१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ मङ्सिर १५ सोमबार ०९:०६:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पर्दापछाडिको मान्छेलाई मान्छे होइन भन्ठान्छन्

पर्दापछाडिका दुःख

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर १५ सोमबार ०९:०६:००

सिने क्षेत्रमा सक्रिय कलाकार, निर्माता, निर्देशकहरूको दैनिकी, जीवनशैली पढ्दा सुन्दा जोकोहीलाई लोभ्याउँछ,  रवाफ नै अर्कै छ । तर, बाहिर जति चम्किलो देखिन्छ भित्र छिर्दा उत्ति नै अँध्यारो भेटिन्छ ।

मेकअप कलाकार ५५ वर्षीय कमलप्रसाद मिश्रले अहिलेसम्म दुई सयभन्दा बढी चलचित्रमा काम गरिसके । ३० वर्षभन्दा बढी समय यो क्षेत्रमा बिताएका मिश्रले सुरुवातमा गोपाल भुटानीको एसिस्टेन्ट भएर यस क्षेत्रमा पाइला चालेका थिए । तर, ३० वर्षपछि पनि मिश्रको अवस्था सुध्रिएन । पहिलाभन्दा झनै दयनीय बन्दै गयो । 

०७४ मा मिश्रलाई घाँटीको क्यान्सर देखापर्‍यो । जसको उपचारमा मात्र १४ लाख खर्च भयो । जसको बिल बोकेर उनी चलचित्र विकास बोर्ड गए । बोर्डले दुईपटक गरेर ९० हजार रुपैयाँ दियो । धोबीधारामा परिवारसँग बस्दै आएका मिश्र आफ्नो पीडा सुनाउँछन्, ‘९० हजारले के नै हुन्थ्यो र ! मसँग केही जायजेथा थिएन भने गत वर्ष नै मरिसकेको हुने थिएँ ।’ घाँटीको क्यान्सर देखिएपछि मिश्रले उपचारका लागि आफ्नो जग्गा बेचे । सुनसरीमा भएको घर बेचे । अहिले आफ्नो घर पनि छैन उनको । न आर्थिक अवस्था नै राम्रो छ । भएको पैसा र सम्पत्ति उपचारमा खर्च गरे । 

कोरोना भाइरसका कारण लकडाउन भयो । त्यसले गर्दा पनि उनी आर्थिक चपेटामा परे । ‘यो क्षेत्रमा केही योगदान दिन्छु भनेर आएको थिएँ । तर, मेरै हालत यस्तो बनेर गयो,’ धेरै बोल्दा घाँटीमा समस्या हुने भएकाले रोकिँदै मिश्र भन्छन्, ‘हाम्रै पसिना र मिहिनेतले चलचित्र सफल बन्छ । तर, कोही त यस्ता आउँछन्, जसको दुई–चार फिल्म खेल्ने र दुई–चार अवार्ड हत्याउने नियत हुन्छ ।

अनि विदेश पलायन हुन्छन् । हामी पर्दापछाडिको मान्छेलाई त मान्छे नै होइन भन्ठान्छन् ।’ दुई सय बढी चलचित्रमा काम गरिसक्दा आफ्नो पसिनाको मूल्य नपाएका चलचित्रहरू गनिसाध्य छैनन् मिश्रको । कति चलचित्रले पारिश्रमिक दिएन, ठ्याक्क भन्न सक्दैनन् । आफू यस्तो अवस्थाबाट गुज्रिँदा थाहा पाएर दिए पनि हुने भन्ने आशा त छ उनलाई, तर दिन्छन् भन्ने विश्वास छैन । भन्छन्, ‘यस्तोवेला गुहार्ने ठाउँ पनि कतै छैन । तर, अहिले यहाँ आइपुग्दा पनि हिम्मत भने हारेको छैन ।’

चमकधमक, हल्लाखल्ला हेर्दा या सुन्दा जोकोहीलाई लाग्छ, चलचित्र क्षेत्र भव्य छ । यस क्षेत्रमा सक्रिय कलाकार, निर्माता, निर्देशकहरूको दैनिकी, जीवनशैली पढ्दा सुन्दा जोकोहीलाई लोभ्याउँछ । यस क्षेत्रको रवाफ पनि अर्कै छ । तर, बाहिर जति चम्किलो देखिन्छ यो क्षेत्र, भित्र छिर्दा उत्ति नै अँध्यारो भेटिन्छ । कलाकारहरूको गसिप, चलचित्रले पाएको समाचार हेर्दा, पढ्दा या सुन्दा लाग्दैन कि यो क्षेत्रमा त्यति धेरै अँध्यारा पाटा पनि छन् । तर, यो रंगिन दुनियाँभित्र छिरेपछि थाहा हुन्छ, यस क्षेत्रमा बीसौँ, तीसौँ वर्ष बिताएका प्राविधिकहरूको अवस्था कस्तो छ । दैनिक गुजाराका लागि उनीहरूलाई कति धौ–धौ छ । 

मेकअप कलाकार गणेश भण्डारीले ०५२ बाट यस क्षेत्रमा काम सुरु गरे । उनको पहिलो चलचित्र थियो नवल खड्काको ‘विश्वासघात’ । यो २६ वर्षमा भण्डारीले सयभन्दा बढी चलचित्रमा काम गरे । तर, अहिले पनि साँझ–बिहान के खाउँको अवस्थाबाट गुज्रिरहेका छन् । भन्छन्, ‘अलिअलि नाम कमाइयो होला । तर, नामले केही गर्दैन । हरेक साँझ–बिहान के खाने भन्ने भयले सधैँ सताउँछ ।’

भण्डारी ५७ वर्षका भइसके । अहिले आएर सरकारी जागिर नखाएकोमा चुकचुकाउँछन् पनि । नचुकचुकाउन् पनि कसरी ! यो उमेरमा आएर पनि काम खोजिबस्नु परेको छ । कतै काम पाइएला कि भनेर फोनमा नम्बर डायल गरिबस्छन् । लकडाउनपछि सुटिङ सुरु भए पनि काम पाएका छैनन् । प्रेसरको औषधि खाइरहनुपर्छ भण्डारीले । ‘अहिले सम्झिँदा खुब दुःख लाग्छ । निजी संस्थामै जागिर खाएको भए पनि त उपचारलगायतको व्यवस्था हुन्थ्यो । यो क्षेत्रमा त त्यो पनि छैन,’ भण्डारी भन्छन्, ‘हामीजस्तो बीस वर्ष यस क्षेत्रमा कटाइसकेकालाई विकास बोर्डले केही सहयोग गरे पनि त हुन्थ्यो । केही प्याकेजको व्यवस्था गरिदिए पनि हुने ।’

सुनसरीका भण्डारी मनमैजु बस्छन् पाँचजना परिवारको साथमा । कोठाभाडाकै समस्या छँदै छ । साथमा भनेको वेला औषधि किन्ने पैसा हुँदैन । केही साथीभाइले सहयोग गर्छन् । तर, सधैँ सहयोग पाइन्छ भन्ने हुँदैन । कहिले के, कहिले के गरेर घरपरिवार चलाइरहेका छन् ।

आफ्नो सम्पूर्ण जिन्दगी, पसिना, जवानी खर्च गरिसकेका भण्डारीले आठ–नौवटा चलचित्रको त पारिश्रमिक नै पाएका छैनन् । पाइन्छ जस्तो पनि लाग्दैन उनलाई । ‘अहिले यो अवस्थामा आइपुग्दा आफ्नो पसिनाको मूल्य सम्झन्छु जो मैले पाइनँ । जसले दिएनन्, एकदिन उनीहरूले त्यसको मूल्य चुकाउनेछन्,’ भण्डारी दुःखी भएर भन्छन्, ‘दुःख गरेर घर चलाएको छु । फिल्म लाइनमा त काम गरिन्छ नि, तर चार हजार ऋण चाहियो भन्दा पत्याउँदैनन् ।’


सुमन शंकर प्रोडक्सन डिजाइनर हुन् । उनको पनि अवस्था भण्डारी र मिश्रको भन्दा फरक छैन । २७ वर्ष भइसक्यो उनले यस क्षेत्रमा बिताएको । ‘चेली’ चलचित्रमा सुनील थापा पहिलोपटक हिरो खेल्दै गर्दा शंकरले पनि पहिलोपटक यस क्षेत्रमा काम सुरु गरेका थिए ।

अहिलेसम्म डेढ सयको हाराहारीमा चलचित्रमा काम गरिसकेका शंकरले भने अहिले फाट्टफुट्ट काम गरिरहेका छन् । तर, पुग्दो काम छैन । धनकुटाका शंकर बागबजारमा बस्दै आएका छन् । तर, २७ वर्षअघिदेखिको उनको अवस्थामा खासै सुधार आएको छैन । खासै परिवर्तन आएको छैन । ‘यही क्षेत्रमा सानैदेखि लागियो । लामो समयदेखि नै अवस्था त्यस्तै त्यस्तै छ,’ शंकर सुनाउँछन्, ‘दुःख गरेर कोठाभाडामा बसिएको छ ।

सधैँ अब त केही होला, केही अवस्था सुध्रिएला भनेर लागिएको छ । तर, अवस्था त सधैँ उस्तै हो ।’ २० वर्षदेखि यस क्षेत्रमा सक्रिय अञ्जु लामा केसीले ४५ भन्दा बढी चलचित्रमा काम गरिसकिन् । यही क्षेत्रमा लागिन् । यही क्षेत्रमा पसिना बगाइन् । तर, अहिले आएर उनलाई लाग्छ, ‘यो क्षेत्रले मात्र नहुँदो रहेछ, यसको विकल्प पनि खोज्नुपर्ने रहेछ ।’