाडि बढाए । खास गरेर वर्तमान परिवेशमा विश्व स्वास्थ्य संगठनको नेतृत्व पाउनु, सुरक्षा परिषदमा १८८ मुलुकको समर्थनन पाउनु, इन्डाेप्यासिफिक क्षेत्रमा अगुवाय पाउनु, पाकिस्तानको आतंकवादी क्याम्पमा क्षेप्यास्त्रबाट आक्रमण गर्नु, भर्खरै जी सेभेन राष्ट्रहरूको सम्मेलनमा सहभागीका लागि निम्ता पाउनु, ब्रिक्स र संघाई संगठनमा नेतृत्वदायी भूमिका खेल्नुजस्ता कारकतत्वले मोदीको सफलतालाई मापन गर्दछ । तर, चीन र पाकिस्तानसँग सम्बन्धलाई लिकमा ल्याउन अझै कूटनीतिक र सामरिक रूपमा कसरतको जरुरी देखिन्छ । भर्खरै कोराेनाको कहरमा विश्वको सबभन्दा अधिक भ्याक्सिनको उत्पादन गर्ने क्षमता भएको कारणले गर्दा सारा संसारले भारतको सहयोग र सदभावको अपेक्षा गरेको छ । खास गरेर नेपालीले १० लाख कोराेना खोप अनुदानको रूपमा पाएर ठूलो राहत पाएका छन् । भारतको गणतन्त्र दिवसको अवसरमा शुभकामना ।