Skip This
विराटनगरमा मन्टुपछि अर्का नामुद मिटर ब्याजी एजाज अहमद पक्राउ, आपराधिक सम्पत्ति आर्जन गर्ने गिरोह नै सक्रिय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २६ बुधबार o९:४९:oo
Read Time : > 4 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विराटनगरमा मन्टुपछि अर्का नामुद मिटर ब्याजी एजाज अहमद पक्राउ, आपराधिक सम्पत्ति आर्जन गर्ने गिरोह नै सक्रिय

Read Time : > 4 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:४९:oo

घरजग्गा राजीनामा पास गराउने, किर्ते कपाली तमसुक बनाएर धाकधम्की दिँदै अकुत ब्याज असुल्ने र आपराधिक सम्पत्ति आर्जनमा लिप्त कुख्यात मिटर ब्याजी र गुण्डा नाइकेहरूको गिरोह नै विराटनगरमा वर्षौँदेखि सक्रिय रहेको खुलेको छ । विराटनगर–९ घोघापुलका कुख्यात मिटर ब्याजी ४२ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार र उनका सहयोगी सोही ठाउँका एजाज अहमद पक्राउ परेपछि प्रहरी यस्तो गिरोहविरुद्ध गहन अनुसन्धानमा जुटेको छ ।

रौनियारविरुद्ध १६ जनाले किटानी जाहेरी दिएपछि प्रहरीले रौनियारलाई २७ मंसिरमा नियन्त्रणमा लिएको थियो । पीडितकै उजुरीका आधारमा आइतबार एजाज पनि पक्राउ परेका हुन् । रौनियार र एजाजबीच गहिरो सम्बन्ध रहेको दुवै पक्राउ परेपछि खुलेको हो । पक्राउ परेका एजाज विराटनगरमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन् । उनी विभिन्न ठेकेदारहरूका लागि गुण्डागर्दी गर्ने/गराउने गर्छन् । यस्तै, घरजग्गा खाली गराउने र मिटर ब्याजको पैसा असुल्न पनि गुण्डागर्दीमा संलग्न छन् । गुण्डागर्दीबाट अकुत सम्पत्ति जोडेपछि उनी आफैँ घरजग्गा र मिटर ब्याज कारोबारमा सक्रिय थिए । घरजग्गा खाली गराउन र मिटर ब्याजको रकम असुल्न उनले कमिसन र सेयर माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एजाजले हालसम्म कुनै उद्यम, व्यवसाय गरेको पाइएको छैन । ‘केही वर्षअघि उनको जीवनस्तर सामान्य देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘पछिल्ला दिनमा लाखौँ मूल्यको निजी मोटर प्रयोग गर्दै आएका छन् । आपराधिक सम्पत्ति आर्जन गर्ने उनको कारोबार विस्तार हुँदै गएको देखिएको छ ।’ एजाजले विराटनगरका युवालाई गुण्डागर्दीमा प्रयोग गर्दै आएका छन् । आपराधिक लाभ लिएको आरोपमा उजुरी परेपछि एजाजलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेका एजाज विराटनगरका गुण्डानाइके आजम परवेजका भाइ हुन् । गुण्डानाइके आजम अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय भोगेर जेलमुक्त भएका व्यक्ति हुन् । अहिले उनी युवासंघको विराटनगर महानगर संयोजक छन् । एजाजका दाजु रियाज अहमद विराटनगर महानगरपालिका–९ का वडा सदस्य छन् । उनीहरूका जेठा दाजु रइस अहमद भने सामान्य जीवन बिताइरहेका छन् ।

कुख्यात मिटर ब्याजी रौनियारविरुद्ध प्रमाण जुटाउँदै प्रहरी
वर्षौँदेखि घरजग्गा धितो पास गराएर नक्कली कपाली तमसुक बनाई मनमौजी चर्को व्याज असुल्ने रौनियारविरुद्ध प्रमाण जुटाउन गहन अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । मिटर ब्याज असुलेर शोषण गरेको आरोपमा १६ जनाले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा मिटर ब्याजी रौनियार खतरनाक व्यक्ति भएको खुलेको एसपी खड्काले बताए । उनले भने, ‘हामी प्रमाण जुटाउँदै छौँ, यिनी खतरनाक व्यक्ति रहेछन् ।’ रौनियारलाई नियन्त्रणमा लिएर प्रहरीले अभद्र व्यवहार मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको छ । अनुसन्धान सकिएपछि उनीविरुद्ध ठगी मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । हालसम्मको अनुसन्धानमा रौनियारले सर्वसाधारणको ७६ कित्ता जग्गा हडपेको खुलेको छ । त्यसमध्ये आफ्नो नाममा ४३ र श्रीमती ज्योतिको नाममा ३३ कित्ता जग्गा पास गराएको फेला परेको हो । उनले जिल्ला अदालत, मोरङमा दर्जनौँ लेनदेन मुद्दा दर्ता गराएको पाइएको छ । त्यसबापत करोडौँ रुपैयाँ आर्जन गरको पीडितहरूको भनाइ छ ।

अझ, सम्पत्ति शुद्धीकरण विभागमा तीनजना पीडितले ७ मंसिरमा दर्ता गरेको उजुरीअनुसार ०७० यता मात्र रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेका छन् । त्यसमार्फत करिब ५० करोड रुपैयाँ उनले आर्जन गरेको उजुरीमा दाबी गरिएको छ ।

रौनियारसँग लिएको १३ लाख रुपैयाँ ऋणका कारण आफ्नो घरजग्गा नै कब्जा गरेको विराटनगर–१० की संगीता कामतले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ । ०७२ देखि हालसम्म उनले ३० लाख रुपैयाँ बुझाइसकेकी छन् । तर, धितो फुकुवा नगरी रौनियारले रकम असुल्न छाडेका छैनन् । कामतले अहिले पनि रौनियारलाई मासिक ४८ हजार रुपैयाँ ब्याज तिरिरहेकी छिन् । यस्तै, मोरङ धनपालथान गाउँपालिका–१ का हरिलाल मण्डलले नौ वर्षअघि लिएको ५० हजार रुपैयाँ तिर्न अझै पनि उखु खेतीबाट भएको आम्दानी सबै बुझाउनु परिरहेको छ । न त उनको धितो फुकुवा भएको छ, न ऋण नै चुक्ता भएको छ । 

मिटर ब्याज अपराधको जड कपाली तमसुक
कपाली तमसुकलाई अदालतले पनि मान्यता दिने भएकाले मिटर ब्याजमा ऋण लिनेहरू अवैध कारोबारीहरूबाट इन्तु न चिन्तु बन्ने गरेका छन् । कपाली तमसुकले कानुनी मान्यता पाउने भएकाले ऋण दिएपछि आफनो कब्जामा कपाली तमसुक राखेर मिटर ब्याजीहरूले मनमौजी ब्याज असुल्छन् । समयमा ऋण नतिरे तेब्बर–चौबर बढी साँवा कबोल गरेको तमसुक देखाउँदै घरजग्गा कब्जा गर्छन् । मिटर ब्याजको रकम असुल्न सबै कारोबारीले कमिसन वा साझेदारीमा गुण्डा प्रयोग गर्छन् ।

केही समयमै अकुत कमाइ हुने भएकाले मिटर ब्याज कारोबारीका लागि गुण्डा नाइके र बिचौलियाहरू मात्र नभई कलेज पढ्दै गरेका विद्यार्थीसमेत प्रयोग हुने गरेको प्रहरी बताउँछ । मिटर ब्याजले सामाजिक विकृति बढाउने, निमुखाहरूको उठीवास लगाउने र जघन्य अपराध बढाउन बल पु¥याइरहेकाले प्रहरी, प्रशासन र सम्पत्ति शुद्धीकरण विभागले ठूलो अपरेसन चलाउनुपर्ने अधिवक्ता हेमराज पन्त बताउँछन् ।

उनका अनुसार फौजदारी संहिता लागू हुनुअघिको कपाली तमसुकलाई अहिले पनि अदालतले मान्यता दिन्छ । तर, भदौ ०७५ मा फौजदारी संहिता लागू भएपछि वडा समितिमा दर्ता भएको कपाली तमसुकलाई मात्र अदालतले मान्यता दिने गरेको छ । ‘भदौ ०७५ मा मुलुकी संहिता लागू हुनुअघिको मुलुकी ऐनको लेनदेनको महलमा कपाली तमसुकलाई कानुनी वैधता थियो,’ अधिवक्ता पन्त भन्छन्, ‘०७५ मा मुलुकी संहिता र देवानी संहितामा त्यस्ता कपाली तमसुक वडा कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान छ । र, वडा कार्यालयमा दर्ता भएका कपाली तमसुकलाई मात्र अदालतले मान्यता दिन्छ ।’

पसलेहरू पनि मिटर ब्याजको धन्दामा
गुण्डा नाइके र बिचौलियाहरू मात्र नभई सामान्य पसलेहरू पनि मिटर ब्याजको धन्दामा लाग्ने गरेको खुलेको छ । तीमध्ये कसैले विनाधितो कपाली तमसुक बनाएर मिटर ब्याज असुल्छन् भने कसैले सुनचाँदी धितो राख्ने, त्यसलाई अर्को साहुकोमा धितो राखेर पैसा लिई मिटर ब्याजमा लगाउँछन् । तोकिएको समयमा ऋण तिर्न नसकेपछि धितो राखेको सुनचाँदी हडप्छन् । कोही भने धेरैजनाबाट सुनचाँदी संकलन गरेर फरार हुन्छन् । खासगरी, सुनचाँदी व्यवसायीहरू यस्तो धन्दा संलग्न हुने गरेका छन् ।

मोरङ बुढीगंगा–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका सञ्चालक जितेन्द्र साहले धितो राखेको सुन फिर्ता नदिएपछि प्रहरीले पक्राउ गरी मुद्दा नै चलाएको थियो । साह अदालतबाट ५० हजार धरौटीमा छुटेका थिए । बुढीगंगामै दर्जनौँ ग्राहकले धितो राखेको सुन संकलन गरेर अर्का एक सुन व्यवसायी पनि गत वर्ष फरार भएका थिए ।

मिटर ब्याजका कारण हत्या
विराटनगरमा गुण्डागर्दीको आडमा वर्षौँदेखि मिटर ब्याजको अवैध कारोबार फस्टाएको र त्यसक्रममा केहीले ज्यानसमेत गुमाउनुपरेको खुलेको छ । मिटर ब्याज कारोबारकै कारण ०७५ यता तीनजनाको बीभत्स हत्या भइसकेको छ । विराटनगर–१३ शान्तिचोकका होस्टेल सञ्चालक विनोदकुमार यादव तथा मोरङ कटहरी गाउँपालिका–१ का दीपा डागा र अस्मिता भट्टराईको हत्यामा मिटर ब्याज जोडिएको थियो ।

होस्टेल सञ्चालक यादवको २० भदौ ०७५ मा टाउको छिनालेर बीभत्स हत्या भएको थियो । उनी मिटर ब्याज कारोबारी थिए । मिटर ब्याजकै कारोबारी राकेशकुमार यादव (२२ वर्ष)ले कृष्णकुमार यादव (१७ वर्ष) र जितेन्द्रकुमार साह (१७ वर्ष) नामक दुई किशोरलाई साथमा लिएर उनको हत्या गरेका थिए । सुनसरी औरावनीका विनोद कलिलो उमेरमै मिटर ब्याज कारोबारी बनेका उनले छोटो समयमै प्रशस्त सम्पत्ति जोडे । उनी प्लस टु पढ्न विराटनगर आएका थिए । र, मिटर ब्याजबाटै सम्पत्ति जोडेपछि विराटनगर–१३ शान्तिचोकमा अक्सफोर्ड होस्टेल सञ्चालन गर्थे । उनी मिटर ब्याज कारोबारलाई द्रुत गतिमा फैलाउँदै थिए ।

विराटनगरमै बस्दै आएका सिराहा पिपरा–७ का २२ वर्षीय राकेशलाई विनोदले दुई लाख रुपैयाँ ऋण दिएका थिए । तर, ६ लाख रुपैयाँको कपाली तमसुकमा सहीछाप गराएका थिए । विनोदको हत्या गर्दा ऋण तिर्नुनपर्ने र मासिक एक लाखभन्दा बढी आम्दानी हुने ठानेर खराब आचरणमा फसेका राकेशले कृष्णकुमार र जितेन्द्रकुमारलाई पनि आफ्नो योजनामा सामेल गराए । तीनजना मिलेर विनोदको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कृष्णकुमार सिराहा सोठीआइन–५ का बासिन्दा हुन् भने जितेन्द्रकुमार सप्तरी महुवा–९ दुधैलाका हुन् ।

यस्तै, विष्णु कुल नामले फेसबुक आइडी बनाएर साथीभाइ र प्रेमिकामाझ चिनिएका विराटनगर–१२ का २६ वर्षीय विष्णुकुमार डागा क्यासिनोको लतमा परेका थिए । काका नाता पर्ने श्रीराम डागासँग क्यासिनोमा गएर जुवा खेल्थे । सोहीक्रममा मिटर ब्याजमा लिएको रकम तिर्न नसकेपछि ४ चैत ०७५ मा आफ्नै काकाको परिवारै सखाप पार्न काकी दीपा डागा र भाउजु अस्मिता भट्टराईको घरभित्रै गोली हानी हत्या गरेका थिए । वैदेशिक रोजगारीमा गएर फर्केका विष्णुले कमाएको रकमबाट खरिद गरेको घर पनि सस्तो मूल्यमा मिटर ब्याजी एजाज आलमलाई बिक्री गरेका थिए । त्यसबाहेक विष्णुले क्यासिनोमा जुवा खेल्न विराटनगरका अन्य धेरैजनासँग मिटर ब्याजमा ऋण लिएका थिए ।

ad
ad