Skip This
Skip This

दक्षिण कोरियाद्वारा अमेरिकी सेनाको तलब वृद्धिको घोषणा

२०७५ माघ २७ आइतबार १९:४९:००

लामो समयदेखि दक्षिण काेरियामा सहयोगी बन्दै आएका अमेरिकी सेनाको खर्चका लागि वासिङ्टनको अनुरोधमा बजेट बढाउन सहमत भएको समाचारमा जनाइएकाे छ । दक्षिण कोरियाले सेनाको खर्चबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उनबीच दोस्रो वार्ता हुने मिति तय भएको केही घण्टाभित्रै अन्तिम रूप दिएको हो । 

सन् १९५० देखि सन् १९५३ सम्म चलेको कोरियाली युद्धका समयदेखि नै अमेरिका र दक्षिण कोरियाबीच सुरक्षा गठबन्धन रहँदै आएको छ । कोरियाली प्रायदीपमा भएको तनाव कम गर्न युद्धविराम गरिए पनि शान्तिवार्ता हुन सकेको छैन । दक्षिण कोरियामा प्योङयाङको तर्फबाट सुरक्षा खतरा भएको भन्दै २८ हजारभन्दा बढी अमेरिकी फौज तैनाथ छ । 

Photo : AFP/Getty Images  

तर अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा राख्दा हुने खर्चमध्ये सोलले हालको खर्चलाई डबल बनाउनु पर्ने बताउँदै आएका थिए । वासिङटन र सोलका प्रतिनिधिबीचको सहमतिअनुसार अघिल्लो पाँच वर्षका लागि गरिएको सम्झौताभन्दा ८.२ प्रतिशत बढी रकम दिइने छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले सन् २०१९ मा अमेरिकी सेनाको व्यवस्थापनका लागि ९२ करोड ४० लाख अमेरिकी डलर बुझाउने सहमति भएको बताएको छ । 

मन्त्रालयका अनुसार अमेरिकाले कोरियाली भूमिमा रहेको उसको सेना व्यवस्थापनका लागि ठूलो मात्रामा बजेट वृद्धिका लागि माग गरेको भए पनि दुई मुलुकबीच उक्त रकम भूक्तानीको सहमति भएको हो । सहमतिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “दुवै मुलुकले दक्षिण कोरिया–अमेरिकाबीचको मजबुत सहकार्य ररहनु पर्नेमा जोड दिएका छन् ।” 

खर्चको विवादले अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी फौज फिर्ता गर्नसक्ने चासो विश्लेषकहरूले देखाएका थिए ।