मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०१:५८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशमा बेरोजगारीको अवस्था : लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०१:५८:००

अर्को विडम्बना, कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन्

......

देशमा बेरोजगारीको अवस्था, सरकारी सेवाका लागि लोकसेवा आयोगले साढे चार हजार पदका लागि विज्ञापन खोल्दा साढे चार लाख आवेदन परेका छन् । अर्को विडम्बना, यही वेला आएको कोभिड महामारीले गत वर्ष जम्मा तीन सय चारजनाले जागिर पाएका छन्, धेरै परीक्षा हुन सकेका छैनन् । 

लोकसेवा आयोगले गत आर्थिक वर्षमा चार हजार सात सय ५४ पदका लागि विज्ञापन गरेको थियो । तर, चार लाख ५१ हजार पाँच सय २६ जनाको आवेदन परेको थियो । ‘तर, गत वर्षका धेरैजसो विज्ञापनअनुसार अहिले परीक्षा सञ्चालन भइरहेका छन्, महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने । 

त्यस्तै, अघिल्लो वर्ष ०७५/७६ मा भने एक लाख ४३ हजार आठ सय ४० मात्रै आवेदन परेका थिए । यो वर्ष भने पछिल्लो १० वर्षकै सबैभन्दा कम आवेदन परेको आयोगको तथ्यांक छ । त्यस्तै, वर्ष ०७४/७५ मा पाँच लाख ६७ हजार आठ सय ५३ र त्योभन्दा अघिल्लो वर्ष आठ लाख ४४ हजार आवेदन परेका थिए । 

महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए : तोयानाथ सुवेदी, प्रवक्ता, लोकसेवा आयोग


गत वर्षका धेरैजसो विज्ञापनअनुसार अहिले परीक्षा सञ्चालन भइरहेका छन्, महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए ।

गत वर्ष सबैभन्दा धेरै आवेदन नायब सुब्बा (नासु)का लागि परेका छन् । नासुमा दुई लाख ४२ हजार दुई सय ४६ आवेदन परेका थिए । त्यस्तै, सहसचिवमा तीन हजार दुई सय १४, उपसचिवमा नौ हजार दुई सय ४३, अधिकृतमा ७७ हजार ६ सय र खरिदमा एक लाख १५ हजार ६ सय ५८ आवेदन परेको आयोगले जनाएको छ । 

यो वर्ष अधिकृतको विज्ञापनमा करिब ३१ हजारको आवेदन परेको छ । परराष्ट्र, प्रशासन, लेखापरीक्षण तथा संयुक्तमा दुई सय ४० पदका लागि आवेदन माग गरिएको थियो । जसमा २७ हजार सात सय ५५ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ । त्यस्तै, न्यायसेवामा एक सय २० जनाको आवेदन खुलेकोमा दुई हजार पाँच सयजनाको आवेदन परेको छ । न्यायसेवामा कानुन पढेकाले मात्र आवेदन दिन पाउँछन् । 

गत वर्षको तुलनामा आवेदन कम परे पनि प्रतिपद औसतमा भने यो वर्ष थोरै रहेको छ । गत वर्ष प्रतिपद औसत ७६ आवेदन रहेका थिए भने यो वर्ष ८६ छ । यो वर्ष २१ पुससम्म अधिकृतका लागि आवेदन भने म्याद थियो ।

सरकारी सेवाप्रति प्रदेश २ का बासिन्दामा सबैभन्दा धेरै आकर्षण देखिएको छ भने सरकारी सेवामा प्रवेश गर्दा सबैभन्दा बढी सफल लुम्बिनी प्रदेशका बासिन्दा हुने गरेको पाइएको छ । लोकसेवा आयोगले गरेको विश्लेषणमा प्रदेश २ मा सरकारी सेवाप्रति आकर्षण देखिएको हो । 

लोकसेवा आयोगले खुलाएका विज्ञापनमा सबैभन्दा धेरै दरखास्त प्रदेश २ बाट परेका छन् । आर्थिक वर्ष ०७६/७७ मा आयोगमा परेका चार लाख ५१ हजार पाँच सय २६ दरखास्तमध्ये २३.५७ प्रतिशत प्रदेश २ बाट परेका छन् । सबैभन्दा धेरै दरखास्त पर्ने १० मध्ये सात जिल्ला यही प्रदेशका छन् । सबैभन्दा धेरै दरखास्त सप्तरी, सर्लाही, धनुषा र सिराहाबाट परेका छन् । पाँचौँ नम्बरमा कैलाली छ । त्यसपछि महोत्तरी, रौतहट, गुल्मी, बारा र स्याङ्जा छन् । 

प्रदेश २ पछि दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीमा १७.०६, प्रदेश १ मा १६.४६, सुदूरपश्चिममा ११ र बागमती, गण्डकी र कर्णाली प्रदेशमा समान १०–१० प्रतिशत दरखास्त परेको लोकसेवा आयोगको तथ्यांक छ । 

प्रदेश २ बाट धेरै आवेदन आउनुको कारणबारे आयोगका प्रवक्ता सुवेदी भन्छन्, ‘एउटा, त्यहाँ प्राविधिक विषय पढ्ने चलन बढी छ । अर्को, प्रदेश २ का जिल्लामा जनसंख्या धेरै भएकाले पनि हुन सक्छ । तैपनि, समग्रमा प्रदेश २ मा सरकारी जागिरप्रति बढी आकर्षण देखिन्छ ।’ 

आवेदन धेरै प्रदेश २ बाट परेका भए पनि परीक्षामा सफल हुनेमा भने लुम्बिनी प्रदेशका धेरै छन् । गत वर्ष २०.०७ प्रतिशत लुम्बिनीका र त्यसपछि १७.७६ प्रतिशत प्रदेश २ आवेदक सरकारी सेवा प्रवेशका लागि सिफारिस भएका छन् । सिफारिस हुनेमध्ये सबैभन्दा कम सुदूरपश्चिमका ९.८७ प्रतिशत छन् ।

गत वर्ष धनुषा, अर्घाखाँची, झापा, सर्लाही, कैलाली, स्याङ्जा, दैलेख, काठमाडौं, बर्दिया र पाल्पाका क्रमशः धेरैजना सिफारिसमा परेको आयोगले जनाएको छ । 

योमध्ये धनुषाका १३, अर्घाखाँचीका १२, झापाका १२, सर्लाहीका १२, कैलाली ११, स्याङ्जाका ११ सिफारिस भएका छन् । त्यस्तै सबैभन्दा कम तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, पाँचथर र म्याग्दीका पाँच–पाँचजना सिफारिस भएका छन् ।

लोकसेवामा दरखास्त दिनेमध्ये शिक्षाशास्त्र अध्ययन गरेका धेरै छन् । आयोगका अनुसार शिक्षाशास्त्र पढेका ३७.९५ प्रतिशत, व्यवस्थापनका २०.६८ प्रतिशत, विज्ञानका ११.७८ प्रतिशत, इन्जिनियरिङका १०.६१ प्रतिशत र मानविकी पढेका ७.७८ प्रतिशत आवेदन छन् । 

आधाभन्दा बढीका अभिभावक साधारण लेखपढ

दरखास्त दिनेका अभिभावकको पढाइ पनि आयोगले विश्लेषण गरेको छ । आवेदन दिनेका अभिभावक साधारण लेखपढ गरेका ५०.६८ प्रतिशत, निरक्षर २२.६५ प्रतिशत, एसएलसी १३.४९ प्रतिशत र उच्च शिक्षा १३.१८ प्रतिशत रहेका छन् । आवेदन दिनेमध्ये ४६.८१ प्रतिशतका आमा निरक्षर र ४५.७८ प्रतिशतका साधारण लेखपढ मात्र जानेका छन् । 

त्यस्तै, आवेदन दिनेमध्ये ८० प्रतिशतका अभिभावकको पेसा कृषि भएको उल्लेख गरेका छन् । यसैगरी, ९३.७५ प्रतिशत हिन्दू छन् । उमेर समूहअन्तर्गत सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेरकाले लोकसेवाको परीक्षामा दरखास्त दिएका छन् ।