
मानव अधिकारकर्मी कृष्ण पहाडीले विगतमा भएका सैद्धान्तिक र नीतिगत भूलको समीक्षा गरी गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाएर मात्रै आन्दोलनमा जान सुझाब दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनको सम्बन्धमा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूसँग बिहीबार गरेको छलफलमा पहाडीले प्रधानमन्त्री केपी ओलीले निम्त्याएको रिक्ततामा अतिवादीहरूले षड्यन्त्र बुन्न थालिसकेको दाबी गरेका छन् ।
गलत कदम चाल्ने प्रधानमन्त्री ओलीको पतन निश्चित भएको पनि उनले बताएका छन् । आफू पतन हुँदै ओलीले लोकतन्त्रलाई पनि पतन गराउने हो कि भन्ने खतरा रहेको उनले औँल्याएका छन् । उनले सरकारले वैशाखमा चुनाव गर्ने कुनै मनसाय नराखेको स्पष्ट भएको पनि दाबी गरे ।
कार्यक्रममा अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले संसद्ले काम नगरे राजीनामा दिने ठाउँमा प्रधानमन्त्रीले आफ्नो नैतिकता देखाउन नसकेको बताए । ओलीले दिउँसै रात पार्न खोजेको उनले जिकिर गरे ।
प्रधानमन्त्रीमा देखिएको हठका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको उनको दाबी छ ।
पूर्व सभामुख दमननाथ ढुंगानाले राजनीतिक संकट आउँदा मात्रै विज्ञलाई सम्झिएको भन्दै राजनीतिक दलहरुको प्रवृति माथि प्रश्न गरे । उनले प्रधानमन्त्रीले के गर्दै हुनुहुन्छ भन्ने आफ्नै दलका नेताहरुलाई थाहा नहुने अवस्था कसरी भयो त्यसको जवाफ नेताहरुले दिनुपर्ने बताए ।