मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २३ आइतबार
  • Sunday, 07 March, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १३ मंगलबार ०२:३०:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

प्रधानमन्त्रीले बालुवाटार दरबारलाई घेरेर बस्न सक्नुहुन्छ, तर नागरिकको मार्च रोक्न पाउनुहुन्न

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १३ मंगलबार ०२:३०:००

मोहना अन्सारी

प्रतिगमनविरुद्ध बालुवाटार मार्चको क्रममा नागरिकमाथि लाठीचार्ज भयो, पानीको फोहोरा हानियो, तपाईंमाथि पनि लाठी प्रहार भयो । पानीको फोहोरा तपाईंलाई पनि लाग्यो । तपाईंको स्थिति के छ ? त्यहाँ अरूको स्थिति कस्तो थियो ?

त्यतिवेला त घर पुग्न सक्छु कि सक्दिनँ भन्ने लागिरहेको थियो । पानीको फोहोराले लागेको र लाठी पनि प्रहार भएकाले एकदमै गाह्रो भएको थियो । अहिले त ठिकै छ । त्यहाँ एकजना वृृद्ध लड्नुभएको थियो । लडेको वृद्ध मान्छेलाई बेस्सरी कुटिँदै थियो । उहाँलाई उठाउने वेला मलाई पनि पछाडिबाट कुटे । आन्दोलनमा जानुभएकामध्ये त्यहाँ धेरैजना घाइते हुनुभएको थियो । हामी त सामान्य नागरिक शान्तिपूर्ण रूपमा हिँडिरहेका थियौँ । आफ्नै देशको बालुवाटारमा हिँड्न पनि नपाउने ? किन रोक्न खोजिएको थियो, थाहा थिएन । तर, शान्तिपूर्ण आन्दोलनमाथि प्रहार हुँदा धेरैजना घाइते हुनुभयो । त्यहाँ धेरैजना बोल्न पनि सक्नुभएन । हामी कतिजनाको त कपडा पनि च्यातियो । पछि, हामी हिँडेरै कमलपोखरी फर्कियौँ । 

नागरिकको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले किन यस्तो दमन गरेको होला ? निहत्था नागरिकको प्रदर्शनसँग सरकार डराउनुपर्ने कारण के छ ?

एउटा कुरा के हो भने प्रधानमन्त्री निरंकुशतातिर उन्मुख हुनुहुन्छ । निरंकुश शासक र पद्धतिले नागरिकसँग जहिल्यै पनि भयभीत महसुस गर्छ । धेरैजना साक्षी छन्, हामी कमलपोखरीबाट शान्तिपूर्ण रूपमा अघि बढेका थियौँ । त्यहाँ प्रहरी लगाएर हामीलाई ‘स्कर्टिङ’ गर्नुपर्ने आवश्यकता नै थिएन । बरु, ट्राफिक व्यवस्थापनसम्म गरिदिएको भए हुन्थ्यो । त्यो पनि जरुरी थिएन । हाम्रै साथीले ट्राफिक व्यवस्थापन गरिरहनुभएको थियो । हामीलाई प्रहरी लगाएर, घेरामा राखेर त्यहाँसम्म जान दिइयो । त्यो आवश्यक नै थिएन । विश्वका धेरै मुलुकमा त्यस्ता प्रदर्शन हुन्छन्, जहाँ मानिसहरू शान्तिपूर्ण रूपमा हिँड्छन् । प्रहरीलाई हिँड्नै जरुरी थियो भने पछाडि वा साइड लागेर हिँडेको भए भइहाल्थ्यो । तर, हाम्रो अगाडि बाटो रोक्दैरोक्दै त्यहाँसम्म पुग्न दिइयो ।

अर्को पनि प्रश्न उठेको छ, बालुवाटारमा प्रधानमन्त्री बस्छन्, प्रधानमन्त्रीको निवासअगाडि सडकमा समेत नागरिकले धर्ना दिन नपाइने हो ?

यो त मौलिक हक र संविधानले दिएको अधिकार हो । बालुवाटारसम्म जानै नपाइने, त्यो कुनै पनि कानुनमा लेखिएको छैन । सामान्य नागरिक जोसँग केही पनि छैन, उनीहरू मार्चपास गरेर बालुवाटारसम्म जान्छन् भने प्रधानमन्त्रीलाई किन आपत्ति ? त्यो त नागरिकले शान्तिपूर्ण रूपमा हिँड्न पाउने बाटो हो । उहाँले आफ्नो बालुवाटार दरबारलाई घेरा हालेर बस्नुहुन्छ भने त्यो उहाँको स्वेच्छा हो, तर हामी त्यहाँ हिँड्न पाउनुपर्छ ।

अब यो देशमा शान्तिपूर्ण आन्दोलन गर्न पनि नपाइने अवस्था आयो ? 

हामीले गरेको शान्तिपूर्ण आन्दोलन नै थियो । हामीसँग प्लेकार्ड पनि थिएन, पेपर थियो । प्लेकार्डमा लाठी हुन्छ, हामीसँग लाठी पनि थिएन । त्यो एकदमै शान्तिपूर्ण हिँडाइ थियो ।

नागरिक अभियन्ताले आफैँ खर्च उठाएर आन्दोलन गरिरहको देखिन्छ, यसको सन्देश के हो ?

आन्दोलनमा स्वस्फुर्त रूपमा मानिस आइरहनुभएको छ । नेपालको संविधान २०७२ जारी भइसकेपछि एक किसिमको फरक अनुभूति सबैले गरिरहेका थिए, विभिन्न असन्तुष्टिका बाबजुद पनि । मानिसहरू निर्वाचनमा होमिएका थिए । अब नयाँ व्यवस्था हुन्छ, संविधान संशोधन गरेर भए पनि असन्तुष्टि बिस्तारै सम्बोधन हुँदै जान्छन् भन्ने थियो । तर, एउटा जनादेश प्राप्त निर्वाचित संस्थाले एउटा ‘पिर्यड’ त पार गर्छ नि ! हामीले सुन्यौँ, सांसदहरू जागिर खान आएका होइनन् । हो, जागिर खान आएका होइनन् तर मतादेश लिएर आएका हुन् । सांसदलाई त्यसरी उडाउन मिल्दैन । सांसदको पनि गरिमा हुन्छ । कम्तीमा पनि एउटा व्यवस्था चलाउन पाँच वर्ष त टिक्नुप¥यो नि ! त्यहीँभित्र तपाईंको संघर्ष हुनुपथ्र्याे । 

यतिवेला नागरिक पनि आक्रान्त भएका छन् । कोभिड– १९ को समय छ । भ्याक्सिन किन्नुपर्छ । बजेट खर्च हुन नसकेको एउटा पाटो छँदै छ । नागरिक अनेक समस्यामा छन् । धेरैले रोजगारी गुमाएका छन् । वैदेशिक रोजगारीको अवस्था त्यस्तै विकराल छ । माफिया बसेर शासन व्यवस्था चलिरहेको छ । द्वन्द्वपीडितको नाममा राजनीति भइरहेको छ । यस्तै, कुराबाट आक्रान्त भएका छन् जनता । जति पनि संवैधानिक निकाय छन्, तिनलाई ध्वस्त पारिँदै छ । संविधानभित्र यस्ता प्रक्रिया लेखिएका छन् ? यही कुरा चाहेको हो जनताले ? त्यसकारण, प्रधानमन्त्रीले जुन प्रक्रिया अवलम्बन गरिरहनुभएको छ, त्यो पूर्ण रूपमा गलत हो ।

नागरिकले पटक–पटक आन्दोलन गर्ने, व्यवस्था परिवर्तन हुने, पात्र परिवर्तन हुने तर चरित्र उस्तै रहने यो अवस्था छ नि, यो किन भइरहेको छ ?

मलाई लाग्छ, नागरिक आन्दोलन सधैँ हुनुपर्छ । हरेक दिन नागरिक आन्दोलन हुनुपर्छ । नागरिक आन्दोलन आजका लागि हो, भोलिका लागि होइन भन्ने हुँदैन । आफ्नै जनप्रतिनिधिलाई जवाफदेही र जिम्मेवार बनाउन पनि त्यो आवश्यक छ । लोकतन्त्रमा जवाफदेहिता सबैभन्दा ठूलो कुरा हो । लोकतन्त्रलाई जनताको शासन पनि भनिन्छ नि ! जनताप्रति जवाफदेही त हुनैपर्छ । त्यसकारण नागरिकको खबरदारी, आन्दोलन भनेको यो समय र त्यो समयका लागि भन्ने होइन, हुँदैन ।

नागरिकले हरेक दिन नेतृत्वमाथि खबरदारी गरिरहनुपर्छ भन्नुभएको ?

हो, हरेक दिन खबरदारी चाहिन्छ । एक दिन मात्रै होइन, तीन सय ६५ दिन नै खबरदारी गर्नुपर्छ । आज खबरदारी गरेपछि भोलि गर्नुपर्दैन भन्ने होइन । म नागरिकलाई जवाफ दिन्नँ, पारदर्शी हुँदिनँ भन्न सरकारले पाउँदैन । 

आजै यता प्रहरीले नागरिकमाथि लाठी प्रहार गर्नुअघि प्रधानमन्त्री भने पशुपतिनाथमा पूजाअर्चना गर्दै हुनुहुन्थ्यो, नागरिकको आवाज कुल्चने र देउताको अर्चना गर्ने प्रधानमन्त्रीले के सन्देश दिन खोज्नुभएको होला ? 

प्रधानमन्त्री नकारात्मक सन्देश दिँदै हुनुहुन्छ । आज उहाँको सुरुवात भयो । केही–केहीलाई खुसी बनाउनका लागि उहाँले यस्ताखाले सन्देश दिनुभएको हो कि जस्तो लाग्छ । आफू खुसी हुन उहाँ जे–जे मन लाग्छ त्यही–त्यही गर्दै हिँड्नुभएको छ । योचाहिँ गलत हो ।

धेरैपटक दोहोरिएको अर्को एउटा चिन्ता छ, त्यो के भने, ओलीले संसद् विघटन गरे, उनका विरुद्ध आन्दोलन गरेर भोलि संसद् पुनस्र्थापना भयो भने पनि सत्तामा आउने त यिनै प्रचण्ड, माधव वा देउवा त हुन् नि भन्ने तर्क छ, त्यसो भन्ने नागरिकलाई तपाईं के भन्नुहुन्छ ?

जोसुकै आओस्, तर उसले यो प्रवृत्ति अपनाउनुभएन, जुन प्रवृत्ति अहिलेका प्रधानमन्त्रीले अपनाउनुभएको छ । देउवा, प्रचण्ड, माधव नेपाल वा अरू कोही आउनुहोस्, तर यो अहिलेको प्रवृत्ति आउनुभएन । यो खबरदारी अहिलेका प्रधानमन्त्रीलाई मात्रै होइन, आगामी दिन आउने जुनसुकै प्रधानमन्त्रीका लागि पनि हो । तपाईंले मतादेश प्राप्त गरेर आइसकेपछि त्यसअनुसारको एउटा व्यवस्था त टिक्नुपर्छ । एउटा ‘फेज’ टिक्नुपर्छ । यो सबैका लागि खबरदारी हो । लुकेर देउवाले सहमति गर्न मिल्दैन । अथवा, लुकेर प्रचण्डले पनि सहमति गर्न मिल्दैन । जनताले हरेकको जवाफ खोज्छन् भविष्यमा ।

आन्दोलनबाटै नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको घोषणा गर्नुभयो । तपाईं पनि सुरुदेखि नै आन्दोलनमा हिँडिरहनुभएको छ । यो जनआन्दोलनको एजेन्डा के हो, त्यसको शक्ति के हो ?

यसको शक्ति भनेको नागरिक हो । नागरिकले आफूले चाहेको कुरा प्राप्तिका लागि आधार तय गर्ने भनेको त्यही ‘प्लेटफर्म’ नै हो । जनआन्दोलन– ३ को आवश्यकता नेपालमा सायद छ जस्तो मलाई लागिरहेको छ । हामीले धेरैवटा आन्दोलन देख्यौँ, तर धेरैलाई हामीले अहिले पनि असन्तुष्ट राखेका छौँ । ती व्यक्तिहरूले खोज्ने सन्तुष्टिको ‘फोरम’ पनि त्यही हो । सम्भावनाकै कुरा गर्ने हो भने यही आन्दोलन पनि तेस्रो जनआन्दोलनको रूपमा विकसित हुन सक्छ ।