मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’
२०७७ माघ १२ सोमबार २१:१८:००
Read Time : > 2 मिनेट
ब्लग प्रिन्ट संस्करण

नेकपाका निराश कार्यकर्तालाई अपिल

Read Time : > 2 मिनेट
डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’
२०७७ माघ १२ सोमबार २१:१८:००

आज मुलुक गम्भीर संकटमा फसेको छ । नेपाली जनताको ठुल्ठूला बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका उपलब्धिहरू एउटै निर्णयमा सखाप हुँदै छन् । मुलुकले अब धेरै द्वन्द्व झेल्न सक्दैन । तर, पूरै राज्य संयन्त्रले नेपाली जनतासँग खुलेआम युद्धको घोषणा गर्न पुगेको छ । समाजवाद र समृद्धिको बदनाम गराएर मुलुक यतिवेला एउटा व्यक्तिको लहड, सनक र षड्यन्त्रको सिकार भइरहेको छ ।

झुट, कपट, जालसाझी र किर्ते तमसुक बनाएर मुलुकलाई नै विश्व–राजनीतिमा बन्धक बनाइएको छ । वैदेशिक हस्तक्षेपका लागि आवेदन मागेसरह एमसिसीको खुला बोलपत्र आह्वान गरिएको छ । हो, साँच्चै मुलुक गम्भीर संकटमा छ । 

हामी जानेर–नजानेर कमेडी क्लबमा भाग लिइरहेका छौँ । ...सिकार भएकाहरूको जोक सुन्यौँ, ताली बजायौँ । अर्कोलाई होच्यायो, अपमान ग¥यो, त्यसमा पनि ताली बजायो । मानौँ मुलुकमा ठूलै उत्सव भइरहेको भैmँ हामीलाई मजाक लागेको छ । तर, हेर्दै जानुस्, केही महिनापछि हामी सबैले मुलुकको एउटा कुरूप चित्र मात्र देख्नेछौँ । हामी त्यतिवेलासम्म कलंकको टीकाबाट यति धेरै ग्रसित हुनेछौँ कि हाम्रो भावी पुस्ताले हामीलाई नकारात्मक प्रवृत्तिको पात्र बनाउनेछ ।

त्यसैले विनाआग्रह, पूर्वाग्रह गम्भीर भएर सोच्नुस् । गलतलाई सही ठान्ने गल्ती नगर्नुहोस् । अहिले भएको प्रतिगमन नै हो । यो असंवैधानिक ‘कु’ नै हो । यसमा कत्ति पनि भ्रम नपर्नुहोस् ।

हो, नेकपाभित्र अनेक समस्या छन् । विचार, नेतृत्वप्रणाली, कार्यशैली र कार्यकर्ताहरूको व्यवस्थापनमा देखिनेगरी नै कमजोरी छन् । केही नैतिक आचरण र सांस्कृतिक धरातलबाट पनि प्रश्न छन् । उपलब्धिहरूको बाँडफाँड र त्यसको उपयोग गर्नेबारे कतिपयले आफ्नो मात्र एकाधिकार भएको ठान्छन् । आफ्ना सचिवालयको बन्दोबस्त, घेराबन्दी र वास्तविक रिपोर्टको अभावमा कतिपय नेता–कार्यकर्ताको आत्मसम्मानमा ठेस पुगेको छ । त्याग र विश्वास गुमेको छ । आस्था डगमगाउन थालेको छ । यी सबै कुराले हामीलाई कहीँ न कहीँ निराश तुल्याउँछ र विकल्पको खोजी गर्न थालिन्छ । तर, अन्तिम सत्य यो होइन र यसो गरिनु गल्ती हुन्छ ।

जसरी घरमा अरू खानेकुरा छैन भन्दैमा हामीले विष खाँदैनौँ त्यसरी नै आफ्नो नैतिक धरातल छाडेर प्रतिगमनको मतियार पनि बन्नुहुँदैन । अन्तर्संघर्षलाई पार्टी पुनर्निर्माण र विगतका कमजोरी सच्याउने कडी बनाउनुपर्छ । 

पुरानो विचारमा टेकेर नयाँ आन्दोलन बन्दैन, उठ्दैन । हामी सबै एकमुष्ट माथि उठ्न सक्नुपर्छ । विचार र विज्ञानमा कसैको एकाधिकार हुनुहुँदैन र हुन्न पनि । त्यसै गरी संगठन र उपलब्धिहरूमा पनि कसैको एकाधिकार अस्वीकार्य हुन्छ । पार्टी निर्माण गर्ने तरिका पनि आजको परिस्थिति हेरेर गरिनुपर्दछ । नेतृत्वबाट त्याग र विश्वासको नमुना पेस गर्न सक्नुपर्दछ । 

त्यसैले यतिवेला कोही पनि नअत्तालिऊँ । विचारलाई मर्न नदिऊँ । अहिले असत्य र झुट मडारिएको छ । यसबाट सुरक्षित बनौँ । बबन्डर धेरैबेर मच्चिँदैन । त्यसपछि सत्य र इमान गर्जनेछ । झुट, कपट, बेइमान र षड्यन्त्रका पक्षधरहरू आफ्नो कुरूप अनुहार बोकेर सडकमा भौँतिरिनेछन् । त्यतिवेला हामी पनि हाँसौँला । उनीहरूको उपचार गरौँला । साँच्चैको समृद्धि र समाजवाद भित्र्याउँला ।

असत्य र झुटलाई बढार्ने भनेको जनताको तागतले मात्र हो । जनताको तागत मजबुत बनाउन यो कदमका विरुद्ध उभिने जोसुकैसँग सहकार्य गरौँ । बृहत् ध्रुवीकरण गर्ने प्रयत्न गरौँ । आन्दोलन गर्न कसैको इसारा चाहिँदैन, नकुरौँ । 

जब राज्य, शासन र तिनका अंगहरू सन्की हुन्छन् तब जनतालाई ठूलो सास्ती हुन्छ । आज त्यही भइरहेको छ । विचार शून्यतामा गएपछि मानिससँग बर्बराहट मात्र बाँकी हुन्छ । आज शासकको मनोविज्ञान यसैबाट ग्रसित छ । अहिले राज्यका संयन्त्रहरू सबैमा नैतिकताको खडेरी परेको छ । सबका सब झुट, कपट, बेइमान र किर्तेमा चलेका छन् । तर, सधैँ यस्तो हुँदैन । कोही न कोही नैतिक भएर देखापर्नेछ । असत्यलाई अस्वीकार गर्नेछ । किर्तेलाई सदर गर्ने गल्ती गर्नेछैन ।

त्यसैले हामी सबैले निराशा त्यागौँ । राजनीतिक दल, नागरिक समाज, संघसंस्था, कानुनविद्लगायत सबै न्याय पक्षधरहरू मिलौँ र सन्की तानाशाहका विरुद्ध संघर्ष गरौँ । संविधानको रक्षा गरौँ । पहिले प्रतिगमनका विरुद्ध संघर्ष अनि मात्र पार्टी पुनर्निर्माणमा लागौँला । पार्टीभित्रको जनवादलाई बन्धक राख्ने प्रवृत्तिको अन्त्य गरौँ । समाजवादलाई मर्न नदिऊँ ।