धार्मिक ग्रन्थ वा किंवदन्तीमा स्वर्गको अति सुन्दर वर्णन भएको सुनेका छौँ र पढेका छौँ । यद्यपि स्वर्ग कस्तो छ भन्ने कसैलाई पनि थाहा छैन । तर, ती ग्रन्थमा उल्लेख भएझैँ स्वर्गबराबर महाभारत पर्वत शृंखलाको उच्च पर्वत शैलुङ ठ्याक्कै मिल्न आउँछ । स्वर्ग आँखैले देख्न र महसुस गर्न भने त्यही पर्वत शैलुङ पुगे हुन्छ । समुद्री सतहबाट तीन हजार चार सय मिटर उचाइको यो पवर्तसम्म पुग्न दोलखाको दक्षिण पश्चिमको यो पर्वत टेक्न काठमाडौंबाट धुलिखेल–दोलालघाट हुँदै खाडीचौर–मुडे भएर एक सय ३० किलोमिटरको यात्रा पार गर्नुपर्छ ।
शैलुङमा ३६० डिग्रीको फन्को लगाउँदा नेपालमा ६० प्रतिशत हिमशृंखला देख्न सकिन्छ । गौरीशंकर, लाङटाङ, लाक्केश्वरी जुगल, मनास्लु, गणेश, माछापुच्छ्रे, अन्नपूर्ण, नम्बुर, टसिलप्पलगायत हिमाल ठिंग उभिएका हुन्छन् । ‘सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले हुरुक्कै बनाउँछ,’ शैलुङ गाउँपालिका–८ का वडाध्यक्ष रामेश्वर उप्रेतीले भने ।
प्राकृतिक सौन्दर्य मात्रै होइन, धार्मिक र सांस्कृतिक रूपमा पनि यसको महत्व छ । शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलाल किंवदन्ती नै किंवदन्ती रहेको बताउँछन् । कलियुग सुरु हुनुअघि एक सय आठ ऋषिमुनिले तपश्या गरेको र कलियुगमा पाप देख्न नपरोस् भनेर भासिँदा थुम्को बनेको किंवदन्तीमा उल्लेख छ । महादेवको वासस्थान रहेको त छँदै छ, पाँचौँ बुद्धगुरु रिम्पोचे पद्म सम्भवदेखि सातौँ बुद्ध शाक्यमुनि नमोबुद्ध हुँदै शैलुङ आएर तपस्या गरेको र हलेसी हुँदै तराई झरेको मानिन्छ ।
बुद्धले तपस्या गरेको र बुद्धको पाइला त भयो नै शैलुङको शिर पृथ्वीको नाइटो रहेको विश्वास गरिन्छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र शैलुङमा शैलुंगेश्वर, दुधेश्वर, गुप्तेश्वर महादेव, शैलुंगेश्वरी देवीको मन्दिर छ भने धर्मद्वार, १२ वर्षमा एकपटक खुल्ने गोदावरी, धार्मिक रूपले चर्चित गुफा, डाँफे ढुंगा, पृथ्वीको नाइटो, बुद्धको पाइला, भीमसेनको तरबार आकर्षणका केन्द्र छन् । योसँगै वनैभरि नाच्ने डाँफे, मुनाल, चितुवा, चौँरी र विभिन्न प्रजातिका चराचुरुंगीको चिरबिराहटले मनै प्रफुल्लित बनाउँछ ।