मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १ बिहीबार ०९:११:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

कमलपोखरी संरक्षणमा रानीपोखरीको पाठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १ बिहीबार ०९:११:००

बाख्राका पाठाहरूको एउटा अनौठो बानी हुन्छ । तिनले उस्तै कुरा कसरी सिक्छन् र पुस्तान्तरण गर्छन् भन्ने अध्ययन भने भएको छैन होला । बलिरहेको बत्ती या आगोको छेउमा जान्छन् र मुख लैजान्छन् । बत्ती या बलिरहेको आगोले तिनको जुँघा डढाउँछ । पाठाहरू फुँ–फुँ गर्दै पछि सर्छन् । तर, एकैछिनपछि या अर्को–अर्को दिन पनि यो प्रक्रिया दोहोरिइरहन्छ । अर्थात् तिनले कहिल्यै आफ्ना गल्तीबाट पाठ सिक्दैनन् । यस्तो पाठा प्रवृत्ति मान्छेमा पनि भेटिन्छ । काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा गरेको गल्तीबाट कत्ति पनि नसिकी कमलपोखरीको संरक्षण कार्यमा देखाएको गलत शैलीले यही प्रस्ट पार्छ कि महानगरपालिका पाठाहरूजस्तै छ । उसका जुँघा डढेर नसकिउन्जेल यस्तो घटना दोहोरिइरहनेछ । यतिवेला कमलपोखरी मर्मत तथा पुनर्निर्माणको काम भइरहेको छ । महानगरले पोखरी पुनस्र्थापित गर्नुपर्छ भनेर प्रयास गर्नु अवश्य पनि राम्रो कुरा हो । यसका लागि उसलाई धन्यवाद दिनैपर्छ । तर, पोखरी नयाँ बनाउन लागिएको होइन । यो कहिले बनेको हो भन्नेसमेत कुनै प्रमाणित तथ्य स्थापित छैन । यसको ऐतिहासिक मूल्य पछि निक्र्योल हुँदै गर्ला । तर, काठमाडौंको सांस्कृतिक र सहरसम्बन्धी पुर्खाका मूल्य यसले बिम्बित गरिरहेकोमा कुनै शंका छैन । 

कमलपोखरी मर्मत–सम्भार संरक्षणसहित पुनर्स्थापना गरौँ, तर यसलाई कंक्रिटका संरचनाले छोपेर पानीको प्राकृतिक भरण र निकासको महत्वलाई नै नजरअन्दाज नगरौँ ।
 

लिच्छविकालमा सहर निर्माणका जे–जस्ता अवधारणा थिए, त्यसकै निरन्तरतामा यो बनेको अनुमान गरिएको छ । पोखरीमा भरिएको पानी योभन्दा दक्षिणतिरका धोबीधारा, डिल्लीबजार, कमलादी क्षेत्रका धाराहरूको जलाधारका रूपमा रहेकोमा पनि कुनै शंका छैन । यसै पनि सुक्खाग्रस्त र वायुमण्डलीय प्रदूषणको सिकार भएको छ, काठमाडौं । जनसंख्याको अत्यधिक चाप, अव्यवस्थित सहरीकरण, बजार र नाफामूलक गतिविधिको दबाब थेग्न नसकेर सार्वजनिक स्थलहरू खुम्चिँदै तथा साँघुरिँदै गएका छन् । 

कम्तीमा दुई हजार वर्ष पुरानो सभ्यताको निरन्तरता रहेको यो उपत्यका संसारमा बिरलै पाइने पुरातात्विक महत्वको जीवित सहर हो । यस्तो जीवन्तपनलाई जोगाएको पनि यस्तै पोखरी, हिटी, मठ मन्दिर, पाटीपौवा, चोक र डबलीहरूले हो । पुर्खाले निर्माण गरेर पछिल्ला पुस्तालाई हस्तान्तरण गर्दै सयौँ वर्ष संरक्षित हुँदै आएका यी सम्पदाको संरक्षण आफँैमा नेपालका पहिचान हुन् । यो कुरा बेग्लै हो कि व्यापारिक जमाना भएकाले यिनले अहिले हामीलाई पर्यटन क्षेत्रको विकासका लागि सहयोग गरेका छन्, अर्थात् आयआर्जन र रोजगारी सिर्जनामा पनि सघाएका छन् । अहिले अतिक्रमणको सिकार भएका, बेवास्तामा परेका, अन्य संरचना र मानवीय क्रियाकलापको चेपुवामा परेर अस्तित्व गुमाउँदै गएका यस्ता संरचनाको संरक्षणका लागि जे–जस्तो प्रयास हुन थालेको छ, त्यो सकारात्मक विषय हो । 

तर, यस्तो संरक्षण गर्ने काम त्यस्ता सम्पदाको ऐतिहासिकता, सांस्कृतिक पक्ष र वातावरणीय पक्षसहितको सुन्दरतालाई निरन्तरता दिने गरी हुनुपर्छ । यसो नगरी जसरी कमलपोखरीलाई कंक्रिटको संरचना बनाएर क्षेत्रफल घटाउने, व्यापारिक उद्देश्यका दृश्यावलोकन मचान तथा खेलमैदान बनाउन लागिएको छ । यस्तो हुनुहुँदैन भनेर तीन वर्षपहिलेको अभियानले रानीपोखरीलाई सुन्दर बनाएको कुरा पुरानो भएकै छैन । तर, जम्मा एक किलोमिटरजति परको कमलपोखरी बनाउँदा यताबाट शिक्षा नलिने महानगरपालिकाको तरिका आपत्तिजनक छ । कमलपोखरी मर्मत–सम्भार संरक्षणसहित पुनस्र्थापना गरौँ, तर यसलाई कंक्रिटका संरचनाले छोपेर पानीको प्राकृतिक भरण र निकासको महत्वलाई नै नजरअन्दाज नगरौँ ।