१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७७ मङ्सिर १२ शुक्रबार ०३:१९:००
Read Time : > 8 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पूर्वराजाको पक्षमा देशभर प्रदर्शन : राप्रपाको नेतृत्व, नेकपा र कांग्रेस समर्थक पनि सहभागी

राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा बुटवलदेखि विराटनगर, जनकपुरदेखि धनगढीसम्म शृंखलाबद्ध प्रदर्शन भएका मात्र छैनन्, यी प्रदर्शनमा उपस्थित जनसंख्याले पुरातन शक्तिलाई आशावादी र नयाँ शक्तिलाई सतर्क बनाएको छ

Read Time : > 8 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७७ मङ्सिर १२ शुक्रबार ०३:१९:००

धनगढीमा तेजराज भट्ट, बुटवलमा विष्णु घिमिरे, पोखरामा गोविन्द सुवेदी, हेटौँडामा सुदीप सिवाकोटी, जनकपुरमा हदिश खुद्दार, विराटनगरमा गणेश लम्साल 

......

जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल ¥याली गरे । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा ¥यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको थियो । ¥यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे । 

आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत ¥यालीमा सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने । 

धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको ¥यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ । यो सहभागिताले अहिलेको व्यवस्था फेल भएको पुष्टि गरेको उनको भनाइ छ । ‘लोकतान्त्रिक व्यवस्था फेल भएको र जनतामा व्यवस्थाप्रति नै वितृष्णा बढेको पुष्टि ¥यालीले गरेको छ,’ कार्कीले भने । प्रहरीको रिपोर्ट भने ¥यालीमा दुई हजारदेखि २२ सयसम्मको सहभागिता रहेको छ । जिल्ला प्रहरी प्रमुख एसपी अनुपशमशेर जबराले ¥यालीको पूर्वजानकारी दिइएको बताए ।

¥यालीको तयारीमा राप्रपाका केन्द्रीय सदस्यहरू छत्र शाही, ललित नेगीसहित स्थानीय नेता–कार्यकर्ता जुटेका थिए । संंयोजक कार्की आफैँ पनि राप्रपानिकट युवा मोर्चाका प्रदेश अध्यक्ष हुन् । तर, स्वतन्त्र नागरिक र अरू पार्टीमा आबद्धहरूलाई सहभागी हुन सहज होस् भनेर पार्टीको झण्डा नबोकेको केन्द्रीय सदस्य शाहीले बताए । ‘स्वतन्त्र आयोजना देखाएर हामी ‘ब्याक ग्राउन्ड’मा बसेर खटियौँ,’ ¥यालीका लागि प्रचारप्रसारको संयोजन गरेका शाहीले भने, ‘अन्य पार्टीका साथीहरूले तपाईंको पार्टीको झण्डा प्रयोग नहुने भए हामी पनि जान्छौँ भन्नुभएको थियो ।’ 

सरकार र राजनीतिक दलका गतिविधिप्रतिको वितृष्णाका कारण पनि जनसहभागिता सोचेभन्दा बढी भएको शाहीले बताए । ‘दलहरूले गरेको गैरजिम्मेवार क्रियाकलाप र भ्रष्टाचारप्रतिको असन्तुष्टि हो यो । त्यही भएर अरू पार्टीका समर्थक पनि ¥यालीमा आए,’ शाहीले भने, ‘भ्रष्टाचार अनियन्त्रित भयो, देशमा सयौँ राजाभन्दा एउटा राजा ठीक छ भन्ने मनस्थितिमा जनता पुग्न थालेका छन् ।’

¥यालीमा राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको नारा लगाइएको थियो । कैलाली र कञ्चनपुरका सहरी तथा ग्रामीण क्षेत्रबाट मानिसहरू ¥यालीमा सहभागी हुन आएका थिए । जनसहभागिता बढाउन राप्रपाका गाउँसम्मका कमिटी र नेताहरू परिचालित भएका थिए । केही पहाडी जिल्लाबाट पनि राप्रपाका नेता–कार्यकर्ता ¥यालीमा सहभागी भएको केन्द्रीय सदस्य शाहीले बताए । आयोजकले कतिपय सहभागीका लागि इन्धनको व्यवस्था पनि गरिदिएको थियो । संयोजक कार्कीले आ–आफ्नो ठाउँको सहभागिताको व्यवस्थापन स्थानीय कमिटीले नै गरेकाले आफूहरूको करिब दुई लाख रुपैयाँ मात्र खर्च भएको बताए ।

कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले सरकार र राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दाको वितृष्णा ¥यालीमा देखिएको बताए । ‘लोकतान्त्रिक व्यवस्थाप्रति भन्दा पनि लोकतन्त्रमा जे हुने भनिएको थियो त्यो हुन नसक्दा वितृष्णा बढेको हो । वितृष्णा अभिव्यक्त हुनु स्वाभाविक पनि हो,’ उनले भने ।

रुपन्देहीमा अझ ठूलो प्रदर्शन गर्ने राजावादीको तयारी 

राजसंस्था पुनस्र्थापनाको माग गर्दै रूपन्देहीबाट थालिएको अभियान देशव्यापी हुन थालेपछि रूपन्देहीमा अझ ठूलो प्रदर्शनको तयारीमा राजावादीहरू लागेका छन् । राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार बढेकाले देशको हितका लागि राजा र हिन्दू राष्ट्र कायम गर्न जरुरी रहेको उनीहरूको निष्कर्ष छ । 

वीर गोर्खाली अभियान, शिव सेना नेपाललगायतको नामबाट गत १७ कात्तिकमा मणिग्रामदेखि बुटवलसम्म राजावादीहरूले भव्य ¥याली निकालेका थिए । त्यसमा राप्रपाको पनि भित्री सहयोग थियो । त्यसबाट उत्साही राजावादीहरू ¥यालीको आयोजक जनता आफैँ रहेको दाबी गरिरहेका छन् । शिव सेना नेपालका केन्द्रीय सदस्य अनिल जैसवालले अहिलेको शासन व्यवस्थाबाट जनता सन्तुष्ट नभएकाले राजसंस्था र हिन्दू राज्यका पक्षमा जनता उत्रिएको दाबी गरे । राजसंस्था पुनर्वहालीका लागि सबै राष्ट्रवादी शक्तिहरू एक ठाउँ जुटिरहेको उनको भनाइ छ । 

राप्रपाका केन्द्रीय सदस्य शक्ति सापकोटाले रूपन्देहीमा अझ ठूलो प्रदर्शनको तयारी भइरहेको बताए । ‘बुटवलबाट सालझण्डीसम्म ¥याली गर्ने कि भन्ने कुरा छ, स्थानीय साथीहरूको माग बढी छ । यस विषयमा छलफल हुँदै छ,’ उनले भने, ‘मुर्गिया, रानीबगिया, सालझण्डीका साथीहरूले कार्यक्रम गर्न माग बढी गर्नुभएको छ, त्यसबारे पनि छलफल गर्दै छौँ ।’ यसअघि भएको ¥यालीमा तीन दिनको सामान्य प्रचारमा तीन हजार जनता स्वतस्फुर्त सहभागी भएको उनले बताए । शिव सेनाका केन्द्रीय सदस्य जैसवालले नवलपरासीमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए । 

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले संविधान र कानुनविपरीतका कार्य रोक्ने बताए । शान्तिपूर्ण कार्यक्रम गर्न पाइने भए पनि कोभिडका कारण सभा–जुलुस गर्न रोक लगाएकाले सोहीअनुसार प्रशासनले कदम चाल्ने उनले बताए । 

पोखरामा राजावादीको ¥याली

राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै बुधबार राजावादीले पोखरामा ¥याली प्रदर्शन गरेका छन । आयोेजकविनाको प्रदर्शन भनिए पनि शिवसेना नेपालले ¥याली आह्वान गरेको थियो, जसमा १८ हजार मानिस सहभागी भएको शिवसेनाका अध्यक्ष अनिल बस्नेतको दाबी छ । प्रहरीले भने हजारभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी कारसहितको ¥याली प्रदर्शन भएको जनाएको छ ।

बस्नेतका अनुसार ¥यालीमा कास्कीबाहेकका वरपरका जिल्लाबाट पनि करिब तीन हजारको सहभागिता रहेको छ । गत वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आउँदा भ्रमण व्यवस्थापन समितिका संयोजक रहेका केशव भण्डारीका अनुसार बाहिरी जिल्लाबाट सहभागी हुन आएकालाई यहाँको राममन्दिर, मुक्तिनाथ, राधाकृष्ण, केदारेश्वर मन्दिरलगायतका धार्मिक स्थलमा राखिएको थियो ।

‘यो कसैको आयोजनाविना नै भएको प्रदर्शन हो । यसको कोही आयोजक थिएन । शिवसेना नेपालसहित राजतन्त्र र हिन्दू राज्य चाहने सबैको सद्भाव थियो । ¥यालीसहितको प्रदर्शन गर्ने भनेर आह्वान मात्र गरिएको हो,’ भण्डारीले भने, ‘यत्तिका मान्छे आए । यसलाई राजा, राजसंस्था र हिन्दू राज्य चाहने पश्चिमाञ्चलवासीको समर्थन र सदभावको रूपमा मैले लिएको छु ।’ 

शिवसेनाका अध्यक्ष बस्नेत र भण्डारीले बाहिरबाट आएकालाई खानाको मात्रै व्यवस्था गरेको दाबी गरे । नेकपा र कांग्रेससहित अन्य पार्टीमा आस्था राख्ने मानिस पनि प्रदर्शनमा सहभागी भएको बस्नेतको दाबी छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुभास हमालका अनुसार केही दिनअगाडि जिल्ला प्रशासनबाट पश्चिमाञ्चलवासी जनता आयोजक रहेर प्रदर्शन हुने पत्र आएको थियो । बुधबार हजारभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी कारसहितको ¥याली निकालिएको उनले बताए । यसअनुसार तीन हजारभन्दा बढी मानिस ¥यालीमा सहभागी रहेको विश्लेषण गर्न सकिन्छ । 

¥यालीमा ‘नेपाली जनता जागौँ’, ‘राजा ल्याऔँ, देश र धर्मको रक्षा गरौँ’ लगायत नारा लगाइएका थिए । राष्ट्रिय झन्डा र पूर्वराजारानीको तस्बिरसहित प्रदर्शनकारीले अमरसिंहचोकबाट सुरु गरेको ¥याली पोखरा बजार परिक्रमा गरी मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा शिवसेनाका अध्यक्ष बस्नेतले नेपाली जनतालाई राजतन्त्र नभई मुलुक बाँच्दैन भन्ने लागेको बताए । ¥याली अवधिभर पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो ।

स्थानीय प्रशासनले भने सरकारको निर्णयअनुसार कोरोना संक्रमणबाट नागरिक जोगाउनुपर्छ भनेर प्रदर्शनका लागि स्वीकृति नदिइएको जनाएको छ । ‘हामीले ¥याली या प्रदर्शनको कुनै स्वीकृति दिएका छैनौँ । एकजना व्यक्ति पश्चिमाञ्चल नागरिकको तर्फबाट सामान्य ¥याली गर्ने भन्दै निवेदन दिन आएका रहेछन् । उनलाई २५ जनाभन्दा धेरै आउने भए हुँदैन भनेर पठाइएको हो, तर मास ठूलो आयो,’ कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने । 

सत्तारुढ नेकपाका कास्की अध्यक्ष कृष्ण थापाले राजावादीहरूको ¥याली लोकतन्त्र ल्याउन लडेका सबैका लागि चुनौती भएको बताए । ¥यालीलाई सरकारप्रतिको असन्तुष्टिका रूपमा पनि लिन सकिने उनले बताए । 

जनकपुरमा पनि प्रदर्शन

राष्ट्रियवादी समूहको नेतृत्वमा राजावादीहरूले बुधबार जनकपुरमा ¥याली निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, शिव सेना नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिकलगायतका नेता–कार्यकर्ताको ¥यालीमा उल्लेख्य सहभागिता थियो । 

करिब पाँच सयजनाको सहभागितामा रेल्वे स्टेसनबाट निकालिएको ¥यालीले बजार परिक्रमा गरेको थियो । राष्ट्रवादी समूहका संयोजक कारी यादवले नेतृत्व गरे पनि ¥यालीको राप्रपा नेता मनोज मल्ल, प्रेक्षा मल्ल, प्रकाशजंग राणा, जनमुखी पार्टीका अध्यक्ष रितेश सिंहलगायतको पनि सहभागिता थियो । आफ्नो पार्टी र राष्ट्रवादी समूहको एजेन्डा मिल्ने भएकाले ¥यालीमा सहभागी भएर सहयोग गरेको नेता मनोज मल्लले बताए । 

धनुषाबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेकी प्रेक्षा मल्लले धनुषाधाम, धारापानी, गोदार, ढल्केबर क्षेत्रबाट अधिकांश कार्यकर्तालाई ¥यालीमा सहभागी गराएकी थिइन् । ती कार्यकर्ताको गाडीमा पेट्रोलदेखि खानपानको व्यवस्थापन मल्ल र प्रकाशजंग राणाले गरेको राप्रपाकै एक नेताले बताए । प्रशासनको जानकारीमा ¥याली गरिएकाले सुरक्षा व्यवस्थामा खासै चुनौती नआएको धनुषाका एसपी रमेश बस्नेतले बताए । 

राष्ट्रवादी समूहका संयोजक यादवले भने जनता स्वस्फुर्त रूपमा ¥यालीमा सहभागी भएको दाबी गरे । ‘हामीले अन्य पार्टीजस्तो भत्ता दिएर वा मोटरसाइकलमा पेट्रोल दिएर भिड जुटाएका होइनौँ, जनता स्वस्फुर्त रूपमा सहभागी भए,’ उनले भने, ‘एक राजाको ठाउँमा हजारौँ राजा भएका छन्, युवाहरू बेरोजगार भएका छन् । जनताले अब गणतन्त्रभन्दा राजतन्त्र नै खोजेका छन् ।’ एक–दुईजना सहयोगीसँग चन्दा संकलन गरेर कार्यक्रम गरेको उनले बताए । 

स्रोतका अनुसार राजसंस्था र हिन्दू राष्ट्रका लागि हुने कार्यक्रममा विश्व हिन्दू परिषद्, विश्व हिन्दू महासंघ नेपाल, हिन्दू जागरण समाजलगायत हिन्दूवादी संघसंस्थाले आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै, जनकपुरका केही मठ–मन्दिरका महन्थ र मारवाडी समुदायका केही व्यक्तिले पनि राजाको समर्थनमा हुने कार्यक्रममा आर्थिक सहयोग गर्ने गरेको राप्रपाका एक नेताले बताए ।

‘गणतन्त्रको मलामीको तयारी’ भन्दै विराटनगरमा राजावादीको ¥याली

प्रदेश १ को राजधानी विराटनगरमा गत २७ कात्तिकमा राजावादीले प्रदर्शन गरे । उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र मूर्दावाद’, ‘केपी ओली मूर्दावाद’, ‘संघीयता खारेज गर’, ‘धर्मनिरपेक्ष संविधान चाहिँदैन, हिन्दू राष्ट्र कायम गर’ लगायत नारा लगाउँदै नगर परिक्रमा गरे । 

मोटरसाइकल र चारपांग्रे सवारीमा रहेका करिब पाँच सयजनाको ¥याली बजार परिक्रममापछि बरगाछी चोक पश्चिमको चाँदनी चोकमा कोणसभा गरेर समापन गरिएको थियो । कोणसभालाई वीर गोर्खालीका संयोजक नवीन देउजा, अभियन्ता वसन्तविक्रम पाण्डे, शिवसेना नेपाल मोरङका अध्यक्ष सतिश पोखरेल, झापा अध्यक्ष केदार खड्का र सुनसरी अध्यक्ष हिरा आचार्य, देश बचाउ अभियान इनरुवाका संयोजक मोहीनारायण चौधरी, युवा समाज धरानका संयोजक दीपेन्द्र कार्कीलगायतले सम्बोधन गरेका थिए । उनीहरूले ¥यालीलाई गणतन्त्रको मलामीको तयारी भन्दै अब राजतन्त्रको विकल्प नभएको दाबी गरेका थिए । 

शाह राजाहरूले एकीकरण गरेको देशलाई राजनीतिक दलहरूले विदेशीको पैसामा लोभिएर गणतन्त्र स्थापना गरी जर्जर बनाएको उनीहरूको आरोप थियो । अहिले देश टुक्र्याउन खोजिएकाले कालु पाण्डे र भक्ति थापाजस्तै बलिदान दिन नेपालीहरू तयार रहेको उनीहरूको भनाइ थियो । ¥यालीमा झापा, सुनसरी, धनकुटा र मोरङका युवा सहभागी थिए । 

¥यालीका लागि स्थानीय प्रशासनसँग दुई दिनअघि नै अनुमति मागिएको थियो । तर, औपचारिक रूपमा अनुमति नदिइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । ¥यालीले विराटनगर बजार परिक्रममा गरुन्जेल प्रहरीले सुरक्षा दिएको थियो ।

राप्रपाको अदृश्य सहयोगमा हेटौँडामा ¥यालीको तयारी हुँदै

आगामी १४ मंसिरमा राजावादीहरूले हेटौँडामा पनि प्रदर्शन गर्दै छन् । जसमा भित्री रूपमा राप्रपाले सहयोग गरिरहेको छ, तर खुलेर स्वीकार गरेको छैन ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौँडा उपमहानगर समितिका अध्यक्ष भृगु कार्कीका अनुसार ¥यालीमा हजारभन्दा बढी युवा सडकमा उतार्ने तयारी छ । राप्रपाले औपचारिक रूपमा आयोजना नगर्ने भए पनि अदृश्य सहयोग रहने उनले बताए । ¥यालीमा सहभागिता जनाउन अहिले माइकिङ तथा विभिन्न माध्यमबाट प्रचारप्रसार भइरहेको छ । ¥यालीमा छिमेकी जिल्लाहरू चितवन, बारा, पर्साबाट समेत सहभागी गराउने कार्कीले बताए । 

राप्रपा मकवानपुरले आफ्ना भ्रातृ संगठनहरूलाई गोप्य परिचालन गरेको छ । ‘हाम्रो पार्टी लामो समयदेखि हिन्दू राष्ट्र र राजाको पक्षमा आन्दोलनरत छ । यस्तो अवस्थामा राजावादीहरूको आन्दोलनमा हाम्रो सहयोग रहने विषय स्वाभाविक भयो,’ राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘हेटौँडामा हुने प्रदर्शनमा पार्टीले नैतिक रूपमा समर्थन नगरे पनि अदृश्य रूपमा सहयोग गर्नेछ ।’ मकवानपुर राप्रपाका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाको गृहजिल्ला पनि हो ।

.....

सत्तारुढ दलमा द्वन्द्व छ, विपक्षी निदाएको छ, त्यसैले तेस्रो शक्ति जन्मन सक्छ भन्ने आशा पूर्वराजामा पलाएको होला

प्रा.डा. रामकृष्ण तिवारी, प्रमुख, त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभाग

राजतन्त्रको पक्षमा प्रदर्शन गर्नुमा धेरै पक्ष जोडिएका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजतन्त्र छोड्दा राजनीतिक दलहरूले एउटा प्रतिबद्धता जनाएको, तर पूरा नगरेको भन्दै आएको पाइन्छ । यतिवेला नेकपामा समस्या हुँदा जनताले मलाई रुचाएका छन् भन्ने देखाउने अवसरका रूपमा राजतन्त्रका पक्षधरले लिएको हुन सक्छ । राजतन्त्रको बहिर्गमन सहजै भयो । संसारमै राजतन्त्र कहिल्यै पनि जनतासँग लड्दैन, तर जनताले फेरि मलाई शासनमा ल्याउँछन् भन्ने आशामा बसिरहने प्रवृत्ति हुन्छ । राजतन्त्र र एकात्मक शासनको अन्त्यपछि अहिले विकेन्द्रीकरण भएको छ । तर, जनतामा सन्तुष्टि छैन । यस्तो अवस्थामा फेरि राजतन्त्र जोगाउन सकिन्छ कि भन्ने पूर्वराजामा आशा देखिन्छ । त्यसकै कारण पनि अहिले विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । पहिले सरकार छिटो–छिटो परिवर्तन हुने गरे पनि अहिलेको सरकार तीन वर्षसम्म टिकेको छ । विभिन्न तहका सरकार हुँदा बोझिलो, खर्चिलो भयो, संविधानमा पनि खोट छ भन्ने देखाउँदा राजतन्त्र आउँछ कि भन्ने आशा पनि देखिन्छ । 

दुई ठूला पार्टी जोडिएर नेकपा बन्यो । तर, फरक पार्टीबीचको घुलन भएको छैन । सत्तामा झन्डै दुईतिहाइ बहुमत हुँदा पनि एकदमै प्रभावकारी काम भएको देखिएन । पार्टीको आकार हेर्दा जुनसुकै कानुन बनाएर पनि काम गर्न सक्ने अवस्था थियो । तैपनि देखिने र एकदमै प्रभावकारी काम भएनन् । धेरै आशा बोकेर हिजो जनयुद्धमा होमिएका थिए, उनीहरूले राजनीतिक परिवर्तन भए पनि अरू विकासको महसुस गर्न पाएनन् । हिजो लामो समयसम्म राजतन्त्रात्मक शासन हुँदा शासन मन पराएका र अहिले राजनीतिबाट वितृष्णा भएकाहरूको समर्थनमा राजतन्त्रको पक्षमा प्रदर्शन भएजस्तो देखिन्छ । 

राजनीतिक शासन व्यवस्था परिवर्तन हुँदा पनि जनताको आशा र विश्वासअनुसार काम किन भएनन् भन्ने अर्को पाटो छ । शासन परिवर्तन भयो, तर काम गर्ने पुरानै प्रणालीका कर्मचारी छन्, सत्तामा बसेकाले बोल्ड निर्णय गरे पनि कार्यान्वयनमा सफल नहुने अवस्था छ । शासन व्यवस्था परिवर्तनपछि धेरै परिवर्तन आउने महत्वाकांक्षा जगाइयो । शासन व्यवस्था परिवर्तनपछि बनेको संविधान हेर्दा जे पनि पाइनेजस्तो देखिन्छ, तर व्यावहारिक रूपमा, कार्यान्वयनमा केही नपाइने अवस्था छ । यसले आशा जगायो, केही नपाउँदा वितृष्णा भयो । 

अहिले राजतन्त्रको पक्षमा प्रदर्शन हुनु धमिलो पानीमा माछा मार्ने प्रयास हो । पार्टी र सत्तामा झगडा भएको वेलामा राजतन्त्रको पक्षमा केही माहोल बनाउने प्रयास हो । राजतन्त्र स्थापना गर्ने योजनाबद्ध ढंगले आएको भन्ने लाग्दैन । त्यतिवेला देशभित्रको आन्दोलनले मात्र राजतन्त्र बहिर्गमन भएको होइन । नेपालको राजनीतिमा दलका नेता मात्रै निर्णय गर्न सक्ने अवस्थामा छैनन् । नेपालप्रति शक्तिशाली देशहरूको चासो छ । 

घरभित्र दाजुभाइको झगडा हुँदा तेस्रो पक्षले फाइदा लिन सक्छ । नेकपाभित्रको झगडामा एक पक्षले अर्को पक्षलाई अवसर दिनुभन्दा तेस्रो पक्षलाई मान्ने अवस्था आउन पनि सक्छ । सत्तामा द्वन्द्व छ, विपक्षी निदाएको छ । यसले तेस्रो पक्ष जन्मन सक्छ । त्यही आशा पूर्वराजामा पलाएको होला । राजनीतिमा असम्भव केही छैन । तत्काल राजतन्त्र स्थापना हुने देखिँदैन । संसदीय व्यवस्थामा गणितीय खेल हुन्छ । अहिले जुन किचलो देखिएको छ, यो कोर्स पूरा भएको छैन । यो कोर्स टुंगिन केही समय लाग्छ । अहिले सतहमा आएको पार्टी र सत्ताको कोर्समा नयाँ कोर्स भर पर्छ । 

यो पढ्नुहोस्

मण्डले प्रवृत्तिका मान्छेले प्रायोजित गतिविधि गरेको देख्छु, महत्व दिनुपर्छ जस्तो मलाई लाग्दैन : डा. बाबुराम भट्टराई (अन्तर्वार्ता)

प्रतिगामी शक्तिहरूको प्रदर्शनले कुनै निर्णयात्मक अर्थ राख्दैन : नारायणकाजी श्रेष्ठ (अन्तर्वार्ता)

 

व्यवस्थाप्रति नै नकारात्मक विचार आउनु अहिलेको सरकारको कार्यशैलीकै कारण हो : कृष्ण सिटौला (अन्तर्वार्ता)

 

यो व्यवस्था नै त्रुटिपूर्ण रहेछ भन्ने आभास भएको देखिँदै छ : कमल थापा (अन्तर्वार्ता)