
गुल्मीले ५० वर्षे इतिहासमा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पाएको छ । ३९औँ प्रमुख जिल्ला अधिकारीका रूपमा रुद्रादेवी शर्मा गुल्मी आएकी छिन् । यसअघि उनी रामेछापमा सोही जिम्मेवारीमा थिइन् । बाग्लुङको बलेवा घर भएकी शर्मा ०६६ सालमा अधिकृत पदमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी थिइन् ।
उनले पहिले राष्ट्रिय योजना आयोग, सञ्चार मन्त्रालय, श्रम मन्त्रालयलगायतमा थुप्रै वर्ष काम गरेकी छिन् । तर, प्रमुख जिल्ला अधिकारीको दोस्रो जिम्मेवारी गुल्मीमा शर्माका लागि अवसर र चुनौती दुवै हो ।
उनले बुधबारबाट आफ्नो कार्यभार ग्रहण गरेपछि जिल्लाका राजनीतिक दल, उद्योग व्यवसायी,पत्रकार र सरोकारवालासँग छलफल र संवाद गरिरहेकी छिन् ।
पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा विकासको काममा सहयोग पुर्याउनु नै आफ्नो पहिलो काम भएको बताइन् । उनले सबै सरकारी कार्यालयको सेवा प्रवाहलाई चुस्त, सरल नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको बताइन् ।